सुन्दा अचम्म लाग्छ तर भारतको मध्यप्रदेशमा अपराध गर्न सिकाउने स्कुल पनि छन्। भोपालबाट करिब ११७ किलोमिटर टाढा रहेका तीन वटा गाउँ– कादिया, गुलखेडी र हुलखेडी भारतको ‘अपराधीको नर्सरी’ भनेर चिनिन थालेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
यी गाउँ राजगढ जिल्लामा अवस्थित छन्, जहाँ बालबालिकालाई सानै उमेरमा चोरी, डकैती र डकैतीका युक्ति सिकाइन्छ। वास्तवमा लाखौँको चोरीको घटनामा प्रहरीले अपराधीको एक समूहलाई पक्राउ गरेपछि मात्र यी गाउँ चर्चामा आएका हुन्
यी गाउँका अभिभावक आफ्ना १२–१३ वर्षका बालबालिकालाई चोरी कलाबारे सिकाउन आफैँ सरगाना (चोरका नेता)लाई भेट्छन् र उनीहरूको जिम्मा लगाउँछन्। चोरी/डकैतीमा 'स्नातक' गर्न अभिभावकले सरगानालाई दुईतीन लाख भारतीय रुपैयाँ शुल्क तिर्ने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यहाँ बालबालिकालाई पाकेटमारी, भीडबाट झोला चोर्न, तीव्र गतिमा दौडन, प्रहरीबाट बच्न र कुटपिट सहने युक्ति सिकाइन्छ। बालबालिकालाई एक वर्षका लागि गिरोहमा काम गर्न पनि लगाइन्छ र बदलामा चोरका नेताले उनीहरूका अभिभावकलाई वार्षिक तीनदेखि पाँच लाख भारु दिन्छन्।
यस्तै, गाउँका धनीमानीले गरिब बालबालिकालाई एकदुई वर्ष भाडामा लिने गर्छन्, जसका लागि २० लाख भारुसम्मको बोली लाग्ने गर्छ। यी बालबालिका कम शिक्षित हुन्छन् तर ‘हाइ प्रोफाइल’ विवाहमा भाग लिन उनीहरूलाई धनी बालबालिकाजस्तै देखिन र बोल्न तालिम दिइन्छ।
यी अपराधमा गाउँका महिला पनि सामेल हुन्छन्। यहाँका महिलाले बाहिरको मान्छे देख्नेबित्तिकै नसुन्ने नाटक गर्न थाल्छन्। गाउँमा कुनै अपरिचित व्यक्ति प्रवेश गरेमा क्यामेरा वा मोबाइलको क्यामेरा देख्नेबित्तिकै गाउँले तुरुन्तै सतर्क हुन्छन्।
एनडीटीभीका अनुसार प्रहरी पनि त्यस क्षेत्रमा जान हिचकिचाउँछन्। यी गाउँमा पुग्नुअघि एउटा खोला पर्छ। प्रहरी त्यहाँ पुग्दा कैयौँ पटक दुई पक्षबीच गोली हानाहानसम्म भएको छ।
यी गाउँहरूमा हजारौँ मानिस बसोबास गर्छन्। देशभरका दर्जनौँ प्रहरी थानामा यहाँका दुई हजारभन्दा बढी मानिसविरुद्ध आठ हजारभन्दा बढी मुद्दा दर्ता छन्।
त्यस क्षेत्रका प्रहरी अधिकारी जयदीपप्रसाद भन्छन्, “यी अपराधीहरू यति चतुर छन् कि तिनीहरूले बिनासाधन गहना परीक्षण गर्छन्, उनीहरूको मुख्य पेशा बालबालिकालाई चोरी सिकाउने, जुवा खेल्ने र मदिरा बेच्ने हो।”