Thursday, February 29, 2024

-->

फेसबुक स्थापनाको २० वर्ष: २० रोचक तथ्य

के तपाईंलाई थाहा छ फेसबुकको मूल कम्पनीको नाम अहिलेसम्म तीन पटक परिवर्तन भइसकेको छ।

फेसबुक स्थापनाको २० वर्ष २० रोचक तथ्य

फेसबुक स्थापनाको २० वर्ष पूरा भएको छ। सन् २००४ फेब्रुअरी ४ मा औपचारिक रूपमा स्थापना भएको फेसबुकले आइतबार आफ्नो २०औँ वार्षिकोत्सव मनाउँदैछ।

हार्बड विश्वविद्यालयका विद्यार्थीको तस्वीरमा को बढी राम्रो भनेर भोटिङ गर्न मिल्ने गरी मार्क जुकरबर्गले सन् २००३ मा ‘फेसम्यास’ ल्याएका थिए। पछि त्यही फेसम्यासलाई साथीहरूसँग मिलेर फेसबुकमा परिणत गरे। जसलाई उनले क्याम्पसको प्रयोगात्मकको लागि विकसित गरेका थिए, अहिले त्यही फेसबुक मानिसहरूको जीवनशैलीजस्तै बनेको छ। फेसकुबकका २० रोचक तथ्य यस्ता छन्ः

१. के तपाईंलाई थाहा छ फेसबुकको मूल कम्पनीको नाम अहिलेसम्म तीन पटक परिवर्तन भइसकेको छ। शुरूमा सन् २००४ देखि २००५ सम्म यसको नाम ‘द फेसबुक’ थियो। त्यसपछि २००५ देखि २०२१ सम्म ‘फेसबुक’ मात्र रह्यो। सन् २०२१ देखि यसको नाम ‘मेटा प्लेटफर्म’ राखिएको छ। जसलाई छोटो रूपमा मेटा भनेर बुझिन्छ।

२. म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सअपलाई एउटै छानोमुनि राख्न जुकरबर्गले २०२१ मा प्राविधिक कम्पनी मेटाको स्थापना गरेका हुन्। यसमा पछि सन् २०२३ मा ‘थ्रेड्स’ पनि थपिएको छ। अहिले मेटा यी सबै कम्पनीको 'प्यारेन्ट कम्पनी' बनेको छ।

३. फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा गत शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको छ। यो अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीको एक दिनमा सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो।

४. वेबसाइट र्‍यांकिङमा फेसबुक विश्वमा गुगल र युट्युबपछि तेस्रो स्थानमा पर्छ। यस्तै, फेसबुक अमेजन, एप्पल, गुगल र माइक्रोसफ्टसँगै विश्वका ५ ठूला टेक्नोलोजी कम्पनीहरूको रूपमा उभिएको छ।

५. फेसबुकले स्वचालित रूपमा ‘साइन आउट’ गर्दैन। अथवा कतिपय अन्य वेबसाइटजस्तो फेसबुक स्वस्फूर्तरूपमा ‘लग आउट’ हुँदैन। 

६. हातहतियार, लागूऔषध जस्ता वस्तुहरूलाई फेसबुकको ‘मार्केटप्लेस’मा प्रतिबन्ध लगाइएको छ।

७. म्यासेन्जर फेसबुकको सर्वाधिक लोकप्रिय सेवा हो। यसलाई फेसबुकको आफ्नै निजी च्याट सर्भिस मानिन्छ।

८. सन् २०१९ जुलाइ ३ मा फेसबुकमा सबैभन्दा लामो समयसम्म अवरोध (क्रयास) आएको थियो। त्योबेला फेसबुक, ह्वाट्सअप र इन्टाग्राम २४ घण्टासम्म सेवाबाहिर थिए। फेसबुकले यसलाई आफ्नो प्राविधिक परीक्षणका क्रममा देखिएको अप्रत्यासित घटना भनेको छ।

९. अधिक मात्रामा एआईको प्रयोग गर्ने अनलाइन प्लेटफर्ममध्ये फेसबुक पनि पर्छ। जस्तो, कसैले जन्मदिन मनाइरहेको तस्वीर राखेको छ भने, त्यसमा के कमेन्ट गर्ने भनेर तपाईंले सोच्नुभन्दा अगाडि नै तल शुभकामना मिसिएका सन्देश देखिन थालिहाल्छन्।

१०. सन् २०१० मा फेसबुकका संस्थापक जुकरबर्ग टाइम पर्सन घोषित भएका थिए।

११. फेसबुकमा बिताइने समयमध्ये ५० प्रतिशत भिडियो हेरेर नै बिताइन्छ।

१२. फेसबुक एकाउन्ट खोल्नको लागि आधिकारिक फोन नम्बर वा इमेलको आवश्यकता पर्छ। साथै व्यक्तिको उमेर १३ वर्ष पूरा भएको हुनुपर्छ। तर झूटो मिति राखेर अभिभावकहरूले नै आफ्ना छोराछोरीको नाममा फेसबुक खोल्ने गरेका छन्।

१३. फेसबुकले जोडी खोज्नको लागि सन् २०१९ सेप्टेम्बर ५ मा ‘फेसबुक डेटिङ’ सेवा ल्याएको थियो। २०२० देखि युरोपेलीलगायत केही एशियाका देशमा यो सेवा शुरू गरिएको छ। भारत र नेपालमा भने अझै यो शुरू भएको छैन। 

१४. फेसबुक बढी चलाइने तीन ठूला देशमा क्रमश: भारत, ब्राजिल र इन्डोनेसिया पर्छन्।

१५. फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ।

१६. एक महिनामा तीन अर्ब सक्रिय प्रयोगकर्ताले फेसबुक चलाउने गर्छन्। यस्तै दैनिक दुई अर्बभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्छन्। 

१७. फेसबुकमा शेयर हुने कुराहरूमध्ये तस्वीरमा बढी इंगेजमेन्ट हुन्छ। तस्वीरमा ०.१२ प्रतिशत तथा लिंकमा ०.०३ प्रतिशत इंगेजमेन्ट हुन्छ।

१८. फेसबुकले प्रत्येक चार महिनामा एक अर्ब भन्दा धेरै फेक आईडी हटाइने गरेको छ। सन् २०२७ सम्म विश्वको जनसंख्याको ७० प्रतिशत मानिसले फेसबुकको प्रयोग गर्ने अनुमान गरिएको छ।

१९. फेसबुकका पुरुष प्रयोगकर्ता धेरै रहेका छन्। ५६ प्रतिशतभन्दा धेरै पुरुष प्रयोगकर्ता रहेका छन्। 

२०. गत जनवरी ३१ मा अमेरिकाको संसदीय न्यायिक समितिमा सामाजिक सञ्जालले युवामा निम्त्याउने जोखिमहरूको बारेमा बहस भएको थियो। उक्त बहसमा उपस्थित भएका जुकरबर्गले फेसबुक लगायत सामाजिक सञ्जालले बालबालिकामा असर पारेको विषयमा उनीहरूका अभिभावकसँग माफी मागेका छन्।


सम्बन्धित सामग्री