Thursday, June 01, 2023

-->

११ सय वर्ष पुरानो हिब्रु बाइबल ३ करोड ८० लाख डलरमा लिलामी

पुरानोमध्येको एक मानिएको हिब्रु बाइबलको पाण्डुलिपि एक जना बैंकर तथा कला संग्रहकर्ताले बेचेकी हुन्। खरिदकर्ता रोमानियाका लागि अमेरिकाका पूर्वराजदूतले यो बाइबल तेल अभिभको संग्रहालयलाई राख्न दिनेछन्।

११ सय वर्ष पुरानो हिब्रु बाइबल ३ करोड ८० लाख डलरमा लिलामी

सबैभन्दा पुरानोमध्येको मानिएको करिब ११ सय वर्ष पुरानो हिब्रु बाइबलको पाण्डुलिपि गएको मे १७ मा न्युयोर्कमा भएको लिलाम बढाबढमा ३ करोड ८० लाख डलरमा बिक्री भएको छ। उक्त बाइबल अब इजरायलको राजधानी तेल अभिभस्थित यहुदीहरूको संग्रहालय एएनयू म्युजियम अफ जुइसमा राखिनेछ।

छालाले मोरिएको द कोडेक्स सासुनल नामको हस्तलिखित बाइबललाई रोमानियाका लागि अमेरिकाका पूर्वराजदूत एल्फ्रेड एच मोसेसले किनेका हुन्। बाइबल लिलामी गर्ने संस्था मोथबीले विज्ञप्तिमा जनाएअनुसार मोसेसले यो पुरानो बाइबलको भाग तेल अभिभको यहुदी जनताको संग्रहालयको तर्फबाट प्राप्त गरेका हुन्, जुन प्रमुख संग्रहमा सामेल गरिनेछ।

उक्त पाण्डुलिपि लालामीअघि विश्वव्यापी भ्रमणमा लगेर गएको मार्चमा एएनयू म्युजियममा प्रदर्शनीमा राखिएको थियो। 

यसको मूल्य ३ करोड ८० लाख डलरमा लिलामीमा लाग्ने शुल्क पनि समावेश गरिएको मोथबीको जुडाइका (यहुदीसँग सम्बन्धित इतिहास वा साहित्य र कलावस्तु) विशेषज्ञ लिबरम्यान मिन्जले जनाएकी छन्। उनले भनेकी छन्, “यसले हिब्रु बाइबलको शक्ति, प्रभाव र महत्त्वलाई प्रतिबिम्बित गर्छ, जुन मानवताको अपरिहार्य स्तम्भ हो।”

यो बाइबल सन् ९६० देखि ८८० बीचमा कुनै समय लेखिएको मानिएको छ। यसलाई सन् १९२९ मा इराकी यहुदी व्यवसायी म्याग्नेटका पुत्र डेभिड सोलोमन सासुनले खरिद गरेका थिए। उनले लण्डनस्थित आफ्नो घर यहुदी पाण्डुलिपि संग्रहले भरेका थिए। 

सुसनको मृत्युपछि यो बाइबल सन् १९७८ मा ३ लाख २० हजार डलरमा ब्रिटिश रेल पेन्सन कोषलाई बेचियो। सन् १९८९ मा यसलाई पेन्शन कोषबाट एक जना बैंकर तथा कला संग्रहकर्ता जाक्वी साफ्राले लिलामीमार्फत ३१ लाख ९० हजार डलरमा किनेकी थिइन्। गएको मे १७ मा भएको लिलामीमा उनैले यसलाई बेचेकी हुन्।

लिलामीमा बेचिएका पाण्डुलिपिहरूमध्ये यो नै हालसम्मको महँगो भएको अल जजिराले जनाएको छ। सन् २०२१ मा अमेरिकी संविधानको दुर्लभ प्रति ४ करोड ३० लाख डलरमा लिलामी भएको थियो।

यसअघि सन् १९९४ मा लियोनार्दो दा भिन्सीको वैज्ञानिक लेखहरूको संग्रह कोडेक्स लेस्टर ३ करोड १० लाख डलरमा लिलामी भएको थियो। यो रकम अहिलेको मूल्यमा करिब ६ करोड हुने जनाइन्छ।


सम्बन्धित सामग्री