संसारकै सबैभन्दा अग्लो कुकुरको मृत्यु भएको छ। जिअस नाम गरेको ग्रेट डेन प्रजातिको उक्त कुकुरको सेप्टेम्बर १२ मा अमेरिकाको टेक्सासमा मृत्यु भएको डेली मेलले जनाएको छ।
गिनिज वर्ल्ड रेकर्डस्ले जिअसलाई सन् २०२२ मा संसारकै सबैभन्दा अग्लो कुकुरको ‘टाइटल’ दिएको थियो। ३ फिट ५ इन्च अग्लो जिअस मान्छेजसरी खुट्टाको भरमा मात्र उभिँदा ७ फिट पुग्थ्यो। विश्व रेकर्ड कायम गरिसकेपछि जिअस कुकुरप्रेमीमाझ चर्चित बनेको थियो। तर, पछिल्लो समय क्यान्सर र निमोनियासँग संघर्ष गर्दागर्दै उसले आफ्नी मालिक ब्रिट्यानीको काखमा अन्तिम सास फेर्यो।

जिअसलाई क्यान्सर भएपछि उपचारका लागि ब्रिट्यानीले चन्दा आह्वान गरेकी थिइन्। १२ हजार २४४ डलर ‘फन्ड’ संकलन भएको थियो। खुट्टा काटेर भए पनि क्यान्सर त निको भयो तर, त्यसपछि निमोनियाले ग्रस्त पार्यो। क्यान्सरसँग लड्दालड्दै सिथिल बनेको जिअसले निमोनियासँग जुध्न सकेन र तीन वर्षकै उमेरमा प्राण त्याग्यो।ब्रिट्यानीले जिअसको निधनप्रति दुःख व्यक्त गर्दै ऊ भलाद्मी, मायालु र जिद्धी भएको बताएकी छिन्।

“जिअसलाई घुमान लाने क्रममा म त्यो क्षेत्रमा निकै चर्चित भइसेकी थिएँ, घोडाजस्तै अग्लो कुकुरलाई डुलाउँदा सबैले चासो लिँदै विभिन्न कुरा सोध्ने गर्थे,” उनले भनेकी छिन्, “जिअसले हामीहरूको अनुहारमा मुस्कान ल्याउँथ्यो।”
जिउँदै भएको भए जिअस आउँदो नोभेम्बरमा ४ वर्षको हुन्थ्यो। यो प्रजातिको कुकुरको सरदर आयु ७ देखि १० वर्षको हुने गर्छ।