Friday, April 19, 2024

-->

एआईले पढ्न सक्छ मानिसको मस्तिष्क!

युनिभर्सिटी अफ टेक्सासले कुनै पनि व्यक्तिको मस्तिष्कमा चलिरहेको कुरा पढ्न सक्ने एआई मोडल बनाएको दाबी गरेको छ।

एआईले पढ्न सक्छ मानिसको मस्तिष्क

मानिसले गर्ने भनिएकाे ‘माइन्ड रिडिङ’ र चलचित्रमा देखाइने यस्ता कुरा कति सत्य हुन् भन्न सकिने अवस्था छैन। तर, मेसिनको सहयोगले केही समयमै यो काम गर्न सकिने दाबी गरिएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) काे लाेकप्रीयतासँगै नयाँनयाँ फिचर्सहरू विकशित भइरहेका छन्। त्यही फिचरको सहयोगमा गरिएको काम देखेर आम व्यक्ति अचम्ममा पर्नु स्वभाविक हो। अब एआईको सहयोगमा व्यक्तिको मस्तिष्क नै पढ्न सकिने विधि पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन्।

युनिभर्सिटी अफ टेक्सासले कुनै पनि व्यक्तिको मस्तिष्कमा चलिरहेको कुरा पढ्न सक्ने एआई मोडल बनाएको दाबी गरेको हो। ‘सिमान्टिक डिकोडर’ नामक यो एआई प्रणालीले मानव मस्तिष्कको गतिविधिलाई टेक्स्टमा रूपान्तरण गर्न सक्ने दाबी गरिएको छ। जेरी ताङ र एलेक्स हुथ नेतृत्वमा गरिएको अनुसन्धान आंशिक रूपमा ट्रान्सफर्मर मोडलमा आधारित रहेको बताइएको छ। यो गुगल बार्ड र ओपन एआई च्याटजीपीटीमा पनि प्रयोग गरिएको छ।

वैज्ञानिकहरूले यो खोजबाट ठूलो आशा राखेका छन्। यो प्रविधिले अपांगता र पक्षाघात भएका व्यक्तिलाई मद्दत गर्ने अपेक्षा गरिएको छ। यो नवीनतम टेक्नोलोजी एक एआई आधारित डिकोडर हो। जसले मस्तिष्कमा भइरहेको चालहरूलाई शब्दमा रूपान्तरण गर्न सक्छ। यसको मतलब, यसबाट मानिसले जे सोच्छ, अरूले त्याे पढ्न सक्नेछन्।

न्यूरोसाइन्स या मेडिकल साइन्सको इतिहासमा पहिलो पटक यस्तो उपलब्धी हासिल भएको बताइएको छ। यस अध्ययनका लागि तीन जनालाई एमआरआई मेसिनमा पठाइएको थियो र कथाहरू सुन्न भनियो। तीनैजनालाई एउटा कथा सुनाइयो। यी तीन व्यक्तिको मस्तिष्कले जुनसुकै गतिविधि गरे त्यसलाई डिकोड गर्न वैज्ञानिकले च्याटजीपीटी जस्तो उपकरण बनाएका थिए। त्यसको मद्दतले सबै कुरा डिकोड गरिएको बताइएको छ। यद्यपि, यो एआई मोडलको मद्दतले सही नतिजा आउन सकेको छैन।

तर, यो मस्तिष्क पढ्ने प्रविधि बुझ्न महत्त्वपूर्ण छ। यसले कुनै पनि व्यक्तिको मस्तिष्कमा चलिरहेका सबै विचारहरू सही रूपमा पढ्न सक्दैन। यो प्रविधिबाट व्यक्तिको विचारका मुख्य बुँदा मात्रै कैद गर्न सकिन्छ। यो अनुसन्धान नेचर न्यूरोसाइन्स जनरलमा प्रकाशित भएको छ।

अहिले यो एआई उपकरणलाई थप ट्रेन गर्न र यसमा काम गर्न आवश्यक रहेको वैज्ञानिकले बताएका छन्। यससँगै यस एआई उपकरण सफल भएमा बोल्न र सुन्न नसक्ने या कुनै रोगबाट पीडित व्यक्तिलाई विशेष फाइदा हुने उनीहरूको भनाइ छ।

यसका लागि अहिले काम भइरहेको उनीहरूले बताएका छन्। एकातिर विज्ञानमा सफलता हात परिरहेको छ। तर, अर्कातर्फ धेरैले यसमाथि प्रश्न पनि उठाइरहेका छन्। यसबाट व्यक्तिको गोपनियताको रक्षा नहुने हो कि? भन्ने चिन्ता उनीहरूमा छ।


सम्बन्धित सामग्री