Tuesday, April 23, 2024

-->

ककपिटमा कफी र मिठाइ खाने पाइलट निलम्बित

भारतमा विमानको ककपिटभित्र खाना र पेय पदार्थ लैजान छुट भए पनि कडा मापदण्डको पालना गर्नुपर्ने नियम छ।

ककपिटमा कफी र मिठाइ खाने पाइलट निलम्बित

विमान उडानका क्रममा ककपिटभित्र कफी र मिठाइ खाएको भेटिएपछि भारतीय विमान कम्पनी स्पाइस जेटका दुई जना पाइटल निलम्बनमा परेका छन्। ती पाइलटले कफी र मिठाइ खाएको तस्वीर यसै साता सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

सार्वजनिक भएको तस्वीरमा ककपिटमा असावधानीपूर्वक कफीको कप र गुजिया मिठाइ राखिएको देख्न सकिन्छ तर पाइलटहरूको अनुहार भने देखिँदैन। मार्च ८ तारिखका दिन दिल्लीदेखि गुवाहटीका लागि उडेको विमानमा पाइलटले यात्राकै क्रममा कफी पिएका थिए। विमान ३७ हजार फिटको उचाइमा उडिरहेका बेला सो तस्वीर खिचिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पाइलटको यस्तो हर्कतले भारतीय एयरलाइन्सको नियमनप्रति प्रश्न उठाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश चुलिएको थियो। पाइलटको हेलचेक्र्याइँले यात्रुको ज्यान जोखिममा पारेको भन्दै चर्को आलोचना भएलगत्तै एयरलाइन्सले ती पाइलटलाई निलम्बन गरेर थप अनुसन्धान गरिरहेको बताएको छ। यो फोटो कहिलेको हो र यसमा को जिम्मेवार छन् भन्ने कुराको अनुसन्धान भइरहेको स्पाइस जेटका प्रवक्ताको भनाइ छ।

भारतमा विमानको ककपिटभित्र खाना र पेय पदार्थ लैजान छुट भए पनि कडा मापदण्डको पालना गर्नुपर्ने नियम छ।


सम्बन्धित सामग्री