Friday, April 19, 2024

-->

निर्वाचनमा ५.०६ प्रतिशत मत बदर : आयोग

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत बदर भएको छ।

निर्वाचनमा ५०६ प्रतिशत मत बदर  आयोग

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ। निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कूल खसेको मतको ५.०६ प्रतिशत बदर भएको बताएका हुन्।

"कुल खसेको मतको ५.०६ प्रतिशत बदर भएको हाम्रो तथ्यांकले देखाएको छ। त्यसमा सबैभन्दा बढी प्रदेशसभाको समानुपातिकतर्फ मत बदर भएको देखिन्छ", उनले भने।

उनका अनुसार प्रदेशसभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको छ। सबैभन्दा कम प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको छ। प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत ४.०७ प्रतिशत रहेको छ।

त्यस्तै, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत बदर भएको छ।

आयोगका उपसचिव भट्टराईले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको बताए। त्यस्तै, प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको बताए।

उनले समग्र ६१.४१ प्रतिशत मतदान भएको जानकारी दिए। सबैभन्दा बढी मधेश प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको उनको भनाइ छ। प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ६१.४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। 

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेशसभाको प्रत्यक्षतर्फ ६१.३६ प्रतिशत र प्रदेशसभाको समानुपातिक प्रणालीतर्फ ६१.३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव कमल भट्टराईले बताए। 


सम्बन्धित सामग्री