काठमाडौँ- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा समानुपातिकतर्फको दुईवटा प्रदेशमा तेस्रो स्थानमा पुगेको छ।
जारी मतगणनाअनुसार राप्रपा प्रदेश १ र बागमती प्रदेशमा तेस्रो स्थानमा पुगेको हो।
प्रदेश १ र बागमतीमा नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छन्।
दुवै प्रदेशमा तेस्रो स्थानमा रहेको राप्रपाले प्रदेश १ मा १७ लाख १५ हजार भन्दा बढी मत गनिँदा १ लाख ८२ हजार ९ सय ९ मत प्राप्त गरेको छ। बागमती प्रदेशमा हालसम्म गनिएका १७ लाख १६ हजार मतमध्ये २ लाख ५९ हजार ७ सय ९ मत राप्रपाले पाएको छ।
निर्वाचन आयोगको अद्यावधिक तथ्यांकअनुसार अन्य प्रदेशमा पनि राप्रपाले उल्लेख्य मत प्राप्त गरेको देखिएको छ। जसमा मधेश प्रदेशमा ६१ हजार ८ सय ७३ मतसहित राप्रपा आठौँ स्थानमा छ। त्यस्तै, लुम्बिनी प्रदेशमा १ लाख २७ हजार ४ सय ५२ मतसहित चौथो तथा कर्णालीमा २५ हजार १ सय ८६ मतसहित पाँचौँ स्थानमा छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा राप्रपाले क्रमशः ५७ हजार १ सय १६ र ३६ हजार ३ सय २६ मत प्राप्त गरेको छ। यी दुई प्रदेशमा राप्रपा चौथो र छैटौँ स्थानमा छ।