Friday, March 29, 2024

-->

मतदान गर्नुअघि जान्नुहोस् यी कुरा

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ, प्रतिनिधिसभाकाे समानुपातिकतर्फ, प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ र प्रदेशसभाको समानुपातिकतर्फका १/१ गरी चारवटा छुट्टाछुट्टै मतपत्र पेटिकामा खसाल्नु पर्छ।

मतदान गर्नुअघि जान्नुहोस् यी कुरा

काठमाडौं– आगामी मंसिर ४ गते संघीय तथा प्रादेशिक निर्वाचन हुँदै छ। निर्वाचनमा मतदाताले कुन पदमा कसरी मतदान गर्ने भन्ने सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ। भोट कसरी हाल्ने, यसपालिको निर्वाचनमा कतिवटा मतपत्र छन्, कुन मतपत्र कुन पदका लागि हो भन्ने जानेर मात्र भोट हाल्नुपर्छ। सानो गल्तीका कारण तपाईंले हालेको मत गणना नहुन सक्छ। विशेष गरी पहिलो पटक भोट हाल्न जाँदै हुनुहुन्छ भने तपाईंलाई भोट कसरी हाल्ने भन्ने विषयमा जिज्ञासा हुन सक्छ। त्यसैले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन के हो र मतदान कसरी गरिन्छ भन्ने सम्बन्धमा विस्तृतमा स्पष्ट पारिएको छ। 

के हो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन?
नेपालमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष निर्वाचित) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी दुई प्रकारका निर्वाचन प्रणाली छन्। पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत ७७ जिल्लामा १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् भने हरेक प्रतिनिधिसभा क्षेत्रमा दुईवटा गरी सात प्रदेशमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्। त्यसै गरी प्रतिनिधसभाको समानुपातिकतर्फ समग्र नेपाललाई एउटा निर्वाचन क्षेत्र मानेर राजनीतिक दलहरूले देशभरबाट प्राप्त गरेको मतको प्रतिशतको आधारमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा ११० सदस्यको टुङ्गो लाग्छ। ठीक त्यसै गरी प्रत्येक प्रदेशलाई एउटा निर्वाचन क्षेत्र मानेर समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै प्रदेशमा गरी जम्मा २२० सदस्य चुनिन्छन्।  

यसरी १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जनाले समानुपातिक प्रतिनिधित्व गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभाकाे गठन हुन्छ। त्यसै गरी प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट प्रदेश अनुसार दलहरूले ल्याएको मतका आधारमा प्रत्येक प्रदेशमा प्रदेशसभा गठन हुन्छ। उदाहरणका लागि मधेश प्रदेशमा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिकबाट ४३ जना गरी १०७ सदस्यीय प्रदेशसभा गठन हुन्छ भने सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष निर्वाचित ३२ जना र समानुपातिकबाट २१ जना गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा गठन हुन्छ। कुन प्रदेशमा कति सदस्यीय प्रदेशसभा छन् भन्ने थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोस्। 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्। तपाईंले आफ्नो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूमध्ये प्रत्यक्षतर्फ कुनै एक जनालाई मत दिनुपर्छ भने समानुपातिकतर्फ कुनै एक राजनीतिक दललाई मत दिन सक्नुहुन्छ। यस प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशभर गरी जम्मा ८२५ जना सांसद बन्नेछन्।  

भोट हाल्न के-के आवश्यक पर्छ?
निर्वाचनमा भोट हाल्नका लागि सबैभन्दा पहिले मतदाता नामावलीमा तपाईंकाे नाम हुनुपर्छ। तपाईंले आफ्नो नाम मतदाता नामावलीमा समावेश छ कि छैन भन्ने अनलाइनबाटै जानकारी लिन सक्नुहुन्छ। तपाईं यस लिंकमा गई आफ्नो प्रदेश, जिल्ला, पालिका र वडा चयन गरी आफ्नो मतदाता नामावली, मतदाता परिचयपत्र तथा मतदान केन्द्र सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।

मतदाता नामावलीमा नाम भएको प्रमाण मतदाता परिचयपत्र हो। मतदान गर्न आफ्नो मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र लिएर जानुपर्छ। मतदाता नामावलीमा नाम छ तर तपाईंसँग मतदाता परिचयपत्र छैन भने परिचय खुल्ने कागजात भए आफ्नो मतदाता नामावली जहाँ छ, त्यहाँ भोट हाल्न पाइन्छ। 

भोट हाल्नुअघि आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारहरू तथा राजनीतिक दलहरूका विषयमा अध्ययन गर्नुहोस्। उनीहरूले के कस्ता अजेन्डा तथा योजनाहरू ल्याएका छन्, त्यो बुझ्नुहोस्। त्यसका आधारमा कसलाई भोट दिँदा उपयुक्त हुन्छ भन्ने निर्णय गर्नुहोस्। 

त्यसपछि निर्वाचनका दिन भोट हाल्न तपाईं मतदाता परिचयपत्र वा परिचय खुल्ने कागजातसहित मतदान केन्द्रमा जानुहोस्। त्यहाँ तपाई‌ं लाइनमा बस्नुपर्ने हुन सक्छ। निर्वाचन गराउन खटिएका कर्मचारीले तपाईंकाे परिचयपत्र चेकजाँच गरी बायाँ हातमा मसी लगाइदिएपछि तपाईं मतदान केन्द्रमा प्रवेश गर्नुहुन्छ।  त्यसपछि तपाईंलाई कर्मचारीले मतपत्र दिन्छन्। 

कतिवटा हुन्छन् मतपत्र र मतपेटिका?
यसपालिको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष निर्वाचित) तर्फ, प्रतिनिधिसभाकाे समानुपातिकतर्फ, प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचिततर्फ र प्रदेशसभाको समानुपातिकतर्फ एक-एक गरी जम्मा चारवटा मतपत्र हुन्छन्। प्रत्येक मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिका (भोट हालेर मतपत्र खसाउने बाकस) राखिएको हुन्छ। 

सही तरिकाले कसरी मतदान गर्ने?
मतपत्र पाइसकेपछि तपाईंले पहिले मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन जाँच्नुहोस्। छैन भने तत्काल कर्मचारीलाई थाहा दिनुहोस् र हस्ताक्षर गर्न लगाउनुहोस्। त्यसपछि  मतदान गर्नका लागि बनाइएको गोप्य कक्षमा जानुहोस्। गोप्य कक्षमा पुगिसकेपछि आफूले भोट हाल्न चाहेको उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन चिह्नमा गोप्य कक्षमा राखिएको स्वस्तिक छापले एउटा मात्रै निर्वाचन चिह्नमा पर्ने गरी मत संकेत गर्नुहोस्। मत संकेत गर्दा तपाईंले स्वस्तिक छापको मात्र प्रयोग गर्नुपर्छ। आफ्नो हस्ताक्षर, औँठाछाप लगायत अन्य कुनै तरिकाले मत संकेत गरे तपाईंकाे मत गणना हुँदैन। मत संकेत गरेपछि मतपत्र पट्याउँदा एउटा चिह्नमा लगाएको स्वस्तिक छापको मसी अन्य चिह्नमा नलागोस् भनेर विशेष ध्यान दिनुहोस्। मतपत्र पट्याइसकेपछि सम्बन्धित मतपेटिकामा खसाल्नुहोस्। 

तपाईंले एउटा मतपत्रमा भोट दिएर त्यो मतपत्र सम्बन्धित मतपेटिकामा खसालेपछि पालैपालो गरी अन्य मतपत्रमा भोट हाल्दै सम्बन्धित मतपेटिकामा खसाउँदै जानुपर्छ। आफ्नो क्षेत्रका चारवटै मतपत्र कस्ता छन् भन्ने हेर्नका लागि यहाँ जानुहोस्।


कुन मतपत्र कुन पदका लागि?
पहिलो :
 तपाई‌ंले सबैभन्दा पहिले रातो रङको मतपत्र पाउनुहुन्छ। यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि हो। यसमा तपाईंकाे निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुनेतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको निर्वाचन चिह्न हुन्छ। मतपत्रमा भएका चिह्नहरूमध्ये तपाईंले राेजेकाे कुनै एक उम्मेदवरको चिह्न भएको काेठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाउनुहोस् र १ नम्बर लेखिएको मतपेटिकामा खसाल्नुहोस्।

दोस्रो : तपाईंलाई दिइने दोस्रो मतपत्र कालो रङको हुन्छ। यो मतपत्रमा समानुपातिक निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूको निर्वाचन चिह्न हुन्छ। समानुपातिक निर्वाचन प्रणालीमा समग्र नेपाललाई नै एक निर्वाचन क्षेत्र मानिएको हुन्छ। यस मत्रपत्रमा तपाईंले चाहेको कुनै एक राजनीतिक दलको चिह्न भएको कोठामा स्वस्तिक छाप लगाउनुहोस् र २ नम्बर लेखिएको मतपेटिकामा खसाउनुहोस्। 

तेस्रो : यो मतपत्र पनि रातो रङको हुन्छ। यो मतपत्र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवार छान्नका लागि हो। यसमा पनि तपाईंले रोजेको कुनै एक उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छाप लगाउनुहोस् र ३ लेखिएको मतपेटिकामा खसाउनुहोस्। 

चौथो : तपाई‌ंले पाउने चौथो तथा अन्तिम मतपत्र कालो रङको हुन्छ। यसमा प्रदेशसभाको समानुपातिकतर्फ भाग लिएका राजनीतिक दलका निर्वाचन चिह्न हुन्छन्। तपाईंले यसमा पनि कुनै एक राजनीतिक पार्टीको चिह्न भएको कोठामा मतसंकेत गरी ४ लेखिएको मतपेटिकामा खसाउनुहोस्। 

कस्तो अवस्थामा मत बदर हुन्छ?

  • स्वस्तिक छाप निर्वाचन चिह्न भएको कोठाभन्दा बाहिर लागेमा।

  • स्वस्तिक छाप दुई फरक निर्वाचन चिह्न भएका कोठाहरूमा छुने गरी लगाएमा। 

  • एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाएमा। 

  • राम्रोसँग नपट्याउँदा एउटा चिह्नमा लगाएको स्वस्तिक छापको मसी लतपतिएर अर्को चिह्नमा लागेमा। 

  • स्वस्तिक छापभन्दा अन्य कुनै हिसाबले मतसंकेत गरेमा। जस्तै निर्वाचन चिह्नमा औँठाछाप लगाएमा वा हस्ताक्षर गरेमा। 

  • मतपेटिकामा मतदान अधिकृतको हस्ताक्षर नभएमा।


अपाङ्गता भएको तथा अन्य कुनै कारणबाट आफूले मतदान गर्न नसक्ने अवस्थामा के गर्ने?
तपाईं शारीरिक अपाङ्गता वा अन्य कुनै कारणले आफै‌ँ मतदान गर्न सक्ने अवस्थामा हुनुहुन्न भने तपाईंले एकाघरको सदस्यको सहयोगमा आफूले चाहेको उम्मेदवार वा पार्टीलाई भोट दिन पाउनुहुन्छ। तपाईंकाे एकाघरको सदस्य नभएको अवस्थामा मतदान अधिकृतले तपाईंलाई भोट हाल्न सहयोग गर्छन्। 

मंसिर ४ गते बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मतदानको समय तोकिएको छ। उक्त समयभित्र तपाईं आफ्नो मतदाता परिचयपत्र वा पहिचान खुल्ने कागजातसहित मतदान केन्द्रमा जानुहोस्  र सावधानीपूर्वक गोप्य रूपमा मतदान गर्नुहोस्। 

मतदान सकिएपछि सबै मतपेटिकाहरूलाई सुरक्षित रूपमा सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन आयोगबाट खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय लगिन्छ। सबै राजनीतिक दल तथा उम्मेदवारको प्रतिनिधिहरूले देख्ने गरी मतगणना गरिन्छ। प्रत्यक्षतर्फको मतगणना सकिएपछि मात्र समानुपातिकतर्फको मतगणना गरिन्छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका १६५ (७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ वटा निर्वाचन अधिकृतको कार्यालय) कार्यालयबाट निर्वाचनको परिणाम घोषणा गरिन्छ। 

प्रत्यक्ष निर्वाचनतर्फको मतपरिणाम तीन दिनभित्र र समानुपातिकतर्फको मतपरिणाम आठ दिनभित्र आउने अनुमान गरिएको निर्वाचन आयोगका अधिकारीहरूको भनाइ छ। 

-यो सामग्री नेपाल चेकबाट लिइएको हो।


सम्बन्धित सामग्री