Friday, March 29, 2024

-->

छक्कबहादुरको वरिपरि घुम्छ हुम्लाको चुनावी राजनीति

हुम्लाको चुनावी राजनीतिमा छक्कबहादुर लामाले जहिल्यै ‘सरप्राइज’ दिइरहन्छन्। यसपालि कर्णालीमा सम्भावित चुनावी परिणामलाई लिएर धेरै अड्कलबाजी भइरहँदा छक्कबहादुर फेरि चर्चामा छन्। 

छक्कबहादुरको वरिपरि घुम्छ हुम्लाको चुनावी राजनीति 

जुम्ला– एक साता पहिले काठमाडौंमा माओवादीका एक स्थायी कमिटी सदस्यले भनेका थिए– ‘जता छक्कबहादुर उतै मत।’ यो बिम्ब उनले हिमाली जिल्ला हुम्लाबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका छक्कबहादुर लामाका निम्ति प्रयोग गरेका थिए। लामा अहिले कर्णालीको मुख्यमन्त्री, नभए मन्त्रीसम्म बन्ने महत्त्वाकांक्षासहित प्रदेश सभा सदस्यको उम्मेदवार छन्।

हुन पनि हुम्लाको पछिल्लो तीन दशकको राजनीतिमा छक्कबहादुर छुटाउनै नमिल्ने नाम बनेका छन्।  कर्णालीको दुर्गम हिमाली जिल्लाका बासिन्दा छक्कबहादुरको प्रभाव काठमाडौंसम्म बलियो छ। किनभने उनी हुम्ला, तिब्बत र आसपासका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाबारे जानकार हुन्। दुर्गम हुम्लामा बसेर राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने खुबीकै कारण लामाले चुनावका बेला लिने निर्णयहरूले मतदाता पनि चकित हुने गर्छन्। जित÷हारभन्दा पनि चुनाव अघि र पछि उनले लिने निर्णयले चर्चा पाउँछ। 

यसपटक पनि त्यस्तै भएको छ। छक्कबहादुरले फेरि एक पटक हुम्लामा मात्र नभई कर्णाली प्रदेश हुँदै कामठाडौंको पनि ध्यान खिचिरहेका छन्। 

लामा यसपटक हुम्लाको प्रदेश सभा सदस्यमा एमालेबाट उम्मेदवार छन्। हुम्लाको एक मात्र प्रतिनिधि सभा क्षेत्रका लागि भने एमालेबाट दल रावल चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट माओवादीका छिरिङ लामा प्रतिस्पर्धामा छन्। 

रावल कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री हुन्। नेकपाभित्र विवाद चर्किएका बेला उनी पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको समूहमा रहने निर्णयमा पुगेका थिए। तर, पछि सर्वोच्च अदालतले नेकपा विभाजन गरेपछि रावल एमालेमै रहे। 

छक्कबहादुरका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही छन्। २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छक्कबहादुर यसपालि एमालेको साथ पाएकाले फेरि त्यस्तै ‘सरप्राइज’ दिने योजनामा छन्।

यी छक्कबहादुर
छक्कबहादुर २०७४ मा माओवादीबाट उम्मेदवार बन्न चाहन्थे। तर, माओवादीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए, माओवादी र कांग्रेस उम्मेदवारलाई पाखा लगाएर निर्वाचित भए। यसपटक निर्वाचनअघि एमाले पुगेका उनी फेरि माओवादी फर्कन सक्ने सम्भावना नकार्दैनन्। “माओवादी विचारका रूपमा नराम्रो पार्टी होइन। म कम्युनिस्ट धारबाट आएकाले पनि मेरो माओवादी प्रवेशलाई अस्वाभाविक भन्दिनँ। नेतृत्वले अपमान गरेकाले म यसपटक एमालेमा आएको हुँ। भविष्यमा माओवादी र एमाले एकै ठाउँमा हुने सम्भावना पनि छ। त्यस्तो अवस्थामा मैले पार्टी बदल्नु सामान्य कुरा हो,” उनले भने।  

छक्कबहादुर हुम्लाबाटै विद्यालय पढाई सकेर २०३१ सालमा वकिल गर्ने लक्ष्यसहित काठमाडौं हानिएका थिए। काठमाडौंमा उनी नेपाल ल क्याम्पस भर्ना भए, त्यहीँबाट स्नातक गरे। पछि राजनीतिमा सक्रिय हुन थाले। २०४८ सालमा संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका उनी २०६२/६३ को आन्दोलन शुरू हुनुअघिको शाही शासनकालमा केही समय भौतिक योजना सहायकमन्त्री बने। शाही शासनमा मन्त्री बनेपछि उनलाई राजावादी भएको आरोप लाग्यो। तर, पछि ‘क्रान्तिकारी’ बन्ने भन्दै उनी माओवादी प्रवेश गरे। 

माओवादीमा प्रवेश गरेपछि उनी केन्द्रीय सदस्य बने। खासमा उनको माओवादी प्रवेश टिकट पाउने निश्चित भएपछि मात्रै भएको थियो। तर, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीलाई एकतासम्म पुर्‍याउने लक्ष्यसहित २०७४ को निर्वाचनमा वाम गठबन्धन गरेपछि छक्कबहादुरले प्रतिनिधि सभा सदस्यको टिकट पाएनन्। आफूलाई धोका भएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिए। 

त्यो बेला उनी हार्ने आकलन धेरैले गरेका थिए। तर, फेरि एकपटक सबैलाई छक्क पार्दै उनले जिते। छक्कबहादुरले ८ हजार ४९१ मत ल्याएर कांग्रेसका मंगलबहादुर शाही (८ हजार ४४४ मत) लाई ४७ मतान्तरले पराजित गरेका थिए। वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमी दोर्जे लामाले २७ सय मत मात्र पाए। दोर्ची पनि छक्कबहादुरका नातेदार हुन्। 

६ महिनापछि एमाले र माओवादी एकै ठाउँ गाभिए, नेकपा जन्मियो। ओली र दाहाल दुवैले छक्कबहादुरलाई नेकपामा भित्र्याउन चाहे। छक्कबहादुर नेकपा प्रवेश गरेर फेरि हुम्लावासीलाई छक्क पारे। नेकपा दुई चिरा भएपछि छक्कबहादुर माओवादीमा रहे। तर, यसपालि फेरि टिकट नपाउने देखेपछि उनी गत असोज १७ गते एमाले प्रवेश गरे। 

ओलीले प्रतिनिधि सभा सदस्यका लागि टिकट दिने ग्यारेन्टी गरेपछि उनी एमाले प्रवेश गरेको चर्चा थियो। तर, उनलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाइयो। 

प्रतिनिधि सभा सदस्य बन्न चाहेका छक्बहादुर प्रदेशमा झर्नुपर्दा नेतृत्वसँग असन्तुष्ट छन्। त्यस कारण उनले आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएको उनीनिकटस्थहर बताउँछन्। “उहाँ (छक्कबहादुर संघमा जानु पर्ने नेता हो। हुम्लालाई उहाँ जस्तो नेता संघमा जाँदा फाइदा छ। तर, पार्टीले उहाँलाई प्रदेशमा झारेको छ। अब जसरी पनि उहाँले जित्नु पर्छ”, छक्कबहादुरनिकट एक नेताले भने।  

सधैँ चकित पारिरहने छक्कबहादुर प्रतिस्पर्धी बनेकाले सत्ता गठबन्धनका उम्मेदवार जीवनबहादुर शाहीको दौडधुप यसपालि धेरै बढेको छ। “म अहिले घरदैलोमै व्यस्त छु। मलाई हुम्लाका जनताले भोट दिएर पुनः प्रदेशसभामा पठाउँछन् भन्नेमा कुनै अन्योल छैन,” शाहीले भने। 

मुख्यमन्त्रीसँगको प्रतिस्पर्धाले लामा केही दबाबमा रहेको उनीनिकट एक नेताको भनाई छ। त्यसैले लामाले जिल्लाको दलीय समीकरण, व्यक्तिगत प्रभाव र प्रतिस्पर्धी खेमाभित्रको असन्तुष्टिलाई पनि प्रयोग गर्ने रणनीति बनाएको हुम्ला कांग्रेसका ती नेताले बताए। उनले प्रदेशमा जीवनबहादुरलाई हराउने र संघमा दल रावललाई हराउने सर्तमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका छिरिङ लामालाई जिताउने कसरत गरिरहेको दाबी ती नेताले गरे। 

छिरिङ नातामा छक्कबहादुरका साला पर्छन्। आफ्नो जितका लागि छक्कबहादुरले छिरिङसँग मिलेमतो गर्न सक्ने डर एमालेका नेताहरूलाई पनि छ। तर, छक्कबहादुर यसलाई स्वीकार गर्दैनन्। भन्छन्, “मेरो नातेदार भएकाले छिरिङले जितोस् भन्ने मेरो चाहना अस्वाभाविक होइन। उसले जितोस् भन्ने नै मेरो चाहना हो। तर, आफ्नै पार्टीमा भएकाले दल रावलमाथि घात गर्न पनि म सक्दिनँ।” 

छक्कबहादुर आफूले प्रदेशमा सहजै जित्ने भएकाले आफ्नै पार्टीमा घात गर्न जरुरी नभएको बताउँछन्। “म मेरै मिहिनेत र बलबुतामा प्रदेशमा जित हासिल गर्छु। त्यसका लागि आफ्नै पार्टीका नेतालाई हराउन जरुरी  छैन। त्यसमाथि दलजी राम्रो नेता हुनुहुन्छ,” उनले थपे। 

रावल पनि आफूलाई छक्कबहादुरले घात गर्नेबारे सोच्न नसक्ने बताउँछन्। “हुम्लामा मैले जित्न सक्ने प्रशस्त आधारहरू छन्। म हुम्लीवासीमा समर्पित छु। उहाँहरूले मलाई संघमा पठाउनुहुन्छ भन्नेमा विश्वस्त छु”, रावलले भने। 

तर, हुम्लाका नेताहरू छक्कबहादुरको विगतका कारण उनी जितका लागि कुनै पनि बेला जोसुकैसँग तालमेल गर्न सक्ने बताउँछन्। “आफ्नो जितका लागि छक्क्बहादुरले पार्टी नै परिवर्तन गर्दै आएका छन्। यसपटक प्रदेशमा आफ्नो जितका लागि उनले आफ्नो पार्टी नभई विपक्षीका उम्मेदवारलाई सघाउन थालेको सुनिन्छ,” हुम्लाका एक एमाले नेताले भने, “जीवनबहादुरलाई हराउन छक्कबहादुरले जे पनि गर्छन्। किनकी हुम्लामा छक्कबहादुरको आदेश पालना गर्ने धेरै छन्।” 

हुम्लामा अदानचुली गाउँपालिका, खार्पुनाथ गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका, नाम्खा गाउँपालिका, सर्केगाड गाउँपालिका, सिम्कोट गाउँपालिका गरी ७ वटा गाउँपालिका छन्। यो निर्वाचन क्षेत्रमा कूल मतदाता ३२ हजार ८५७  छन्। त्यसमध्ये १७ हजार १२८ पुरुष मतदाता छन्। १५ हजार ७२९ महिला छन्। 

गत स्थानीय तह निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट मोहनविक्रम सिंह १९६८ मतसहित विजयी भएका थिए। त्यस्तै, खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै कर्णबहादुर रावल, सर्केगाड गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै ठानबहादुर रोकायले जितेका थिए। ताँजाकोट गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रका लालकेशी जैसी, नाम्खा गाउँपालिका अध्यक्षमा माओवादीकै प्रेमबहादुर लामा, सिमकोट गाउँपालिका अध्यक्षमा माओवादीकै विजय भण्डारी र चँखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी भएका थिए।  

वडाध्यक्षको मत हेर्दा माओवादीको ६ हजार ४९३, एमालेको ६ हजार १४७, कांग्रेसको ४ हजार ७६४, नेकपा एकीकृत समाजवादीको ८८८ मत थियो। यो मतलाई आधार मान्ने हो भने गठबन्धनका उम्मेदवार माओवादीका लामा अगाडि देखिन्छन्। तर, जिल्लामा रहेको प्रभाव र व्यक्तिगत मतका कारण पनि छक्कबहादुरको रणनीतिले नै धेरै कुरा तय गर्ने त्यहाँका नेताहरूको भनाइ छ। 


सम्बन्धित सामग्री