Friday, April 19, 2024

-->

यी हुन् कडा प्रतिस्पर्धा भइरहेका ४१ निर्वाचन क्षेत्र

यसपालिको संघीय निर्वाचनमा १६५ मध्ये १२४ वटा क्षेत्रहरूबाट को विजयी हुन्छ भनेर अनुमान गर्न सकिन्छ, तर ४१ क्षेत्रमा कडा प्रतिस्पर्धा छ। कुन हुन् ती क्षेत्र?

यी हुन् कडा प्रतिस्पर्धा भइरहेका ४१ निर्वाचन क्षेत्र
फाइल तस्वीर

काठमाडौँ- यसपालिको संघीय निर्वाचनमा १६५ मध्ये १२४ वटा क्षेत्रहरू केही उम्मेदवारका लागि सहज वा अुनुकूल छन् र त्यहाँ को विजयी होलान् भनेर अनुमान गर्न सक्ने अवस्था छ। तर करिब ४१ वटा निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धाको अवस्था छ। 

हामीले प्रत्येक निर्वाचन क्षेत्रमा रहेका राजनीतिक दलका नेता-कार्यकर्ता, मतदाता, विज्ञ, विश्लेषकहरुसँग गरिएको कुराकानी तथा सुरक्षा निकायहरूबाट प्राप्त सूचनाका आधारमा यो आकलन गरेका हौँ।

यी क्षेत्रमा को विजयी हुन्छन् भन्ने अन्तत: मतदाताको मनोविज्ञानले निर्णय गर्छ। तर हालै गरिएका विभिन्न अध्ययनले के देखाउँछन् भने मतदाताहरू प्राय:जसो निवर्तमान प्रतिनिधिहरूसँग सन्तुष्ट छैनन् र उनीहरू नयाँ अनुहारको खोजीमा छन्। त्यसमाथि काठमाडौँ, धनगढी, धरानजस्ता शहरी क्षेत्रमा मूलधारका पार्टी बाहिर रहेका नयाँ अनुहारहरूले पनि प्रशस्तै मत पाउन सक्छन् भन्ने उदाहरण विगतका निर्वाचनले देखाएका छन्। धेरैजसो पहाडी र हिमाली जिल्लामा कांग्रेस, एमाले र माओवादी केन्द्रकै उपस्थिति देखिन्छ।

यहाँ दिइएको प्रतिस्पर्धात्मक विश्लेषणमा दुईवटा कुरा हेक्का राख्नुपर्ने छन्। अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए भने यसपल्ट कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र लोसपा मिलेर चुनाव लडिरहेका छन्। त्यसैले २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पाएको मत दुई दलको संयुक्त थियो। त्यसैगरी, मधेशका उम्मेदवारहरूले पाएको मत मधेश आन्दोलनको परिणाम थियो। 

त्यसोभए कुन कुन क्षेत्रमा कडा प्रतिस्पर्धा भैरहेको छ त?

प्रदेश १

पाँचथर
पाँचथरमा नेपाली कांग्रेसका भीष्मराज आङ्दम्बे र नेकपा एमालेका वसन्तकुमार नेम्वाङबीच प्रतिस्पर्धा छ। अघिल्लोपल्टको निर्वाचनमा पनि यिनै दुईबीच प्रतिस्पर्धा भएको थियो, जसमा नेम्वाङले माओवादी केन्द्रको साथ पाएका कारण १० हजारभन्दा बढीको मत अन्तरले जितेका थिए।

इलाम-२ 
इलाम-२ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा छ। २०७४ सालको निर्वाचनमा नेम्वाङले कांग्रेसका प्रतिद्वन्द्वीलाई झण्डै १० हजार मतले हराएका थिए। यसपटक कांग्रेसका उम्मेदवारले माओवादी समर्थकहरूको भोट कुन हदसम्म तान्न सक्लान् भन्ने अनुमानकै विषय छ। 

झापा-१ 
प्रदेश १ मा अर्को रोचक प्रतिस्पर्धा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच हुँदैछ। अहिलेको रूझानमा विश्वप्रकाश शर्मा अगाडि हुन् कि जस्तो देखिएको छ। पछिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रका राम कार्कीसँग २ हजार ८६३ मतले मात्र पराजित भएका थिए। त्यसैले यसपालि उनको स्थिति पछिल्लोपल्ट भन्दा केही सहज होला भनेर अनुमान गर्न सकिन्छ।

झापा-३
झापा-३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला पछिल्लोपटक राप्रपाका राजेन्द्र लिङ्देनसँग १३ हजारभन्दा बढी मतले पराजित भएका थिए। यसपालि पनि यिनै दुई नेताबीच प्रतिस्पर्धा चलिरहेको छ। यसपालि पनि लिङ्देनको स्थिति राम्रै भएकोले सिटौलालाई कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। माओवादी केन्द्र र नेकपा एससँगको तालमेलले सिटौलालाई यसपटक कति सहयोग मिल्ला?

खोटाङ-१
खोटाङ-१ मा मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका विशाल भट्टराई र माओवादी केन्द्र रामकुमार राई छन्। अघिल्लो निर्वाचनमा पनि विशाल भट्टराई नै निर्वाचित भएका थिए। अघिल्लो चुनावमा उनले कांग्रेसका उम्मेदवारभन्दा झण्डै १४ हजार बढी मत ल्याएका थिए।

मोरङ-२
मोरङ-२ मा मुख्य प्रतिस्पर्धा एमालेका ऋषिकेश पोखरेल र कांग्रेसकी सुजाता कोइरालाबीच हुँदैछ। यसअघिको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजाल करिब १८०० मत अन्तरले विजयी भएका थिए भने दोस्रो स्थानमा ऋषिकेश पोखरेल नै थिए। कांग्रेसले यसपालि रिजालको ठाउँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई टिकट दिएको छ।

सुनसरी-३
सुनसरी-३ मा अहिले एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच रोचक भिडन्त भैरहेको छ। चौधरी र गच्छदारको प्रतिस्पर्धा पुरानो हो। उनी २०७० र २०७४ साल‍कै निर्वाचनमा गच्छदारसित झिनो मतले मात्र पराजित भएकी थिइन्।

उदयपुर-१
उदयपुर-१ का मुख्य प्रतिस्पर्धी हुन् कांग्रेसका डा. नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरी। यी दुई नेताहरूको प्रतिस्पर्धा पनि पुरानै हो। अघिल्लो निर्वाचनमा डा. खड्काले चौधरीलाई ५५० मतले मात्र पराजित गरेका थिए। 

मधेश प्रदेश

धनुषा-२ 
धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव र एमालेका उमाशंकर अरगरियाबीच प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा अरगरिया संघीय समाजवादी फोरमबाट चुनाव लडेर निर्वाचित भएका थिए। त्यतिखेर उनले ३२ हजार ४४ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामचन्द्र झाले १८ हजार ७१५ मत र कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४१ मत पाएका थिए। यसको अर्थ हो, यसपालि रामकृष्ण यादवलाई निर्वाचन जित्नका लागि माओवादीको ठूलै सहयोग चाहिन्छ। मतदाताले नयाँ अनुहार खोजे भने उनलाई थप सहयोग पुग्नेछ। अघिल्लो निर्वाचनमा अरगरियाले पाएको मत मधेश आन्दोलन र यादव समुदायको थियो। त्यसैले अरगरिया यसपल्टको निर्वाचनमा पहिलाभन्दा धेरै कमजोर छन्।

सर्लाही-२
सर्लाही-२ मा सत्ता गठबन्धनकै दुई सहयात्री, माओवादी केन्द्र महिन्द्र राय यादव र लोसपाका राजेन्द्र महतोबीच रोचक प्रतिस्पर्धा भैरहेको छ। अघिल्लो निर्वाचनमा यादव राजपाबाट ठूलै मतको अन्तरले विजयी बनेका थिए। महतोले धनुषा एमालेलाई छाडेर आफ्नै पुराना सहयात्रीसँग सर्लाहीमा भिड्नुको उद्देश्य उनको रघुवीर महासेठसँगको सम्बन्धलाई लिइएको छ।

सर्लाही-४
सर्लाही-४ मा कांग्रेसका नागेन्द्रकुमार राय र जसपाका राकेशकुमार मिश्रबीच भिडन्त छ। तर पछिल्लो समयमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह पनि प्रतिस्पर्धामा आइरहेका छन्। अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट सिंह कांग्रेसको उम्मेदवारको रूपमा विजयी भएका थिए भने यसपटक उनलाई रायका लागि सीट छोड्न लगाइएको थियो। 

बाग्मती प्रदेश

सिन्धुपाल्चोक-२
सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबीच प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा यहाँबाट तामाङ विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका पशुपतिशमशेर जबरा थिए। त्यतिखेर मोहनबहादुर बस्नेत क्षेत्र नम्बर १ बाट लडेका थिए र माओवादीका अग्निप्रसाद सापकोटासँग भारी मतले पराजित भएका थिए।

काठमाडौँ-१ 
काठमाडौँ-१ मा सधैँ रोचक भिडन्त हुने गर्दछ। यसपालिको भिडन्तमा कांग्रेसका निवर्तमान सांसद प्रकाशमान सिंहलाई फेरि पनि चुनौती दिन राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र मैदानमा आएका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र एमालेका किरण पौडेल पनि प्रतिस्पर्धामा छन्। अघिल्लोपल्ट प्रकाशमान सिंहको १० हजार ९३६ मत आएको थियो भने रवीन्द्र मिश्रको मत १० हजार ११८ थियो। यसपालि पुकार बमले पनि तरंग सिर्जना गरिरहेका छन्। यो क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने निश्चित छ।

काठमाडौँ-२ 
काठमाडौं-२ मा एमालेका मणिराम फुयाँल, माओवादीकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धी हुन्। अघिल्लोपल्टको निर्वाचनमा माधवकुमार नेपालले २७ हजार ३६६ मत पाएका थिए भने कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०० मत मात्र हात पारेका थिए। यसपालि कांग्रेस मैदानमा छैन। सोविता गौतमको प्रचारप्रसार पनि राम्रै छ।

काठमाडौँ-३ 
काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्णबहादुर राईबीच मुख्य प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा राईले ४ हजार २८५ मतको अन्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए। मतदाताले पुरानै सांसद छान्ने कि नयाँ अनुहार छान्ने भन्ने कुराले यसपालिको भीडन्त रोचक बनेको छ।

काठमाडौँ-५ 
काठमाडौं-५ मा अघिल्लोपल्ट ईश्वर पोखरेलले कांग्रेसका प्रकाशशरण महतलाई झण्डै १० हजार मतान्तरले हराएर सजिलै जित हात पारेका थिए। यसपल्ट मैदानमा कांग्रेसका नयाँ अनुहार प्रदीप पौडेल छन्। के ईश्वर पोखरेलले पहिलाजस्तै सजिलै जित हात पार्लान् त?

काठमाडौँ-६
काठमाडौँ-६ मा यसपटक त्रिपक्षीय भिडन्त हुने देखिन्छ। मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, कांग्रेसका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनाल भिडिरहेका छन्। अघिल्लोपल्ट यस क्षेत्रबाट भीमसेनदास प्रधानले माओवादीका झक्कु सुवेदीलाई १ हजार ३०० मतले हराएर विजयी भएका थिए। यसपल्ट उनलाई सर्वेन्द्र र शिशिरले राम्रै चुनौती दिनसक्ने संभावना छ।

चितवन-१ 
चितवन-१ अर्को रोचक प्रतिस्पर्धा रहेको क्षेत्र हो। यस क्षेत्रमा एमालेका सुरेन्द्रप्रसाद पाण्डे, कांग्रेसका डा. विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबीच कडा प्रतिस्पर्धा छ। केही समयअघिसम्म पाण्डे अग्रस्थानमा भएको अनुमान गरिए पनि यस क्षेत्रमा कसले जित्छ भन्न गाह्रो छ। अघिल्लो चुनावमा पाण्डेले कांग्रेसका उम्मेदवार भन्दा झण्डै १६ हजार बढी मत ल्याएर विजयी भएका थिए।

धादिङ-२
धादिङ-२ मा अहिले कांग्रेसका रामनाथ अधिकारी तथा एमालेका खेमप्रसाद लोहनीबीच कडा प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा खेमप्रसाद लोहनी कांग्रेसका दिलमान पाख्रिनभन्दा जम्मा ३९ मतको अन्तरले विजयी भएका थिए। यसको अर्थ, अहिले यहाँ कांग्रेसको संभावना बलियो छ।

यो पनि पढ्नुहोस्- चुनावी धरातल : कुन दलको स्थिति कस्तो?

गण्डकी प्रदेश

लमजुङ-१ 
लमजुङ-१ मा एमालेका पृथ्वी सुब्बा गुरूङ र माओवादीका देव गुरूङ प्रतिस्पर्धामा छन्। अघिल्लोपल्ट यस क्षेत्रबाट देव गुरूङ निर्वाचित भएका थिए भने दोस्रोमा कांग्रेसका दिलबहादुर घर्ती थिए। 

तनहुँ-१
तनहुँ-१ परम्परागत रूपमा कांग्रेसको बलियो क्षेत्र ठानिए पनि अघिल्लो निर्वाचनमा यहाँबाट कांग्रेसले जित्न सकेन। अहिले यहाँबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना मगर प्रमुख उम्मेदवार छन्। स्वतन्त्र रूपमा उठेर गोविन्दराज जोशीले पौडेललाई थप चुनौती सिर्जना गरेका छन्। अघिल्लोपटकको निर्वाचनमा यहाँबाट एमालेका कृष्णकुमार श्रेष्ठ झण्डै सात हजार मतको भिन्नताले विजयी भएका थिए। 

तनहुँ-२
तनहुँ-२ मा पनि यस्तै खालको प्रतिस्पर्धा छ। अहिले यहाँ नेपाली कांग्रेसका शंकर भण्डारी र नेकपा एमालेका किरण गुरूङ भिडिरहेका छन्। अघिल्लो निर्वाचनमा पनि शंकर भण्डारी क्षेत्र नम्बर १ बाट धकेलिएर २ मा पुर्याइएका थिए। त्यहाँ नेकपा एमालेले उनको भन्दा ३ हज़ार बढ़ी मत ल्याएर जितेको थियो। 

कास्की-१ 
कास्की-१ मा नेपाली कांग्रेसका किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी मैदानमा छन्। यो क्षेत्रमा अघिल्लोपल्ट एमालेका खगराज अधिकारीले झण्डै १४ हजार मतले चुनाव जितेका थिए। यसपालि पनि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुँदैछ। माओवादीको साथ पाएका कारण बराल प्रतिस्पर्धी हुने अनुमान गरिएको छ, तर परम्परागत रूपमा एमालेको पकड राम्रो छ।

कास्की-३ 
कास्की-३ मा एमालेका दामोदर पौडेल वैरागी र माओवादीका रामजीप्रसाद बराल जीवन प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा अघिल्लोपल्ट एमाले आठ हजारभन्दा बढी मतले विजयी भएको थियो भने कांग्रेस दोस्रो स्थानमा थियो। यसपल्ट प्रतिस्पर्धा एमाले र माओवादीका बीचमा छ।

स्याङ्जा-२
स्याङ्जा-२ मा प्रमुख उम्मेदवारका रूपमा कांग्रेसका प्रखर वक्ता धनराज गुरुङ र एमालेकी नेतृ पद्माकुमारी अर्याल मैदानमा छन्। अघिल्लोपटक यहाँबाट अर्याल भारी मतले विजयी भएकी थिइन् र मन्त्रीसमेत बनेकी थिइन्। यसपटक भने उनको गुरुङसित कडा प्रतिस्पर्धा छ।

नवलपरासी पूर्व-१
नवलपरासी पूर्व-१ मा  कांग्रेसका शशांक कोइराला र एमालेका कृष्णप्रसाद पौडेलबीच भीडन्त छ। अघिल्लो निर्वाचनमा यहाँबाट शशांक कोइरालाले सजिलै जितेका थिए। त्यतिखेर उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका भविसोर पराजुली थिए। यसपालि भने यो क्षेत्र प्रतिस्पर्धात्मक बनेको छ।
 
नवलपरासी पूर्व-२
नवलपरासी पूर्व-२ मा पनि प्रतिस्पर्धाकै स्थिति भएकोले कसले जित्छ भन्न सकिँदैन। यहाँ कांग्रेसका विष्णुकुमार कार्की र एमालेका तिलबहादुर (तिलक) महत क्षेत्रीबीच टक्कर छ। अघिल्लोपल्ट पनि यिनै दुई नेताबीच भीडन्त भएको थियो र माओवादीको सहयोगमा तिलक महत विजयी भएका थिए। अघिल्लो निर्वाचनमा महतले ३९ हजार ५३ मत ल्याउँदा कार्कीले ३७ हजार ७२० मत ल्याएका थिए। यसपालि माओवादी साथमा भएका कारण कार्कीको संभावना केही धेरै छ।

लुम्बिनी प्रदेश

अर्घाखाँची-१
अर्घाखाँचीको क्षेत्र नम्बर १ मा एमालेका टोपबहादुर रायमाझी, कांग्रेसकी पुष्पा भुसाल गौतमबीच कडा प्रतिस्पर्धाको स्थिति छ। अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट रायमाझीले माओवादी केन्द्रबाट चुनाव लडेका थिए र कांग्रेसका रामबहादु बीसीलाई १८ हजारभन्दा बढी मतभिन्नताले हराएका थिए। यसपालि माओवादी र कांग्रेसको गठबन्धनका कारण उनलाई ठूलै चुनौती छ।

रूपन्देही-१
रूपन्देही-१ मा घनश्याम भूसाल स्वतन्त्र उम्मेदवारका रूपमा उभिएका छन् भने उनको प्रतिस्पर्धा एमालेका छविलाल विश्वकर्मासँग छ। केही महिनाअघि सम्म एउटै दलमा रहेका यी दुई नेताबीचको प्रतिस्पर्धामा को अगाडि आउला सहजै अनुमान गर्न सकिँदैन। भूसाललाई यसपटक सत्ता गठबन्धनले सहयोग गरिरहेको छ। अघिल्लोपल्ट यस क्षेत्रबाट विश्वकर्माले नै प्रतिनिधित्व गरेका थिए। उनको मत कांग्रेसका निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै ८ हजार बढी थियो।

रूपन्देही-४
रूपन्देही-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमोदकुमार यादवबीच प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा पनि यिनै दुई मुख्य प्रतिस्पर्धी थिए र यादव करीब ११ हजार मतले अगाडि थिए। यसपटक के हुन्छ भन्न सकिने स्थिति छैन।

पाल्पा-२
पाल्पा-२ मा एमालेका ठाकुरप्रसाद गैरे र नेकपा एसका सोमप्रसाद पाण्डेयबीच प्रतिस्पर्धा छ। एकपटक साथै हिँडेका सहयात्रीको प्रतिस्पर्धामा कसले जित्छ सजिलै आकलन गर्न सक्ने अवस्था छैन। अघिल्लो निर्वाचनमा पाण्डेयले एमालेको टिकटबाट १० हजारभन्दा बढी मतले जितेका थिए। यसपटक उनी एमालेकै विरूध्दमा उभिएका छन्।

गुल्मी-१ 
लुम्बिनीको गुल्मी-१ मा पुरानै प्रतिस्पर्धा दोहोरिन लागेको छ। अघिल्लोपटक एमालेका प्रदीपकुमार ज्ञवालीले कांग्रेसका चन्द्र भण्डारीलाई ७ हजार ५५८ मतले पछाडि पारेका थिए। यसपटक चन्द्र भण्डारी माओवादीको समर्थनमा मैदानमा छन्। तर के उनले अघिल्लो पटकको मत भिन्नता कम गर्न सक्लान्?

दाङ-१ 
दाङको १ नम्बर क्षेत्रमा नेकपा एसका मेटमणि चौधरीको एमालेकी शान्ता चौधरी र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीसँग कडा प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवार भएका मेटमणि झण्डै १४ हजार मतले अरू उम्मेदवारभन्दा अघि थिए। अहिले यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको राम्रै दबदबा देखिन्छ।

दाङ-३ 
त्यसैगरी दाङको ३ नम्बर क्षेत्रमा अर्को रोचक प्रतिस्पर्धा भैरहेको छ। यहाँ हाल एमालेकी कोमल वली अगाडि देखिन्छिन्। तर कांग्रेसका दीपक गिरी उत्तिकै प्रतिस्पर्धी देखिन्छन्। यो क्षेत्रमा अघिल्लोपटक एमालेका हिराचन्द्र केसीले ४० हजार २८७ मत ल्याएर विजयी भएका थिए।

प्युठान
प्युठान १ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेकपा एमालेका सूर्य बहादुर थापा क्षेत्रीबिच प्रतिस्पर्धा छ। पौडेल सत्ता गठबन्धनसंग मिलेर चुनाव लडिरहेका छन्। अघिल्लो निर्वाचनमा पौडेलले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी डा गोविन्दराज पोखरेलभन्दा झण्डै १६ हजार बढी मत ल्याएर विजयी भएका थिए।

कपिलवस्तु-१ 
कपिलवस्तु-१ मा एमालेका बलराम अधिकारी र माओवादीका चक्रपाणी खनाल मुख्य प्रतिस्पर्धी हुन्। अघिल्लोपल्ट माओवादी केन्द्रका अधिकारीले कांग्रेसका दीपकुमार उपाध्यायलाई ९४६ मतले हराएका थिए। पछिल्लोपल्टका दुई मुख्य प्रतिस्पर्धी नै अहिले एकआपसमा मिलेका कारण खनाललाई सजिलो हुनुपर्ने हो। तर स्थिति अझै प्रतिस्पर्धात्मक छ।

 

कर्णाली प्रदेश

दैलेख-१ 
दैलेख-१ मा अहिले नेकपा एसका अम्मरबहादुर थापा अगाडि देखिन्छन् । तर उनलाई एमालेका रवीन्द्रराज शर्माको कडा टक्कर छ। यसगरी राप्रपाकी कुन्तीकुमारी शाही पनि कडा प्रतिस्पर्धामा छिन्। अघिल्लो पटकको निर्वाचनमा यस क्षेत्रमा एमालेका रवीन्द्र शर्मा २३ हजार ७७३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वीको मत १७ हजार २५२ मात्र थियो।

मुगु
अन्य धेरै पहाडी र हिमाली जिल्लामा झैँ मुगु-१ मा पनि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ। कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही ठकुरी छन् भने एमालेका उम्मेदवार राजबहादुर कार्की छन्। यी दुवै उम्मेदवार मुगुका लागि नयाँ हुन्। अघिल्लो निर्वाचनमा यस जिल्लाबाट एमालेका गोपालबहादुर बम तीन हजारभन्दा बढी मतले विजयी भएका थिए।

सुदुरपश्चिम प्रदेश

कैलाली-४
कैलाली क्षेत्र नं.४ मा एमालेका लेखराज भट्ट र कांग्रेसका वीरबहादुर बलायरबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। अघिल्लो निर्वाचनमा भट्ट माओवादीका उम्मेदवार थिए र उनले कांग्रेसका सुनिलकुमार भण्डारीलाई झण्डै १० हजार मतले उछिनेका थिए। लेखराज भट्टले पार्टी परिवर्तन गरेका कारण यसपालि कांग्रेसलाई सहज हुने हो वा नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव विस्तार गर्ने हो भन्ने प्रश्न अनुत्तरित छ।

कैलाली-५ 
त्यसैगरी कैलाली-५ मा एमालेका नारदमुनि राना र कांग्रेसका डिल्लीराज पन्तबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लोपल्ट रानाले कांग्रेसकी आरजु राणालाई झण्डै पाँच हजार मतले सजिलै पराजित गरेका थिए। यसपाली के होला त?

कञ्चनपुर-३ 
सुदूरपश्चिममा अर्को चाखलाग्दो प्रतिस्पर्धा कांग्रेसका रमेश लेखक र एमालेकी निरूदेवी पालबीच हुँदैछ। कञ्चनपुर-३ मा अघिल्लोपल्ट एमालेका दीपकप्रकाश भट्ट २५८ मतको झिनो अन्तरले लेखकभन्दा अगाडि थिए। यसपालि भने लेखकलाई चुनाव जित्ने राम्रो मौका छ।


सम्बन्धित सामग्री