Thursday, April 25, 2024

-->

सुदूरपश्चिममा मुख्यमन्त्रीका ८ आकांक्षी

निर्वाचनपछि फेरिने सुदूरपश्चिम सरकारको मुख्यमन्त्री बन्न सत्तागठबन्धन र विपक्षी एमालेभित्र लबिइङ तीव्र बनेको छ।

सुदूरपश्चिममा मुख्यमन्त्रीका ८ आकांक्षी

धनगढी– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कात्तिक २० गते डडेलधुराको जोगबुढामा आयोजित सभालाई सम्बोधन गर्दै अब सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री खगराज भट्ट मुख्यमन्त्री बन्ने घोषणा गरे। 

सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, “अबको मुख्यमन्त्री खगराज भट्ट हो। मेरो पार्टीले भनिहाल्यो, अब उनी नै मुख्यमन्त्री हुन्। तपाईंहरू जिताएर पठाउनुहोस्।” 

देउवाले भने झैँ मंसिर ४ को निर्वाचनपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादीले पाए भट्ट नै एकल दाबेदार देखिन्छन्। २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धनपछि बनेको प्रदेश सरकारको नेतृत्व पनि माओवादीले गरेको थियो। नेकपा विभाजनपछि केन्द्रमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन बन्दा पनि सुदूरपश्चिममा माओवादी नेतृत्वकै सरकार निरन्तर रह्यो। 

निर्वाचन नहुँदै सुदूरपश्चिममा मुख्यमन्त्री बन्ने होडबाजी शुरू भइसकेको छ। माओवादीमा अहिलेसम्म भट्टबाहेकका आकांक्षी देखिएका छैनन्। डडेलधुराबाट २०६४ देखि २०७४ सम्म निरन्तर देउवाका मुख्य प्रतिस्पर्धी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैआएका भट्ट अहिले सत्तागठबन्धनको समझदारीमा प्रदेशसभाको उम्मेदवार बनेका हुन्। त्यहीकारण देउवाले उनलाई अगाडि सारेको नेताहरू बताउँछन्। 

“चुनावबाट हामी प्रदेशमा पहिलो पार्टी बन्नेछौँ, तर प्रदेश सरकारको नेतृत्व हाम्रो हुन्छ या हुन्न भन्ने चाहिँ यकिन छैन”, नेपाली कांग्रेस कैलालीका एक नेताले भने, “सहमतिअनुसार नै अघि बढ्ने हो। तर, हाम्रो दाबी भने रहन्छ।” 

अहिले भट्टलाई मुख्यमन्त्रीका लागि गठबन्धनका साझा उम्मेदवारको रूपमा हेरिएको छ भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरा छन्। 

माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी भने अहिल्यै को मुख्यमन्त्री बन्छ भन्नु उपयुक्त नहुने बताउँछन्। “परिणाम हेरेर मात्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने यकिन हुन्छ। हामी गठबन्धनबाट चुनाव लडेका छौँ”, उनले भने, “खगराज भट्ट जतिको नेता प्रदेशमा चुनाव जितिसकेपछि स्वतः सरकारको नेतृत्वमा पुग्न योग्य नेता हो, यसमा गठबन्धनका अरू दलले पनि पक्कै सोच्लान्।” 

कांग्रेसभित्र दाबेदार धेरै
निर्वाचनपछि सुदूरपश्चिममा पार्टीहरूको हैसियत कस्तो होला, कसले कति सिट जित्लान् भन्ने आकलन गर्न कठिन छ। तर, अहिल्यैदेखि कांग्रेसमा मुख्यमन्त्रीका लागि हानथाप देखिएको छ। २०७४ को निर्वाचनबाट गठन भएको प्रदेशसभाको कार्यकाल बाँकी रहँदा कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए। तर, शीर्ष नेतृत्वमा सहमति बन्न नसकेपछि उनको चाहना पूरा भएन। त्यसपछि उनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बने।  

रावल यसपालि कैलाली निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन्। उनले यहाँ नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरी र एमालेबाट द्वारिका न्यौपाने उम्मेदवार छन्। कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार रावल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। 

“मुख्यमन्त्रीमा स्वाभाविक दाबेदारी हुन्छ नै, तर पहिले चुनाव जित्नु पर्‍यो। माओवादी साथीहरूले ५ वर्ष सरकारको नेतृत्व गरिसकेका छन्”, उनले भने, “प्रदेश चाहिन्छ की चाहिँदैन भनेर प्रश्न उठेका बेला हामीले काम गरेर देखाउनुपर्नेछ। प्रदेशलाई समुन्नत बनाएर लैजान सबल नेतृत्व आवश्यक छ।”

पार्टी सभापति देउवाले माओवादीका भट्ट नै मुख्यमन्त्री बन्ने बताए पनि राजनीतिमा सहमतिअनुसार अघि बढ्ने उनले बताए। “साढे २/२ वर्षका हिसाबले मुख्यमन्त्री बन्नसक्ने परिस्थिति त रहन्छ नै। गठबन्धनमा सहमतिअनुसार नै अघि बढिन्छ”, उनले भने, “विगतका कमीकमजोरीलाई अब आउने सरकारले सुधार्नुपर्ने छ।” उनले आफूलाई नेपाली कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको दाबी गरे।

कांग्रेसभित्र रावलसहित संविधानसभा सदस्यद्वय बहादुरसिंह थापा र दिवानसिंह विष्ट तथा वर्तमान सामाजिक विकासमन्त्री गोविन्द बोहरा पनि मुख्यमन्त्रीको आकांक्षी छन्। थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट उम्मेदवार छन् भने विष्ट क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट। बोहरा त्यसकै प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनेका छन्। 

कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति एवम् विष्टनिकट नेता गोपी उपाध्याय अहिले नै पार्टीभित्र सहमति नभएपनि संविधानसभा सदस्य र पार्टीको सिनियर नेता भएकाले विष्ट मुख्यमन्त्रीका स्वाभाविक दाबेदार रहेको बताउँछन्।

थापा २०७० मा कञ्चनपुर–३ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। कांग्रेसको जिल्ला सभापति रहिसकेका थापा २०७४ को प्रदेशसभा निर्वाचनमा भने एमालेका लालबहादुर खड्कासँग पराजित भएका थिए। प्रदेशसभामा पुग्न अहिले पनि थापा र खड्काबीच नै प्रतिस्पर्धा छ। तर, खड्का अहिले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार छन्। एमालेले कृपाराम रानालाई उम्मेदवार बनाएको छ। विष्टसँग एमालेका पल्लवराज भट्टले प्रतिस्पर्धा गर्दैछन्। विष्ट पनि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। 

सत्तागठबन्धनले देशभर नै गठबन्धन गरेर चुनाव लड्ने सहमति गर्दा विष्ट असन्तुष्ट थिए। २०७४ मा माओवादी केन्द्रकी विना मगरसँग पराजित भएका उनी यसपटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेर आफ्नो हारको बदला लिन चाहन्थे। तर, गठबन्धनका शीर्षनेताले मुख्यमन्त्री बनाउने आश्वासन दिएर उनलाई प्रदेशसभामा उम्मेदवार बनाएको नेताहरू बताउँछन्। 

एमाले र समाजवादीका आकांक्षी  
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट पनि आकांक्षीहरू देखिएका छन्। एमालेबाट प्रदेश सहइन्चार्ज राजेन्द्रसिंह रावल र केन्द्रीय सदस्य लालबहादुर थापाले मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन्। रावल कञ्चनपुरबाट प्रदेशसभामा समानुपातिकतर्फ उम्मेदवार छन् भने थापा बाजुरा प्रदेशसभा ‘ख’ बाट उम्मेदवार छन्। २०७४ को निर्वाचनमा थापा बाजुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। 

उनी यसपालि पुनः प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे। तर, एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा उम्मेदवार बन्ने भएपछि उनी प्रदेशसभामा गए। पार्टी नेतृत्वले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी प्रदेशसभाको उम्मेदवार बनेको बाजुराका एक एमाले नेता बताउँछन्। उनी भन्छन्, “एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था भए उहाँ नै मुख्यमन्त्री बन्नुहुनेछ।”

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठक भने पार्टीले अहिले नै कसैलाई मुख्यमन्त्रीका रूपमा अगाडि नसारेको बताउँछन्। “हामी पहिले चुनावको नतिजा पर्खिन्छौँ। त्यसपछि पार्टीले यो प्रदेशलाई नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिलाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाउँछ”, उनले भने, “आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर चुनावमा होमिएका छौँ। हाम्रा सबै उम्मेदवार मुख्यमन्त्री बन्न सक्षम छन्।”

नेकपा एकीकृत समाजवादीबाट अहिलेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले मुख्यमन्त्रीको आकांक्षा देखाएका छन्। एमाले विभाजनपछि एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभामा ठूलो दल बन्दा पनि सोडारीले मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए। तर, गठबन्धनभित्र सहमति हुन नसकेपछि सरकारको नेतृत्व फेरिएन। अब समाजवादीको शक्ति कस्तो हुन्छ भन्ने यकिन छैन। सोडारी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट उम्मेदवार छन्। 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फबाट ३२ जना र समानुपातिकबाट २१ जना सदस्य निर्वाचित हुनेछन्। 


सम्बन्धित सामग्री