Thursday, March 28, 2024

-->

चुनौती दिने कोही नहुँदा डडेल्धुरामा सधैँ निर्विकल्प देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर उठाउँदै आएका पश्चिम सेती, मेडिकल कलेज निर्माण, बसपार्कदेखि सडक विस्तारलगायतका चुनावी अजेन्डा यसपटकको निर्वाचनमा पनि अघि सारेका छन्।

चुनौती दिने कोही नहुँदा डडेल्धुरामा सधैँ निर्विकल्प देउवा

डडेलधुरा– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगातार ६ पटक डडेलधुराबाट संसदीय निर्वाचनमा विजयी भइसकेका छन्। मंसिर ४ मा हुने निर्वाचनमा उनी सातौँपटक प्रतिस्पर्धा गर्दैछन्।

सम्भवतः यो उनको अन्तिम चुनावी प्रतिस्पर्धा हुनेछ।  पार्टीका सार्वजनिक कार्यक्रम र अन्य कार्यक्रममा पनि देउवाले आफू अन्तिमपटक चुनावी प्रतिस्पर्धामा होमिएको बताइसकेका छन्। मतदातासँग भोट माग्दा पनि देउवाले यो विषयलाई उठाइरहेको देखिन्छ।

डडेलधुराको रुबाखोलामा २००३ जेठ ३१ गते जन्मिएका देउवाले २०२२ मा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट आफ्नो राजनीति यात्रा शुरू गरेका थिए। उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य हुँदै केन्द्रीय सभापतिसमेत बने। पञ्चायतविरोधी गतिविधिमा संलग्न उनी पटक–पटक जेल समेत परेका थिए। 

२०४८ सालमा डडेलधुराबाट पहिलोपटक संसदीय निर्वाचन लडेर सांसद बनेका देउवा त्यसयता भएका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका छन्। २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा कञ्चनपुर-४ र कैलाली-६ बाट समेत देउवा विजयी भएका थिए।

पहिलोपटक निर्वाचनमा विजयी भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी गृहमन्त्री बने। त्यसपछि २०५२ मा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बने। त्यसयता उनी पाँचौँपटक प्रधानमन्त्री भइसकेका छन्। ६ पटकसम्म एकै क्षेत्रबाट चुनाव जितेर पाँचपटक प्रधानमन्त्री र एकपटक गृहमन्त्री बनेका देउवा डडेलधुराका लागि मात्रै होइन राष्ट्रिय राजनीतिमै सफल राजनीतिकर्मी मानिन्छन्।

डडेलधुराबाट पहिलोपटक निर्वाचन जितेयता उनले कहिल्यै हार बेहोर्नु परेको छैन। आसन्न निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारका रूपमा उनी डडेलधुराबाट प्रतिस्पर्धामा छन्। 

२०६४ सालमा नेकपा माओवादीको पक्षमा जनलहर आएको बेला नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट देउवाका मुख्य प्रतिस्पर्धी थिए। तर, झिनो मतान्तरले भए पनि देउवाले चुनाव जिते। ०७० को निर्वाचनमा उनै भट्ट प्रतिस्पर्धी भएपनि देउवाले ठूलो मतान्तरले चुनाव जिते। २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल भएर चुनावमा उनै भट्ट प्रतिस्पर्धी बने पनि देउवालाई चुनावमा पराजित गर्न सकेनन्।

०४८ सालयता सहज चुनाव जित्दै आएका देउवाको विकल्पका रूपमा डडेलधुरामा कांग्रेसभित्र र बाहिर अन्य शक्तिशाली नेता नभएकै कारण अहिलेसम्म देउवा निर्विकल्प जस्तै देखिएका हुन्। पार्टीभित्रको एक तप्का असन्तुष्ट भएर नेपाली कांग्रेस(बीपी)को राजनीतिमा सक्रिय भएपनि अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको सहयोग भएकाले देउवाले सहजै चुनाव जित्न सकिने आकलन गरेका छन्।

देउवाकै हैसियतको अर्को उम्मेदवार नहुनु
डडेलधुरामा देउवा निर्विकल्प देखिनुको पछाडि उनको हैसियतको अर्को उम्मेदवार नभएर पनि हो। कांग्रेसभित्र अरू कसैले प्रतिस्पर्धा गर्ने अवसर नपाउनु र अन्य पार्टीमा उनको हैसियतकै उम्मेदवार खडा नहुँदा पनि डडेलधुराका जनताले लगातार देउवालाई नै जिताउँदै आएका छन्। 

डडेलधुरा बागबजारका स्थानीय जोगराज ओझा जिल्लामा देउवासँग चुनावी प्रतिस्पर्धा गर्ने अर्को कोही नेता नभएको बताउँछन्। “उहाँसँग प्रतिस्पर्धा गर्नसक्ने अर्को मानिस छैन। अहिले चुनावमा उठेकाहरूको उहाँको जत्तिको व्यक्तित्व छैन”, उनले भने, “फेरिपनि जितेर प्रधानमन्त्री बन्ने व्यक्ति भएकाले उहाँलाई यहाँका जनताले यसअघि भन्दा धेरै मत दिन्छन्।”

देउवाको पालिका गन्यापधुरा–१ रुबाखोलाका केशवराज भट्ट देउवाजत्तिको अर्को मानिस कोही नभएकाले पनि उनलाई नै भोट दिने गरेको बताए। “हामीले सोचेअनुसार त अहिलेसम्म कुनै काम भएको छैन। तर, आफ्नो ठाउँको मानिसलाई नदिएर कसलाई भोट दिने। हाम्रो गाउँको मानिस प्रधानमन्त्री हुन्छ भनेर गर्व गर्नका लागि पनि भोट दिन्छौँ”, उनले भने, “बाध्यता छ, नदिऊँ भने पनि छैन। विकास भए पनि नभए पनि आफ्नो ठाउँको मानिस भनेपछि भोट दिनैपर्‍यो।”

नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउद देउवासँग प्रतिस्पर्धा गर्ने राष्ट्रियस्तरको अर्को व्यक्ति कोही नभएको बताए। “एउटै निर्वाचन क्षेत्रबाट सबैभन्दा धेरैपटक जित्ने उहाँ नै हो। यहाँका मतदाताले उहाँलाई धर्तीपुत्रका रूपमा हेर्ने गर्छन्”, उनले भने, “राजनीतिको उत्तरार्धमा भएको र अभिभावकका हिसाबले पनि अन्तिमपटक फेरिपनि मतदाताले उहाँलाई मत दिन्छन्।” उनले विपक्षीले विकास नै नभएको भनेर विरोध गर्नु निर्वाचनका बेला भ्रम छर्नुमात्रै भएको दाबी गरे।

नेपाली कांग्रेसबाट विद्रोह गरेर नेपाली कांग्रेस(बीपी)को राजनीतिमा लागेका एक नेता देउवाले आफ्नो प्रतिस्पर्धीका रूपमा कसैलाई अगाडि बढाउनै नचाहेको बताउँछन्। “उहाँ अन्यत्र गएर कहिले चुनाव लड्नुभएन, जहिल्यै डडेलधुरा नै रोज्नुभयो। हामीले उहाँजत्तिको व्यक्तिको सधैँ सम्मान गर्‍यौँ तर, उहाँले नेतृत्व हस्तान्तरण गर्न चाहनुभएन”, उनले भने, “अब विगतको जस्तो छैन। अहिले मतदाता धेरै सचेत भएका छन्।”

निरन्तर सत्ता र शक्तिमा हुनुको प्रभाव
देउवाले निरन्तर डडेलधुराबाट चुनाव जित्नुको अर्को कारण हो- निरन्तर सत्ता र शक्तिमा भइरहनु। २०४८ मा पहिलोपटक गृहमन्त्री भएपछि उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। 

“उहाँ सधैँ सत्ता र शक्तिमा भइरहेको र जितेपछि देशकै प्रधानमन्त्री बन्नसक्ने हैसियत भएकाले पनि यहाँका जनताले सधैँ आशा राखेर चुनावमा जिताएका हुन्”, स्थानीय सगराम सार्की भन्छन्, “हामी भोट हालेर जिताइदिने हो। चुनावको बेला हामी तिम्रा होऊ, तिमी हाम्रा होऊ भन्छन्। पैसा खर्च गर्नुहुन्छ, चुनाव जित्नुहुन्छ, हामी भोट दिन्छौँ। प्रधानमन्त्रीका जिल्लाका मानिस हौँ भन्नु बाहेक गर्व गर्न लायक अरू केही छैन।”

डडेलधुराका स्थानीय इन्द्रबहादुर ऐरी सत्ता र शक्तिमा भएका कारणले देउवाले निरन्तर चुनाव जितिरहेको बताउँछन्। “देउवाको जस्तो अर्को व्यक्तित्व पनि छैन। उहाँको एउटा छाप पनि जनतामा बसिसकेकाले पनि उहाँले चुनाव जित्दै आउनुभएको छ”, उनले भने, “विकास खासै सन्तोषजनक छैन। पाँच पटक प्रधानमन्त्री भएको मानिसले डडेलधुरालाई त स्वर्ग बनाउन सक्नुपर्ने हो।”

चुनावबाहेक अरू समय खासै डडेलधुरामा नआउने देउवा चुनावको समयमा आएर मतदातालाई प्रभावमा पार्नसक्ने हैसियतसमेत राख्छन्। देउवादेखि असन्तुष्ट भएका नेता-कार्यकर्ता र मतदातालाई समेत उनले चुनावको नजिक जिल्लामा आएर सहजै मनाउने गरेको स्थानीय कार्यकर्ताको बुझाइ देखिन्छ। 

“देउवाजस्तै अर्को व्यक्ति सत्ता र शक्तिमा जानसक्दैन भन्ने बुझाइ मानिसमा परेको छ। त्यसैले पनि उहाँलाई जनताले जिताइरहेका छन्”, पूर्व कांग्रेस नेता हरि भट्ट भन्छन्, “उहाँबाट अहिलेसम्म कुनै काम हुन सकेको छैन। उहाँले चुनावमा सबै शक्ति प्रयोग गरिदिनु हुन्छ।”

देउवाको पुरानै आश्वासन
देउवाले आफ्ना पुरानै अजेन्डालाई यसपटकको निर्वाचनमा पनि अघि सारेका छन्। उनले आउँदो निर्वाचनका लागि पश्चिम सेती परियोजना, राजधानी डडेलधुरामा बनाउने, विमानस्थल निर्माण, मेडिकल कलेज, बजार क्षेत्रको सडक विस्तार, बसपार्क निर्माण लगायतका अजेन्डा अघि सारेका छन्। 

यी विषय देउवाले २०५६ देखि नै उठाउँदै आएका हुन्। तर, कार्यान्वयनमा खासै प्रगति हुन सकेको छैन। विमानस्थलको कामले गति लिन सकेको छैन भने बजार क्षेत्रमा रहेको बसपार्कको अवस्था पनि फेरिएको छैन। “अहिले पनि पश्चिम सेतीकै कुरा गर्दै हुनुहुन्छ। यो ३१ वर्षदेखिको चुनावी नारा हो”, स्थानीय व्यवसायी गगनसिंह ढाट भन्छन्, “पटकपटक भोट हालेर जनताले जिताए। पाँचपटक प्रधानमन्त्री भएका देउवाका जिल्लावासीले के पाए भन्ने प्रश्न हो। यहाँ जुन विकास हुनुपर्ने हो त्यो हुनसकेको छैन।” अरू जिते प्रधानमन्त्री बन्न नसक्ने तर, देउवाले जिते प्रधानमन्त्री बन्ने भएकै कारणले जनताले भोट दिँदै आएको उनको बुझाइ छ।

देउवाका मुख्य प्रतिस्पर्धी कर्ण मल्ल देउवाले अहिलेसम्म आश्वासन मात्रै दिएका कारण डडेलधुराको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए। “यस क्षेत्रलाई समृद्ध बनाउने भनेर ६ पटकसम्म आश्वासन दिनुभयो, स्मरणीय कुनै काम गर्न सक्नुभएको छैन। ७औँ पटक आएर पनि आश्वासन दिइरहनुभएको छ”, उनले भने, “चुनावका बेलामा फेरि आश्वासन दिएर भ्रम छर्ने काम भइरहेको छ। अब उहाँबाट डडेलधुराको विकास सम्भव छैन।”

कांग्रेस सभापति साउद भने चुनावका बेला मतदातामा भ्रम छर्ने काम भएको दाबी गर्छन्। “डडेलधुरामा काम भएको छ। प्रत्येक वडा र बस्तीमा सडक पुगेको छ। केही सडक स्तरोन्नति गर्नुपर्ने छ। बाँकी रहेका कामपनि उहाँले नै गर्नुहुन्छ भन्नेमा मतदाता निश्चिन्त छन्”, उनले भने, “अबको ५ वर्षमा उहाँकै नेतृत्वमा काम सम्पन्न हुन्छन्।”

स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाही पनि ०४८ सालदेखि चुनाव जित्दै आएका देउवाले डडेलधुराको विकासमा चर्चा गर्नलायक कुनै काम नगरेको बताउँछन्।

“विकासको निरन्तर प्रक्रियाका रूपमा भएका काम बाहेक देउवा प्रधानमन्त्री पाँच पटक प्रधानमन्त्री भएर उल्लेख्य कुनै काम भएको छैन,” उनले भने, “न विमानस्थल बन्यो, न स्तरीय कुनै अस्पताल बनेको छ, न शिक्षाको अवस्था राम्रो छ।” देउवाले जनतालाई मूर्ख बनाएर चुनाव जित्दै आएको उनको आरोप छ। 

“जितेदेखि पश्चिम सेतीको कुरा गर्दै आएका हुन्, अहिलेसम्म यहाँ केही भएको छैन। मेडिकल कलेजको विषय उठाइरहनुभएको छ। गेटामा अहिलेसम्म सञ्चालन गर्न सक्नुभएको छैन”, उनी भन्छन्, “अहिले यहाँ फेरि मेडिकल कलेज बनाउने, प्रदेश राजधानी बनाउने भनेर झुटा कुरा गरिरहनुभएको छ।”

पूर्व कांग्रेस नेता भट्ट देउवाले २०४८ देखि नै पश्चिम सेती, मेडिकल कलेज निर्माण, बसपार्क निर्माण, सडक विस्तार र विमानस्थल निर्माण गर्ने आश्वासन दिँदै आएको बताउँछन्। जनताले प्रत्येकपटक विकास गर्लान् भन्ने आशा मानेरै देउवालाई जिताउँदै आएको उनको बुझाइ छ। 


सम्बन्धित सामग्री