Thursday, April 25, 2024

-->

कञ्चनपुर–२ : पुराना प्रतिस्पर्धी, आन्तरिक किचलो दुवैको चुनौती

कञ्चनपुर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस नेता एनपी साउद र एमाले नेता नरबहादुर धामीलाई चुनावी प्रतिस्पर्धाका लागि पार्टीभित्रकै समीकरण मिलाउने चुनौती देखिएको छ।

कञ्चनपुर–२  पुराना प्रतिस्पर्धी आन्तरिक किचलो दुवैको चुनौती

कञ्चनपुर– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र एमाले नेता नरबहादुर धामी उम्मेदवार बनेको कञ्चनपुर–२ को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ। साउद २०७४ सालमा बेहोरेको हार बिर्साउने दाउमा छन् भने धामी जितलाई निरन्तरता दिने प्रयासमा छन्।

यसअघिको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार धामीसँग साउद ८ हजार ३२७ मतको अन्तरमा पराजित भएका थिए। साउदले २४ हजार ८९३ मत ल्याउँदा धामीले ३३ हजार २२० मत प्राप्त गरेका थिए। पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र साउदलाई यसपटक सत्ता गठबन्धनको साथ छ। 

एमाले विभाजन भएको र एक्लै चुनावी प्रतिस्पर्धामा रहेकाले पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएर चुनाव जित्नेमा साउद विश्वस्त छन्। कांग्रेसमा उनी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्। तर, पार्टीभित्रको असन्तुष्टि उनका लागि चुनौतीपूर्ण हुनेछ। 

“यहाँ पार्टीभित्र केही अन्तर्विरोध छन्। त्यसले केही समस्या गर्छ की भन्ने हो”, क्षेत्र नम्बर २ का एक नेता भन्छन्, “तर, माओवादी र समाजवादीसँगको गठबन्धनले पार्टीभित्रको अन्तर्विरोध देखिए पनि खासै समस्या गर्दैन।”

यो क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै सिट बाँडफाँड भएको छ। एकीकृत समाजवादी अलग्गै चुनावमा होमिएको छ। समाजवादीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिए पनि प्रदेशसभामा पूर्व प्रदेशमन्त्री लालबहादुर खड्का चुनावी मैदानमा छन्।

कांग्रेस र माओवादीको गठबन्धन अन्तर्गत प्रदेशसभा ‘क’मा माओवादीका ओमविक्रम भाट र प्रदेशसभा ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन्। एकीकृत समाजवादीका तर्फबाट भने प्रदेशसभा ‘ख’ मा लालबहादुर खड्का उम्मेदवार छन्।

गठबन्धन भए पनि पार्टीभित्र जिल्लाको नेतृत्व सम्हालिसकेका र क्षेत्र नम्बर २ मा प्रभाव पार्न सक्ने अधिकांश नेताहरूको असन्तुष्टिले समस्या हुन सक्ने कांग्रसका कतिपय नेता बताउँछन्। तर, कांग्रेस क्षेत्र नम्बर २ का सभापति लालबहादुर सिंह गठबन्धनको साझा उम्मेदवार भएकाले सहजै चुनाव जित्ने दाबी गर्छन्। प्रदेशसभामा भने बागी उम्मेदवारी परेकाले प्रतिस्पर्धा हुने उनको बुझाइ छ।

“अन्तर्विरोधका रूपमा खुलेर कोही देखिएको अवस्था त छैन। तर, केही मानिसहरू असन्तुष्ट देखिएका छन्। उनीहरू कसैबाट परिचालित भएका हुन”, उनले भने, “ती असन्तुष्ट रहेकाहरूको हामीले लिस्ट तयार पारेका छौँ। निर्वाचनपछि कारबाही हुन्छ।”

साउद छैटौँपटक चुनावी प्रतिस्पर्धा गर्दैछन्। २०५१, ०५६, ०६४, ०७० र ०७४ मा कञ्चनपुरबाट चुनाव लडेका उनले ०५६ र ०७० मा मात्रै जितेका थिए। पहिलोपटक २०५१ सालमा साबिक क्षेत्र नम्बर ३ मा एमालेका उर्वादत्त पन्तसँग पराजित भएका उनी ०५६ मा क्षेत्र नम्बर १ बाट एमालेका रामकुमार ज्ञवालीलाई पराजित गरेका थिए। २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने उनी माओवादीका देवीलाल चौधरीसँग क्षेत्र नम्बर २ बाट पराजित भएका थिए। २०७० को दोस्रो संविधानसभामा उनले एमालेका तारालामा तामाङलाई पराजित गरेका थिए। 

एमालेभित्र पनि असन्तुष्टि
२०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार भएकाले एमाले उम्मेदवार धामीले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। आसन्न निर्वाचनमा पनि उनी एमालेको तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन्। एमाले विभाजन हुनु र सत्ता गठबन्धन एक भएर चुनाव लड्दा उनलाई आफ्नो जित दोहोर्‍याउन चुनौती थपिएको छ। यद्यपि, चुनाव जित्ने रणनीतिका साथ उनी चुनावी मैदानमा होमिएका छन्।

गठबन्धनको चुनौती एकातिर छ भने अर्कोतिर पार्टीभित्रको असन्तुष्टिले पनि एमालेलाई यहाँ आफ्नो विरासत जोगाउन कठिन हुने स्थिति छ। टिकट वितरणमा असन्तुष्टि जनाउँदै निर्वाचन क्षेत्र नम्बर २ का प्रभावशाली दुई नेता जयराज पाण्डे र टेकबहादुर हमालले पार्टी परित्याग गरेका छन्। हमालले त प्रदेशसभा ‘क’मा बागी उम्मेदवारी नै दिएका छन्। दुवै एमाले प्रदेश कमिटी सदस्य थिए।

तेस्रो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका धामीलाई गठबन्धन र पार्टीभित्रको असन्तुष्टिले जित दोहोर्‍याउने चुनौती छ। “पार्टी विभाजनको असर त छँदै थियो। त्यसमा सत्ता गठबन्धन एकातिर छ। पार्टीमा पनि केही असन्तुष्टि भएकाले केही चुनौती छ”, स्थानीय एक नेताले भने, “तर, पनि हामीले रणनीति बनाएर जित्ने हिसाबले नै लागिरहेका छौँ।”

निर्वाचन क्षेत्र नम्बर २ बाट धामीको उम्मेदवारी रोक्न एमालेभित्रबाट नै प्रयास भएको थियो। एमाले उम्मेदवार धामी पार्टीले सरकारको नेतृत्व गर्दा गरेको विकास निर्माणको कामलाई मतदाताले बुझेको र यस पटक पनि एमालेलाई नै जिताउने दाबी गर्छन्। एमालेले प्रदेशसभा तर्फ ‘क’मा युवा संघ नेपालका पूर्वअध्यक्ष बचनबहादुर सिंह र ‘ख’मा कृपाराम रानालाई उम्मेदवार बनाएको छ।

एमाले कृष्णपुर नगर कमिटीका अध्यक्ष गणेशसिंह ऐरी चुनावमा आफूहरूको जित सहज रहेको बताउँछन्। “एमालेले गरेको विकास निर्माणको कामलाई मतदाताले राम्रोसँग बुझेका छन्”, उनले भने, “केही अन्तर्विरोध रहेपनि त्यति समस्या हामीले देखेका छैनौँ। गठबन्धन भनेर सबै मतदाताले गठबन्धनमै भोट दिँदैनन्।”

स्थानीय तहको परिणाम हेर्दा गठबन्धन बलियो
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन बलियो छ। यस क्षेत्रमा शुक्लाफाँटा र कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाको ८ नम्बर बाहेकका वडासहित ३० वटा वडा छन्। बेदकोट नगरपालिका र कृष्णपुरमा कांग्रेसले प्रमुख र उपप्रमुख जितेको थियो भने शुक्लाफाँटा नगरपालिकामा उपप्रमुख जितेको थियो। एमालेले यहाँ प्रमुख जितेको छ। 

स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमाले एक्लै प्रतिस्पर्धा गरेका थिए भने माओवादी र एकीकृत समाजवादीको गठबन्धन भएको थियो। आसन्न निर्वाचनतर्फ भने कांग्रेस र माओवादी गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन् भने एमाले र एकीकृत समाजवादी एक्लाएक्लै छन्। यद्यपि, समाजवादीले प्रतिनिधिसभामा भने उम्मेदवारी दिएको छैन। क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवारले कूल २४ हजार ६७६ मत प्राप्त गरेका छन्।

माओवादीको समर्थनमा बेदकोट नगरपालिकामा मेयरका उम्मेदवार एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र शुक्लाफाँटामा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादीका नवराज ऐरले ५ हजार २२५ मत ल्याएका थिए। त्यस्तै, एक्लै लडेको कृष्णपुर नगरपालिकामा माओवादीका उम्मेदवार जोगराज चौधरीले ८ हजार २०० र एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बमले ६७५ मत ल्याएका थिए।

समाजवादीमा रहेका रेग्मी र बम अहिले नेकपा एमालेमा फर्किसकेका छन्। एमालेसँग क्षेत्र नम्बर २ मा १७ हजार बढी मत छ। क्षेत्र नम्बर २ का ३० वडामध्ये नेपाली कांग्रेसले १५, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको थियो।


सम्बन्धित सामग्री