Wednesday, April 24, 2024

-->

कञ्चनपुर–३ : ‘एक्लै अगाडि’ रहेको कांग्रेसमा किचलो, एमालेलाई राप्रपाको साथ

गएको स्थानीय तह निर्वाचनको मतका आधारमा कञ्चनपुर–३ मा कांग्रेस एक्लै अगाडि भए पनि दुई बागी उम्मेदवार र जिल्लामा दुई खेमाको अन्तरसंघर्ष रमेश लेखकका लागि अनुकूल नहुनसक्छ।

कञ्चनपुर–३  ‘एक्लै अगाडि’ रहेको कांग्रेसमा किचलो एमालेलाई राप्रपाको साथ

कञ्चनपुर– नेपाली कांग्रेसका नेता रमेश लेखक अघिल्लो निर्वाचनको हार बिर्साउन पुनः कञ्चनपुर–३ बाट उम्मेदवार छन्। अघिल्लोपटक एमालेका डा.दीपकप्रकाश भट्टसँग उनी २५८ रनले मात्र पराजित भएका थिए। त्यति बेला भट्टलाई नेकपा माओवादी केन्द्रको साथ थियो। अहिले माओवादी केन्द्रको साथ लेखकलाई छ।

तर, कांग्रेसभित्रकै अन्तरविरोध लेखकका लागि चुनौती बनेको छ। उनीविरुद्ध कांग्रेसका महाधिवेशन प्रतिनिधिद्वय दीपक सिंह र शारदा चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सिंहले आफ्नो चुनावी नारा बनाएका छन्, “कति पटक एउटैलाई! यसपालि छानौँ फरकलाई।”

कांग्रेसले २०५६ सालदेखि एउटै व्यक्तिलाई टिकट दिएर अन्यलाई अन्याय गरेको सिंह बताउँछन्। उनी गएको जिल्ला अधिवेशनमा लेखककै समूहबाट महाधिवेशन प्रतिनिधि बनेका थिए। अहिले प्रदेशसभा उम्मेदवारको आकांक्षी थिए। तर, लेखकले आफ्नो सिट सुनिश्चित गर्न क्षेत्र नम्बर ३ ‘क’ मा माओवादीलाई छाडेर ‘ख’ मा कांग्रेसका बेलबहादुर रानालाई अघि सारेपछि उनी रूष्ट बनेका हुन। सिंहले दुई महिनाअघि नै चुनावी कार्यक्रम थालेका थिए।

यता लेखककै विरूद्ध उम्मेदवारी दिएकी अर्की महाधिवेशन प्रतिनिधि चन्द पनि जिल्ला अधिवेशनमा उनकै समूहमा थिइन्। चन्द महेन्द्रनगरमा वृद्धाश्रम सञ्चालन गर्छिन् र महिला अधिकारको क्षेत्रमा पनि काम गर्दै आएकी छन्। उनले जति धेरै मत ल्याउँछिन्, त्यसको असर लेखकलाई नै पर्नेछ। 

तर, लेखकले पाँचदेखि १० हजार मतान्तरले जित्ने कांग्रेस नेताहरूले दाबी गर्दै आएका छन्। प्रचारमा जेजस्तो बताए पनि बागी उम्मेदवारका कारण समस्या हुनसक्ने कांग्रेसका एक जिल्ला सदस्य बताउँछन्। “पार्टीभित्र अन्तरविरोध छ, त्यसै कारण कञ्चनपुर ३ मा बागी उम्मेदवारी परेको हो”, ती सदस्यले भने, “त्यसको प्रत्यक्ष असर त हाम्रो उम्मेदवारलाई पर्छ नै। तर, हामी जित्ने रणनीतिसाथ अघि बढेका छौं।”

नेता लेखक भने स्वतन्त्र उम्मेदवारले कुनै उथलपुथल नहुने दाबी गर्छन्। “बागी उम्मेदवारभन्दा पनि म त्यसलाई स्वतन्त्र उम्मेदवारी भन्छु। साथीहरूले उम्मेदवारी दिनुभएको छ, त्यो उहाँहरूको स्वतन्त्रताको कुरा हो”, उनले भने, “ठूलो पार्टी छ, उम्मेदवारी दिने इच्छा लागेको हुन सक्छ। सबै मानिसका चित्त बुझ्दैनन्। उहाँहरूले उम्मेदवारी दिने बितिक्कै राजनीतिमा धेरै उथलपुथल भइहाल्छ भनेर सोच्नु बेकार हो।”

शेरबहादुर देउवापछिको सुदूरपश्चिमको नेता बन्ने दौडमा लागेका लेखक र एनपी साउदबीचको आन्तरिक प्रतिस्पर्धा पनि कांग्रेस उम्मेदवारहरूको लागि चुनौती हो। लेखक र साउद दुवै देउवाका विश्वापात्र हुन्। तर, यी दुई नेताबीच पार्टीमा अगाडि बढ्ने प्रतिस्पर्धाले एउटा समूहले अर्कोलाई साथ नदिने समस्या देखिएको ती जिल्ला सदस्यले बताए।

गतवर्ष भएको पार्टीको जिल्ला अधिवेशनमा साउदका विश्वासिला पात्र मानिएका पदम बोगटीलाई अन्तिम समयमा लेखक समूहले सभापतिको उम्मेदवार बनाएपछि विवाद चुलिएको थियो। सहजै सभापति हुने अनुमान गरिएका बहादुरसिंह थापा बोगटीसँग पराजित भएका थिए। यद्यपि, बोगटीबाहेक जिल्ला समितिमा साउद पक्षकै बहुमत छ।

राप्रपा र एमाले एक ठाउँ
एमालेले यसपटक उम्मेदवार परिवर्तन गरेको छ। एमालेबाट उम्मेदवार बनेकी निरूदेवी पाल विगतमा गरेको विकासको आधारमा आफूले जित्ने दाबी गर्छिन्। यो निर्वाचन क्षेत्रमा राप्रपाले एमालेलाई साथ दिएको छ। “विगतमा एमाले सरकारले शुरू गरेका विकासका योजनाका कारण हामीलाई चुनाव जित्न कुनै समस्या छैन”, उनले भनिन्, “पार्टीभित्रको एकता र राप्रपासँगको सहकार्यले जितका लागि सहज देखिन्छ।”

कञ्चनपुर–३ मा राप्रपाको उपस्थिति बलियो छ। गएको स्थानीय तह निर्वाचन अनुसार यस क्षेत्रमा राप्रपाको झण्डै ६ हजार मत छ। तर, कांग्रेस एक्लै एमालेभन्दा करिब ६ हजार मतले नै अगाडि छ। त्यसमा तस्रो ठूलो दल माओवादीको करिब सात हजार मत पनि जोडिने कांग्रेस नेताहरूको दाबी छ।

एमालेसँग तालमेल गरेको राप्रपाबाट कञ्चनपुर ३ ‘क’ मा उम्मेदवार बनेका सुदूरपश्चिमका सभापति धर्मराज जोशी एमाले र राप्रपाको मत अन्त नजाने दाबी गर्छन्। 

दोधारा–चाँदनी भर्सेज भीमदत्त!
कञ्चनपुर–३ मा महाकालीपारिको बस्ती दोधारा–चाँदनीको मत महत्त्वपूर्ण मानिन्छ। १० वडा रहेको दोधारा–चाँदनी नगरपालिकामा गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले एक वडामा मात्र जितेको छ। एमालेले भने ६ वडा जितेको छ। त्यसबाहेक दुई वटा राप्रपा र एउटा माओवादी केन्द्रले जितेका छन्।

तर, समग्रमा कञ्चनपुर–३ बाट स्थानीय तहको निर्वाचनमा पाएको मतमा एमाले पछाडि छ। यो क्षेत्रमा दोधारा–चाँदनीका १० वडा, भीमदत्तका १९ र बेदकोटका आठ गरी ३० वडा पर्छन्। स्थानीय तहकाको नतिजामा एमाले भीमदत्तमा कमजोर देखिएको छ। १९ वडामा एमालेले दुईवटा मात्र जितेको छ। 

“कांग्रेसको पक्षमा माहोल राम्रो छ। गठबन्धन भएकाले पनि सहजै हामीले चुनाव जित्छौँ”, कांग्रेस कञ्चनपुरका सचिव भीम भट्ट भन्छन्, “यहाँ गठबन्धनको कुनै प्रतिस्पर्धी नै छैन। कांग्रेसले नै विकास गर्छ भन्ने मतदाताले बुझेका छन्।”

लेखक चौँथो र पाल दुस्रोपटक प्रत्यक्षतर्फ चुनाव लड्दै छन्। लेखक २०५६, २०७०, २०७४ मा पनि उम्मेदवार थिए। पाल यसअघि, २०६५ को उपनिर्वाचनमा उम्मेदवार थिइन्।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ कांग्रेसले २२ हजार ५८, एमालेले १५ हजार ८१६, माओवादी केन्द्रले सात हजार ८८३, एकीकृत समाजवादीले दुई हजार ५०० र राप्रपाले ६ हजार २८० मत पाएका छन्। अहिले कूल मतदाता ९७ हजार ८२२ छन्।


सम्बन्धित सामग्री