Friday, April 19, 2024

-->

दल होइन, ‘व्यक्तित्वको भिडन्त’ भइरहेको बाँके–२

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज समेटिएको बाँके क्षेत्र नम्बर २ मा प्रमुख दल ‘सिन’मा छैनन्। साना पार्टीका ‘हेभीवेट’ उम्मेदवारबीच भइरहेको व्यक्तित्वको भिडन्त साँच्चिकै रोचक छ।

दल होइन ‘व्यक्तित्वको भिडन्त’ भइरहेको बाँके–२ 

नेपालगञ्ज– काठमाडौंमा चिसो बढिसक्दा पश्चिम नेपालको पुरानो शहर नेपालगञ्जको तापमान घट्न बाँकी नै छ। नेपालगञ्ज शहरको केन्द्र मानिने त्रिभुवन चोक यसै त मध्यरातसम्म जागै रहन्छ, त्यसमाथि ह्वात्तै बढेको चुनावी सरगर्मी। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ मा पर्ने यो चोकमा अहिले के बिहान, के बेलुकी, के मध्यरात– चहलपहल उस्तै छ। 

शुक्रबार सबेरै चोकमा पुग्दा चियापसल मात्र होइन, कपडा, खाद्यान्नका पसलमा पनि चुनावी चर्चामात्र भइरहेका थिए। समूह–समूहमा रहेकाहरुको कुराकानी मुख्यतः नेपालगञ्ज उपमहानगरपालिका नै पर्ने बाँके क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा र बाजी कसले मार्ला भन्नेमा केन्द्रित रहेछ।

बाँके–२ मा यसपालि प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर धवलशमशेर राणा र जनता समाजवादी पार्टीका नेता, पूर्वमन्त्री मोहम्मद इस्तियाक राईबीच मुख्य प्रतिस्पर्धा छ। एमालेले यहाँ राणालाई समर्थन गरेको छ, सत्तागठबन्धन (कांग्रेस र माओवादी)बाट कांग्रेसका उम्मेदवार सुदिपनरसिंह राणा भएपनि उनलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छैन। 

नेपालगञ्जका लागि धवल र इस्तियाक दुबै परिचित अनुहार हुन्। मतदातामा दुबैको बलियो प्रभाव छ। इस्तियाक २०६४ र २०७४ मा निर्वाचित भएर संसद्मा पुगिसकेका र तीनपटक मन्त्री पनि भएका छन्। धवल भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए। दुबैको समानता चाहिँ नेपालगञ्जमा उनीहरु विकासमा योगदान गर्ने नेता भनेर चिनिन्छन्। 

र, पनि मतदाता अन्योलमा देखिन्छन्। नेपालगञ्ज–८ निवासी  ६६ वर्षीया मुम ताज अन्सारीले भने, “यो चुनावमा भोट हाल्न हामीलाई मुश्किल पर्नेवाला छ। नेपालगञ्जको विकास कसले राम्रो गर्यो, कसले धेरै गर्यो भनेर हामी लेखाजोखा गरिरहेका छौँ। यसमा धवल र इस्तियाक दुवै अब्बल छन् झैँ लाग्छ। जिताउने चाहिँ कसलाई भन्ने निष्कर्ष निकाल्न हामीलाई कठिन भएको छ।” 

अन्सारीले धक फुकाएर बोल्न नपाउँदै उनीसँगै रहेका बलराम श्रेष्ठले उछिने। “हामीले नेपालगञ्जको विकास कसले कति गर्‍यो र कसरी गर्यो भनेर नजिकबाट नियालेका छौँ। विकासको तराजुमा राख्दा धवल र इस्तियाक उस्तै उस्तै छन्। तर एउटालाई त हामीले रोज्नैपर्ने हुन्छ,” श्रेष्ठले भने। 

लामो कुराकानी गर्दा पनि उनीहरूले कसलाई भोट दिने भन्ने निष्कर्ष सुनाउन सकेनन्। उनीहरू जोडतोडले चुनावी गफमा केन्द्रित भइरहँदा वरिपरिका पसलमा कतै धवल त कतै इस्तियाकका प्रचार सामग्री र व्यानर टाँगिएका थिए। 

त्रिभुवन चोक छिचोलेर वडा नम्बर ७ का चोकहरूमा पुग्दा मतदाताहरुको अन्योल उस्तै देखियो। अलि पर, रानीतलाउ नजिकको चियापसलमा ४८ वर्षीय स्थानीय ओमप्रकाश कश्यप चर्को स्वरमा बोल्दैथिए। “हामीलाई इमान्दार र कर्मठ नेतृत्व चाहिएको छ। त्यसका लागि बरू हामी नेता फेर्न तयार छौँ। हाम्रो नेता विकासप्रेमी हुनुपर्यो। ठूल्ठूला सपना देखाउने नभई हाम्रो गास र बास सहज बनाउने काम गर्नसक्ने हुनुपर्यो। यस्तो काम जसले गर्छ, उसैलाई यसपटक संघमा पठाउने हो,” कश्यपले भने। 

उनले यसपटक संघमा नयाँ अनुहार जानुपर्ने र उनले काम गर्छन् या गर्दैनन् मतदाताले परीक्षण गर्नुपर्ने बताए। कुरा गर्दैजाँदा कश्यपको झुकाव धवलप्रति छ भनेर बुझ्न सकिन्थ्यो। तर, छेउमै रहेका कलिम खाँले उनलाई रोक्दै भने, “हामीलाई युवासँगै जुझारू नेता चाहिएको छ। यो क्षेत्रको विकास गर्नसक्ने नेता चाहिएको छ।संघसँग जोडिरहने नेता चाहिएको छ।” खाँले घुमाउरो रूपमा आफूलाई इस्तियाकको पक्षमा उभ्याए। 

रोचक के भने दुई उम्मेदवारको पक्षमा देखिएका दुईजना एउटै बेञ्चमा बसेर चिया पिउँदै थिए। अझ रोचक त चियापसलको चुनावी गफमा महिला पनि सहभागी थिए। तिनैमध्ये रिंकु कश्यपले भनिन्, “हामीलाई दुवै (धवल र इस्तियाक) राम्रो लाग्छ। दुबै हाम्रो ठाउँको विकासमा लागेको देख्छु। जनतालार्ई विकास चाहिएको छ। यसपटक कसलाई मत दिने भनेर म अलमलमा छु।” 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ का मतदाता पनि धवल कि इस्तियाक भन्ने दोधारमा भेटिए। बाँके–२ को ग्रामीण भेगका रुपमा चिनिने डुडुवा गाउँपालिकाका कतिपय मतदातामा पनि त्यस्तै अन्योल देखियो। 

बाँके–२ मा नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ वडाबाहेक सबै वडा र डुडुवा गाउँपालिका पूरै पर्छन्। २०७४ सालमा इस्तियाक २१ हजार ५७५ मतसहित निर्वाचित हुँदा एमालेका पशुपतिदयाल मिश्र ले १५ हजार ९५१ मत ल्याएका थिए। त्यसबेला राप्रपा र काँग्रेसका साझा उम्मेदवार, राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६२२ मत ल्याएका थिए।

यसपालिको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा कांग्रेस–माओवादी गठबन्धनले २४ हजार ९८० मत पाएको देखिन्छ भने एमाले–राप्रपा गठबन्धनको मत २३ हजार ९७२ छ। जसपाको मात्र मत १४ हजार १०९ थियो। 

यो क्षेत्रका धेरै ठाउँमा पुगेर मतदातासँग कुरा गर्दा उनीहरु पार्टी र तिनका घोषणापत्रभन्दा व्यक्ति (उम्मेदवार) विशेषलाई प्राथमिकता दिने मनस्थितिमा भेटिए। उनीहरुको संकेत थियो–नेपालगञ्ज यसपटक पार्टीगत आकर्षणभन्दा टाढा छ, विकास गर्ने नेता रोज्दैछ। सरसर्ती हेर्दा नै पनि बाँके–३ मा यसपालि पार्टीहरुबीच होइन, व्यक्तित्वबीच प्रतिस्पर्धा भइरहेको देखिन्छ। 

अरु जिल्लामा सत्तागठबन्धन (कांग्रेस, माओवादी र एकीकृत समाजवादी) र विपक्षी गठबन्धन (एमाले–जसपा, एमाले–राप्रपा) बीच प्रतिस्पर्धा भइरहँदा बाँके–३ मा धवललाई एमालेको समर्थन त छ, तर उनको प्रचारमा एमाले कार्यकर्ताको सहभागिता खासै देखिँँदैन। मतदाता भेट्न आफै घरदैलोमा पुगिरहेका धवल २०५४ सालमा पहिलोपटक नेपालगञ्जको मेयर बन्दा हासिल गरेको लोकप्रियतालाई मतदातासामु प्रस्तुत गरिरहेका छन्। त्यही ‘लिगेसी’ले उनलाई २०७४ सालमा पनि नेपालगञ्जको मेयर जित्न सघायो। “मैलै विकासलाई निरन्तरता दिएकै कारण यो नगरमा दुई पटक निर्वाचित भएका हुँ। अब पनि विकासलाई नै प्राथमिकतामा राख्ने प्रण गरेको छु। त्यसैका आधारमा मलाई सबैभन्दा धेरै मत आउनेछ,” धवलले भने। 

केन्द्रमा एमाले र जसपाबीच चुनावी तालमेल भएपनि बाँके–३ मा इस्तियाक एक्लै चुनावी मैदानमा छन्। आफूले इमान्दारीपूर्वक नेपालगञ्ज र बाँके–२ को विकासमा जोड दिएकाले चुनाव जित्न आफूलाई कुनै पार्टीको समर्थन आवश्यक नपरेको दाबी इस्तियाकको छ। “मैले नेपालगञ्ज र बाँके–२ का लागि के कस्ता काम गरेँ, कतिको जीवन बचाएँ, कतिको उद्धार गरेँ त्यो सबै स्पष्ट छ। अब के कसो गर्न चाहन्छु भन्ने पनि छर्लङ्ग छ। मतदाताले गठबन्धन गरेर आए मत दिन्नौँ, एक्लै आए मत दिन्छौँ भने। त्यसैले म एक्लै चुनावी मैदानमा छु”, उनले भने। 
 
किन कमजोर भयो कांग्रेस? 
बाँके–२ तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको क्षेत्र हो। सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुदिपनरसिंह राणाप्रतिको आकर्षण भने यहाँ तुलनात्मक रुपमा कमै देखियो। प्रचार पनि त्यस्तो आक्रामक देखिएन। नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट निवृत्त, राजनीतिशास्त्रका पूर्वप्राध्यापक डा. जनार्दन शर्मा आचार्य पनि यसपालि धवल र इस्तियाकबीचमै प्रतिस्पर्धा हुने बताउँछन्। “यसअघिका चुनावमा यहाँका मतदाता लचिलो देखिन्थे। दलले जता भन्यो त्यतै मत हाल्थे। यसपटक उनीहरूले दल भन्दा पनि व्यक्ति रोज्ने देखिन्छ। त्यो व्यक्ति धवल पनि हुन सक्छन्, इस्तियाक पनि हुन सक्छन्”, उनले भने। 

सुदिपनरसिंह राणा

स्थानीय तह निर्वाचनको मतपरिणाम र परम्परागत राजनीतिक शक्ति पनि भएकाले कांग्रेसले राम्रो मत ल्याउने आकलन पहिले गरिएको, तर माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेकाले कांग्रेसलाई अहिले मतदाताले नरुचाएको आचार्यको निष्कर्ष छ। उनले यो क्षेत्रमा कांग्रेस कमजोर देखिनुमा नेतृत्व नै जिम्मेवार रहेको बताए। “कुनैबेला यो निर्वाचन क्षेत्रमा कांग्रेसको पकड थियो। मतदाताले कांग्रेसबाहेक कसैलाई सोच्दैनथे। तर, कांग्रेस नेतृत्वमा आएको विचलनले नेपालगञ्जका काँग्रेस समर्थक मतदाताको मन पनि दुखेको छ”, आचार्यले भने, “कांग्रेस यसपटक पनि गठबन्धन गरेर चुनावी मैदानमा आयो। यसले गर्दा कांग्रेसलाई लिएर मतदातामा उत्साह छैन। कांग्रेसले नयाँ उम्मेदवार बनाएपनि उनका लागि जित चुनौतिपूर्ण छ।” 

आचार्यले भने झैँ कांग्रेसका स्थानीय कार्यकर्तामा पनि निर्वाचनप्रति खासै उत्साह देखिएन। त्रिभुवन चोकमा भेटिएका एक कांग्रेस कार्यकर्ताले भने, “कांग्रेसको यसअघिको मत नराम्रो होइन। तर, अहिले कांग्रेस सुतेको छ। यसलाई सुताउने काम गठबन्धनमा संलग्न दलहरूले गरिरहेका छन्। अब कहिले जाग्छ थाहा छैन।” सुशिल कोइरालापछि कांग्रेसमा चरम गुटबन्दी शुरु भएको, त्यसले पार्टी क्रमशः कमजोर बन्दै गएको र बाँके–२ मा त्यसकै प्रभाव परेको उनको भनाइ छ।

२०५६ को प्रतिनिधि सभा निर्वाचन जितेका कैलाशनाथ कशौधन गुप्ता कांग्रेसभित्रै एकले अर्कोलाई हराउने प्रतिस्पर्धा शुरु भएपछि यो क्षेत्रमा उसको हैसियत कमजोर बनेको बताउँछन्। “हामीलाई कमजोर बनाइएको होइन। हामी आफूहरू नै भित्रभित्र लडेकाले कमजोर भएका हौँ। यसपटक कांग्रेसबाट उठेका उम्मेदवार आफैमा योग्य र क्षमतावान हुनुहुन्छ। नयाँ अनुहार पनि हो। उहाँप्रति हामीलाई आशा छ”, उनले भने। 

गत स्थानीय निर्वाचनमा कांग्रेसले उपमहानगरको मेयर जितेकाले कांग्रेसको भोट पार्टीका उम्मेदेवारलाई परेमा राणाले अप्रत्यासित नतिजा दिन सक्ने पनि कतिपयको अनुमान छ। तर, स्थानीय तह निर्वाचनमा कांग्रेस र जसपाको तालमेल भएकाले नै कांग्रेस उम्मेदवारले उल्लेख्य मत पाएको देखिन्छ। 

धवललाई कति मिल्ला एमालेको सहयोग? 
नेपालगञ्जमा सबैमाझ परिचित धवलशमशेरलाई सघाउन एमालेले आफ्नो उम्मेदवार उठाएको छैन। एमालेको साथ मतमा चाहिँ कति रुपान्तरण होला? यही प्रश्नमा उनको जित वा हार निर्भर छ। प्राध्यापक आचार्य भन्छन्, “धवल आफैमा क्षमतावान नेता हुन्। उनलाई मत बटुल्न अरूको सहयोग आवश्यक पर्दैन। यद्यपि यसपटक इस्तियाक उनका कडा प्रतिस्पर्धी बनेकाले उनले पाउने एमालेको सहयोगको अर्थ छ।” 

धवल पनि चुनावी प्रचारप्रसारमा आफू एक्लै खटिए पनि एमालेको सहयोगको अर्थ रहने बताउँँछन्। “मलाई एक्लै लड्ने आँट नभएको पनि होइन। तर, अन्य दलको सहयोगलाई पनि कम आँक्न मिल्दैन”, उनले भने। 
 

गठबन्धनबाट बाहिरिँदा इस्तियाकलाई कति घाटा?
शुरूमा निर्वाचनसम्मै गठबन्धन गर्ने भनेर कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर सरकारमा गएको जसपा निर्वाचनमा सिट बाँटफाँटको विषय नमिलेपछि सत्तागठबन्धनबाट बाहिरिएको हो। सत्तागठबन्धनबाट बाहिरिएपछि जसपाले एमालेसँग चुनावी गठबन्धन गर्यो। यद्यपि इस्तियाक आफैले चुनाव जित्न एमालेको सहयोग नलिने बताएपछि उनको क्षेत्रमा एमालेसँग तालमेल भएन। अरु ठाउँमा जसपाका उम्मेदवारहरुलाई  सघाइरहेको एमालले नेपालगञ्जमा इस्तियाककै प्रतिस्पर्धी धवललाई सघाउँदैछ।

इस्तियाक भने धवललाई सघाउने एमालेको निर्णयले आफ्नो जितमा असर नपर्ने बताउँछन्। इस्तियाक भन्छन्, “मेरो गठबन्धन जनतासँग छ। त्यसैमा भरोसा गर्ने मेरो बानी छ।”

स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा इस्तियाकको अवस्था सहज देखिँदैन। तर, आक्रामक चुनावी प्रचार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा सडक, पूल जस्ता पूर्वाधारका योजनामा पारेको बजेट र कोरोना महामारीका बेला बिरामीको उपचारमा देखाएको सक्रियताले मतदातामाझ उनको प्रभाव बलियो छ। निर्वाचनको मुखैमा उनले अरु दलका थुप्रै कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन्। 

धवल भने इस्तियाकले चुनावी प्रतिस्पर्धालाई अस्वस्थ बनाएको र मतदाताले विवेक प्रयोग गर्ने दावी गर्छन्। भन्छन्, “मैले निष्ठाको राजनीति गर्ने कोशिश गरेको छु। म मतदाताको मनमा छु। तडकभडकपूर्ण प्रचारले मतदातालाई फरक पर्नेवाला छैन। उनीहरुले विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क छु।” 

धवलले समुदायमा विभाजन गर्न खोजेको इस्तियाक आरोप लगाउँछन्। हिन्दू र मुस्लिम समुदायबीच विभाजन ल्याउनसक्ने नारा धवलले लगाएको उनको आरोप छ। तर, त्यस्तो आरोपबाट इस्तियाक पनि मुक्त छैनन्। “इस्तियाकले बाहिर जेजस्तो कुरा गरे पनि उनको प्रमुख भोटब्यांक मुस्लिम समुदाय हो। धवलको पार्टी नै हिन्दुराष्ट्र पक्षधर भएकाले उनका लागि पनि त्यो समुदायमा केन्द्रित हुने नौलो कुरा भएन”, नाम उल्लेख गर्न नचाहने कांग्रेसका एक पुराना नेताले भने, “धवलले मुस्लिम समुदायको भोट तान्ने कोशिस गर्दैछन् भने इस्तियाक पनि गैरमुस्लिम समुदायको मन जित्ने प्रयासमा छन्, को कति सफल हुन्छ त्यो त परिणाम आएपछि थाहा होला।” 

उनको भनाइमा यसपटक कांग्रेस समर्थित मतदाताको रुझान पनि निर्णायक बन्ने देखिन्छ। कांग्रेसको फितलो प्रचार र तुलनात्मक रुपमा कमजोर उम्मेदवारका कारण कांग्रेससमर्थतक मतदाता पनि धवल र इस्तियाकतिरै आकर्षित हुने सम्भावना रहेको उनको विश्लेषण छ। “कांग्रेस समर्थित मतदाताले आफ्नो उम्मेद्वारलाई मत दिन्छन् वा धवल र इस्तियाकमध्ये एकलाई रोज्छन्, त्यसमै चुनावी परिणाम निर्भर छ,” उनले भने ।  

बाँके–२ मा ९७ हजार ८०९ मतदाता छन्। निर्वाचन आयोगका अनुसार यसपटक दुई हजार ७५८ नयाँ मतदाता थपिएका छन्।  

स्वतन्त्रको अवस्था कस्तो? 
बाँके–२ मा ५ जना स्वतन्त्र उम्मदेवार चुनावी मैदानमा छन्। दिवाकर खनाल, बागेश्वर चौलागाई, राहुल जयसवाल, इरफान अहमद शेष र समसुल हक राई स्वतन्त्र उठेका छन्। उनीहरूमध्ये नेपालगञ्जमा दिवाकर खनालको केही चहलपहल देखिन्छ।

कुनैबेला शिवसेनामा रहेका र २०५४ सालमा धवलसँगै मेयरमा प्रतिस्पर्धा गरेका खनाल स्थानीय व्यापारीहरुमाझ राम्रो पकड भएका नेता मानिन्छन्। खनालले धवललाई जाने मत तान्न सक्ने अनुमान गरिएको छ। त्यसले इस्तियाकलाई नै सहज बनाउनेछ।


राप्रपाको अजेन्डा स्थापित गर्न एमालेको साथ छ : राणा

धवलशमशेर राणा

तपाईंलाई मतदाताले किन मत दिने?
लामो समयसम्म इमान्दार राजनीति गरेकाले मलाई मतदाताले मत दिनुपर्छ भन्ने लाग्छ। २०/२५ वर्षदेखि जनताको सेवामा समर्पित भएकाले पनि मलाई मत दिनुपर्छ। यसअघि दुई पटकसम्म नेपालगन्ज उपमहानगरको नगरप्रमुख भएकाले र यहाँको विकास योजनाबद्धरूपमा गरेका कारण मैले मत पाउनुपर्छ भन्ने लाग्छ। जनताको मतको अवमूल्यन मबाट कहिल्यै भएको छैन। जस्तोसुकै कठिन परिस्थितिमा पनि मैले इमान्दारीपूर्वक राजनीति गरेको छु।

चुनावमा तपाईंको मुद्दा के हुन्?
मेरा दुई प्रकारका मुद्दा छन्, एउटा हाम्रो पार्टीको सिद्धान्त मेरो सिद्धान्त र उद्देश्य हो। अर्को, विकास। यो देश पुनः हिन्दू राष्ट्र बन्नु पर्छ। संवैधानिक राजतन्त्रको व्यवस्था हुनुपर्छ। गणतन्त्रको अभ्यास सही तरिकाले नहुनुले पनि यो देशमा पुनः राजतन्त्रको व्यवस्था आवश्यक छ भन्ने हाम्रो निष्कर्ष हो। संवैधानिक राजतन्त्रमा पनि भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ। त्यो कुरा नेपालगन्जबासीले पनि महसुस गरेका छन्।

आफ्नो मुख्य प्रतिश्पर्धी कसलाई ठान्नु भएको छ?
मेरो प्रतिस्पर्धी खासै कोही छैन। निकटतम् प्रतिस्पर्धी कांग्रेस वा जसपा हुनसक्छ। दुवै प्रतिस्पर्धी हुन्। जसपा पैसाको खोलो बगाइरहेछ। कांग्रेस आफैँमा ठूलो पार्टी हो। 

तपाईं कमजोर भएका कारण एमालेको साथ लिनु भएको हो?
त्यसो भन्न मिल्दैन। अहिलेको स्वाभाविक राजनीतिको रूपमा यो घटनालाई लिएको छु। देशैभरि यस्तै अभ्यास भइरहेको छ। सबैभन्दा ठूलो कुरा हामी हाम्रो अजेन्डा स्थापित गर्न चाहन्छौँ। यसका लागि कुनै न कुनै दलको साथ आवश्यक पर्छ। त्यसैअनुसार हामीले तालमेलको निर्णय गरेको हो।

तपाईंमाथि नेपालगन्जमा धर्म र राजनीति मिसाउनु भएको आरोप छ नि?
यो विल्कुल गलत कुरा हो। यत्रो ठूलो मुस्लिम समुदाय भएको ठाउँमा कसरी म पटकपटक निर्वाचित भएको होला? पार्टीको राष्ट्रिय अजेन्डा नै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हो। यसमा सहमत जनता आफैँले मलाई साथ दिइरहेका छन्। यसमा कसको धर्म के भन्ने कुरा नै आउँदैन। धर्मलाई लिएर राजनीति गर्ने हाम्रो लक्ष्य होइन। सबै नेपालीले बराबर अधिकार राख्नुपर्छ भन्ने मेरो मान्यता हो। 

तपाईं दुई पटक नगरप्रमुख भइसक्नु भयो, नेपालगन्जबासीले के पाए त? 
यो त जनतलाई नै सोध्नुपर्ने कुरा हो। मैले यो नगरमा विकासका पूर्वाधार निर्माणमा निकै जोड दिएको छु। भ्रष्टाचाररहित नगर बनाउने कोशिश गरेँ। कुनै पनि होहल्ला, तालाबन्दी वा विरोधबिना मैले यहाँको विकासमा सहयोगी बन्ने कोशिश गरेको छु। सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा जनताले सहजरूपमा सेवा लिने वातावरण तयार पार्ने काम गरेको छु। यो नै ठूलो कुरा हो जस्तो लाग्छ।

यसपटक चुनाव जित्ने आधार के छन्? 
जनताले विकास खोजेका छन्। सहज तरिकाले आफ्नो जीवनयापन होस् भन्ने चाहेका छन्। जनताले सुरक्षा खोजेका छन्, त्यो पनि मैले दिने प्रयास गरेँ। जनताले विभेदरहित समाज खोजिरहेका छन्, त्यसमा पनि मैले काम गरिरहेको छु। जनता सम्मानपूर्वक बाँच्न चाहेका छन्, त्यसको वातावरण बनाउने काम गरिरहेको छु।  यी सबै क्षेत्रमा मेरो काम निरन्तर हुनेछ। मेरो जितको आधार पनि यी नै हुन्।

तपाइँ करिब २५ वर्षदेखि राजनीतिमा हुनुहुन्छ। परिवर्तनको कुरा गर्नुहुन्छ। नयाँ पुस्तालाई अवसर दिन तपाईं पनि अग्रसर देखिनु भएन नि?
मैले जहिले पनि नयाँले अवसर पाउनु पर्छ भन्ने मान्यता राख्छु। मेरो पार्टीमा पनि त्यो परिवर्तन आएको छ। राजेन्द्र लिङ्देन एउटा उदाहरण हो। जिल्लामा पनि त्यस्तो परिवर्तन आउनुपर्छ भन्ने लाग्छ। त्यसका लागि हामीजस्ता अनुभवले खारिएकाहरू पहिले संसदमा या केन्द्रमा पुग्नुपर्छ जस्तो लाग्छ।


राप्रपाले धर्म र सम्प्रदायको नाममा मत मागिरहेको छ : राई

मोहम्मद इस्तियाक राई

चुनावी दौडधूप कस्तो भइरहेको छ?
चुनावमा म एक्लै खटिएको छैन, मेरो साथमा जनता छन्। म पुग्न नसकेको क्षेत्रमा उनीहरू पुगिरहेका छन्। म पनि उत्तिकै व्यस्त छु। हरेकको घरमा पुगेर मैले अहिलेसम्म गरेका काम 

बाँके २ नम्बरका मतदाताले तपाईंलाई नै किन मत हाल्ने?
मैले नेपालगञ्जमा १०० वर्षसम्म हुन नसकेका काम गरेको छु। आम मतदाताको घरघरमा पुगेर उनीहरूको आवश्यकताको लिष्ट तयार पारेको थिएँ, त्यसैअनुसार केन्द्रबाट योजना मात्रै होइन, बजेट पनि ल्याउन सफल भएँ। कामको निरन्तर निगरानी गरेँ। मेरो कामबाट नेपालगन्जबासी निकै खुसी छन्। ९५ वर्षपहिले बनेको भेरी अस्पतालको रूप फेर्न मैले नै भूमिका खेलेँ। यो अस्पतालका थोत्रा भवनहरू हटाएर ५० करोडभन्दा माथिका भवन निर्माणको काम म मन्त्री हुँदा भयो। मेरा पार्टीका नेता उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा यो भवनको काम शुरू भयो। त्यति नै लगानीमा नेपालगन्जको सभाहल पनि सम्पन्न हुने अवस्थामा छ। हामीले कैयौँ सडकलाई कालोपत्रे बनाएका छौँ। विमानस्थलको स्तरोन्नतिको कुरा पनि अघि बढेको छ। औधोगिक करिडोरको काम पनि अघि बढेको छ। 

विकासका कुरा त अन्य प्रतिस्पर्धीले पनि गर्नुभएको छ। विशेष अजेन्डा के छ?
गरिबीको तह घटाउनु छ। शिक्षाको स्तर बढाउनु छ। विकासका पूर्वाधार निर्माण गरिसकेपछि मानव विकासको सूचकांक बदल्ने हाम्रो प्रयास हुनेछ। ढल निकास हाम्रो प्रमुख मुद्दा छ। सडक विस्तार र यसको स्तरोन्नतिमा हाम्रो जोड छ । किसानको समस्या पनि हाम्रो मुद्दा हो। युवालाई रोजगारी दिलाउने पनि हाम्रो मुद्दा हो। यस्तै मुद्दालाई समेटेर हामीले ‘१० दृष्टि’ अघि सारेका छौँ। 

यसपटक कसलाई मुख्य प्रतिस्पर्धी ठान्नुभएको छ?
नेपाली कांग्रेस नै मेरो मुख्य प्रतिस्पर्धी हो। कांग्रेसको बानी शुरूमा सुत्ने, पछि उठ्ने हुन्छ। शुरूमा काँग्रेसभित्र टिकट नपाएकाहरूले विरोध गर्छन्, झगडा गर्छन्। तर, पछि चुनाव शुरू भएपछि एकजुट हुन्छन्। मैले यसअघि पनि यस्तै अनुभव गरेको छु। यसअघि मलाई जित्न हम्मेहम्मे भएको थियो। मेरो क्षेत्र त झन् सुशील कोइरालाको क्षेत्र हो। उहाँको जनाधार अहिले पनि बलियो देख्छु। काँग्रेस बलियो भयो, या संगठित भयो भने अघि आइदिन सक्छ। 

राप्रपा चाहिँ प्रतिस्पर्धामा छैन?
यहाँ राप्रपाको कुनै आधार छैन। उसको संगठन छैन। व्यक्तिको आधारमा वा विचारको आधारमा चार पाँच हजार मत खसेर अर्थ हुन्न। राप्रपाले जातीयता, धर्म र सम्प्रदायको नाममा मत लिन खोजिरहेको छ, त्यसको कुनै अर्थ छैन। धवलशम्शेर राणाले मेयरको १० वर्षे कार्यकालमा के गर्नु भयो कसैलाई पत्तो छैन। उहाँले जनतालार्ई झूटो सपना देखाइहनु भएको छ। मैले आफू उम्मेदवार बन्दै गर्दा आफूले गरेका कामबारे फेहरिस्त सुनाएको छु। आफूले गर्ने कामबारे जानकारी दिएको छु।

तपाईंमाथि पनि मुस्लिम समुदायको मत तान्न राजनीतिमा धर्म जोडिरहनु भएको आरोप छ नि?
ममाथि लगाइएको आरोप मात्रै हो। विगतमा पनि मैले सबै समुदायको मन जितेको हो। यसपटक पनि मन जित्छु। मलाई मुस्लिम समुदाय मात्रै होइन, हिन्दू धर्मालम्बीहरूले साथ दिएका छन्। म यस्तो विषयलाई प्राथमिकता दिन्न। जसले जे धर्म माने पनि एकअर्कामा सम्मान हुनुपर्छ। कसैले कसैको आत्मसम्मानमा ठेष पुर्‍याउनुहुन्न। बरू यस्तो काम राप्रपाबाटै भएको छ। जुन जनताले महसुस गरेको कुरा हो। नेपालगन्ज सामाजिक सद्भाव भएको नगर हो।



सम्बन्धित सामग्री