Friday, April 19, 2024

-->

रूपन्देही–३ को घमासान : बालकृष्ण खाँणलाई झस्काइरहेको त्यो ‘विद्रोही चोक’

गठबन्धन, सत्ता र शक्ति सबथोक हुँदाहुँदै पनि रूपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण ‘सुरक्षित’ महसुस गरिरहेका छैनन्। कारण हो, २०५१ सालको ‘विद्रोही चोक’ सम्झाउने कांग्रेसभित्रको असन्तुष्टि।

रूपन्देही–३ को घमासान  बालकृष्ण खाँणलाई झस्काइरहेको त्यो ‘विद्रोही चोक’ 

भैरहवा– रूपन्देहीको जिल्ला सदरमुकाम भैरहवाको मुख्यचोक, बर्मेलीटोलबाट राजमार्ग क्षेत्र छाडेर दायाँतर्फ दक्षिण लागेपछि आउने पहिलो चोक हो, ‘विद्रोही चोक’। २०५० सालअघि भैरहवाबासीले यो चोकको नामाकरण गरेका थिएनन्। तर, २०५१ देखि यसको नाम ‘विद्रोही चोक’ रहन गयो। अहिले सबैले यसलाई ‘विद्रोही चोक’ भनेर चिन्छन्। र, यो नाम नेपाली कांग्रेसको आन्तरिक राजनीतिसँग जोडिएको छ।

कांग्रेसको सिद्धार्थनगर नगर समितिका पूर्वसभापति दिलीप धितालका अनुसार २०४८ सालको आम निर्वाचनमा बहुमत ल्याएर एकमना सरकार बनाएको कांग्रेस आफैँभित्रको कलहका कारण तीन वर्षमै संसद् विघटन गर्ने अवस्थामा पुगेपछि उनीसहितका युवाको समूहले कांग्रेसबाट विद्रोह गरेको थियो। त्यो समूहले त्यसबेला कांग्रेसभित्रै ‘विद्रोही समूह’ खडा गरेका गणेशमान सिंहको विद्रोहलाई साथ थियो। त्यसबेला कांग्रेसको विद्रोही समूहको बाक्लै भेला र जमघट हुने ठाउँ भएकाले त्यो ठाउँलाई नै ‘विद्रोही चोक’को नाम दिइयो। यसले चोकको नाम मात्र परिवर्तन गरेन, त्यसपछिका निर्वाचनमा रूपन्देही, त्यसमा पनि भैरहवा क्षेत्रमा कांग्रेसको परिदृष्य नै बदलिदियो।

त्यसताका रामकृष्ण ताम्राकार रूपन्देही मात्र होइन, यो क्षेत्रकै प्रभावशाली नेता थिए। गिरिजाप्रसाद कोइरालाका ‘प्रिय’ मानिने ताम्राकार २०४८ सालको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। आफ्नै टोल–छिमेकका युवाको विद्रोहपछि २०५१ सालमा भएको निर्वाचनमा उनी एमाले उम्मेदवार धनपति उपाध्यायसँग पराजित भए।

२०५३ सालमा उपाध्यायको निधन भएपछि खाली भएको स्थानमा उपनिर्वाचन हुँदा पनि ताम्राकारले जित्न सकेनन्, उनलाई पराजित गर्दै एमालेका घनश्याम भुसाल विजयी भए। २०५६ सालमा भने कांग्रेसको त्यो ‘विद्रोही समूह’ फेरि कांग्रेसमै सक्रिय भयो। अनि ताम्राकार पनि २०५६ को निर्वाचन जितेर मन्त्रीसमेत बने। भैरहवाका कांग्रेसहरू अहिले पनि त्यो ‘विद्रोही चोक’लाई गौरवका रूपमा लिने गर्छन्।

ताम्राकारको २०७६ मा निधन भएपछि रूपन्देहीको कांग्रेस राजनीतिको तस्वीर पनि फेरिएको छ। र, अहिले यहाँको कांग्रेस राजनीतिमा रूपन्देहीका बालकृष्ण खाँणको एकछत्र जस्तै छ। वर्तमान पार्टी संस्थापनका ‘भित्रिया’ मानिने खाँण अहिले गृहमन्त्री छन्। यसपालिको प्रतिनिधिसभा निर्वाचनमा उनी बुटवलबाटै भैरहवा झरेका छन्। एउटा रोचक संयोग के भने करिब ३० वर्ष पहिले ताम्राकारले भोगेको जस्तै ‘नियति’को सामना अहिले खाँणले गरिरहेका छन्।

यसपालि खाँण भैरहवा क्षेत्रबाट उम्मेदवार बन्दा कांग्रेस कार्यकर्ताले अर्को विद्रोह गरेका छन् तर, त्यसको स्वरूप ३० वर्ष पहिलेभन्दा फरक छ। २०५१ सालमा भएको कांग्रेस कार्यकर्ताको ‘विद्रोह’ खुलेआम थियो, तर, खाँण विरुद्धको विद्रोह भने नदेखिने र सुषुप्त छ। “खाँण दाइ आउँदा त उहाँको पक्षमा सवै कांग्रेसीहरू एक भएर हिँड्नुपर्ने पर्ने हो नि,” आफ्नो नाम उल्लेख गर्न नचाहने भैरहवाका एक पुराना कांग्रेस नेताले भने, “त्यो त देखिएन। आज उहाँ पान खाँदै घर, मन्दिर धाउँदै आफूलाई चिनाएर हिँड्नुपरेको छ। गृहमन्त्री जत्तिको मान्छे आउँदा त उभार आउनुपर्ने थियो। भैरहवामा त्यो देखिएन। यो त्यही सुषुप्त विद्रोहको परिणाम हो।”

त्यहीकारण हुनसक्छ, खाँणले आफूलाई भैरहवामा मात्रै केन्द्रित गरिरहेका गरेका छन्। प्रत्येक दिनजसो उनले भैरहवामा भेटघाटदेखि मन्दिर–पौवा चहारिरहेका छन्। भैरहवाका कांग्रेस नेता विशेश्वर बस्याल भने खाँणका लागि भैरहवा नयाँ ठाउँ भएकाले चिनजान गर्न पनि धेरै समय भैरहवामा दिएको बताउँछन्। “खाँण दाइ भैरहवाका लागि नयाँ हुनुहुन्छ। सबैसँग चिनजान छैन। फेरि कांग्रेसको कमजोर ठाउँ पनि हो यो। अरू ठाउँमा कांग्रेस यसै बलियो छ”, उनी भन्छन्, “त्यसैले उहाँ भैरहवामा केन्द्रित हुनुभएको हो।”

पार्टीमा केही समस्या भएपनि विद्रोहको अवस्था भने नरहेको उनको दाबी छ। “विगतमा पार्टीभित्रको आन्तरिक राजनीतिले केही समस्या देखिएको थियो। तर, अहिले सबै मिलिसक्यो। गृहमन्त्री जिताउन हामी सबै लागिपरेका छौँ”, बस्याल भन्छन्, “पार्टीभित्रको सानो समस्याले चुनावमै असर पर्ने हुन्न। घरभित्रको समस्या त आन्तरिक समस्या हो नि, त्यो हल भइहाल्छ।”

कांग्रेसनिकट प्रजातान्त्रिक प्रध्यापक संघ, भैरहवा बहुमुखी क्याम्पस इकाई समितिका पूर्वअध्यक्ष उमेश रिजाल भने कांग्रेसले मूल्यमान्यतको राजनीति छोडेर सत्ताका लागि माओवादीलाई बोकेर हिँडेकाले कार्यकर्तामा नैराश्य छाएको बताउँछन्।

“जसरी पनि सत्ताका लागि कांग्रेसले गरेको गठबन्धन गलत छ, गठबन्धन गरेर ८० सीट आउनुभन्दा एक्लै लड्दा १० सिट आएको कांग्रेसका लागि राम्रो हो”, उनी भन्छन्, “गठबन्धन गरेर कांग्रेसको सरकार बनेर जनताले के पाए? आज जनता मल नपाएर ग्वाँ ग्वाँ रोइरहेका छन्। जनताको समस्या समाधान नगर्ने भए सरकार बनाएर के काम?”

यसअघिका निर्वाचनमा सधैँ सक्रिय रहने गरेका उनी यसपालि निष्क्रिय छन्। आफू कोही व्यक्तिविरुद्ध भन्दा पनि कांग्रेसले लिएको नीति नै बेठिक भएकाले निष्क्रिय बसेको रिजाल बताउँछन्। “माओवादीले यो संविधान नमान्ने कुरा त घोषणापत्रमा भनिसक्यो। त्यस्तो शक्तिलाई बोकेर गठबन्धन गरेकाले म निष्क्रिय बसेको हुँ”, उनले भने, “म जस्ता धेरै पुराना कांग्रेस कार्यकर्ताको असन्तुष्टि गठबन्धनप्रति हो।”

खाँण आफैँले बनाएको ‘खाल्डो’
कांग्रेसमा खाँण केन्द्रीय राजनीतिमा जति चर्चित र प्रभावशाली छन्, जिल्लाको राजनीतिमा भने उनको त्यो प्रभाव देखिँदैन। त्यहीकारण हो, पाँचदलीय गठबन्धनका बाबजुद रूपन्देहीको क्षेत्र–३ मा राप्रपाका नेता दीपक बोहरासँगको प्रतिस्पर्धामा उनलाई परिरहेको कठिनाई।

यसको कारण बुझ्न एक वर्ष अगाडि फर्कनुपर्छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अगाडि सबैतिर कांग्रेसका जिल्ला र क्षेत्रीय अधिवेशन भएका थिए। ती अधिवेशनमा खाँणबाट भएको व्यवहारलाई  भैरहवा क्षेत्रका कांग्रेस कार्यकर्ताले भुल्न सकेका छैनन्। “बालकृष्ण दाइलाई हामी सबैले सर्वमान्य नेता मानेका थियौँ, तर उहाँले त्यो अनुसारको निष्पक्षता र भूमिका देखाउन सक्नुभएन र सबैको नेता हुन चाहनुभएन”, नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिका पूर्वसभापति दिलीप धिताल भन्छन्, “उहाँ एउटा सानो समूहलाई मात्र च्यापेर अघि बढ्नुभयो।”

२०७८ मंसीर ४ मा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क) को अधिवेशनको मतगणना जिल्ला पार्टी कार्यालय भैरहवामा चलिरहेको थियो। सभापति पदमा शेरबहादुर देउवापक्षीय प्यानलबाट सुरेन्द्रजंग थापा र डा. शेखर कोइरालाको प्यानलबाट पुरन श्रेष्ठ उम्मेदवार थिए। ३२९ मत खसेकोमा करिव २०० मतगणना गर्दा थापा प्यानलका उम्मेदवारभन्दा श्रेष्ठ प्यानलका उम्मेदवार अगाडि थिए। थापा प्यानल रूपन्देहीमा खाँणकै प्यानल थियो। त्यसपछि थापा प्यानलसमर्थित कार्यकर्ताले जेनेरेटरको बत्ती निभाएर विवाद शुरु गरे। उनीहरूले कोइराला प्यानलबाट क्षेत्र नम्बर ३ को क्षेत्रीय समिति सचिवको उम्मेदवार रहेका शैलेश पन्तमाथि आक्रमण नै गरे। गृहमन्त्री खाँण समूहका कार्यकर्ताबाट घाइते भएका पन्तलाई अस्पताल भर्ना गर्नुपर्‍यो।

पछि पन्तले आफूमाथि आक्रमण गर्ने सोमबहादुर गुरुङलगायतका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए। तर, उनको जाहेरी प्रहरीले दर्ता गरेन। गृहप्रशासनको शक्तिका आडमा आफूमाथि आक्रमण गर्नेलाई संरक्षण गरिएको र सोहीकारण प्रहरीले जाहेरी नै दर्ता नगरेको पन्त बताउँछन्। “डरत्रास फैलाइयो, धनपवाद हावी भयो। अहिले सच्चा कांग्रेस कार्यकर्ता लुकेर हिँड्नुपर्ने अवस्था छ”, पन्त भन्छन्।

त्यसबेला पन्तमाथि आक्रमण गरेको आरोप लागेका गुरुङ कांग्रेसबाटै ‘पुरस्कृत’ भए। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा गुरुङले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मा वडाध्यको टिकट पाए। निर्वाचित पनि भए। भैरहवाका कांग्रेस कार्यकर्ताहरू त्यसबेला खाँणको विरोध गर्नसक्ने अवस्था नै नरहेको बताउँछन्।

स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयरमा मातृका यादव आकांक्षी थिए। तर, उनको नाम कांग्रेसको स्थानीय समितिबाटै सिफारिस हुन दिइएन। टिकट नपाएपछि उनी कांग्रेस त्यागेर जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरे। कांग्रेसले सिद्धार्थनगरको मेयरमा खाँणकै रुचिमा दुई वर्ष पहिले राप्रपाबाट कांग्रेस प्रवेश गरेका जग्गा व्यवसायी मोहम्मद इस्तियाकलाई उम्मेदवार बनायो। 

“रूपन्देहीका सबै नगरपालिकामा २०७४ को निर्वाचनमा पराजितहरूलाई टिकट दिइयो। सिद्धार्थनगरमा मातृकालाई नदिएर इस्तियाकलाई टिकट दिनुपर्ने कारण के थियो, खाँण र इस्तियाकको सम्वन्ध के हो बुझ्न सकिएन”, आफ्नो नाम उल्लेख गर्न नचाहने रूपन्देहीका एक कांग्रेस नेता भन्छन्, “उहाँलाई कार्यकर्ताको भन्दा व्यापारीको आड भरोसा होला। चुनावमा पैसाको सहयोगको कुरा होला।”

त्यसबेला गृहमन्त्री खाँणले जिल्ला अधिवेशनमा पनि त्यस्तै ‘शक्ति’ प्रयोग गरेर सहोदर भाइ रामकृष्ण खाँणलाई कांग्रेसको जिल्ला सभापति बनाएको कांग्रेस कार्यकर्ता बताउँछन्। उनीहरूका भनाइमा खाँणले नातेदार र आफूनिकटलाई छानीछानी अवसर दिएकाले पनि उनीप्रतिको असन्तुष्टि चुलिएको छ।

एउटा दृष्टान्त देवी चौधरीको हो। तत्कालीन नेपाल सद्भावना पार्टीबाट एमाले, एमालेबाट मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र त्यसपछि नेपाली कांग्रेस प्रवेश गरेका भैरहवाका देवीलाई रूपन्देहीको कांग्रेस पंक्तिले अन्तिम समयमा यसपालि प्रदेशसभाको समानुपातिकको सूचीमा सिफारिस हुनबाट रोकेको थियो। कांग्रेसको समानुपातिक सूचीमा सिफारिस नभएपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर चुनाव लड्ने तयारीसहित चौधरी काठमाडौं हानिए। उनको असन्तुष्टि थाहा पाएपछि खाँणले मुग्लिन पुगिसकेका चौधरीलाई टेलिफोन गरेर फिर्ता हुन लगाए र समानुपातिक सूचीमा राख्ने ‘ग्यारेन्टी’ गरे। लुम्बिनी प्रदेशसभाको समानुपातिक सूचीअन्तर्गत थारू कलष्टरतर्फ प्राथमिकतासहित एक नम्बरमा चौधरीको नाम समावेश छ। सिद्धार्थनगरका कांग्रेस नेता विशेश्वर बस्याल भन्छन्, “देवीजी कांग्रेसमा रोकिएपछि धेरै सहज भयो। उहाँ थारू समुदायभित्र राम्रो प्रभाव भएको नेता हो।”

खाँणले छानीछानी अवसर दिएर पनि आफूप्रतिको असन्तुष्टि थामथुम पार्ने प्रयास गरिरहेका छन्। जस्तो कि, फरक खेमामा रहेका कुमार केसीलाई खाँणले रूपन्देही क्षेत्रनम्बर २ (क) बाट प्रदेशसभा सदस्यको टिकट दिलाए। सिद्धार्थनगरमा अघिल्लो पटक राप्रपासँग मिल्दा असन्तुष्टि जनाएर विद्रोह गरेका ओम श्रेष्ठलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गराएर खाँणले आफ्नो पक्षमा ल्याएका छन्। भैरहवाका एमालेनिकट व्यापारी कृष्ण शर्मा पनि अहिले कांग्रेस प्रवेश गरेर खाँणको चुनावी अभियानमा सक्रिय छन्। शर्मा निकटस्थहरू खाँणले आउँदो स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयरको टिकट दिने आश्वासन दिएको र सोहीकारण उनी एमाले छाडेर कांग्रेस प्रवेश बताउँछन्।

एकातिर आफ्नैलाई मिलाउने सकस, अर्कोतिर बोहराको टक्कर
कांग्रेसभित्र आफूप्रति देखापरेको असन्तुष्टि खाँणको ठूलो टाउको दुखाइ बनेको छ। त्यहीकारण पनि उनी असन्तुष्ट समूहलाई मिलाउन अनेक प्रयत्न गरिरहेका छन्। एक वर्षअघि पार्टी अधिवेशनका क्रममा भएका घटनाहरूलाई बिर्सेर चुनावमा एकजुट हुन उनले गरेको आग्रहलाई असन्तुष्ट पक्षले भने स्वीकार गरेको छैन। खाँणले व्यक्तिगत र सामुहिक रूपमै भेटेर ‘अब पार्टीभित्र अन्याय हुन नदिने’ वाचा गरेपनि असन्तुष्ट समूह त्यसमा विश्वस्त हुनसकेको छैन। “हामीमाथि आक्रमण गर्नेहरूले माफी माग्नुपर्छ भन्ने हाम्रो एकमात्र अडान हो। पार्टीभित्र विभेदको वातावरण नहोस् र गलत गर्नेले त्यसको रियलाइजेसन गरेर माफी मागून्,” पन्त भन्छन्। 

सिद्धार्थनगरमा असन्तुष्ट कांग्रेस समूहलाई खाँणले बडादशैंको एक दिन पहिले, असोज १८ गते सिद्धार्थनगरको जिल्ला पार्टी कार्यालयमा बोलाएरसहयोग गर्न आग्रह गरेका थिए। विशेश्वर बस्यालको नेतृत्वमा पन्तसहित गएको टोलीले खाँणसमक्ष सातवटा लिखित माग राखेको थियो। तर, अहिलेसम्म त्यसमा कुनै प्रगति भएको छैन।

खाँणलाई यसपालि चुनावी मैदानमा टक्कर दिइरहेका राप्रपा नेता दिपक बोहरा पनि रूपन्देहीको राजनीतिमा उनीजत्तिकै चर्चित पात्र हुन्। पञ्चायती राजनीतिबाट आएका बोहराले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भैरहवा क्षेत्रबाटै जित निकालेका थिए। २०७४ मा कांग्रेससँगको गठबन्धनमा उम्मेदवार बनेका उनी एमालेका घनश्याम भुसालसँग पराजित भए। बोहरा यसपटक एमाले र जसपासहितको गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन्।

गत स्थानीय तह निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ अन्तर्गतका वडाहरूमा एमाले, जसपा र राप्रपाका वडाध्यक्षले पाएको मत हेर्दा खाँणभन्दा बोहरा करिब ८ हजार मतले अगाडि देखिन्छन्। तर, एमालेमा घनश्याम भुसालको विद्रोहपछि स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारलाई गएको करिब २ हजार मत खाँणलाई आउने कांग्रेसको मूल्यांकन छ। त्यसबाहेक राष्ट्रिय जनमुक्ति पार्टीको करिब एक हजार मत पनि थपिने हुँदा आफूले बोहरालाई सहजै पराजित गर्नसकिने कांग्रेसको दाबी छ।

यो क्षेत्रमा बोहरा आफैँमा कमजोर उम्मेदवार होइनन्, तर उनीनिकटहरू ‘सत्ता–शक्तिको दुरूपयोग’ हुने भयमा देखिन्छन्। निष्पक्ष निर्वाचन भएमा बोहरालाई जित्न गाह्रो नभएको उनीहरूको भनाइ छ।

कांग्रेसले एमाले छाडेका घनश्याम भुसाल समूहको दुई हजार मत आउने हिसाब–दाबी गरे पनि विगतमा भुसालसँग रहेको समूह एमालेमा सक्रिय भएर बोहराको प्रचारमा खटिसकेको छ। सिद्धार्थनगर नगरपालिकाका पूर्वप्रमुख हरी अधिकारी त्यही समूहका अगुवा हुन्। अधिकारीको समूहमा रहेका एमालेका एक नेता भन्छन्, “तिहारअघि हामी पनि के गर्ने भनेर कन्फ्युज्ड थियौं, अब क्लियर भइसक्यौं। हामीले घनश्यामजीको साथ छाडेर एमालेको नीतिभन्दा दायाँ बायाँ नलाग्ने निर्णय लियौं।”

गृहमन्त्री खाँणको अर्को चुनौती उनका प्रतिस्पर्धी बोहराको सबैसँग सहजै घुलमिल हुने, जसलाई पनि सजिलै भेट दिने स्वभाव पनि हो। यसपटक भने उनको स्वास्थ्य प्रतिकूल छ। सभाहरूमा राम्ररी बोल्न, भाषण गर्न सक्दैनन्। खाँणपक्षले यही कुरालाई मुद्दा बनाएको छ। राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणा भने चिकित्सकको सल्लाहअनुसार बोहरा ‘भ्वाइस रेष्ट’ मा रहेकाले बोल्न नमिलेको बताउँछन्। भन्छन्, “दुई हप्तापछि उहाँ पूर्ववत् अवस्थामा जस्तै बोल्न सक्नुहुन्छ।”


सम्बन्धित सामग्री