Friday, April 19, 2024

-->

पुस्तक–कथा
नेवारहरूले ‘नर पिचास’ भनेको झोँकमा नरशमशेरले लेखाए आफ्नो जीवनी

१९९७ सालमा मृत्युदण्ड पाएका चारै शहीदलाई सजाय कार्यान्वयन गर्ने जिम्मा तत्कालीन पुलिस ठानाका तालुकवाला जर्नेल नरशमशेरले पाएका थिए। मृत्युदण्ड पाउने चार शहीदमध्ये तीन जना नेवार हुन्।

नेवारहरूले ‘नर पिचास’ भनेको झोँकमा नरशमशेरले लेखाए आफ्नो जीवनी

नरशमशेर जबरा चार शहीदलाई फाँसी दिने ‘जल्लाद समूह’को कमान्डर थिए। प्रजातन्त्र आएपछि उनै नरशमशेरलाई राजा त्रिभुवनले २००७ चैत ३१ मा प्रहरी महानिरीक्षक (आईजीपी) बनाएका थिए। उनी नेपाल प्रहरीका दोस्रो आईजीपी हुन्। उनीअघि जनरल तोरणशमशेर तीन दिनका लागि मात्र आईजीपी भएका थिए।

नरशमशेर आईजीपी नियुक्त हुँदा बीपी कोइराला गृहमन्त्री थिए। प्रजातन्त्र आउने निश्चित भएपछि दिल्लीको हैदरबाद हाउसमा नै गणेशमान सिंहले राजा त्रिभुवनसँग नेपाल फर्किएर आफूलाई आईजीपी बनाउनुपर्ने प्रस्ताव गरेको नरशमशेरले आफ्नो पुस्तक जनरल नर शमशेर जंग बहादुर राणाको जीवनी (उहाँकै जुवानी) मा उल्लेख गरेका छन्।

त्रिभुवनका लागि भाइभारदारहरूको सहीछापसहित ‘हामीलाई श्री ५ त्रिभुवन नै चाहिन्छ’ भन्ने मजबुनको कागज दिल्ली पुर्‍याएपछि त्रिभुवन खुशी भएका थिए। त्यसै बेला, त्यहीँ रहेका गणेशमानले भावी आईजीपीको प्रस्ताव गरेको पुस्तकमा उल्लेख छ।

राणा शासनमा जुद्धशमशेर प्रधानमन्त्री हुँदा नरशमशेर शक्तिशाली व्यक्ति थिए। राणा शासन ढलेपछि पनि उनको शक्ति घटेन।

नरशमशेर प्रहरी प्रमुख त छँदैथिए, त्यसबाहेक पनि धेरै क्षेत्रमा सक्रिय थिए। उनी नेपाली चलचित्र माइतीघरका निर्माता हुन्। त्यसैगरी, धेरै खेलका खेलाडी थिए। उनी महावीर क्लबबाट फुटबल खेल्थे। हक्की र कुस्तीका पनि खेलाडी थिए। उनले ब्याडमिन्टन र टेबलटेनिस पनि खेल्ने गरेको आफ्नो जीवनीमा उल्लेख गरेका छन्।

छोराको दर्जा पाएका जुद्धशमशेरका नाति
राणा शासनका सातौँ प्रधानमन्त्री जुद्धशमशेरको पालाबाट प्रजातन्त्रको माग गर्दै पहिलो ठूलो आन्दोलन भयो। राणा शासनविरुद्धको जनउभारको शुरूआत त्यही आन्दोलन थियो। प्रजा परिषद्ले थालेको त्यो आन्दोलन भने वियोगान्त भयो।

उक्त आन्दोलन दबाउन १९९७ सालमा राणाहरूले पाँच जनालाई मृत्युदण्डको सजाय सुनाए। तीमध्ये दुई जनालाई झुन्ड्याएर र दुई जनालाई गोली हानेर हत्या गरियो। एक जना पूर्णनारायण प्रधानको मृत्युदण्डको फैसला जन्मकैदमा परिणत गरियो।

चारै जनाको मृत्युदण्डको सजाय कार्यान्वयन गर्न खटिएका कमान्डर नरशमशेर जुद्धशमशेरका जेठा नाति हुन्। त्यसताका उनी पुलिस ठानाका तालुकवाला जर्नेल थिए (नेपालको जनक्रान्ति २००७, भुवनलाल प्रधान, पृष्ठ ७७)

नरशमशेर जुद्धशमशेरका माइला छोरा बहादुरशमशेरका छोरा थिए। जेठा छोरा उपेन्द्रशमशेरको भने बाल्यकालमै निधन भएको थियो। जेठो नाती भएका कारण उनी निकै पुल्पिुलिएका थिए।

कतिपय काकाहरू (जुद्धशमशेरका छोरा) नरशमशेरभन्दा कान्छा थिए। उनीहरूलाई नरशमशेर ‘भाइ’ भनेर सम्बोधन गर्थे। जुद्धशमशेरले नै नरशमशेरलाई ‘तँलाई छोरामा लिएको छु’ भनेका कारण उनी पुल्पुलिएर काकाहरूलाई पनि भाइ र तिमी भन्ने गरेको इतिहासकार हेमन्तशमशेर जबरा बताउँछन्। उनै हेमन्तशमशेर नरशमशेरको जीवनीका ‘प्रस्तुतकर्ता’ हुन्।

इतिहासकार हेमन्त शमशेर।

जुद्धशमशेरका कान्छा छोरा नारायणशमशेर हुन्। उनी ब्याइतेतर्फका भए पनि रोलवाला थिए। फिल्डमार्शलसम्म भएका निरशमशेर भने बेरोलवाला थिए। निरशमशेर नारायणलाई ‘सान्भाइ’ भनेर बोलाउँथे। त्यही सिको गरेर नरशमशेर पनि काका नारायणशमशेरलाई सान्भाइ नै भन्थे।

नारायणशमशेरको बिहेको घटनाले नरशमशेर ‘आफ्नो टुंगो’मा आएको हेमन्तशमशेर बताउँछन्।

नारायणशमशेरको बिहेमा नरशमशेरले पनि दाम राखेर ढोगे। तर राणा परिवार ज्यादै ठूलो भएकाले त्यो दिन नयाँ बेहुलीले उनलाई चिन्न सकिनन्। बिहेलगत्तै एक दिन नरशमशेरले नयाँ काकीकै अगाडि नारायणशमशेरलाई ‘ए सान्भाइ’ भनेर बोलाएछन्। अनि त जेठाजू ठानेर नयाँ दुलही (काकी)ले झट्पट् घुम्टो हालेर सलाम गरिछन्। तब आसपासमा भएका सबै हाँसे।

यो खबर जुद्धशमशेरसम्म पुग्यो। नारायणशमशेरले बाबु जुद्धसँग गुनासो नै गरे। अनि, जुद्धले ‘अबदेखि काकाबाबु भन्नू’ भनेर आदेश दिएछन्। र हरेक भेटमा ढोग्न पनि भनेछन्।

छोराको दर्जाबाट पुनः नाति भएका उनै नरशमशेर जुद्धशमशेरका विश्वासपात्र र दाहिना हात थिए। त्यहीकारण चार शहीदको मृत्युदण्ड कार्यान्वयनको जिम्मा पनि उनैले पाएका थिए।

त्यसअघि, प्रजापरिषद्को कार्यालयमा छापा मार्न ओमबहालस्थित धर्मभक्त माथेमा बस्ने उनको फुपू योगकुमारीको घरमा पनि नरशमशेर नेतृत्वकै फौज गएको थियो। प्रजा परिषद् मामिलामा शुरूदेखि नै नरशमशेर संलग्न थिए। यसबाट पनि जुद्धशमशेर प्रजा परिषद्सँग निकै भयभित भएको अनुमान हुन्छ।

चार शहीदको अन्तिम रात र नरशमशेरको हर्कत
मृत्युदण्ड पाएका पाँचजनामध्ये सबैभन्दा पहिला शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको थियो। तर उनी प्रजा परिषद्सँग सम्बन्धित थिएनन्। आर्य समाजी थिए र दुई वर्ष अगाडिदेखि जेलमा राखिएको थियो। उनलाई जुद्धशमशेरले १९९७ माघ ९ गते मात्र मृत्युदण्डको सजाय सुनाएका थिए।

त्यो दिन जुद्धशमशेर दिनभर नागार्जुन दरबारमा घाम तापेर बसेकाले सजाय अबेर गरी सुनाइएको थियो। सजाय सुनाउन उनलाई नेल र सिक्रीसहित दुईपटकसम्म भद्रगोल जेलबाट सिंहदरबार लगिएको थियो। अनि, जुद्धशमशेर नआइपुगेको भन्दै फर्काइएको थियो। तेस्रोपटक मात्र जुद्ध सिंहदरबार आएर सजाय सुनाएका थिए। यसले गर्दा शुक्रराज दिनभरि भोकै थिए।

मृत्युदण्डको सजाय पाएका शुक्रराजले माघ ९ गते रात पर्न थालेपछि जेलमा खाना तयार गर्न थाले। खाना नपाक्दै राणाका मानिस आएर बाहिर निकाले। उनलाई राणाका मानिसले ‘लौ चाँडै हिँड्’ भनेर घचेड्दै लगेको र उनले बनाउँदै गरेको खाना चुलोको चुलैमा रहेको त्यसबेला जेलमै रहेका खड्गमान सिंह बस्नेतले उल्लेख गरेका छन् (जेलमा बीस वर्ष, खड्गमान सिंह, पृष्ठ १५२)

तर नरशमशेरले आफ्नो जीवनीमा भने माघ १० गते झुन्ड्याइ मृत्युदण्ड दिने आदेशअनुसार सो साँझ अन्तिम भेटका लागि उनका परिवारलाई बोलाउन आफैँले मानिस पठाएको बताएका छन्। उनकी बहिनी चन्द्रकला मल्ल र अर्का दाइ पर्ने व्यक्तिले भेटघाट गरेको र उनीहरूले सगुन स्वरूप फूलमाला र टीका लगाइ फर्केको पनि उल्लेख गरेका छन् (जनरल नर शम्शेर जंग बहादुर राणाको जीवनी, प्रस्तुतकर्ता हेमन्त शम्शेर, पृष्ठ ३९)

नरशमशेरले लेखेअनुसार, शुक्रराजलाई लहरीमा चढाइ फाँसीका लागि टेकु लगिएको थियो। उनले बाटाभरि ठूलोठूलो स्वरमा संस्कृतका श्लोक भट्याएका थिए। त्यसक्रममा सिपाहीले ‘के कराएको?’ भनेर हप्काउँदा शुक्रराज ‘मर्ने बेलामा पनि पाठ गर्दै मर्न नपाइने!’ भन्दै झोक्किएका थिए।

शुक्रराज बागमतीमा नुहाएर आएपछि झुन्ड्याइने ठाउँमा गइ डोरी आफ्नो घाँटीमा आफैँ हालेको पनि नरशमशेरले उल्लेख गरेका छन्। “उनले आफ्नो नाडीको घडी झुन्ड्याउन बसेको पोडेलाई दिएर ‘धेरै दुःख नहुने गरी एकैपटकमा झुन्ड्याइदेऊ है भनी आग्रह गरे”, नरशमशेरले भनेका छन्।

त्यसपछि भने नरशमशेरले अस्वाभाविक तर्क गरेका छन्। उनले भनेका छन्, “पोडेले पनि शुक्रराज उभिएको खटिया एकैचोटिमा झ्वाट्ट तानिदियो र उनी सहजै रूपमा बिनाकष्ट प्राणमुक्त भए।” शुक्रराजले 'बिनाकष्ट' प्राण त्याग गरेको दाबी गर्ने राणा शासनका नरशमशेर नभई प्रजातान्त्रकालका नरशमशेर हुन्। उनको जीवनी लेखनको शुरूआत नै २०५१ सालपछि भएको हो।

शुक्रराजलाई झुन्ड्याइएको तीन दिनपछि माघ १३ गते धर्मभक्त माधेमालाई झुन्ड्याइँदा पनि उक्त जल्लाद टोलीको नेतृत्व नरशमशेरले नै गरेका थिए। धर्मभक्तको फाँसीमा नरशमशेरको भूमिका अझै बढी ‘क्रुर’ थियो।

फाँसीका लागि सिफल लैजानुअघि धर्मभक्तलाई सिंहदरबारबाट केही घन्टाका लागि सेन्ट्रल जेल लगिएको थियो। त्यहाँबाट उनलाई सिफल लगेर झुन्ड्याइएको थियो। मृत्युदण्ड दिन खटिएका सिपाहीको टोलीमा रहेका लेफ्टिनेन्ट कृष्णबहादुर थापाले भनेअनुसार अन्तिम समयमा धर्मभक्तले नरशमशेरलाई लात्तीले हानेर पछारिदिएका थिए (नेपालमा प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका, डा. राजेश गौतम, पृष्ठ १७५ र १७६)

डा. गौतमको उक्त पुस्तकअनुसार धर्मभक्तलाई पहिलोपटक झुन्ड्याउँदा रुखको हाँगा लच्किएर उनले भुईं टेके। दोस्रोपटक झुन्ड्याउँदा डोरी नै चुँडियो। घाँटीमा कस्सिएको डोरी फुकाउन नसकेपछि नरशमशेरले चक्कुले डोरी काटे। त्यति बेला धर्मभक्तले नरशमशेरलाई ‘म त हजुरको पनि गुरू, दुईपटकसम्म फाँसीबाट बाँचिसकेको, यस्तो अवस्थामा फाँसी दिनु न्यायसंगत होइन’ भनेका थिए। धर्मभक्तले नरशमशेरलाई ‘बडी बिल्डिङ’ सिकाउँथे।

जबाफमा ‘तँलाई केको न्याय, झन्डै मलाई पनि मुछेको थिइस्’ भन्दै नरशमशेरले चक्कुले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटिदिए। त्यसपछि रिसाएका धर्मभक्तले लात हान्दा नरशमशेर ढुन्मुनिँदै पछारिए। अनि, उनकै आदेशमा सिपाहीको टोलीले बेहोस हुने गरी पिटेर झुन्ड्याएको थियो।

भुवनलाल प्रधानले आफ्नो पुस्तक नेपालको जनक्रान्ति २००७ मा पनि भोलिपल्ट धर्मभक्तको लासको नाकमुखमा रगतको दाग देखिएको र कमिज तथा पाइजामा भिजेको देखिएको उल्लेख गरेका छन् (पृष्ठ १०९)

नरशमशेरले आफ्नो जीवनीमा धर्मभक्तलाई दुईपटक झुन्ड्याउँदा असफल भएको र तेस्रोपटकमा मृत्यु भएको स्वीकार गरेका छन्। नरशमशेरले पनि लेफ्टिनेन्ट कृष्णबहादुरले जस्तै पहिलोपटक हाँगा लच्किएको उल्लेख गरेका छन्। तर दोस्रोपटक भने डोरी चुँडिएको नभइ सुकेको हाँगा परेकाले भाँचिएको नरशमशेरले उल्लेख गरेका छन्। त्यहाँ भएको धर्मभक्तसँगको वार्तालापलाई भने उनले उल्लेख गरेका छैनन्। कुटपिटको विषय पनि लेखिएको छैन। नरशमशेरले यति मात्र लेखेका छन्, “पुनः तेस्रोपटक अर्को दह्रो हाँगा छानी त्यसमा डोरी बाँध्न लगाई झुन्ड्याउँदा बल्ल उसको प्राण गयो।”

दशरथ चन्द र गंगालाललाई त अन्तिम गोली नै नरशमशेरले चलाएको कतिपय इतिहासकारले उल्लेख गरेका छन्।

नरशमशरेका अनुसार दशरथ चन्द र गंगालाललाई पनि झुन्ड्याउने नै निर्णय भएको थियो। तर दुवैले एकैसाथ एकै ठाउँमा मर्न पाउन बिन्ती गरेका कारण गोली हानेर मृत्युदण्ड दिने निर्णय भएको थियो। “दुवैलाई एकै ठाउँ र एकैपटक मार्न गोली हान्नुपर्ने कुरा सुनाउँदा उनीहरू पनि सहमत भए”, नरशमशेरले भनेका छन् (उही, पृष्ठ ४०)

माघ १५ गते राति ११ बजेतिर दशरथ चन्द र गंगालाललाई लरीमा राखेर नयाँ सडक, प्याफल हुँदै विष्णुमति लगिएको थियो। त्यहाँ आँखामा पट्टी लगाइदिएर एउटा–एउटा खम्बामा बाँधेपछि नरशमशेरले उनीहरूलाई माफी मागे छाडिदिने बताएका थिए। तर दुवैले नरशमशेरलाई गाली गरे। जबाफमा नरशमशेरले पनि आमचकारी गाली गरेका थिए।

दशरथ चन्दले अन्तिम इच्छा स्वरूप दुवैलाई एकैपटक गोली हान्न भनेका थिए। तर नरशमशेरले पहिलो गोली दशरथ चन्दको घुँडामुनि हान्न लगाएको घटनास्थलमा उपस्थित वेदबहादुर सिलवाललाई उद्धृत गर्दै डा. राजेश गौतमले उल्लेख गरेका छन् (उही, पृष्ठ १८२)। यसपछि रिसाएका गंगालालले नरशमशेरलाई बेस्सरी गाली गरे। त्यही झोँकमा नरशमशेरले पहिलो गोली गंगालाललाई घुँडामुनि हानेको पनि सिलवालले बताएका छन्।

तर भुवनलाल प्रधानले भने गंगालाललाई पहिलो गोली रत्नमान पोडेले हानेको उल्लेख गरेका छन् (प्रधान, पृष्ठ ११४)। पहिलो गोली गंगालालको तिघ्रामा लागेको र दोस्रो गोली कोखामुनिबाट छाला मात्र दर्फराउँदै गएको प्रधानले उल्लेख गरेका छन्। छट्पटाएका गंगालाल र दशरथले जल्लादलाई गाली गर्न थालेपछि दोस्रो जल्लाद भागिसकेको थियो। रत्नमानको हात काँपेर फेरि हान्नै सकेनन्। अनि नरशमशेरले रक्सी खुवाए र हान्न लगाए। यसपटक भने रत्नमानले हानेको गोलीले गंगालालको मृत्यु भयो (प्रधान, पृष्ठ ११४)। तर कतिपय इतिहासकारले अन्तिम गोली नरशमशेरले नै हानेको उल्लेख गरेका छन् (प्रधान, पृष्ठ ११४, पादटिप्पणी १७)

नरशमशेरले नै गंगालाललाई अन्तिम गोली हानेर हत्या गरेको डा. राजेश गौतमले पनि उल्लेख गरेका छन्। गौतमले लिएको अन्तरवार्तामा प्रत्यक्षदर्शी सिलवालले गंगालाललाई दोस्रो गोली पनि नरशमशेरले नै तिघ्रामा हानेको बताएका छन्। अन्तिमपटक भने लुगलुग कामिरहेको पोडेको हातमा पेस्तोल थमाइ नरशमशेरले उनलाई अँगालो मारेर ट्रिगर तान्दा एकैपटक दुई गोली छुटी एउटा गंगालालको कोखामा र अर्को पेटमा लागेर प्राणपखेरु उडेको सिलवालले बताएका छन् (डा. गौतम, पृष्ठ १८२ र १८३)

नरशमशेरले आफ्नो जीवनमा भने दशरथ चन्दलाई गोली हान्ने पोडे अनुभवी परेका कारण पहिला नै गोली लागेर उनको मृत्यु भइसकेको र गंगालाललाई गोली हान्ने सिकारु पोडे बन्दुक नै फालेर भागेको उल्लेख गरेका छन्। भागेको पोडेलाई फेरि ल्याएर रक्सी खुवाइ ट्रिगर तान्न लगाएको पनि बताएका छन्। “त्यसले ट्रिगर नतानिदिएको भए म आफैँले ट्रिगर तान्नुपर्ने अवस्थामा पुगेको थिएँ। किनभने पोडेहरूलाई फकाउँदा फुलाउँदा धेरै समय बितिसकेको र मिर्मिरे बिहानीको उज्यालो हुन थालिसकेकोले शोभाभगवतीको पूजा गर्न आउने श्रद्धालुहरूको भिड लाग्ने डर भइसकेको थियो”, नरशमशेरले लेखेका छन्।

आरोपबाट उम्किन पुस्तक!
इतिहासकार हेमन्तशमशेर वीरशमशेरका सन्तान हुन्। उनी रुद्रशमशेरका नाती हुन्। १९९० सालमा जुद्धशमशेर प्रधानमन्त्री हुँदा रुद्रशमशेर प्रधानसेनापती थिए। जुद्धशमशेरले ‘सी’ वर्गका राणालाई रोलक्रमबाट हटाएपछि उनको प्रधानसेनापती पद पनि गुमेको थियो। त्यति मात्र नभइ उनको परिवारलाई पाल्पा धपाइएको थियो।

हेमन्तशमशेरको जन्म पाल्पामा नै भएको थियो। २००७ सालमा प्रजातन्त्र आएपछि मात्र उनको परिवार काठमाडौँ आएको हो। त्यसैले अन्य राणा परिवारसँग शुरूमा उनीहरूको हिमचिम थिएन।

हेमन्तशमशेर पनि खेल क्षेत्रमा लागेका थिए। राजा महेन्द्रका भाइ हिमालय शाह राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष भएको बेला हेमन्त सदस्य थिए। उपाध्यक्ष हिमालयकै ससुरा नरशमशेर थिए। राखेपमा सँगै काम गर्दा नै हेमन्त र नरशमशेर नजिक भए। नाताले नरशमशेर काका पर्ने हुँदा उनी ‘नरबुवा’ भनेर सम्बोधन गर्थे।

२०५१ सालतिर एउटा पार्टीमा नरशमशेरसँग हेमन्तको भेट भयो। नरशमशेरले उनलाई भने, “ए भतिज, हेर न मलाई काठमाडौँका न्यारले नरशमशेर पनि नभनेर नरपिचास भन्छन्, म पनि त मान्छे हुँ। त्यसैले मेरा कुरा भनेर एउटा किताब लेख्न मन छ। लेख्ने राम्रो मान्छे खोज्दे।”

नरशमशेरको कमान्डमा मृत्युदण्ड दिइएका चार शहीदमध्ये तीन जना शुक्रराज शास्त्री, धर्मभक्त र गंगालाल नेवार थिए। त्यसैले काठमाडौँको नेवार समुदायले नरशमशेरलाई मन नपराउने हेमन्तशमशेर बताउँछन्।

आफैँले फाँसीमा झुन्ड्याए पनि नरशमशेर धर्मभक्तलाई ‘गुरू’ भन्थे। त्यो दिन पनि पार्टीमा नरशमशेरले हेमन्तलाई भनेका थिए, “धर्मभक्त त बडी बिल्डर्सको मेरो गुरु पनि हो। कलकत्ता जाँदा सँगै बस्थ्यौँ पनि। मेरो साथी पनि हो। सबै कुरा बाध्यतामा भयो।”

नरशमशेरको कुरा सुनेपछि हेमन्तले पनि पुस्तक लेख्नैपर्ने सुझाव दिए। “उहाँ जुद्धशमशेरदेखि महेन्द्रसम्मको एक्का। त्यसैले पुस्तक लेख्न भनेँ। अनि, लेखिसकेपछि मलाई पनि देखाइबक्योस्, म सहयोग गर्छु पनि भनेको थिएँ”, हेमन्तशमशेर भन्छन्।

त्यहीक्रममा, नरशमशरेलाई कसैले पाटन क्याम्पसमा नेपाली पढाउने प्राध्यापकसँग भेटाइदिएछ। तिनले ५–६ महिना लगाएर पुस्तक लेखेछन्। एक दिन हेमन्तलाई नरशमशेरको फोन आयो। उनले भने, “ए भतिज, यहाँ आइज। किताब लेखिसकेको छ।”

हेमन्तशमशेर कुपण्डोल बस्थे। उनी नरशमशेरको निवास जावलाखेल पुगे। किताब त कथाजस्तो भएछ। हेमन्तलाई चित्त बुझेन। “मैले किताबको गुदी नभएको बताएँ। इतिहास पनि आएको थिएन। अनि सुधार्छु भनेर पाण्डुलिपि लिएर आएँ।”

लेखाइ चित्त बुझेन। उनले किताबको हरेक पाना कोरेर लगे। अनि, नरशमशेरले भने, “तँ नै लेख् न त। इतिहासको विद्यार्थी पनि होस्। खेलाडी पनि होस्। म पनि खेलाडी। तैँले लेखेको राम्रो हुन्छ।”

हेमन्तले पनि फ्याट्ट जबाफ दिए, “तपाईंको बुबाले मेरो बाजेलाई पाल्पा लखेट्ने, अनि मैले लेखेको हजुरलाई चित्त बुझ्ला?”

तर यो हेमन्तको ठट्टा मात्र थियो। राणाकाल सकिएर, प्रजातन्त्र आयो। त्यसपछि पञ्चायत आयो र त्यो पनि सकिएर फेरि प्रजातन्त्र आइसकेको थियो। उहिलेका कुरा अब सम्झनामा मात्र थिए। रिसराग थिएन।

हेमन्तको कुराले नरशमशेर मज्जाले हाँसे। फेरि बोले, “लेख्, लेख् तैँ।”

त्यसको केही दिनपछि, हेमन्तशमशेर टेप लिएर नरशमशेरको निवास पुगे। टेपरेकर्डर अगाडि राखेर कुरा गर्न थालेपछि त नरशमशेर बोल्नै सकेनन्। भक्भकाए। अप्ठ्यारो परिस्थितिमा बोल्नुपर्दा यदाकता उनको यस्तो बानी थियो। 

हेमन्तले रेकर्ड गर्न रोके। अनि २–३ दिनसम्म सम्झनाहरू यतिकै बताउन लगाए। नरशमशेर सहज भएपछि मात्र रेकर्ड गर्न थाले।

नरशमशेरसँगको अन्तर्वार्ता सकिएर लेख्न नथाल्दै हेमन्तकी श्रीमती दिप्तीलाई क्यान्सर भयो। पाँच वर्ष उपचारमै बित्यो।

२०५७ सालतिर नरशमशेर हेमन्तको घर गए। उनैले हेमन्तलाई सम्झाउँदै भने, “९० वर्ष पुग्न लागेँ। मेरो मर्ने बेला पनि हुन लाग्यो। म मरेपछि मेरो किताब निस्किएर के अर्थ हुन्छ? लु अब लेख्।”

त्यसपछि पनि हेमन्तले एक दुई वटा अन्तरवार्ता लिए।

बल्ल लेखियो नरशमशेरको जीवनी।


सम्बन्धित सामग्री