Thursday, March 28, 2024

-->

थाइल्यान्डमा भेटियो पाटनको नक बहीबाट हराएको लिच्छविकालीन मूर्ति, होला फिर्ता?

४६ वर्षअघि पाटनको नक बहीबाट हराएका लिच्छविकालीन दुई बुद्ध मूर्तिमध्ये एउटा मूर्ति थाइल्यान्डमा फेला परेको छ।

थाइल्यान्डमा भेटियो पाटनको नक बहीबाट हराएको लिच्छविकालीन मूर्ति होला फिर्ता

काठमाडौँ– पाटन, नक बहीस्थित लोकाकृति महाविहारका थकाली (ज्येष्ठ आजु) हुन्, ८१ वर्षीय बेखाराज बज्राचार्य। बेखाराजसहित उनको परिवार सोही महाविहारमा बस्दै आएको छ। ४६ वर्ष अघि विहारमा रहेका बुद्धका दुई मूर्ति चोरी भए।

वृद्धावस्थामा पुगिसकेका बेखाराजलाई हराएको मूर्तिबारे खासै सम्झना छैन। ५१ वर्षीय नरेन्द्र बज्राचार्य बेखाराजका छोरा हुन् जसलाई मूर्ति हराएको धेरथोर सम्झना छ।

विहारको मध्यभागमा रहेको चिभा (चैत्य)को मूल ढोकातर्फ फर्किएको भागपट्टि त्यो मूर्ति राखिएको थियो। आफ्नो वासस्थान सोही विहारमा भएको हुँदा बाल्यकालदेखि नित्य पूजा र सरसफाइ हुँदा मूर्तिहरूका पछाडि बसेर खेलेको लुकामारी उनलाई याद छ।

“६–७ वर्षको थिएँ होला मूर्ति चोरी हुँदा”, उनले भने, “सानै भएको कारण चोरीको घटनाक्रम ठ्याक्कै याद त छैन, तर यति चाहिँ याद छ कि बिहान उठेर आउँदा मूर्ति चैत्यमा थिएन।”

त्यो मूर्ति कसले, कसरी चोरी गर्‍यो र कहाँ लग्यो भन्ने सुइँको समेत लागेन।

चैत्यबाट एउटा मात्र नभई दुईवटा बुद्ध मूर्ति चोरी भएको उनी बताउँछन्।

मूर्ति हराउनु अघि र पछिको अवस्था।

“एउटा मूर्ति चोरी भएपछि चैत्यको उत्तर दिशातर्फ रहेको बुद्धको अर्को मूर्तिलाई मूल मन्दिरभित्र ताल्चा लगाएर राख्यौँ। तर, त्यो मूर्ति पनि आखिरमा चोरी भयो”, उनले भने।

चोरी भएका दुई मध्ये एउटा मूर्ति ४६ वर्षको अन्तरालपछि कहीँकतै छ भन्ने जानकारीले विहारवासी तथा स्थानीयमा उमंग छाएको थियो। त्यसपछि मूर्ति फिर्ता ल्याउन सकिनेमा आशावादी रहेका उनीहरू मूर्तिलाई कसरी फिर्ता ल्याउने भनेर लागिरहेका छन्।

विहार सार्वजनिक विद्यालय बनेपछि चोरलाई सहज!
त्यसरी चोरिएका मूर्ति कति महत्त्वपूर्ण थिए? ती दुई मूर्ति लिच्छविकालीन मूर्ति भएको लिपिविज्ञ लोकरत्न बज्राचार्य बताउँछन्। चिरवस्त्र धारण गरेको बुद्धको मूर्तिलाई ‘भविष्य व्याकरण मुद्रा बुद्ध’ भनिने गरेको उनले बताए। मूर्ति नवौँ  शताब्दीको भएको उनको दाबी छ। बुद्धका अन्य मूर्तिका तुलनामा यो मूर्ति भिन्न छ। मूर्तिको पिँधमा बुद्धकी एक उपासिका 'नमस्ते मुद्रा'मा बसेकी छन्। जुन अन्य बुद्धका मूर्तिमा नभेटिने लिपिविज्ञ बज्राचार्य बताउँछन्।

नक बहीका स्थानीय राजेन्द्रमान शाक्यका अनुसार २००४ सालमा उक्त विहार हाल पाटनकै चाकुपाटमा रहेको श्री चण्डी विद्यालय महाविहारमा सञ्चालन भएको थियो। विद्यालयको रूपमा महाविहार खोलिएसँगै सर्वसाधारणको आवतजावतका लागि पनि विहार खुल्ला भयो। यसैको फाइदा उठाएर त्यही समयमा मूर्ति चोरी भएको हुनसक्ने उनको अनुमान छ।

“विहारको सुरक्षा भनेर मुख्य प्रवेश ढोकाको ताल्चाबाहेक अरू केही छेकबार थिएन। हरेक साँझ ७ बजेको आरतीपछि महाविहार बन्द हुन्थ्यो”, उनी सम्झन्छन्, “विद्यालय हुँदा पछिल्लो भागमा शौचालयको व्यवस्था थियो। हुनसक्छ, सोही शौचालयको भागबाट पसेर मूर्ति चोरी भयो।”

हाल थाइल्यान्डमा रहेको मूर्ति।

यो विद्यालय १५ वर्षअघि चाकुपाटमा सरेको हो।

चोरिएका यस्ता मूर्ति विशेषतः युरोप, अमेरिकामा पैठारी हुने गरेको देखिन्छ। धार्मिक आस्था नजोडिए पनि कलाका पारखीहरूले आफ्नो सोखका लागि यस्ता मूर्ति राख्ने गरेका छन्। लिपिविज्ञ बज्राचार्यका अनुसार, उक्त मूर्ति लिच्छविकालीन समयमा भारतबाट ल्याएको त्यस बेलाका पाल जातिले बनाएका हुन्। सोहीकारण पनि त्यस्ता मूर्तिको विशेष महत्त्व हुन्छ। २००७ सालपछि नेपाल विदेशीहरूको लागि खुला भएसँगै खुला रहेका मूर्ति चोरी हुने र बिदेसिने क्रम शुरू भयो। 

यसरी भेटियो थाइल्यान्डमा
मूर्तिको विषयमा अध्ययनरत एक विदेशी अध्येताले दिएको जानकारीको आधारमा यसरी हराएका बुद्ध मूर्तिको खोजी शुरु भएको थियो। उनका अनुसार, विभिन्न माध्यम हुँदै ती मूर्ति थाइल्यान्डका एक निजी मूर्ति संकलनकर्ता सुरिड लिम्पानोन्डाले खरिद गरे। उनले आफूसँग रहेको भारतीय, चिनियाँ, तिब्बती तथा अन्य संकलन गरेका पुराना मूर्तिको ‘अप्रेजल’ लेख्ने समयमा एक मूर्ति विज्ञको सहयोग लिएका थिए। ती विज्ञले उनीसँग रहेको एउटा मूर्ति नक बहीस्थित लोकाकृति महाविहारको भएको जनाएका थिए।

यो पनि : कसले चोरेर विदेश लैजान्छ नेपालका मूर्ति?

ती अध्येताका अनुसार थाइल्यान्डका ती मूर्ति संकलकले आफ्नो मृत्युपछि सम्बन्धित मूर्ति नेपालमै फिर्ता गर्न इच्छा जाहेर गरेका थिए। सुरिड लिम्पानोन्डाको सन् २०१२ अक्टोबर ३१ मा मृत्यु भयो। तर, उनको यो मौखिक इच्छाअनुसार काम भएन।

‘प्राइभेट आर्ट कलेक्सन अफ सुरिन्ड, नाभाकुन एन्ड प्रारेडा लिम्पानोन्डा’ नाममा रहेको निजी संग्रह हाल संकलनकर्ता लिम्पानोन्डाकी छोरी प्रारेडा लिम्पानोन्डाको संरक्षणमा रहेको छ।  बुद्धको मूर्ति पनि उनकै संग्रहमा छ। प्रारेडालाई पटक–पटक ताकेता गर्दा पनि कुनै खबर नआएको उनी बताउँछन्।

उकालोले प्रारेडालाई इमेलमार्फत पटक-पटक मूर्तिका बारे सोधखोज गरेको थियो। तर, उनले कुनै जवाफ दिइनन्।

लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा उल्लेख भएअनुसार त्यो मूर्ति पाटनस्थित नक बहीको भएको र सन् १९७० को दशकमा चोरी भएको उल्लेख छ। अर्को पुस्तक ‘द स्टोन स्ट्याचु अफ नेपाल’को भाग–२ पृष्ठ ८७३, ८७६, ८८८–८८९ मा पनि यस मूर्तिको वास्तविक स्थान नक बही रहेको उल्लेख छ। यसबाहेक, अन्य विभिन्न मूर्ति सम्बन्धी पुस्तकमा पनि यो मूर्तिबारे उल्लेख छ।

फिर्ता ल्याउन सकिन्छ?
युनिभर्सिटी अफ ग्लास्गो, आर्ट क्राइम एन्ड क्रिमिनोलोजी डिर्पाटमेन्टकी प्रोफेसर डा. इमेलिन स्मिथ उक्त मूर्ति सकेसम्म चाँडो नेपालमै फिर्ता हुनुपर्ने बताउँछिन्। उनका अनुसार, मूर्ति चोरी भएर विदेश पुर्याइएका सबै तथ्य एकजुट भएकाले पनि यसलाई यथाशक्य फिर्ता गरिनु पर्छ।

केही वर्षयता नेपालले चोरी भएका मूर्तिहरू यथेष्ट प्रमाणसहित फिर्ता गरेको हुँदा नक बहीको मूर्ति पनि चाँडोभन्दा चाँडो फिर्ता हुनुपर्ने उनको भनाइ छ।

“सन् १९७० को युनाइटेड नेसन्स एजुकेशनल साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसन (युनेस्को) कन्भेन्सनले पनि विश्वभर जहाँसुकै रहेका मूर्ति गैरकानुनी रूपमा चोरी भएका रहेछन् भने जहाँबाट चोरी भएको हो, सोही देशमा फर्काउनुपर्ने व्यवस्था गरेको छ। थाइल्यान्डले सम्भवतः कन्भेन्सनमा हस्ताक्षर गरेको छैन”, डा. स्मिथ भन्छिन्, “यद्यपि, मूर्ति फिर्ता ल्याउन यो प्रावधान बाधक हुने छैन। कारण, मूर्ति १९७० मा चोरी भएको हो भने सन् १९५६ मै एन्टिक्टिी ओरडिनेन्स जारी भएको छ। उक्त ओरडिनेन्सका अनुसार १९५६ पछि गैरकानुनी रूपमा चोरी, पैठारी भएका जुनै मूर्ति संग्रहालयसँग होस् वा निजी संकलनकर्ताको संकलनमा, ती मूर्ति सम्बन्धित देशमा फिर्ता गर्नुपर्ने काुननी व्यवस्था छ।”

युनेस्कोको १९७२ मा पेरिस कन्भेन्सनबाट पारित ‘प्रोटेक्सन अफ द वर्ल्ड कल्चरल एन्ड नेचुरल हेरिटेज’को व्यवस्था अनुसार विगतमा गैरकानुनी रूपमा चोरी पैठारी भएका जुनसुकै मूर्ति विश्वका कुनै पनि संग्रहालयले नराख्ने तथा पुनः खरिद बिक्री गर्न नमिल्ने व्यवस्था छ। ती अध्येताले थाइल्यान्डले त्यो कन्भेन्सनमा १९८७ सेप्टेम्बर १७ मा हस्ताक्षर गरेको बताए।

यो मूर्तिबारे विभिन्न पुस्तकमा समेत विभिन्न विवरण प्रकाशनमा आएकाले अब यस्ता मूर्ति कुनै संग्रहालयमा राख्न र लिलामी गर्न पनि सम्भव नभएको उनको भनाइ छ।


सम्बन्धित सामग्री