Friday, April 19, 2024

-->

अस्करको 'बेस्ट एक्ट्रेस' मनोनयनमा एशियाली नायिका मिसेल

‘गोल्डेन ग्लोब्स्’मा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी मिसेल अस्करमा पनि ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परेपछि चर्चामा छिन्।

अस्करको बेस्ट एक्ट्रेस मनोनयनमा एशियाली नायिका मिसेल
तस्वीर एपी

प्रतिष्ठित एकेडेमी अवार्ड, अस्करको ९५ औँ संस्करणमा सर्वोत्कृष्ट नायिकाको मनोनयमा परेपछि ६० वर्षीया मिसेल योको चर्चा चुलिएको छ। मिसेल चिनियाँ मूलकी मलेसियाली नायिका हुन्।

केही महिनाअघि सम्पन्न ‘गोल्डेन ग्लोब्स्’मा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी उनी अस्करमा पनि ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परेपछि चर्चा चुलिएको हो। ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ नामक साइन्स फिक्सन कमेडी चलचित्रका लागि उनले गोल्डेन ग्लोब्स‍्मा सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन्। उनी अस्करमा पनि सोही विधामा मनोनयमा परेकी हुन्। अवार्ड हात परे उनी अस्कर जित्ने पहिलो एशियाली नायिका बन्नेछिन्। कुनै एशियाली महिला अस्करमा ‘बेस्ट एक्ट्रेस’ को मनोनयमा परेको पनि यो पहिलो पटक हो। मिसेलको सफलतामा एशिया र एशियाली अमेरिकी नागरिकले खुशी मनाइरहेका छन्।

मलेसियामा जन्मिएकी मिसेल अहिले विश्व सिने क्षेत्रमा चर्चित छिन्। सन् १९८० मा हङकङबाट सिने क्षेत्रमा उदाएकी उनले पछि हलिउडमा चलचित्र खेल्ने मौका पाइन्।

उनी भन्छिन्, "मलाई याद छ, पहिलो पटक हलिउड आउँदा यो मेरो सपना साकार भएजस्तै थियो। तर जब म यहाँ आएँ मलाई मेरो अनुहारका कारण मलाई भनियो ‘त अल्पसंख्यक होस्।’ यो माया र सम्मान मलाई काँधमा काँध गरी साथ दिए, मभन्दा अघि आएका र आगामी दिनमा पनि मेरो यात्रामा जोडिन चाहने, मजस्तो देखिने सबैलाई बाँड्न चाहन्छु।”

उनी थप्छिन्, “अस्करको ९५ वर्षको इतिहास पाएको सफलताले म निकै खुशी पनि छु र दुखी पनि। किनकि मभन्दा अघि पनि कति एशियाली कलाकार आए। हाल म उनीहरूको काँधमा उभिएकी हुँ।”

जीवनका जस्तोसुकै दुःख र कष्टमा पनि आशावादी बन्नुपर्ने उच्च सोच यी नायिकामा रहेको न्युयोर्क टाइम्सले लेखेको छ। न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेकी छिन्, “कहिल्यै हार नखानु। यदि तपाईं आफूमा विश्वास गर्नुहुन्छ भन्ने कहिल्यै हार मान्नुहुन्न। मलाई यहाँ आउन ४० वर्ष लाग्यो र बल्ल यहाँ छु।”

मलेसियाका सञ्चारमन्त्री फाहमी फाद्जीले उनलाई शुभकामना दिँदै भने उनको सफलता मुलुकका लागि गौरवको कुरा भएको बताए। यस्तै, हङकङको सांस्कृतिक मन्त्री केभिन येअङले पनि मिसेलको कलाकारिताको अतुलनीय सीपको तारिफ गर्दै भने, “हङकङका कलाकारले विश्व सिनेमा उद्योगमा निरन्तर चम्किरहँनु गर्वको कुरा हो।”

हङकङ एक्सन फिल्महरूमा मिसेल घरेलु नाम नै हो। विशेषगरी ज्याकी चेनसँगका उनका सिनेमा औधी रूचाइएका छन्। हलिउडमा जेम्स बोन्ड चलचित्र ‘टुमरो नेभर डाइज’, अस्कर बिजेता नाटक ‘क्रचिङ टाइगर’, ‘हिडन ड्रागन’मा उनको भूमिकाको पश्चिमा दर्शकहरूले तारिफ गरेका थिए।

पछिल्ला दिनहरूमा उनी 'क्रेजी रिच एसियन्स’, 'साङ्ची' र 'लेजेन्ड अफ द टेन रिङ्स' चलचित्रमा देखिएकी थिइन्। अस्करको ९५औँ संस्करणको नतिजा छिटै नै आउनेछ। अवार्ड समारोह भने मार्चमा हुनेछ। चलचित्र ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ अस्कर अवार्डमा कूल ११ वटा विधामा मनोनयमा परेको छ।

यसअघि अस्कर अवार्ड पाउने एशियालीमा सन् २०१९ को दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ का निर्देशक बोङ जुन हो हुन्। उनले अस्करमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। ‘बेस्ट स्क्रिनप्ले’को अवार्ड पनि प्यारासाइटले नै जितेको थियो।

यस्तै, सन् २०२० मा चलचित्र ‘नोम्याडल्यान्ड’का लागि कोल झाओले ‘बेस्ट डिरेक्टर’को अवार्ड पाएका थिए। यस्तै, नायिका युन यु यङले चलचित्र मिनारीमा ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड जितेकी थिइन्।


सम्बन्धित सामग्री