Friday, March 29, 2024

-->

नियात्रा
शिवले ऋषिलाई ताण्डव सिकाएको भूमि टेक्दा

महाभारत पर्वतका हरिया लुंगहरूको सुन्दर दृश्यले चकित हुन्छु। समय एकैछिन रोकिइदिए हुन्थ्यो भन्ने लाग्दा लाग्दै निमेषभरमै कालो बादलको साम्राज्य शुरू भइसक्छ आकाशमा।

शिवले ऋषिलाई ताण्डव सिकाएको भूमि टेक्दा

मकवानपुरको भीमफेदी– ८ स्थित महादेवटारबाट शुरू हुन्छ, उकालोको यात्रा। 

‘बागमतीको पुल तरेपछि कान्ति लोकपथलाई छोडेर दायाँतर्फ मोडिनू !’ बगुवामा भेटिएका एक स्थानीयले महादेवटारसम्मको पथप्रदर्शन गरेका थिए।

पुलमा आइपुगेपछि बागमतीमा आँखा लाएथेँ मैले। काठमाडौँमा नाली र ढलको बोझ बोकेर घस्रिने बागमतीले अलिकति गति लिँदोरहेछ, यहाँसम्म आइपुग्दा। 

उनले भनेझैँ अघि बढ्दा महादेवटार आइपुगेका थियौँ। गणेश कठायत क्षत्रीको घरको आँगन टेकेपछि विश्राम पाएथ्यो मेरो मोटरसाइकलले।

मूलतः कठायतको बस्ती रहेछ महादेवटार।

“काठमाडौँ, ललितपुर र मकवानपुरमा गरी पाँच सय धुरी कठायत छन्।” गणेश कठायतले जानकारी दिएका थिए।

धेरैअघि जुम्लाबाट तीन भाइ बसाइँ आएका रे। एक भाइ चापागाउँ, एक भाइ छैमले र एक भाइ भीमफेदी बसेछन्। दश पुस्ता बितिसकेछ पत्तै नपाई। लटारम्भेश्वरमा चहलपहल बढेदेखि पाहुनाका लागि तीनकोठा तयार पारेर आतिथ्यको दैलो उघारेका छन् उनले। 

लटारम्भेश्वर जान ‘स्कुलबाट देब्रे लाग्नू’ भनेका थिए उनै कठायतले । 

दश बजेको हुँदो हो, महादेवटारबाट पाइला उचाल्दा। बर्सात्‌को ढड्डी घाँसले छोपिएका छन् गोरेटा। एकछिन् त अलमलमा पर्छौं। एउटी सानी नानी हाम्रै पछिपछि थिइन्। उनैले देखाइदिन्छिन् सही बाटो। उनले भनेको बाटो नछोडी उँभो लाग्छौँ हामी।

काठमाडौँबाट बयालिस किमी गुडेका रहेछौँ। 

हिजो माधवजीले भनेका थिए– ‘लटारम्भेश्वर जान वज्रवाराही भएर जानुपर्छ’। 

टीकाभैरवबाट पनि सोह्र किमीको दूरी पार गरिसकेका पो रहेछौँ। भैँसेखोला, कालीटार, तीनपाने, झाँक्रीडाँडा, टाकुर्चे, काल्चे, तामाखानी, रातोभिर, बगुवा र गोगनघारी हुँदै आएका थियौँ। भन्ज्याङको नाम हो– तीनपाने। कहिलेकाहीँ पिउने बानी परेकोले होला, ‘तीनपाने’ भन्नेबित्तिकै कोदोको तीनपानेको झझल्को आइहाल्दोरहेछ। झण्डै दुई हजार मिटर रहेछ यसको उचाइ। बाइक हाँक्दाहाँक्दै चिसिइसकेको थियो शरीर। त्यत्तिकै कहाँ सम्झेको थिएँ र मैले चुस्की लगाउने कोदोको तीनपाने! पाएको भए त चियाको सट्टा साँच्चै दन्काइदिन्थेँ एक गिलास। 

तीनपानेबाटै छुट्टिन्छ, भट्टेडाँडातर्फ जाने सडक। टाकुरामा पुगेपछि देखिन्छ, जापान सरकारले बनाइदिएको शक्तिशाली राडार। सन् १९९२ सेप्टेम्बर २८ का दिन पाकिस्तान एयरलाइन्सको कराँचीबाट काठमाडौँतर्फ आइरहेको एयरबस ७६७ भट्टेडाँडामा दुर्घटनामा परेको सम्झन्छु। दुर्घटनामा १६७ यात्रुले ज्यान गुमाएका थिए। हाम्रो कम्पनीमार्फत पदयात्रा गर्न आएका दुई जना स्विस नागरिक थोमस हर्ट र उनकी प्रेमिका एलिजाबेथ अघिल्लो दिन काठमाडौँ आइपुगिसकेका थिए। कराँचीमा छुटेको उनीहरूका लगेज त्यो दिन त्यही विमानमा आउँदै थियो। लगेज लिन उनीहरूलाई लिएर म एयरपोर्ट गएको थिएँ। जहाज भट्टेडाँडामा ठोक्किएको भन्ने थाहा पाएपछि स्तब्ध भएका थियौँ।

शुरूमा त उनीहरूको आगमन पनि सेप्टेम्बर २८ मा नै थियो। उनीहरू पदयात्रालाई एकदिन भने पनि लम्ब्याउन चाहन्थे। नेपाल आउनुभन्दा एक हप्ताअघि मात्र काठमाडौँ आइपुग्ने मिति एकदिन अगाडि सार्न सफल भएका रहेछन् उनीहरू। एयरलाइन्सको लापरबाहीले उनीहरूका ब्यागेज भने कराँचीमै रहन गएको थियो। त्यसले गर्दा एकदिन अगाडि आइपुग्नुको पनि अर्थ थिएन। तर, झोला गुमेपनि ज्यान जोगिएको थियो। ज्यानभन्दा ठूलो त के छ र मान्छेको जीवनमा।

रित्तो हात लिएर होटल फर्कँदै गर्दा एलिजाबेथले यही भाव व्यक्त गर्दै भनेकी थिइन्, “लक्किली वी अराइभ्ड अ डे अर्लीअर। अदरवाइज.......!” 

सायद भाग्यमाथिको विश्वास थियो त्यो उनको। मान्छेले अन्तिम समयको काल टार्न सक्दैन। यो प्रकृतिको नियम हो तर यस्ता खालका संयोगले पनि काल टर्दोरहेछ।

पाकिस्तानी विमान दुर्घटनाको खबर सुनेदेखि नै धक फुकाएर हाँसेकी थिइनन् एलिजाबेथ। त्रासका तरंगहरू तरंगित भइरहेको  अनुभूत गर्न सकिन्थ्यो उनको मुहारमा। 

भोलिपल्ट बिहान लुक्ला उड्ने सिलसिलामा विमानस्थल जानुअघि उनले भनेकी थिइन्, “वी आर ल्यान्डिङ याट वन अफ द मस्ट डेन्जरस एअरपोर्ट्स इन द वर्ल्ड। होपफुल्ली, वी विल रिटर्न सेफ्ली एन्ड सी यु अगेन !” 

यात्रु हताहतीको हिसाबले नेपालको हवाई इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना भट्टेडाँडाकै हो। हवाई यात्रालाई सबैभन्दा सुरक्षित यात्रा मानिन्छ तर दुर्घटनामा पर्दा बिरलै बाँच्छन् यात्रु। त्यहाँ विशेष राडार राखिएपछि नेपाली आकाशमा गरिने हवाई निगरानीलाई सहज तुल्याएको छ।

०००
तीनपानेबाट ओरालो लाग्छ सडक। ओरालोको गन्ध पाउनेबित्तिकै बाइकको स्विच अफ गरिहाल्छु म। के गर्नू ! पेट्रोल महँगो छ। किफायत गर्न त परिगो। महिनामा दुईचोटिसम्म पनि भाउ बढ्छ। बाह्र लिटरको ट्याङ्की भर्दा चौध लिटर जान्छ। अघिल्लो पटक प्रतिलिटर रु. १९९।– मा ट्याङ्की भरेको थिएँ। जनताले विरोध गरेपछि अलिकति घटाएछन्। तैपनि आज बिहान हाल्दा प्रतिलिटर रु. १८१।– त परिगो। यो पनि कति दिनलाई होला र ! भाउ जति भए पनि नेताहरूले पैसा तिर्नु पर्दैन क्यारे ! भार खेप्ने त सर्वसाधारण नै हुन्। खर्लप्पै घाटा हुँदा पनि आयल निगमका कर्मचारीले बोनस खान छोड्दैनन् त! संसारमा कहीँ नभएको चलन नेपाल आयल निगममा छ। यसैले होला, काठमाडौँको हाँडीगाउँ जात्राको खिसीट्युरी गर्न बनाइएको कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान मुखमा आइहाल्छ।

सूचनापाटीमा बगुवा र काल्चे देख्दा नुवाकोटको झल्को आएथ्यो। टाकुर्चे, काल्चे र तामाखानीले पनि रसुवाको लहरेपौवा र धैबुङलाई सम्झाए। रातोभिर नामक पहाडबाट खसेको पहिरोले त धुन्चे जाँदा राम्चे पारिपट्टिको पहिरो नै बिर्सायो। वर्षाले ठाउँठाउँमा पहिरो खसेको रहेछ। त्यसैले होला, कान्ति लोकपथमा एकाध टाटा सुमो र केही मोटरसाइकल बाहेकका सवारीसाधन चलेका थिएनन्। भर्खर असार सकिन लागेको छ। सिंगै साउन र भदौ त बाँकी नै छ। थाहा छैन, बाढी, पहिरो र डुबानका कति समाचार सुन्नुपर्ने हो। पोहोर साल सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी र परार साल लिदीमा गएको पहिरोजस्तो अप्रिय खबर सुन्नु नपरे हुन्थ्यो भन्ने लागिरहन्छ। 

०००
महादेवटारको पुछारबाट सिरानतर्फ लाग्दै छौँ हामी। बेसीतिर फर्केर हेर्दा बाक्लै बस्ती देखिन्छ। परपरका पहाडहरूमा पनि उत्तिकै छन् बस्ती। महादेवटारको माथिल्लो भागमा चाहिँ लगभग शून्य रहेछ। आधा घण्टा हिँड्दा एउटा मात्र घर भेटिन्छ। बसाइँको हिसाबले बेसीमा सजिलो हुने भएकोले बस्ती पनि बेसीतिरै बसाइँ सरेको होला भन्ठान्छु म। 

हिजोदेखि पानी परेको रहेनछ यतातिर। त्यसैले त सुख्खा छ गोरेटो। बाक्लो झाडीको बाटो हिँडिरहेका छौँ। चिरिक्क चिमोटेको छ घामले। फिटिक्कै चलेको छैन हावा। न त कतै शीतल बस्ने ठाउँ छ। पसिनाको मूल फुटेर टी–सर्ट निथ्रुक्कै भइसकेको छ। अघि तीनपानेबाट तलतिर झर्दा बाटोमा फोटो खिचेको छहरा यहाँ भइदिए झ्वाम्मै फाल हाल्थेँ जस्तो पो लागिरहेछ। यसरी हिँड्नुपर्छ भन्ने थाहा पाएको भए त ‘सन ह्याट’ लिएर आउँथेँ। कम्तीमा मुखमा पर्ने घाम त छेलिन्थ्यो नि! एकालाप गर्छु म। 

बर्खे हरियाली छाएको छ धर्तीभरि। ढकमक्क फुलेका छन् फूलहरू। कतै तितेपातीका पोथ्रा, कतै वनमाराका झाडी, कतै खरीका गाँज त कतै पानीअमलाका झाङ। उन्यू पनि त्यत्तिकै मौलाएको छ। यति नै बेला पखेराभरि पानीसरा र अरेलीले पनि गुलाबी रङ छरेका छन्। सुवास आइरहेछ, जडीबुटीको। शिरीष, सुनचाप, धुर्सेली, मुसलिनी, कागतेपाट, फलामकाँडे, बाटुलपाते, कागियो, साल्मे केके हो केके। लटारम्भेश्वर पहाडको वानस्पतिक विविधता। 

लहराहरूले अग्ला वनस्पतिको सहारा खोजिरहेछन्। यत्रतत्र भेटिन्छन् वनतरुल, भ्याकुर र गिट्ठाका लहरा। मेरो प्रिय कन्दमूल हो– गिट्ठा। कहाँ बिर्सनु र यसको स्वाद! बालवयमा वन जाँदा आमाले घाँसको भारी पुर्‍याउन्जेल पोल्टाभरि गिट्ठा बटुली सक्थेँ म पनि। घर आइपुग्नेबित्तिकै अगेनामा घुसारी हाल्थेँ। खुब मिठो लाग्थ्यो मलाई।

निकै माथि पुगेपछि भेटिन्छ झ्याम्म परेको गोगनको बोट। त्यसैका हाँगामा बसेर चिरबिराउँदै छन् चराहरू। त्यसैको छायामा टाउको लुकाउँछौँ केहीबेर। सम्झन्छु– उहिले गाउँबेसी गर्दा गोगनको पातमा खोचो पारेर कुवाको पानी उबाएर तिर्खा मेटाएको। 

सुन्दर देखिएका छन् तलको कठायत बस्ती, नेपाली सेनाको क्याम्प र विद्यालय परिसर। पारि क्षितिजसम्म आँखा कुदाउँछु। कोइलामा हालेको धूपको रङजस्तै आकाशमा बादलका थेग्ला बसिसकेका रहेछन्। त्यहीबेला पहाडबाट माथि उठेका एक हुल बादल हामीलाई नै चियाउँदै रहेछ। बादलको आकार ठम्याउन खोज्दानखोज्दै पाइला उठाउँछन् माधवजी। अनि मैले पनि उनकै चालमा पाइला चाल्छु। 

शरीरमा भएको पानी पसिना बनेर निथ्रेपछि आत्माले बोतलमा भएको पानी माग गर्छ। एकपटकमा एक घुट्को मात्र आपूर्ति गर्छु म। जीवनमा कहिलेकाहीँ आफैँमाथि पनि निर्मम भएर अर्थशास्त्रको नियम लाद्नु पर्दोरहेछ। किफायत गर्ने मेरो कायदा!

लटारम्भेश्वरको चुम्बकले तानिरहेछ हामीलाई। कसैले भनेको सुनेकै भरमा मलाई हुटहुटी जगाएका हुन् माधवजीले। कठायतजीले साढे दुई घण्टा लाग्छ भनेका थिए। बाटो कति तुरियो र कति बाँकी छ भन्नेमा अनभिज्ञ छौँ।

एकेक घुट्को गर्दागर्दै बोतल रित्तिएको पत्तै भएन मलाई। अनि हातमा रित्तो बोतल हल्लाउँदै हिँड्छु म। 

एक घण्टा हिँडेपछि मकैबारीको डिलमा पुग्छौँ। मेरो गाला स्पर्श गरेर मकैका पातहरूमा ठोक्किन पुग्छ एकसर्को बतास। फिरफिराउन थाल्छन् पातहरू। सारंगीको तारबाट निस्केको धूनजस्तै लाग्छ पातहरूको फिरफिराहट। बतासले पनि मलाई मात्र छोएको हो कि भन्ने आभास हुन्छ। खुबै प्रिय लाग्छ मलाई यो पल।

भर्खरै घोगा लागेका छन् मकैका बोटहरूमा। पोलेर खान हुने भइसकेका रहेछन्। यतातिर त बाँदर पनि लाग्दो रहेनछ। हाम्रोतिर भए के बाँकी राख्थ्यो र! बाली नभ्याउन्जेल एकजनाले त बाँदरकै रखवाली गर्नुपर्छ।

युवा जनशक्ति कोही खाडीमा त कोही काठमाडौँमा। सरकार जग्गा बाँझो राखे जरिवाना गर्छु भन्छ किसानलाई। बाली लगायो, बाँदरले खाइदिन्छ। कस्तो आपत्!

यही बेला सानो छँदा बाँदर धपाउन घुयेँत्रो चलाएको याद आउँछ मलाई। आफैँले बाट्थेँ म घुयेँत्रो। ढुंगो अड्याउनलाई डोरीमा कापे पार्नुपर्थ्यो। त्यही कापेमा राखेर ढुंगालाई फनफनी घुमाएर बत्ताउँदा भागाभाग हुन्थ्यो बाँदरको। अहिले सम्झँदा पनि हाँसो लाग्छ मलाई।

बारीको डिलमा रहेछ निमारोको बोट। हाँगाभरि, काण्डभरि लटरम्मै दाना लागेका। कोही पाकेका। कोही काँचै। फलको आकार अम्बाजस्तै। पाकेको निमारोभित्र महजस्तै गुलियो पदार्थ हुन्छ। बोक्रा पनि तरकारीमा मिसाएर खाइन्छ।

माधवजी भन्छन्, “यो त ओखती हो नि! चिनी रोगीका लागि त रामवाण। जसले खाए पनि हुन्छ। शारीरिक दुर्बलता भएकालाई पनि अत्युत्तम।” 

फर्केर आउँदासम्म कसैले टिपेनछ । पाकेको चाहिँ दुई–चारदाना टिपेर लैजाने सल्लाह हुन्छ हाम्रो। 

महादेवटारको लगभग सिरानमै पुगिसकेका छौँ। घर देखिन्छ कि भनेर आँखा तन्काउँछु बेलाबेलामा। दुई कान्ला उक्लेपछि नभन्दै एउटा घरैमा पुग्छौँ। घर पनि एउटै मात्र रहेछ। मूल ढोकाबाट बाहिर निस्केका घरमूली सानु स्याङतानसँग हाम्रो साक्षात्कार हुन्छ। उकालोले थकाएको र चर्को घामले सेकिएको ज्यानलाई थुपुक्क राख्छौँ उनको पिँढीमा। 

परम्परागत दुईपाखे घर, दुई तलाको। अग्लो पिँढी। फराकिलो आँगन। आँगन छेवैमा छ– लटरम्मै दाना लागेको नास्पातीको बोट। आँगनमा गाडिएको छ– बौद्ध परम्परा झल्किने एक थान श्वेत लुङ्दा र रंगीन लुङ्दर।

एउटा ख्याउटे न ख्याउटे मरन्च्याँसे पठ्याङ्ग्री लडिरहिछे पिँढीमा। यस्तो लाग्छ कि, ऊ यो धर्तीमा अन्तिम श्वास फेर्दै छे। 

“माउ छैन यसको ?” सोध्छु।

“छ नि, अलच्छिनी माउ भएर के गर्नु ! पाउने बेलामा दुइटा पाई। अर्कोलाई मात्र दूध चुस्न दिन्छे। यसलाई दिन्न।” सानुको जवाफ।

विचरी पठ्याङ्ग्री ! आमाको दूध खान नपाएपछि किन नहोस् त ख्याउटे। कस्तो अचम्म! आफैँले जन्माएका सन्तानमा एउटालाई माया र अर्कोलाई हेलाँ गर्न कसरी सकेको होला !

पशुले पनि यस्तो विभेद गर्न जानेको! मानवीय संवेदनाले चसक्क छुन्छ मलाई। 

भित्र चुलोमा सेतो मकैको ढिँडो ओडाल्दै रहेछन्, सानुका जवान छोरा अमित। मझेरीमा छुन्मुनाइरहेकी छन् सानुकी अबोध नातिनी। आहा, क्या दिव्य मुहार! खुसीको मखमली छल्किरहेछ बच्चीको मुहारमा। सानो बेलाका छोरीहरू सन्जिका र सन्तोषीको झल्को आउँछ मलाई। 

उनीहरू भित्र, हामी बाहिर। संवाद चल्छ हाम्रो–

“लौ, हामी त खाने बेलामा पो आइपुगेछौँ।”

“भइहाल्छ नि। खाने भए पस्किदिन्छु दाइ।”

“तपाईंहरूलाई पुग्दैन होला नि त !”

“हामी फेरि पकाएर खाउँला नि। कतिबेर लाग्छ र !”

थालथालमा ढिँडो पस्कन्छन् अमित। साथमा फर्सीको मुन्टा र पितिक्क गोलभेँडाको अचार पनि छ। 

टीका भैरवमा एक कप चिया र दुइटा दुनोट खाएका थियौँ। फेरि बगुवामा एक कप चिया र चना थपेकोले ज्यास्ती भोक लागेको थिएन। तैपनि उनीहरूले हरियो खुर्सानी ठोसेको देखेर मुख रसाउँछ मेरो।

पौने बाह्र भएको छ। दुई बजेको लागि ढिँडोको अर्डर गरेर लम्कन्छौँ हामी लटारम्भेश्वरतर्फ। 

०००
जंगलको छेउमा छ एक्लो घर। कुनै भवितव्य परिहाले कसले सहारा देला? मनोलापसँगै मेरा पाइला उचालिइरहेछन्।

उकालो छ बाटो, घना जंगलको। हात्ती लस्केझैँ लस्किरहेका छौँ। सवा घण्टामा त कसो नपुगौँला भन्नेमा छौँ हामी।

“बाटो अब आधामात्र बाँकी छ।” अघि सानु स्याङ्तानले भनेको सम्झन्छु।

०००
‘झ्याउँ, झ्याउँ, झ्याउँ, झ्याउँ....’

‘झ्याउँ, झ्याउँ, झ्याउँ, झ्याउँ....’

झ्याउँकिरीको मिलन गीतको आरोह र अवरोह अर्थात् झ्याउँकिरीको पुरुषत्वको आवाज। कहिले सुर बढी, आवाज कम। कहिले सुर कम, आवाज बढी। यिनै दोहोरो लयले गुञ्जायमान भएको छ सिंगो जंगल। यस्तो लाग्छ, जंगल  उनीहरूकै लागि मात्र हो। 

झ्याउँकिरीकै कारणले गत साल मे ९ का दिन अमेरिकामा एउटा रोचक समाचार बनेको थियो। घटना थियो डालस अन्तर्राष्ट्रिय विमानस्थलको। अमेरिकाको राष्ट्रपति भएपछि जो बाइडेन पहिलोपटक विदेश भ्रमणमा निस्केका थिए। उनलाई साथ दिनका लागि पत्रकारको एउटा टोली पनि सोही जहाजबाट जाँदै थियो, त्यसको इन्जिनभित्र असंख्य झ्याउँकिरीको प्रवेश भएछ। फलतः सात घण्टासम्म उडान अवरुद्ध मात्र भएन, पत्रकारका लागि अकै जहाजको व्यवस्था गर्नुपरेको थियो। 

अचम्मको छ, यिनले भोग्नुपर्ने जीवनको नियति। अण्डाबाट निस्किएको केही समयपछि यिनीहरू जमिनमा खस्छन्। माटोमुनि गएर रूखको जरामा वासस्थान बनाउँछन् र बाँच्नका लागि रूखको जराबाट रस चुस्छन्। झ्याउँकिरीको प्रजाति र भूगोल अनुसार दुईदेखि सत्र वर्षसम्म भूमिगत नै रहन्छन्। अमेरिकाको जहाजमा आतंक मच्चाउन आइपुगेका ती झ्याउँकिरीहरू १७ वर्षपछिको भूमिगत जीवनपछि बाहिर संसारमा निस्केका थिए भन्ने अनलाइन समाचारमा पढेको थिएँ। भूमिगत जीवनको अवधि सकेपछि जमिनबाट निस्केर सरासर रूख चढ्छन्। माटोमा बसुन्जेलको सुरक्षित कवच अर्थात् ‘एग्जोस्केलेटन’लाई विस्थापित गर्छन्। र, पोथीलाई आह्वान गर्नका लागि तत्काल संगीत छर्न थाल्छन्। झ्याउँकिरीले फेरि भूमिगत हुनु पर्दैन। किनकि बाहिरी संसारमा निस्केको केवल चारदेखि छ हप्तामा यिनीहरूको इहलीला समाप्त भइसक्छ। जन्मेर सृष्टिलाई निरन्तरता दिनु वा जीवन चक्र पूरा गर्नुमात्र हुँदोरहेछ, झ्याउँकिरीको जीवनको उपादेयता। प्रकृतिको नियमलाई स्वीकार गरिरहेका छन् यिनले। 

०००
झ्याउँकिरीको आवाजले मत्थर भएको छ– चराचुरुङ्गीका आवाज। निःशब्द बनेका छन् समस्त वनस्पति। 

“शनिबारको दिन त थुप्रै मान्छे आउँछन्। हिजो त झण्डै पाँच सय जति आएका थिए।” अघि अमित स्याङ्तानले भनेको सम्झन्छु। 

सोच्छु– अर्कोचोटि आउँदा त लजमा परिणत भइसक्ने छ उनको घर। 

पहिलोपटक आउने कसैले भिडियो बनाएर युट्युबमा राखिदिएछन्। युट्युबकै त हो आजको जमाना। भाइरल भइगएछ। नयाँ गन्तव्य, त्यो पनि काठमाडौँबाट नजिक। अनि त मान्छेहरूको धुइरो लाग्न थालिगो। यसरी नै हो नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धन हुने। राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिबाट भएछ। 

नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने, धार्मिक स्थलहरूको संरक्षण गर्ने र त्यहाँको पूर्वाधार निर्माण र विकासमा सघाउ पुर्‍याउने उद्देश्य लिएर बसेको नेपाल पर्यटन बोर्डलाई गतिलो चड्कन हो यो। पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणा छ, नेपाल पर्यटन बोर्डको। खै के, खै के ! पदयात्रीहरूलाई ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) बेच्छ। सदस्यहरूको नियुक्ति राजनीतिक आस्थाको आधारमा गर्छ। कर्मचारीहरू पर्यटन प्रवर्द्धनका नाममा अन्तर्राष्ट्रिय सभा र सम्मेलनमा भाग लिई भत्ता पचाउँछन्। बोर्डको उपादेयता भनेको लगभग यति नै हो। 

०००
लटारम्भेश्वर पुगेर फर्कँदै गरेका एकजोडी नेपाली पर्यटक भेटिन्छन्। भक्तपुरबाट आएका रहेछन् उनीहरू।

“अब कति टाढा छ ?” सोध्छु।

“आधा घण्टा।” जवाफ आउँछ।

पन्ध्र मिनेट उक्लेपछि आइपुग्छ पहाडको कुममा अवस्थित साँघुरो थली। बाटोको दायाँबायाँ जस्ताले बारेर चाउचाउ, बिस्कुट र कोक राखेका रहेछन् केही स्थानीयले।

त्यही थलीमा ठडिएको सूचनापाटीले ‍‘.......सतीदेवीले देह त्याग गरेपछि उनको पार्थिव शरीरलाई महादेवले बोकेर हिँड्ने क्रममा यस ठाउँमा आइपुग्दा उनको जटा (लट्टा) पतन भएको कारणले लटारम्भेश्वर महादेव नाम रहन गएको’ बताउँछ। कसरी लटारम्भेश्वर नाम रह्यो होला भन्ने खसखस मेटिन्छ मेरो।

महादेव र सतीदेवीको कथा कुनै प्रेमिल जोडीको कथाभन्दा कम छैन। मिथकअनुसार सतीदेवीको मृत्युपछि महादेव शोकाकुल बनेको प्रसंग आउँछ। महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँडेको। सडेका अंग एकपछि अर्को गर्दै ठाउँठाउँमा झर्दै गएका र ती ठाउँमा शक्तिपीठको उत्पत्ति हुँदै गएको। सर्पको माला लगाउने र गँजडी भएकोले शिवलाई राजा दक्ष प्रजापतिले यज्ञमा नबोलाएका रे। आफ्ना पतिको घोर अपमान सहन नसकेर सतीदेवी अग्निमा होमिएकी रे। 

हामी स्वस्थानी च्यात्नुपर्छ भन्छौँ तर आफ्ना धार्मिक ग्रन्थहरूको अध्ययन गर्दैनौँ। नराम्रा संस्कारहरू परिमार्जन गर्न पनि त सकिन्छ होला नि! 

अध्यात्मवाद र भौतिकवादको संयोजनमा मेल खाए पनि नखाए पनि सृष्टि त मान्छेको विश्वासमै अडेको छ। यदि त्यसो हो भने फेब्रुअरी १४ का दिन विदेशीले मनाउने ‘भ्यालेन्टाइन डे’ हामी किन मनाउने? कुनै उपयुक्त दिन पारेर हामी नेपालीले सतीदेवी र महादेवको सम्झनामा प्रणय दिवस मनाए हुन्न र? आफैँसँग उत्तर खोज्छु म।

सूचना पाटी पढ्दै गर्दा तलबाट पाँच तन्नेरी हामीलाई भेट्न आइपुग्छन्। सानो क्यामरालाई हाते स्ट्यान्डमा राखेर भिडियो लिइरहेका छन्। युट्युबमा हाल्ने रे। सोच्छु– गन्तव्य प्रवर्द्धनका लागि योभन्दा राम्रो कायदा सायदै होला।

ठिक त्यत्ति नै बेला लटारम्भेश्वर पुगेर फर्केका पाँच जवान आइपुग्छन्। संवाद चल्छ हामीबीच–

“अब कतिबेर लाग्छ माथि पुग्न ?”

“बढीमा दश–पन्ध्र मिनेट।”

“तपाईंहरू कहाँबाट आउनुभएको ?”

“भक्तपुरबाट।”

धार्मिक यात्राका क्रममा मैले थुप्रै ठाउँका भक्तहरू भेटेको छु तर धेरैजसो भक्तपुरकै हुन्छन् कि झैँ लाग्छ। नुवाकोट जिल्लास्थित भैरवी माई र कविलासको नाट्यश्वरीको दर्शनका लागि पनि थुप्रै भक्तपुरे पुग्छन्। भक्तहरूकै शहर हो भक्तपुर। धार्मिक यात्रा उनीहरूको विशेषता।

उकालो सकिएपछि तर्पायाँ लाग्छ गोरेटो। गोरेटोले पहाडलाई देब्रे पारेको छ। जतिजति अघि बढ्यो, उतिउति साँघुरिन्छ बाटो। मुस्किलले तीन फिटको होला बाटोको चौडाइ। तलतिर हेर्दा सिरिंग हुन्छ आङ। धन्न रेलिङ हालेको रहेछ र! नत्र त्यहाँभन्दा अगाडि जाने साहस गर्न गाह्रै हुने रहेछ। रेलिङ समातेर पहाडको पल्लो छेउमा पुग्छु। 

त्यही डिलबाट देखिन्छ पल्लोपट्टिको चुच्चे पहाड। पहाडको नाक छेडिएको छ, महादेवको त्रिशूलले। त्रिशूल– भोलेनाथको प्रिय अस्त्र। त्रिशूल– हिन्दु धर्मको प्रतीक। त्रिशूल– त्रिदेवको प्रतीक अर्थात् सृष्टिको परिचायक। सत्त्व, रज र तम पनि हो, त्रिशूलको अर्थ। देवी दुर्गाको हात पनि त्रिशूलले नै सजिएको हुन्छ। विद्युतीय चालकको रूपमा काम गर्दछ यसले। 

त्यहीँनेर फरफराइरहेछ, नेपालको राष्ट्रिय झण्डा। त्यसैमा गाँसिएको छ, बौद्ध ध्वजाको बुलाकी। त्यो देख्दा मेरो मनमा फरफराउन थाल्छन् अथाह खुशीका लुङ्दर। यही बेला घुर्मैलो छाया पार्दै हाम्रै टाउको माथिमाथि दौडन्छ एक हुल बादल।

घाँटी परेको छ, दुई पहाडका बीचमा। लटारम्भेश्वर अवस्थित पहाडको टुप्पामा पुग्न डिलबाट ओर्लेर फेरि उकालो लाग्नु पर्दोरहेछ। ओर्लिसकेपछिको २०–२५ मिटरको बाटो पनि तीन फिटभन्दा बढी छैन। ढुंगामा सिमेन्ट लिपेर सिँढी बनाइएको छ। नत्र कस्तो हुन्थ्यो होला यो अक्करे भिर ओर्लन। तैपनि उचाइसित डराउनेका लागि चाहिँ नवीन अनुभूति दिलाउँछ यसले।

पछाडि फर्केर अघि ओर्लेको बाटो हेर्छु। तनहुँ जिल्लाको रामकोटस्थित डंकने डाँडाजस्तै सुरिलो देख्छु पहाड।

पहाडको काँधमा पुगेका छौँ यतिबेला। यही हो अन्तिम उकालो। 

कुनापट्टि ठड्याइएको सूचनापाटीमा पढ्न पाइन्छ, ‘मन्दिर वरिपरि प्लास्टिक तथा पानीका बोतल नफालौँ, आफूले प्रयोग गरेका फोहरलाई सुरक्षित ठाउँमा व्यवस्था गरौँ !’

कस्तो अचम्म ! सूचनापाटीकै अघिल्तिर थुपारिएको छ एक डङ्गुर, प्लास्टिक तथा पानीका बोतल, चाउचाउका खोल र कागजका प्लेट आदिआदि। त्यो देख्दा आँखा बिझाउँछ मेरो।

दश पाइला लम्केपछि आउँछ गणेशको मूर्ति। फेरि थोरै अगाडि बाटोकै दायाँपट्टि गाडिएको छ– एउटा त्रिशूल र झुन्ड्याइएका छन् सानाठूला चारथान घण्ट। त्यो सँगै एउटा सानो गुफा छ। त्यसभित्र थपना गरिएको छ सरस्वतीको मूर्ति। 

कस्तो अचम्मको संयोग !

म हठात् गुनगुनाउँछु गीत– 

‘जहाँ ढुङ्गाढुङ्गामा देवताको बास छ’ 

माधवजी बजाउन थाल्छन् घन्ट।

‘ट्याङ, ट्याङ, ट्याङ, ट्याङ..........’

उनले बजाएको घन्टको प्रतिध्वनिले एक खालको प्रमोदित लहर गुञ्जन थाल्छ मेरो कानमा।

तर अचम्भित हुन्छु म। कुनै मन्दिरमा पुगेर उनले घण्ट बजाएको पहिलोपटक देख्दै छु। 

उनी माओवादी राजनीतिबाट प्रेरित र प्रभावित मान्छे। अचेल टाढै बसेका छन् राजनीतिबाट। 

त्यसो त कम्युनिस्ट भएर भैँसी पूजा गर्ने नेता नभएको कहाँ हुन् र देशमा। “कम्युनिस्टप्रति वितृष्णा जागेपछि मान्छेलाई घण्ट बजाउन मन लाग्दोरहेछ हगि !” व्यंग्य कसिदिऊँ झैँ लाग्छ।

तर भो, नभन् भन्छ मनले। केही नबोली बाटो लाग्छु म।

बाटो छेवैमा बसेर पलाँसजस्तै लाग्ने फूलले जवानी सेकाइरहेछ घाममा। फूलको पहिचान गर्नचाहिँ सकिनँ। फूल जुनसुकै भए पनि हाँसिरहेको देख्दा मन रमाउँदो रहेछ। एउटा भमरा उड्दै आएर फूल चुम्नु र मैले क्यामरा क्लिक गर्नु एकैचोटि भएछ। सुन्दर दृश्य कैद हुन्छ क्यामरामा। एउटा अनौठो संयोग ! 

यात्राप्रतिको अनुराग र लटारम्भेश्वरप्रतिको उत्कण्ठाले असीम आनन्द सञ्चार भइरहेछ मभित्र यति बेला।

बल्ल टेकियो सतीदेवीको जट्टा पतन भएको पहाडको माथ।

पहाडैपहाडका बीचमा उभिएको छ– १,८८० मिटर उचाइको पहाड। परबाट हेर्दा चुच्चो देखिए पनि पहाडको टुप्पामा फराकिलो ठाउँ रहेछ थली झैँ। चौडाइ लगभग सात मिटर र लम्बाइ बीस मिटर जति होला। पल्लोपट्टि छानाविनाको

मन्दिरमा पहेँलो चँदुवा टाँगिएको छ। बीचमा लुङ्दर टाँग्ने खाँबो र त्रिशूल गाडिएको छ। लटारम्भेश्वरलाई आस्थाको एक थुँगा फूल चढाउँछु म।

“कस्तो ठाउँमा आइपुगेर सतीदेवीको जटा पतन भएछ है !” माधवजी बोल्छन्। 

“सतीदेवीको मृत शरीर बोकेर महादेव यो धर्तीको कुन ठाउँमा मात्र पुगेनन् होला है !” म बोल्छु।

लीलाभूमि पनि रहेछ यो। अघि पाटीमा लेखिएको पढेथेँ– ‘...हिमवत् खण्डको १०४ अध्यायमा लटारम्भेश्वर भगवान् शिवको वर्णन छ। यही स्थानमा शिवले तण्डु ऋषिलाई ताण्डव नृत्य सिकाएर ताण्डव नृत्य लोकमा प्रचार गर्नुभएको...।’

सत्य र उपेक्षाको टकराब हो– ताण्डव नृत्य। हिन्दु शास्त्रमा प्रसिद्ध छ यो नाच। पौराणिककालमा शिवजीले ताण्डव नृत्य सिकाएको ठाउँ पनि टेकियो गाँठे! कतै शिवजी र तण्डु ऋषिका पाइला त छैनन् यहाँ? मैले आँखा गाडेर हेरेँ।

अजीव छन् शिवजी। हामी अस्तित्वको आधार मान्छौँ शून्यतालाई। त्यही शून्यता हो– आदियोगी शिव। अस्तित्वको आधार र ब्रह्माण्डको मूलभूत विशेषता भनेकै विराट् शून्यता हो। हामीले जे कुरा ‘छ’ भन्छौँ त्यो ‘छैन’ पनि हो। लटारम्भेश्वर पहाडको टुप्पोमा भोलेनाथको महिमा गाउँछु।

धर्तीका सुन्दर सेरोफेरोमा सँगेटिन्छन् मेरा अपलक प्रमुदित नयनमा। महाभारत पर्वतका हरिया लुंगहरूको सुन्दर दृश्यले चकित हुन्छु। समय एकैछिन रोकिइदिए हुन्थ्यो भन्ने लाग्दा लाग्दै निमेषभरमै कालो बादलको साम्राज्य शुरू भइसक्छ आकाशमा। 

हतारहतार गौरवान्वित निःश्वास लिँदै मनमनै भन्छु– 

‘आहा, आज मैले मिथकीय महत्त्वको लीलाभूमि टेकेँ !’


सम्बन्धित सामग्री