Wednesday, April 24, 2024

-->

ह्विल अन द बस : धार्मिक र सामाजिक व्यवस्थामाथि प्रहार

साथीहरूले बनाएको काठको बसका लागि भ्यालले घरको फलामबाट दुई वटा पाङ्ग्रा बनाउँछन्। बाँकी पाङ्ग्राका लागि शिक्षकको घरको त्रिशूल र विद्यालयको घण्टी चोर्छन्। जातीय विभेद र गरिबीको कथा यहाँबाट शुरू हुन्छ।

ह्विल अन द बस  धार्मिक र सामाजिक व्यवस्थामाथि प्रहार

काठमाडौँ– एउटा काठको टुक्राले सानो बसको आकार पाएको छ। सानो चिटिक्क परेको बसका लागि अब चार वटा ‘ह्विल’ अर्थात् पाङ्ग्रा आवश्यक छ।

बसको चारवटा पाङ्ग्रा बनाउने जिम्मा कक्षाका साथीहरूले भ्याललाई दिएका छन्। किनभने, भ्याल फलामको काम गर्ने परिवारका सदस्य हुन्छन्।

हुम्लाको एक गाउँमा भ्याल आफ्ना बुबाआमासँग बस्छन्। उनी पनि आफ्ना बाबुजस्तै फलामलाई विभिन्न औजारमा आकार दिन निपुण छन्। बिहानैदेखि आरनमा बसेर विद्यालय जाने समयसम्म आरनमै हुन्छन्। 

बिहानदेखि आरनमा बसेर हतारमा उनले एउटा त्रिशूल र दुईटा बेरिङ बनाएका छन्। बेइरिङ साथीहरूले बनाएको बसका लागि, त्रिशूल शिक्षकको घरको देवताका लागि।

भ्याललाई समाजजस्तै विद्यालयमा पनि बस्न सजिलो छैन। उनी अरूभन्दा छुट्टै बस्नुपर्छ। उनको कक्षामा लबबाहेक अन्य कोही मिल्ने साथी छैन।

उनी ती बेरिङ कक्षाका साथीहरूलाई दिन्छन्, जोसँग उनको खास मित्रता छैन। समाजको कथित उपल्लो जातका उनीहरूले भ्याललाई दुःख दिने काम गर्छन्। भ्यालले दिएको दुईटा पाङग्रा बसमा फिट गर्छन्। थप दुई पाङग्रा आवश्यक छ, जसको लागि ती साथीले भ्याललाई जानीजानी छोइदिन्छन्।

परिवार फलामको काम गर्ने भए पनि उनको घरमा त्यस समय फलामको एक टुक्रा पनि हुँदैन। यस्तो अवस्थामा के भ्यालले फलाम पाउलान्? अब भ्यालले कस्तो कदम उठाउलान् र सो कदमले समाजमा कस्तो तरंग पैदा गर्ला?, चलचित्र ‘ह्विल अन द बस’ सोही विषयमा केन्द्रित छ। 

जात व्यवस्थामाथिको प्रहार
गत मंसिर २२ देखि २६ सम्म भएको काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा ‘ह्विल अन द बस’ पनि देखाइएको थियो। यो फिल्मलाई सूर्य शाहीले निर्देशन गरेका हुन्। १६ मिनेट लामो यो फिल्म हुम्ला जिल्लामा व्याप्त जात व्यवस्थाको विषयमा बनेको छ।

चलचित्रका निर्देशक शाहीका अनुसार, हुम्लामा कथित ठूला जातका मानिसले जानी–नजानी कथित सानो जातलाई छोएमा भरपाइ स्वरूप निखान दिनुपर्ने हुन्छ। काठको कुर्सी बनाउँदा प्वाल बनाउन प्रयोग गरिने पातलो घनलाई निखान भनिन्छ। 

सूर्य शाही।

यो फिल्म कथा दुई दशकअघिको ‘टाइमलाइन’मा बनेको निर्देशक शाहीको भनाइ छ। भ्यालले आफ्नो शिक्षकको लागि एउटा त्रिशूल बनाएर दिएका हुन्छन्। उक्त त्रिशूल शिक्षकले आफ्नो घरको छानोमा रहेको देवताको शिरमा राख्छन्। त्रिशूलले नराम्रो शक्तिबाट बचाउने जनविश्वास हुम्लामा चलिएको शाही बताउँछन्।

आफ्नो घरमा फलामको एक टुक्रा पनि नभेटिएपछि एक रात भ्याल र उनका साथी लब मिलेर शिक्षकको घरको देवताको शिरमा राखिएको त्रिशूल चोरी गर्छन्। दुई वटा बेरिङ बनाउन अपुग हुने हुँदा उनीहरूले आफू पढ्ने विद्यालयमा रहेको घण्टी पनि चोर्छन्। 

यसरी चोरी गरेको त्रिशूल र घण्टीबाट दुईवटा पाङ्ग्रा बनाएर कक्षाका साथीहरूलाई दिन्छन्। भ्यालले चोरी गरेको पत्ता लागेसँगै उनलाई विद्यालयबाट निस्किासित गरिन्छ। चलचित्र यहीँ सकिन्छ। निर्देशक शाही यस चलचित्रलाई जातीय विभेदविरुद्ध आफ्नो मनको अभिव्यक्ति भन्न रुचाउँछन्। 

“यस चलचित्रलाई म समाजको चलिरहेको जात व्यवस्थाप्रतिको असन्तुष्टिको अभिव्यक्ति मान्छु”, उनी भन्छन्, “बालबालिकाको मन शुद्ध हुन्छ। उनीहरू समाजमा दूषित भेदभावभन्दा पनि आफूलाई परेको समस्याको समाधानको खोजीमा हुन्छन्। मैले चलचित्रमा देखाउन खोजेको पनि त्यही हो।” बाल मनोविज्ञानले समाज र धर्मभन्दा पनि आफ्नो कर्तव्यलाई माथि राख्ने उनको भनाइ छ। 

जुन आरनमा त्रिशूल र घण्टीले आकार पाएका थिए, सोही आरनमा विभेदका त्रिशूल र घण्टीसँगै तोडिन्छ। समाजमा व्याप्त जातव्यवस्था र धर्मलाई नयाँ आउने पिडीले ध्वस्त पार्ने प्रतीकात्मक सन्देश दिन खोजेको निर्देशक शाही बताउँछन्। “सामाजिक भेदभावको थिचोमिचोमाथि चेतनशील विद्रोही भाव उत्पन्न नहुँदा भ्यालले लिएको उक्त कदम, चेतना विकास भएपछि झन् कस्तो होला?”, शाही प्रश्न गर्छन्। 

सत्य घटनाबाट प्रेरित कथा
निर्देशक शाहीको जन्मस्थान हो हुम्ला। हाल अमेरिकामा फिल्म अध्ययन गरिरहेका उनी विदेशीले धर्मपुत्र बनाएपछि सानैमा त्यता पुगेका थिए। यसकारण पनि चलचित्रमा आफ्नो विगतको सम्झना रहेको उनको भनाइ छ।

“हुम्ला सितिमिती आउन पाइँदैन। आए पनि लामो बसाइ हुन्न। सोही कारण पनि मलाई आएको समयमा केही खोज्नु थियो”, उनी भन्छन्, “चलचित्र मेरो अभिव्यक्तिको माध्यम थियो। सोही कारण म हुम्ला जाने र केही कथा खोज्ने अवसर खोजिरहेको थिएँ।”

हुम्लाको लागि केही गर्न उनलाई रकमको आवश्यकता थियो। सोही क्रममा तीन वर्षअघि उनले ‘स्यामुएल हन्टिङ फेलोसिप’मा हुम्लामा विद्यालय बनाउने प्रस्ताव गरे। उनले फेलोसिप पनि पाए। त्यसै सिलसिलामा हुम्ला आइपुगे। विद्यालय बनाउने क्रममा उनले आफ्ना मामा जगदीश हमालका प्रिय मित्रलाई भेटे। 

सुटिङ गर्दै फिल्म युनिट।

“मेरो मामाले आफ्नो बाल्यकालको घटना मलाई सुनाउनु भयो।”, उनी भन्छन्,  “मामाले पनि आफ्नो बाल्यकालमा एक सानो जातको साथीलाई जिस्क्याउने, होच्याउने गर्नु हुँदोरहेछ। पछि, आफूले गरेको गल्तीको महसुस भएपछि दुई जनाको मित्रता झाँगिएको रहेछ।”

मामाको सोही अनुभवलाई समातेर उनले कथा लेखे। पछि मामा जगदीशले चलचित्रमा लगानीसमेत गरे।

कथा लेखेपछि उनी पात्रको खोजीमा थिए। हुम्लाकै एक स्कुलमा उनले एक दिन मान बहादुरलाई कक्षा कोठाभित्र एक्लै बसेको देखे। “उनलाई देख्नेबित्तिकै मैले मेरो चलचित्रको पात्र भेटेको महसुस गरेँ। तर, मलाई कथा अनुसार, सोही समुदायको व्यक्ति चाहिएको थियो। उनी सोही समुदायका रहेछन्। अनि मैले उनका बुबाआमासँग काम गर्ने अनुमति मागेँ”, उनी भन्छन्।

सुटिङको क्रममै विभेद
भेदभावको विषयमा चलचित्र बनिरहँदा हुम्लाको त्यो सामाजिक कुरीतिलाई अझ नजिकबाट नियाल्न पाए। चलचित्र हुम्लाकै एक व्यक्तिको घरमा सुटिङ गर्ने निधो भएको थियो। “त्यस घरमा हामी मात्र छिर्दा त केही भएको थिएन। तर, चलचित्रका प्रमुख पात्र भ्याललाई भित्र लैजाँदा भने हामीलाई पनि रोकियो”, निर्देशक शाही भन्छन्, “सानो जातको मानिसलाई भित्र्याउन नमिल्ने भनेपछि त सुटिङसमेत प्रभावित हुने भयो।”

अनेक सम्झाइबुझाइपछि अन्तमा उनीहरूले गोठसम्म छिराउन मिल्ने भन्दै त्यहीँ सुटिङ गर्न अनुमति दिएको शाही बताउँछन्। यसरी गोठलाई ‘इन्डोर सेट’मा परिणत गरिएको उनको भनाइ छ।

यो चलचित्रको नाम शुरूमा ‘भ्याल’ राखिएको थियो। सुटिङ सकिने बेलासम्म पनि नाम त्यही राखिएको थियो। तर, उनलाई चित्त बुझिरहेको थिएन। 

सुटिङबाट फर्किएपछि आफ्नो भतिजीलाई खेलाउने क्रममा ‘ह्विल अन द बस’ राइम बजेको सुने। आफ्नो चलचित्रको थिमसँग मिल्दोजुल्दो भएपछि उनले नाम नै ‘ह्विल अन द बस’ राखे। 

“मेरो चलचित्र पाङग्रोको कथा हो। बसको पाङग्राले यात्रा अघि बढाएजस्तै हाम्रो जीवन पनि विभिन्न घटना क्रमले अघि बढ्ने गरेको छ”, उनी भन्छन्, “मेरो चलचित्रसँग ठ्याक्क मिलेको अनुभव गरेँ अनि नाम त्यही राखेँ।” यो नामले चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा ‘कनेक्ट’ गराउन सहज हुने बलियो पक्ष भएको उनको भनाइ छ।


सम्बन्धित सामग्री