Friday, March 29, 2024

-->

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

राम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरेर सोमबार देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ।

विवाह पञ्चमी पर्व देशभर मनाइँदै
तस्वीर : रासस

काठमाडौँ– राम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरेर सोमबार देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ।

यो पर्व प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाउने चलन छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विधिपूर्वक भगवान् सीता र रामको विवाह महोत्सव हुँदैछ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार त्रेता युगमा जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह भएको थियो।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति थियो। महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ मिथिलावासी प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।

मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ।

त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ। पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।

पहिले एक महिनासम्म मनाउने गरिएको महोत्सव अहिले पाँच दिनसम्म मनाइन्छ। यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत छ।

रामको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको छ। 


सम्बन्धित सामग्री