Friday, April 19, 2024

-->

फाल्गुनन्दकाे १३८औँ जन्मजयन्ती : प्रदेश १ मा सार्वजनिक बिदा

जन्मजयन्तीका अवसरमा किराँतीहरूले देशका विभिन्न स्थानमा कर्यक्रम आयाेजना गरेका छन्। प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ।

फाल्गुनन्दकाे १३८औँ जन्मजयन्ती  प्रदेश १ मा सार्वजनिक बिदा

काठमाडौँ– शुक्रबार नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको एक सय ३८औँ जन्मजयन्ती मनाइँदै छ।

यस अवसरमा किराँतीहरूले देशका विभिन्न स्थानमा कर्यक्रम आयाेजना गरेका छन्। प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ।१९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ।

फाल्गुनन्दले १९८८ वैशाख २४ गते पाँचथरको सिलौटीमा सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थालेका थिए। सत्य धर्म मुचुल्कामार्फत छोरी र छोरालाई समान शिक्षा र अंशबन्डा दिने लिने हक कायम गराउनुपर्ने वकालत गरेका थिए। छोरीलाई दाइजोको सट्टा शिक्षा दिएर स्वावलम्बी बनाउनुपर्नेमा उनको जोड थियो। 

फाल्गुनन्द १३ वर्ष भारतीय सेनामा नोकरी गरेर नेपाल फर्केपछि समाज सुधारमा लागेको मुन्धुमका जानकार ज्ञानु लिम्बू बताउँछन्। “नोकरीबाट फर्केपछि पाँचथर, इलाम, ताप्लेजुङ, भुटान र तेह्रथुमका विभिन्न स्थानमा माङ्हिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियान पनि चालाउनुभएको थियो”, लिम्बू भन्छन्, “त्यसपछि किराँत धर्म हाङ साम्योको थालनी गर्नुभयो। जसलाई फाल्गुनन्द पन्थ भनिन्छ।” 

फाल्गुनन्दको निधन २००५ चैत २२ गते भयो। उनलाई सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो।


सम्बन्धित सामग्री