Friday, March 29, 2024

-->

‘बगान’मार्फत निर्देशनमा सरोज खनालको डेब्यू

'बगान'मार्फत विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको निर्देशक खनालले बताए

‘बगान’मार्फत निर्देशनमा सरोज खनालको डेब्यू
तस्वीर : सरोज खनालको फेसबुक।

काठमाडौँ– अभिनेता सरोज खनालले निर्देशक बनेका छन्। हालै काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको थियो।

गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र वानिका प्रधानको स्वर रहेको छ। अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ लगायतको अभिनय रहेको फिल्ममा स्वयं निर्देशक खनालले समेत अभिनय गरेका छन्।

सयभन्दा बढी फिल्ममा अभिनय गरेको भए तापनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिएका थिएनन्। बगानको पटकथासमेत खनालले नै लेखेका हुन्। कथा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथा संग्रह ‘बगान’ बाट तयार गरिएको उनले जानकारी दिए। 

“पुस्तक पढ्ने क्रममा म स्वप्न नीरवजीको कथामा अड्किएँ। उहाँले छाड्नु भएको प्रश्नको जवाफ हामीले दिनैपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले पत्रकार सम्मेलनमा भने, “लेखकले आफ्नो दायित्व पूरा गर्नुभयो। उहाँले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लगेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको हुँ।”

'बगान'मार्फत विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको निर्देशक खनालले बताए। नारायण जिसी र उत्सव दाहालले छायांकन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्म अगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउनेछ।
 


सम्बन्धित सामग्री