Friday, March 29, 2024

-->

आज तिहारको मुख्य दिन भाइटिका, ११ः३७ मा उत्तम साइत

दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ मनाइने भाइटिकाले दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्ति हुने जनविश्वास छ। भाइटिकाको उत्तम साइन ११:३७ मा भएपनि दिनैभर टीका लाउन सकिने छ।

आज तिहारको मुख्य दिन भाइटिका ११ः३७ मा उत्तम साइत
तस्वीरः अनमोलको फेसबुकबाट।

काठमाडौँ- कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटिका मनाइँदै छ। परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाइ भाइटिका मनाइने गरिन्छ। 

मंगलको टीकाका रूपमा लगाइने यो टीकाले श्रद्धा, आस्था र निष्ठाका साथै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। यस दिनलाई यमद्वितीया, भ्रातृद्वितीया तथा भाइतियार वा भाइतिहार पनि भन्ने गरिन्छ। 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा तथा लुगाकपडा दिने परम्परा रहेको  छ।

भाइटिकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।


सम्बन्धित सामग्री