Saturday, April 20, 2024

-->

भुजुङको ५०० वर्ष पुरानो मौलिकता बिथोल्दै ठडियो कंक्रिटको भवन

लमजुङको परम्परागत गाउँ भुजुङमा गाउँपालिकाकै लगानीमा पहिलो कंक्रिट भवन बनेपछि मौलिकता मासिने चिन्तामा छन् स्थानीय।

भुजुङको ५०० वर्ष पुरानो मौलिकता बिथोल्दै ठडियो कंक्रिटको भवन
तस्वीर: किसन/उकालो

लमजुङ– ढुंगाले बनेका दुईतले घर। ढुंगाकै छाना। छानाको तल्लो भागमा फर्सी, कुभिन्डो, लसुनलगायत तरकारी झुन्डाइएको। सिकुवामा जाँतो। फराकिला आँगन। आँगनमा पनि ढुंगा नै छापिएका। कतै थाक्रो बनाएर मकै राखिएका। कतै बिस्कुन फिँजाइएका। कहीँ आँगनको तानमा महिला छन्। कहीँ चोयाले डोका र डालो बुनिरहेका पुरुष भेटिन्छन्।

यो लमुजुङस्थित भुजुङ गाउँको दृश्य हो। यो परम्परागत बस्तीमा एक घरबाट अर्कोमा जाने बाटो पनि ढुंगाकै छन्। ढुंगाबाट बनेका भौतिक संरचनाले गाउँलाई सुन्दर बनाएको छ। तर, यो सौन्दर्यलाई विथोल्दै सात महिनादेखि गाउँबीचमा एउटा कंक्रिटको भवन उभिएको छ।

भुजुङ गाउँ सदरमुकाम बेंसीसहरबाट उत्तरपश्चिममा पर्छ। परम्परागत भौतिक संरचना र मौलिक संस्कृतिको संरक्षणकै कारण यो गाउँ पर्यटकीय महत्वको छ। लमजुङकै घले गाउँपछि नेपालमा दोस्रो होमस्टे भुजुङमै खुलेको हो। तर, अहिले वडा कार्यालयका लागि बनाइएको भवनले गाउँको मौलिक संस्कृति मासिने चिन्ता स्थानीयको छ।

केही वर्ष विदेश बसेर फर्किएपछि भुजुङमा होमस्टे चलाइरहेका ओम गुरुङका अनुसार स्थानीयले चासो नदिँदा गाउँपालिकाले वडा कार्यालयको भवन कंक्रिटबाट बनाइदियो। ‘वडा कार्यालयले कस्तो भवन बनाउँदैछ भनेर हामीले चासो दिएनौँ। भवन बन्दै गर्दा हाम्रो मौलिक परम्पराभन्दा भिन्न र अग्लो भएपछि मात्र झस्कियौँ,’ उनले भने। 

संघीय संरचनामा जानुअघि भुजुङ छुट्टै गाविस थियो। राज्य पुनःसंरचनामा गएपछि यो गाउँ क्व्होलासोथार गाउँपालिका वडा नं. ४ भयो। तत्कालीन गाविस भवनलाई नै वडा कार्यालय बनाइएको थियो। तर, सो भवन पुरानो र जीर्ण थियो।

गाउँपालिकाले दिएको ६३ लाख लागतमा नयाँ भवन बनेको तत्कालीन वडाध्यक्ष खिमबहादुर गुरुङ बताउँछन्। नयाँ भवनको उद्घाटन २०७८ माघ २७ मा गाउँपालिकाका तत्कालीन अध्यक्ष प्रेमबहादुर घलेले गरेका थिए।

वडा कार्यालय भवन।

उक्त गाविस भवन गाउँको माझमा रहेको ठाँटीमा बनाइएको थियो। गाउँमा सार्वजनिक कार्यक्रम गर्न छुट्याइएको ठाउँ ठाँटी हो। पहिला त्यही ठाँटी मासेर गाविसका लागि भवन बनाइको थियो। उति बेला पनि सार्वजनिक जग्गा नहुँदा ठाँटी मासेर गाविस भवन बनाउनु परेको र यसपटक ठाँटीसमेत नहुँदा त्यही ठाउँमा पक्की भवन बनाइएको तत्कालीन वडाध्यक्ष खिमबहादुरले बताए। स्थानीय परम्पराअनुसारको भवन बनाउन स्रोत सामग्री पनि अभाव भएको उनको दाबी छ।

तर, वडा कार्यालय भवनभन्दा २०० मिटर पूर्व स्वास्थ्य चौकी र गुरुङ संग्रहालयका लागि दुई वटा परम्परागत भवन बनाइएका छन्। यी भवन बनाउन उनै निवर्तमान अध्यक्ष खिमबहादुरले जग्गा दिएका हुन्। दुवै भवन वडा कार्यालय बनिसकेपछि बनाइएको हो।

भुजुङ गाउँस्थित गुरुङ संग्रहालय।

नवनिर्वाचत वडाध्यक्ष नारायण गुरुङ वडा भवन पालिकास्तरीय योजनाबाट बनेकाले गाउँको मौलिक संरचनाअनुरुप नभएको दाबी गर्छन्। ‘पालिकाले नै योजना बनाएर स्रोत परिचालन गरेको हुनाले भवनको स्वरुप यस्तो हुन गयो,’ उनले भने, ‘जग्गा, स्थानीय स्रोत साधन र दक्ष जनशक्तिको अभाव हुँदा पनि भवन परम्परागत शैलीमा निर्माण हुन सकेन।’ उनी २०५४ सालमा निर्वाचित भएका तत्कालीन भुजुङ गाविस अध्यक्ष पनि हुन्।

गाउँलाई सहरीकरणको प्रभावबाट नजोगाए मौलिकता मासिने खतरा बढ्ने स्थानीय ओम गुरुङ बताउँछन्। मौलिकता मासिँदा होम स्टेदेखि अन्य संस्कृति पनि मासिँदै जाने उनको चिन्ता छ।

भुजुङ गाउँ एक हजार वर्षभन्दा पनि पुरानो भएको स्थानीयको अनुमान छ। पहिला यहाँका घरका छाना खरले छाइएका थिए। तर, बाक्लो बस्ती भएका कारण आगलागीको डर हुँदा ढुंगाले छाउन थालेको हुनसक्ने स्थानीय नारायण गुरुङको अनुमान छ।

यो बस्तीका घरमा ढुंगाको छाना करिब ५०० वर्षअघि नै लगाइएको नारायण बताउँछन्। त्यति बेला खर विस्थापित गरेर ढुंगाले छाइएको आफूले अघिल्लो पुस्ताबाट सुनेको उनको भनाइ छ। ‘गाउँमै ढुंगा खानी छ। त्यही खानीबाट हाम्रा बाबुबाजेले ढुंगा आफैंले बोकेर ल्याएर घर बनाएका हुन्। हामीले थाहा पाउँदा पनि कसैलाई ढुंगा चाहिए त्यही खानीबाट ल्याउने चलन थियो,’ उनले भने।

अहिले भने गाउँको ढुंगा खानी बन्द छ। ढुंगाका छाना चुहिन थालेका छन्। ढुंगा पाउँदा पनि छाउन जान्ने कामदार नपाउने हुँदा अहिले स्थानीयले टिनका छाना प्रयोग गर्न थालेको भुजुङ सामुदायिक होमस्टेका सचिव चित्रमान गुरुङ बताउँछन्। ‘ढुंगाका छाना अब चुहिन थाले। बजारमा टिन सजिलै पाइन्छ। सस्तो पनि छ। ढुंगाको काम गर्न गाह्रो छ। कामदार पाइँदैन। त्यसैले अब ढुंगाका छाना बिस्तारै हराउन थाले,’ उनले भने।

भुजुङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ। कुल क्षेत्रफल ७१.३४ वर्ग किमि रहेको गाउँमा घनाबस्ती छ। यहाँ गुरुङ समुदायको बाहुल्य छ।


सम्बन्धित सामग्री