Saturday, April 20, 2024

-->

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको ''दोख'', ''पानीफोटो'' र ''प्रकाश'' बक्स अफिसमा जम्न सकेन।

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

काठमाडौँ- यस वर्ष नेपाली फिल्ममा दर्शकले द्वन्द्वको कथालाई भिन्न तरिकाले हेर्न पाइरहेका छन्। निर्माता तथा निर्देशकले द्वन्द्वको कथालाई पर्दामा ल्याउन गरेको साहसको चर्चा पनि भयो।



विशेषत यस प्रकारको फिल्ममा लगानी सुरक्षित हुने सम्भावना अन्यको तुलनामा कम हुन्छ। नेपालमा व्यावसायिक सफलता पाउने फिल्म सम्झिने हो भने हाँस्यप्रधान विषयवस्तु बोकेको धेरै छन्। यसले दर्शक पूर्ण मनोरञ्जनात्मक फिल्म चाहन्छन् भन्ने प्रस्ट्याउँछ।



यस वर्षको सुरुआतदेखि नै माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको तीन फिल्म प्रदर्शनमा आइसकेको छ। 'दोख', 'पानीफोटो' र 'प्रकाश'। यी तीनै फिल्म बक्स अफिसमा जम्न सकेन।



नयाँ पुस्ताले उक्त विषयवस्तुलाई हलसम्म पुगेर हेर्ने जाँगर देखाएनन्। अर्कोतर्फ द्वन्द्वको समय पार गरेका पुस्ताले पनि त्यसलाई सम्झिन चाहेनन्। किनकि तीनै फिल्मको व्यापार न्यून छ।



कलात्मक फिल्म हेर्ने दर्शकसमेत नआउँदा यस किसिमको कथालाई ठूलो पर्दामा अब देख्न मुस्किल पर्नेछ। ‘कालोपोथी’ फिल्मले पाएको सफलताले फिल्मकर्मीलाई द्वन्द्वको परिवेशमा कथा भन्न उत्साहित गरेको हो।



गएको असार पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘दोख’ झण्डै सात वर्षको मिहिनतपश्चात् हलसम्म आइपुगेको थियो। भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण प्रोडक्शनमा बढी समय खर्चिएको भए तापनि दर्शकले रुचाएनन्।



दर्शकको साथ नपाउँदा सात दिन हलमा रहन मुस्किल पर्‍यो। गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको ‘दोख’लाई अनुप बरालले निर्देशन गरेका छन्। द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाइएको छ।



निर्माणमा लामो समय लागेको भएर पनि दर्शक फिल्मसँग जोडिन सकेनन्। हलसम्म आइपुगेका केहीले यसलाई राम्रो भने तापनि व्यावसायिक रूपमा घाटा भयो। यसले हलमा प्रदर्शन भएवापत पाउने सेयर निकै न्यून छ।



निर्देशक बराल यस किसिमको फिल्ममा दृश्य भाषा, कथ्य शैली रेगुलरझैँ नहुने बताए। तर, उनी असफलता भने स्वीकार्नु हुन्छ। उनकै अभिनय रहेको ‘पानीफोटो’ पनि असफल रह्यो।



द्वन्द्वकालमा हराएको छोराको खोजीमा रहेको बुवाआमाको कथा फिल्ममा देखाइएको छ। यसलाई अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन्।



कोरोना भाइरसको महामारीले गर्दा भएको लकडाउनले यसलाई केही असर गर्‍यो। बुढेसकालको सहारा बेपत्ता हुँदा परिवारले भोग्ने भोगाइलाई यसमा प्रस्तुत गरिएको छ। ‘पानीफोटो’ दशक अगाडि गुरुकूलमा मञ्चन भएको सोही नामको नाटककै अनुरुपण गरिएको फिल्म हो।



यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका लामिछानेलाई पहिलो प्रयासमै असफलता प्राप्त भयो। उनले आफ्नो भोगाइबाट यसको कथा तयार गरेका थिए।



‘‘मेरो मामा पनि बेपत्ता हुनुभएको अझै फर्किनुभएको छैन । उहाँको पर्खाइमा मेरो हजुरआमा टोलाइरहनु हुन्थ्यो। यस्तै अन्य कथा पनि सुनेपछि मञ्चन गरेको नाटकलाई फिल्ममार्फत धेरै दर्शकसम्म पुर्‍याउन चाहन्थेँ । यद्यपि सफलता प्राप्त भएन”, निर्देशक लामिछानेले भने। उनी आउँदो समयमा लेखन तथा निर्माण शैलीमै आफूलाई परिवर्तनसमेत गर्ने सोचमा छन्।



माओवादीको तर्फबाट युद्ध लडेर सहिद भएको व्यक्तिका परिवारको कथा ‘प्रकाश’ मा देखाइएको छ। वर्गीय विभेद, भ्रष्टाचार, बेथिति अन्त्य गर्न युद्ध लड्दा सहिद रहेका कमरेडको छोरा प्रकाशले भोगिरहेको विभेद, शिक्षक बन्न गरेको संघर्षको कथा फिल्ममा छ। अघिल्लो दुई फिल्मको तुलनामा यसले व्यावसायिक रूपमा सुखद् व्यापार गरे तापनि असफल नै रह्यो।



स्टारडमको छायाँलाई हटाएर कलाकारिता देखाउन प्रयत्न गरेका प्रदीप खड्का पनि सफल हुन सकेनन्। उनलाई हेर्न हलसम्म आइपुग्ने दर्शक कम भए। उल्लेखित तीन फिल्मको असफलताले दर्शकले द्वन्द्वको कथालाई हेर्न नचाहेको प्रस्ट्याएको छ।



‘प्रकाश’ ले अन्य दुईभन्दा तुलनात्मक रूपमा हलसँगै डिजिटल राइट्स, विदेश राइट्सबाट लगानीको केही प्रतिशत फिर्ता ल्याउन सफल भए तापनि 'पानीफोटो' र 'दोख'को अवस्था नाजुक छ।



तीनै फिल्मको असफलतालाई लेखक प्रदीप भारद्वाज दर्शकको टेस्ट बदलिएको बताउँछन्। “दर्शक अब पुनः त्यहीँ समयलाई हेर्न चाहनुहुन्न, त्यसैले हलसम्म आउनु भएन। हामीले अब मनोरञ्जनात्मक फिल्म निर्माण गर्नुपर्छ”, उनले भने।



द्वन्द्वको कथा पर्दामा असफल भए तापनि आउँदो समयमा यी फिल्मले बितेको कालखण्डलाई संग्रहित गरेर नयाँ पुस्ताका लागि दस्तावेजको काम गर्ने विश्वास निर्माता तथा निर्देशकमा छ।



सम्बन्धित सामग्री