निर्देशक लेखक: टाइलर पेरी
अभिनय: टाराजि पी हेन्सन, सेरि सेफर्ड, टियाना टेलर
विधा: मनोवैज्ञानिक थ्रिलर/ड्रामा
रिलिज: ७ जुन २०२५
सिनेमा स्ट्र आर्थिक अभावमा जीवन बाँच्न अभिसप्त एकल आमाको हृदय विदारक कथा हो। सिनेमाको पहिलो दृश्य घरको असामान्य कम्पनमा सुतिरहेका आमाछोरीबाट शुरू हुन्छ। ५ वर्षको छोरी बोकेर अस्पतालबाट निस्किँदै गरेको आमाको ड्रिम सिक्वेन्समा सकिन्छ। यसबाट नै दर्शकले अनुमान लगाउन सक्छन् कि सिनेमाको सामान्य लाग्ने दृश्य-परिदृश्यहरू असामान्य परिस्थितिको कारक हुन्। प्रमुख पात्रको दैनिकी शुरू हुन्छ छोरीको स्कुल जाने कुराबाट। तर स्कुलमा खानाको ४० डलर तिर्न नसकेर शिक्षकले बच्चालाई गरेको अपमानले आमालाई निरीह बनाइदिन्छ।
घरमा तातो पानी छैन र छोरीलाई नुहाउन मन लाग्दैन। उसलाई आमाले नुहाइदिएको पनि मन पर्दैन। आफै नुहाउने हुँदा चिप्लिएर लडेपछि चोट लाग्छ, जसलाई स्कुलले लापरवाह आमाको कारण चोट लागेको निष्कर्ष निकाल्छ। घरबाट बाहिर निस्कने बित्तिकै सडकमा बसेको माग्नेलाई एक डलर दिएको देखेर घरबेटीले भाडा तिर्न पैसा नहुने तर माग्नेलाई दिन पैसा छ भनी गरेको कटाक्ष शक्तिशाली संवादको रूपमा प्रस्तुत गरिएको छ।
छोरीको स्कुलबाट फोन आउँछ। काम गर्ने ठाउँबाट बिदा लिने हो भने जागिर छोड्न भनिन्छ। हतारमा कुदाउँदा जेनायाको कार दुर्घटनामा पर्छ। प्रहरीले चिट काटी दिन्छ। उनी पैसा लिन बैंकमा जाँदा छोरीको खेलौना र उनको हातमा भएको बन्दुक देखेर प्रहरीले बैङ्कलाई घेर्छ र एकपछि अर्को समस्या थपिँदै जान्छ। छोरीलाई रेखदेख गर्न असक्षम आमा ठानेर स्कुलले छोरीलाई 'फोस्टर केयर' (संरक्षण गृह) मा पठाउने निर्णय गर्छ। जब सिनेमाका पत्रहरू पल्टिन थाल्छन्, दर्शकलाई एकदमै सकस हुने आश्चर्यजनक परिस्थितिमा पुर्याइ सिनेमा सकिन्छ। पूरा कथाको लागी त सिनेमै हेर्नु पर्ने हुन्छ।
चरित्र अभिनय
सिनेमाको सबैभन्दा सशक्त पाटो यसको चरित्र निर्माण र अभिनय हो। आमा पात्र जेनायाको चरित्रमा टाराजि पी. हेन्सनले सम्भवतः आफ्नो करियरकै उम्दा अभिनय गरेकी छन्। उनको भावनात्मक अभिनयको गुरुत्व, प्रमाणिकता र चुम्बकीय प्रभाव सिनेमा भरि नै कायम छ। उनको मानसिक अस्तव्यस्तता शक्तिशाली छ र दर्शक सहज रूपमा उनको परिस्थितिमा समाहित भई सहभाव महसुस गर्न सक्छन्। उनको अभिनयले सिनेमालाई यथार्थको धेरै नजिक पुर्याएको महसुस हुन्छ। उनको आवाजमा भएको हतासा, आँखामा देखिने स्तब्धता र प्रणालीप्रतिको आक्रोश अद्भुत लाग्छ। अभिनयको कसीमा हेन्सनको यो सिनेमा मैले हेरेका सिनेमामध्ये उत्कृष्ट हो।
बैंक मेनेजरको पात्रमा सेरी सेफर्डले प्रभावशाली अभिनय गरेकी छन्। उनले जेनायाको पात्रलाई चमक प्रदान गरेकी छन्। प्रेम र सहानुभूति , स्थायित्व र सहभाव यस पात्रका विशेषता हुन्। बैङ्कभित्र बन्धक भएकी पात्र कसरी हतियारधारी बन्धक बनाउनेसँग मित्रता र समानुभूति महसुस गर्न सक्छिन् भन्ने मनोविज्ञान प्रस्तुत गर्न निर्देशक सफल भएका छन्। प्रहरीको भूमिकामा टियाना टेलरले कथाको भावसँग मिल्ने गम्भीरता र न्यानोपन मिहिन रूपमा प्रदर्शन गरेकी छन्। वार्ताको क्रममा उनले कानुन र प्रमुख पात्रको परिस्थितिबीच सेतु निर्माण गरेकी छन्, जसले सिनेमाको सौन्दर्यलाई उचाइ दिएको छ। उनको नरम तर दृढ आत्मविश्वासले प्रणाली प्रतिको टुट्दो भरोसालाई बचाइदिएको छ।
मूल भाव र टिप्पणी
सिनेमा 'स्ट्र' खालि एउटा मनोवैज्ञानिक थ्रिलर मात्र होइन, यो त एउटा सन्देश हो। यसको शीर्षक आफैमा बिम्बात्मक छ। स्ट्र (परालको त्यान्द्रो), जसलाई प्रणालीगत अन्यायको अवशेषको रूपमा प्रस्तुत गरिएको छ। अमेरिकामा अश्वेत जातिमाथि गरिने अन्याय, अत्याचार र विभेदको प्रभावशाली चित्रण हो यो सिनेमा। अमेरिकी भनाइ र गराइबीचको फरक यो सिनेमाको मूल भाव हो। अश्वेतहरूको जीवन अमेरिकामा अझै सहज छैन, उनीहरू शोषण र अन्यायको जाँतोमा हरपल पिसिन बाध्य छन् भन्ने सत्य उद्घाटित गरेको छ सिनेमाले। यो परालको त्यान्द्रो अमेरिकी अन्याय र विभेदको अन्तिम अवशेष बनोस् भन्ने सन्देश दिएको छ सिनेमाले।
सिनेमाको अर्को विषयवस्तु अश्वेत समाजको मानसिक स्वास्थ्य चित्रण हो। अश्वेत महिला त्यो पनि पिता पहिचान नभएको बच्चाको आमा जेनायाको मानसिक विचलन अचानक सिर्जना भएको होइन। लामो शोषण, प्रणालीगत अन्याय, बेवास्ता गरिएको दुःख र व्यक्तिगत त्रासदीले मलजल गरेको घटना हो। एकल आमाका लागि अमेरिकाको कर्मचारीतन्त्र, स्वास्थ्य सुविधा र शासन प्रणाली विशेष गरी अश्वेतहरूप्रति कति अव्यवहारिक छ भनेर सिनेमामा देख्न सकिन्छ। महिलामाथि समाजले थोपरेको अदृश्य भार बोकेर कसैको साथ नपाउँदा बाँच्न कठिन छ, यही संघर्ष सिनेमाले देखाएको छ। पिडा र अस्वीकृति मानवीय स्वभाव हुन्। सिनेमाको अन्त्यमा प्रमुख पात्रको पिडा र अस्वीकृतिले विषम परिस्थितिको सिर्जना गरेको छ।
निर्देशकीय क्षमता
सिनेमाको अर्को सशक्त पक्ष निर्देशन हो। टाइलर पेरीले भरपुर निर्देशकीय कला प्रस्तुत गरेका छन्। पुरानो कथा वाचन शैलीलाई चुनौती दिएर अधिक धैर्यता र विश्वसनीय शैलीको प्रयोग गरिएको छ यसमा। सिनेमाको भाव र प्रस्तुतीकरण महत्त्वाकाङ्क्षी छ। लेखाइको गहनताले सिनेमालाई चुम्बकीय बनाइ दिएको छ। दृश्यहरूको गति स्थिर र कसिलो भएकाले कथाको समग्र उद्देश्यमा महत्त्वपूर्ण योगदान गरेको छ। स्मरण र स्मृतिहरू पर्दामा ल्याउँदा मायावी प्रभाव दिइएको छ। निर्देशक सिनेमाको प्रमुख पात्रको मनस्थितिमा यसरी घुलेका छन् कि आफ्नै प्रतिबिम्ब पात्रद्वारा ऐनामा देखाएजस्तो लाग्छ। सिनेमामा प्रयोग गरिएको ध्वनि शक्तिशाली छ। विशेष गरी बैंकको दृश्यमा दर्शकलाई भावनात्मक तनाव दिन र कथाको तीव्रता बढाउन उच्च फ्रिक्वेन्सीमा ध्वनि मिश्रण गरिएको छ।
सिनेमाको सम्भवतः सबैभन्दा शक्तिशाली पक्ष यसको कथामा आउने अप्रत्याशित मोड हो। लेखकीय र निर्देशकीय विशिष्टता हो यो। दर्शकलाई सुरुमा लाग्छ कि आफ्नो बिरामी बच्चालाई उपचार र खानाको यथेष्ट बन्दोबस्त गर्न आमाले गरेको सङ्घर्ष नै सिनेमाको कथा हो। तर अन्त्यमा रहस्योद्घाटन हुँदा बच्चा मरेको महिनौँ भइसकेको हुन्छ। पछिका सबै घटना मानसिक पिडाका अभिव्यक्ति हुन् भन्ने ज्ञानले दर्शकलाई आश्चर्यचकित बनाइदिन्छ। प्रमुख पात्रको मनस्थितिमा आफ्नो छोरी प्रतिको प्रेम र उसलाई बचाउने अभिलासा जीवित भएको कारण बैंकमा बन्दुक लिएर पसेको दृश्यको औचित्य पुष्टि गरेको छ।
समालोचना र निष्कर्ष
सिनेमाको कमजोर पक्ष संवाद सहज र प्राकृतिक नहुनु हो। पहिलो खण्डमा सिनेमाले आकर्षित गरे पनि बिस्तारै आकर्षण हराउँदै जान्छ तर अन्तिम खण्डले दर्शकलाई भरपुर आकर्षित गरेको छ। कथामा अप्रत्याशित मोड आउँदा जुन हिसाबले दर्शकको मनस्थितिलाई हल्लाइ दिनु पर्ने हो, त्यो प्रभाव महसुस हुँदैन। थोरै 'ब्युल्ड अप'को कमी महसुस हुन्छ। सामाजिक यथार्थको सहज कथानक अचानक मनोवैज्ञानिक त्रासमा परिणत हुँदाको सङ्क्रमण असहज र असन्तुलित लाग्छ।
निष्कर्षमा स्ट्र समग्र रूपमा पूर्ण सिनेमा नहोला, तर शक्तिशाली सिनेमा हो। यो सिनेमा मानवीय संवेदनाको उत्कृष्ट चित्रण हो। कतिले यसलाई हरेक आमाले हेर्नुपर्ने सिनेमा भनेका छन् भने कतिले 'द सिक्स्थ सेन्स' पछाडिको सशक्त कथामा अप्रत्याशित मोड भएको सिनेमा भनेका छन्। यो सिनेमा अहिले १.४ बिलियन भ्युजसहित नेटफ्लिक्सको १ नम्बर ट्रेन्डमा छ। यदि तपाइँ सामाजिक यथार्थमा आधारित मनोवैज्ञानिक थ्रिलर मन पराउनु हुन्छ भने यो तपाईँको लागी बनेको सिनेमा हो।
(लेखक सिनेमा अध्येता तथा नेपाल फिल्म क्याम्पसका प्रमुख हुन्।)