Sunday, July 13, 2025

-->

नुवाकोटका हराएका मूर्ति: किंवदन्ती र प्रतिकृतिमा सीमित

नुवाकोटमा चोरिएका मूर्तिका स्थानमा प्रतिकृति (रिप्लिका) प्रतिस्थापन भइसकेका छन्। तीन पुस्तादेखि चोरिँदै गएका त्यस्ता मूर्तिको अस्तित्व, अवशेष अब कथा–किंवदन्तीमा सीमित हुने चिन्ता पाका पुस्तालाई छ।

नुवाकोटका हराएका मूर्ति किंवदन्ती र प्रतिकृतिमा सीमित

काठमाडौँ– मनसुनसँगै उर्लिने त्रिशूली नदीको वेगसरह चलायमान छ त्रिशूली बजार। यो व्यस्त बजारका बस्तीपिच्छे भेटिन्छन्, नुवाकोटको ऐतिहासिक र सांस्कृतिक वैभवको झल्काउने मठमन्दिर। तर, यी मन्दिरका आफ्नै कथा, किंवदन्ती, स्थापनादेखि मूर्ति चोरीसम्मका दुःखद वृत्तान्त पनि छन्, जसले स्थानीयलाई भावुक बनाउँछ।

तिनैमध्येको एक हो, रातो मत्स्येन्द्रनाथको मन्दिर। काठमाडौँ उपत्यकामा मात्र होइन नुवाकोटको त्रिशूली बजारमा पनि रातो मत्स्येन्द्रनाथको उपस्थिति थियो भन्ने तथ्यले धेरैलाई आश्चर्यमा पार्न सक्छ। तर धर्मरत्न शाक्यको २०५३ चैतमा प्रकाशित ‘हाम्रो सम्पदा’ पुस्तकमा यस मन्दिरको स्थापनाबारे एउटा रोचक किंवदन्ती उल्लेख छ। शाक्यको लेखको अंशले यो मन्दिरको स्थापनाबारे प्रचलित किंवदन्ती र मन्दिरमा रहेको शिलालेखको आधारबारे व्याख्या गरेको छ।

“अघि तिब्बतका भोटेहरूले पाटन चोभारबाट मत्स्येन्द्रनाथको मूर्ति चोरेर तिब्बततिर लैजान यही बाटोबाट आउँदा भारी ज्यादै गह्रुँगो हुँदै आएकोले भारी बिसाइ फेरि उठाउन नसकी पछि उज्यालो भएर आएपछि सो मूर्ति त्यही छाडेर भागे। पछि त्यो मूर्ति त्यही स्थापना गरियो,” पुस्तकमा उल्लेख छ, “त्यस ठाउँमा पछि नुवाकोटका भाजुराम भारोका सुपुत्र लक्ष्मीनारायणका परिवारले दुईतले मन्दिर निर्माण गरी नेपाल संवत् ९४७ मा प्रतिस्थापन गरेको शिलालेख आजसम्म सोही मन्दिरमा विद्यमान छ। आजभोलि त्यो मछिन्द्रनाथको प्रतिमा चोरी भै गएको हुनाले ढलौटको अर्को मूर्ति राखी पूजा गरिराखिएको छ। चोरिएको मूर्ति आजसम्म फेला पार्न सकेको छैन।”

रातो मत्स्येन्द्रनाथ मन्दिर, त्रिशुली बजार।

यो किंवदन्तीले दुई तथ्य औँल्याउँछ। पहिलो, काठमाडौँ उपत्यका (बुंगमती–पाटन, नाला, काठमाडौँ–जनबहाः, चोभार)बाहेक नुवाकोटमा पनि रातो मत्स्येन्द्रनाथको उपस्थिति र अर्को, मूर्तिको चोरीका घटनाक्रम। तर इतिहास र संस्कृतिका अनुसन्धानकर्ताका लागि उपत्यकाबाहिर मत्स्येन्द्रनाथको उपस्थितिबारे पहिलोपटक जानकारी पाउनुजति आश्चर्यजनक लाग्छ, त्यति नै सामान्य लाग्न सक्छ सोही मूर्तिको चोरीका घटनाक्रम।

लिच्छवि हुँदै शाहकालीन समयसम्म पनि नुवाकोट तिब्बतसँगको व्यापारिक तथा दौत्य सम्बन्धसँगै बलियो अर्थतन्त्र भएको सीमा क्षेत्र थियो। मल्लकालीन समयको अन्त्यतिर त्रिशूलीको केही अंशमा बजार बस्न थालेको र शाहकालीन समयमा यो क्षेत्र पूर्ण रूपमा बजारका रूपमा विकसित भएको धनवज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको पुस्तक ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ (२०३२ चैत) मा उल्लेख छ।

इतिहासलाई पछ्याउँदा २००७ सालमा प्रजातन्त्र आएर नेपाल विदेशीका खुल्ला भएसँगै मूर्ति हराउने सिलसिला शुरू भएको हो। २०२० सालयता मूर्तिको चोरीको क्रमले अझ गति लियो। पञ्चायतकालमा चोरीपैठारी चरम उत्कर्ष पुगेको नुवाकोटस्थित भैरवी माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक तथा अनुसन्धानकर्ता रामहरि आचार्य बताउँछन्। इतिहासको विभिन्न कालखण्डमा काठमाडौँको ‘अधीनस्थ’ रहेको नुवाकोट पनि मूर्ति चोरीबाट अछुत रहन सकेन।

त्रिशूली बजारको मत्स्येन्द्रनाथको मूर्ति पञ्चायतकाल अर्थात् २०४० को दशकमा चोरी भयो। “ठ्याक्कै कुन सालमा मूर्ति चोरी भयो त्यो त थाहा भएन तर ४० सालकै वरिपरि मूर्ति चोरी भएको थियो,” स्थानीय केशवबहादुर श्रेष्ठ भन्छन्, “मूर्ति माटोले बनेको थियो।”

माटोबाट बनेका यस्ता मूर्तिलाई ‘टेराकोटा’ भनिन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको संस्कृति शाखाका पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार यो शैलीलाई नेपालीमा मृण्मय कला भनिन्छ। माटोका यस्ता कला लिच्छविकालदेखि नै पाइने भए तापनि मल्लकालमा बढी लोकप्रिय बनेका थिए।

“मत्स्येन्द्रनाथको आँखा नीलम(रत्न)को थियो,” स्थानीय श्रेष्ठ भन्छन्, “सायद, त्यही भएर पनि होला चोरको आँखा त्यही मूर्तिमा परेको।” हराएका मूर्तिबारे विस्तृत जानकारी नहुँदा लिच्छवि या मल्लकाल कुन कालखण्डमा बनेको हो यकिन हुन सकेको छैन। मूर्ति नभेटिएपछि मन्दिरमा ढलोटको प्रतिकृति राखेर पूजाआजा गर्ने गरिएको छ। मन्दिरको मूलद्वारमा रहेको सानो काठको मूर्तिसमेत हराएको अर्का स्थानीय केशकुमार जोशी बताउँछन्।

चोरी भएको गणेशको मूर्ति र रिप्लिका। तस्वीर: सुजित श्रेष्ठ

मत्स्येन्द्रनाथ मन्दिरमा मात्र होइन, त्रिशूली बजारकाका अन्य मन्दिरहरूका मूर्ति पनि चोरको नजरबाट बच्न सकेनन्। परिसरबाट दक्षिणतर्फ ५०० मिटरभन्दा पनि कम दूरीमा रहेको गणेश मन्दिरमा गणेशको ‘ख्वपाः’ (मुकुट) २०५६ सालमा चोरी भयो। स्थानीय सुजित श्रेष्ठका अनुसार सो गणेश मन्दिरमा फागु (होली) पर्वका लागि हप्ता दिनअघि उठाइने ‘चिर स्वायगुः’ (चिर उठाउने विधि) गरी गणेशको जात्रा मनाइन्थ्यो।

हराएको ख्वपाः नभेटिएपछि स्थानीयले दुई वर्षपछि २०५८ सालमा प्रतिकृति प्रतिस्थापन गरी जात्रा मनाउने तथा दैनिक पूजाआजालाई निरन्तरता दिँदै आएका छन्। ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’मा उल्लेख भएअनुसार, सो मूर्ति सुनको मोल्म्बा लगाएको धातुले शिरोभाग बनेको थियो।

गणेश मन्दिरबाट केही माथि उक्लिँदा कृष्ण मन्दिर आउँछ। मन्दिरअगाडि रहेको शिलालेखमा गरुडको प्रतिमा राखिएको छ। यो प्रतिकृति ३५–४० वर्षअघि चोरी भएको मूल गरुडसँग मिल्दोजुल्दो छ। तर, ८६ वर्षीय गुभाजु (पुरोहित) बागवज्र बज्राचार्यका अनुसार, पहिलाको मूर्तिमा सुनको टीका थियो। हालको मूर्तिमा राखिएको छैन।

त्यस्तै, करिब ६५ वर्षअघि सोही बस्तीबीचमा रहेको नारायण मन्दिरको ढलौटबाट बनेको नारायण मूर्ति पनि चोरिएको थियो। त्यस स्थानमा पनि हाल नयाँ प्रतिमा राखेर पूजा गर्ने गरिएको छ।

नारायण मन्दिरबाट चोरी भएको मूर्तिको रिप्लिका।

जुन हराए अनि भेटिए
२०७१ साउन ३१ गतेको अँध्यारो रात। त्यसबेला तीन दिनसम्म नुवाकोट बिजुलीविहीन हुने जानकारी आएको थियो। “त्यही समय भैरवी मन्दिरको मुख्य मूर्ति भैरवीको ख्वपाः (मुकुट) चोरी गर्ने मौका पाए, सायद,” नुवाकोटका धामी हरिमान सिंह डंगोल त्यो घटना सम्झन्छन्। मन्दिरको भोटे ताल्चासमेत फुटाएर मूर्तिसहित दानपेटिका, करुवा, चाँदीका सिक्कासमेत चोरी भएको थियो। उनले पनि बिहानै मन्दिरमा पूजा गर्न आएका स्थानीय रामबहादुर गुरुङबाट घटनाबारे थाहा पाएका थिए।

धामी डंगोलका छोरा सुरेन्द्रमानका अनुसार, मन्दिरको मुख्य र सबैभन्दा पुरानो मूर्तिलाई २०५८ सालमै फेरिएको थियो। “शुरूआती समयदेखि माझ्दामाझ्दै पातलो र छियाछिया पर्न थालेपछि मूर्ति परिवर्तन गरिएको थियो,” उनी भन्छन्, “०५८ सालअघि राजा वीरेन्द्र आउँदा उनकै अनुमतिमा मूर्ति परिवर्तन गरिएको थियो।”

चोरी भएको ख्वपाः पनि २०५८ सालमै परिवर्तन गरिएको थियो। मूर्ति चोरी भएलगत्तै प्रहरी कार्यालयमा उजुरी दिइयो। यस्ता मुद्दामा प्रहरी अनुसन्धान विरलै सफल हुने भए पनि भैरवीको मूर्ति भने दुई महिनाभित्रै भेटियो। चोरीमा संलग्न आठ जना आरोपितलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयले कात्तिक १४ गते सार्वजनिक पनि गरेको थियो।

शिक्षक तथा अनुसन्धानकर्ता रामहरि आचार्य भन्छन्, “मूर्ति कहाँ र कसरी भेटियो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएन, तर मूर्ति भेटिनु नै सबैभन्दा सुखद पक्ष हो।” त्यस घटनायता मन्दिर परिसरमा सुरक्षा व्यवस्थामा पनि अझ सतर्कता अपनाइएको छ र मूर्तिको फोटो खिच्नसमेत मनाही गरिएको छ।

चोरीपश्चात् भेटिएको भैरवीको मूर्ति । तस्वीर : themadeshnews.com

बेलकोट नगरपालिकाको मदानपुरमा रहेको मुलछिन्द्र बुद्धको मूर्ति दुई पटकसम्म चोर्ने प्रयास भयो। २०४८ सालको आसपासमा भएको पहिलो प्रयासमा पूरै मूर्ति चोर्न नसक्दा शिर मात्र चोरी भयो। बाँकी भाग चोरीका लागि पटक–पटक प्रयास भए पनि सफल भएन।

मूर्ति हराएको दुई वर्षपछि एकाएक बुद्धको शिर पुनः सोही मन्दिरमा राखियो। स्थानीय विश्वासअनुसार, देवताको शिर चोर्दा चोरलाई अनेक अलौकिक दुःख (देवताले दिएको दुःख) आइपरेपछि उनीहरूले मूर्ति फिर्ता राखेका थिए।

ती गुमनाम मूर्तिहरू...
नुवाकोटस्थित भैरमकोट ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण कोटमा पर्छ। कारण, पृथ्वीनारायण शाहले नुवाकोटमाथि आक्रमणका लागि रणनीतिक योजना बनाएको कोटको रूपमा यसलाई मानिन्छ। सोही कोटमा २०३१ साल अघिसम्म ढुंगाबाट निर्मित बाघभैरवको मूर्ति रहेको स्थानीयले बताउँछन्। कोही सो मूर्तिबाट बाघ आफै निस्कने त कोही सो स्थानमा बाघको वासस्थान भएको कथाकहानी जोड्ने गर्छन्।

कुनै समय यो मूर्तिको पुस्तैनी पुजारीसमेत रहेका स्थानीय तोयनाथ गौतमका अनुसार, २०३१ जेठ १५ गते हराएको सो मूर्ति त्रिकोणात्मक ‘डाइमेन्सन’बाट हेर्न मिल्ने भव्य थियो। सो स्थानमा बाघ बसिरहने भएका कारण बाघभैरव कोट नामकरण गरिएको उनको भनाइ छ। “त्यो मूर्ति कहाँ र कुन अवस्थामा छ, कसैलाई थाहा छैन,” उनले भने।

मुछलिन्द बुद्ध।

नुवाकोटले बेहोरेको अर्को ठूलो क्षति भनेको दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मूर्ति चोरी हुनु हो। यो मूर्ति २०३० साउनमा चोरी भएको थियो। साउनको महिना स्थानीय बासिन्दा धान रोप्न व्यस्त रहेका बेला मूर्ति चोरी भएको धामी हरिमान सिंह डंगोल बताउँछन्।

चराको बनोटमा रहेको भवानीको सो मूर्तिमा शिरमा पञ्चबुद्धका विभिन्न रत्नजडित मुकुट भएको पनि उनले बताए। मूर्ति पूरै लैजान नसकेर चोरहरूले आधी भाग मात्रै काटेर लगेको र बाँकी रहेको खुट्टालाई नै हालसम्म पुज्ने गरिएको उनले उकालोलाई बताए। “मूर्ति अमेरिका पुगेको छ भन्ने सुन्छु खै, कता होला है,” धामी डंगोल भन्छन्।

यो मूर्ति कति महत्त्वपूर्ण थियो भन्ने यसको सुरक्षा व्यवस्थाबाटै थाहा हुन्छ। मूर्तिलाई मन्दिरका पुजारी, धामी र राजाबाहेक अन्यले हेर्न नमिल्ने व्यवस्था छ। मूर्ति हराएको ६ महिनापछि जाडो याममा राजा वीरेन्द्र नुवाकोट भ्रमणमा आउँदा चारमध्ये एक पुजारीले डराउँदै यो खबर सुनाएको शिक्षक आचार्य सम्झिन्छन्।

यही दरबार परिसरमा रहेको लिच्छविकालीन नारायण मन्दिरको व्यथा पनि उस्तै छ। साततले दरबार परिसरमा रहेको सो मन्दिरको मुख्य मूर्ति अर्थात् नारायणको मूर्ति धातुबाट निर्मित प्राचीन मूर्ति थियो। २०३२ सालमा ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ पुस्तक प्रकाशित हुनुअघि नै सो मूर्ति हराइसकेको थियो। त्यसपछि २०४६ सालमा प्रतिस्थापन गरेको नयाँ मूर्ति पनि हरायो। हाल तेस्रो पटक राखिएको मूर्तिमा पूजाआजा भइरहेको छ। ती मूर्ति कहाँ, कता, कस्तो अवस्थामा छन् अझै पत्तो लाग्न सकेको छैन।

नारायण मन्दिर, तलेजु भवानी मन्दिर, साततले दरबार परिसर।

किन महत्त्वपूर्ण छ नुवाकोट?
पुरातत्त्व अधिकृत बाँस्कोटाका अनुसार, लिच्छवि र मल्लकालीन कलाकृतिको केन्द्र उपत्यका भए पनि नुवाकोट धार्मिक तथा लौकिक दुवै कलाका लागि महत्त्वपूर्ण स्थल हो। “धार्मिक कलामा पूजा गर्ने उद्देश्यले बनाएका मूर्तिकलामा हिन्दु, वैष्णव, बौद्ध, शाक्त कला पर्छन्,” पुरातत्त्व अधिकृत बाँस्कोटा भन्छन्, “लौकिक कलामा धर्मनिरपेक्ष कला पर्छन्।”

काठमाडौँबाट उत्तरीपूर्व ६८ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र आधुनिक नेपालको इतिहास निर्धारण गर्ने प्रमुख स्थानका रूपमा उल्लेख गर्दा आपत्तिजनक नहुने बाँस्कोटा भनाइ छ।

पुरातत्त्व विभागकी प्रमुख पुरातत्त्व अधिकृत सरिता सुवेदी पनि आधुनिक इतिहासको बागडोर नै नुवाकोटबाट शुरू भएको मान्न सकिनेमा एकमत छिन्। शाहकालीन इतिहासको एउटा पाटो शुरूआत विन्दु नै नुवाकोट भएको उनी बताउँछिन्।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान यहीँबाट सञ्चालन गरेका थिए। त्यसबाहेक, मल्लकालीन समयमा पनि नुवाकोट कहिले कान्तिपुर त कहिले पाटनको अधीनस्थ राज्यका रूपमा रहेको थियो। त्यसैले उपत्यकाका कलाकृतिको प्रभाव नुवाकोटमा पनि पारेको छ। यसकारण नुवाकोट क्षेत्रको ऐतिहासिक कलावस्तुका लागि मूर्ति महत्त्वपूर्ण रहेको सुवेदी बताउँछिन्।

विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जित नुवाकोटबाट चोरी भएका मूर्तिको पहिचान र अभिलेखीकरण महत्त्वपूर्ण रहेको र यसमा स्थानीय तहको ध्यान केन्द्रित भएको बताउँछन्। “यथेष्ट प्रमाण जुटाउन सके मूर्ति फिर्ताका लागि पनि आशावादी हुन सकिन्छ,” उनले उकालोसँग भने।


सम्बन्धित सामग्री