Sunday, July 13, 2025

-->

राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व मनाइँदै

२०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व मनाइँदै
बाँकेको बैजनाथ गाउँपालिकामा कालानमक जातको धान रोप्दै स्थानीय किसान। तस्वीर: रासस

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर असार १५ मनाउँछन्।

२०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना धानखेतीमा व्यस्त हुन्छन्। यस दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। 

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ।

यस वर्ष असार मध्यसम्म देशभर १५.६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ।


सम्बन्धित सामग्री