Sunday, July 13, 2025

-->

फिल्म
जारः यो चलचित्र, त्यो कथा

निर्देशक/पटकथा लेखकको अन्तिम दृश्य भने इन्द्रबहादुर राईले कोरेकोभन्दा फरक र सापेक्षित लाग्यो। आफ्नो जार र स्वास्नीले फरक संसार बसाउन हिँडेको दृश्य देखाइदिने सोचको निम्ति निर्देशक फुर्बालाई सलाम छ।

जारः यो चलचित्र त्यो कथा
सिक्किमको गान्तोकमा जार हेर्नुअघि लेखक प्रवीण खालिङ (बायाँ) तथा कविहरू जीवनकुमार क्षेत्री र दावा योन्जन।

प्रिमियर सो भयो, ढंग पुगेन कि (पुऱ्याइएन?) त्यसमा गइनँ। पछि भनियो, ‘आउनुपर्थ्यो नि दा।’

मैले भनेँ, “होस्, पछि बक्स अफिसमा रेकर्ड गराएरै हेर्छु।”

सिक्किमको राजधानी गान्तोकको बज्र सिनेमा हलमा दिउँसो २:३० बजेको सो हेर्ने भनेर कविगणसित सल्लाह गरियो। छिट्टै पुगियो एक चक्कर घुमेर बक्स अफिसमा पुग्दा सस्तो टिकट सकिएर डायमन्ड मात्रै बाँकी रहेछ। हेर्नु नै छ, टिकट काट्यौँ। हलमा छिर्नुअघि बाहिर टाँसिएको पोस्टरअघि फोटो खिच्यौँ। (सिक्किमका धेरैले कविगण चिन्नु नै हुन्छ- जीवनकुमार क्षेत्री र दावा योन्जन।) 

हलमा पस्दा राम्रै उपस्थिति थियो, छुट्टीको दिन परेर पनि हुनसक्छ । मार्केटिङ राम्रै छ, त्यसैले तानेको पनि हुनसक्छ- अड्कल गरेँ। फिल्म शुरू भयो। चार वर्षदेखि सुन्दै आएको हल्ला। टिजर राम्रै लागेको। सिलगढी गोर्खे हाटमा निर्देशक फुर्बा लामासित पनि एकपल्ट भेटेर हल्का गफ भएको। आउँदै छ है भनेको, आज आइसकेको तीन दिनपछि सिल्भर स्क्रिनको अगाडि छु। 

शुरूदेखि सबै ध्यान लगाएर हेर्ने बानी छ। योभन्दा पहिले कश्मीर फाइल हेर्नु जाँदाकै जस्तो अनुभव रह्यो ‘जार’ हेर्दा पनि। मलाई टिकटसमेत काटेर हेर्न लाने भाइहरू सबै निदाएका थिए, म एक्लै हेरिरहेँ। भरै गाली गरेँ। इन्टरमिसनभन्दा अघि एउटा कवि निदाए, अर्काले म नि झुलेँ दा भने। अलिक स्लो लाग्यो, तर मैले खिप्ती गरेरै हेरेँ।

दोस्रो चरणमा भने तीनै जना सजीव थियौँ। बीच बीचमा केही टिप्पणीसितै हेरेर सक्यौँ। सक्दा एकखाले आनन्द र कता–कता चस्स केही थिएन के पुगेन कि जस्तो लाग्यो। मलाई मात्रै होला भन्ने सोचेँ, तर दुई जना कविले चाहिँ यत्तिको राम्रै बनाएछ भने। लोकल क्याफेमा दार्जिलिङ चियाको चुस्की र बाहिर परिरहेको अनन्त झरीमा गमिरहेँ, कुरा के पुगेन के पुगेन भइरह्यो। अहिले यो लेख्दै गर्दा पनि सोची नै रहेको छु, खासकुरा भेटाएको छैन।

मलाई सबैभन्दा पहिलो रिलमै छोएको यो फिल्मको सिनेमाटोग्राफीले हो। पक्का दामी गरिएको छ। शायद यताको हलको सिल्भरस्क्रिन अलिक कमसल पऱ्यो कि तिक्खर भने आएन। मेगापिक्सल कम्ती भएको एन्ड्रोइडले खिचेको फोटो फेसबुकमा टाँसेको जस्तो नि! (भन्नै पर्थ्यो लागेर लेखेँ ल।)  

फिल्मको निर्देशनमा बलियो पक्ष देखेको मैले कति कुराहरू नभनी दृश्य र अभिनयले बताउने प्रयास गरिएको छ। लिजेन्ड कथाकार ईन्द्रबहादुर राईको कथा धेरैपल्ट पढेँ। यो कथा पढेर आएको हुनाले हेर्दा हराएका पाटा पनि देखिन्दो रहेछ। अजम्बरी लाग्ने ठूलीको डायलग जिन्दगीबारे जस्ताको त्यस्तै राखिदिएको पात्रले बोलेको हेर्दा कथामा आफै जिउँदो उभिन सकेको अनुभव भयो, यसको निम्ति स्क्रिन प्ले र निर्देशनसमेत गरेका फुर्बा लामालाई धन्यवाद भन्छु। फिल्ममा पनि ठूली भन्छिन्, “हामी कसैको पनि आफूले चाहेको जस्तो जीवन हातमा हुँदैन रैछ। कताकताबाट कसले-कसले बिगारिदिँदो रैछ। अरूले घरिघरि बिगार्दै लगेको र बिगार्दा–बिगार्दा अन्तमा जे बन्छ जीवन त्यै नै रैछ। सग्लो चीजलाई अरूले चोइटाउँदै र फोर्दै लगेको रहलनै जीवन रैछ।”

छुटेको पक्ष भने अझै राम्रो गर्न सकिन्थ्यो लाग्दो रहेछ। त्यो गर्नेलाई धेरै हम्मे होला, तर कथा पढेका दर्शकलाई मलाई जस्तो लाग्यो कि नाइँ? नपढ्ने दर्शकको निम्ति खट्किने विषय नहोला सायद काम, अभिनय, सिनेमाटोग्राफीले तान्छ नै। तर पनि संवादमा भने लाग्छ कि केही नपुगे जस्तो! भिजुअल इफेक्ट्स (भीएफएक्स) को निक्कै बलियो प्रयोगले कृत्रिम कुरालाई पनि सजीव बोध गर्ने अनुभव दर्शकलाई दिन सकेको छ, यसमा पनि स्याबास भन्नै पर्छ जार टोलीलाई। तर संवादकै पक्षलाई मैले अलिक डिटेलमा हेरेछु शब्द नै एक ठाउँमा गलत भएको पाएँ, जसले अर्थै फरक पार्छ।

हर्षजितले कथामा भनेको छ, “होइन, त्यो दोष गर्नु मात्र बहादुर छ, प्राणको लागि काफर छ भने गोरखा रीतिले भनेकै छ, त्यो काफर मेरो टाँगमुनि छिरोस्, म मुखभरिको थुक थुकेर छाडिदिन्छु।” हर्षजितले फिल्ममा भनेको छ, “होइन, त्यो दोषी गर्नु मात्र बहादुर छ, प्राणको लागि काफर छ भने गोरखा रीतिले भनेकै छ, त्यो काफर मेरो टाँगमुनि छिरोस्, म मुखभरिको थुक थुकेर छाडिदिन्छु।” यहाँ फरक गर्छ दोष र दोषी शब्दको प्रयोगले। संवादहरू अरू पनि राखेको भए हुने थियो कलाकारले संवाद प्रस्तुत गरेर अभिनय देखाउन सक्ने थिए भन्ने लागिरह्यो। त्यो पनि एउटा के–के नपुगे जस्तोको छेउ हो कि जस्तो लाग्छ।

संगीत र गायनमा राम्रो काम भएको छ। लोक फ्लेबरवाला झुमा लिम्बूको म फ्यान नै हुँ। ठिक ठाउँमा गीतको प्रयोगले कला, निर्देशकको पक्ष र गायनको शक्तिलाई स्थापित गर्ने गरेको छ। तर कतिपय ठाउँमा भने अलिक छिटो गरिएको भए नि फरक पर्थेन जस्तो लाग्छ। कथाको टुक्राटुक्रालाई टुक्रामै राख्ने प्रयास र डिजिटल इलुस्ट्रेसनको प्रयोग नयाँ र फरक लागेकै हो।

कथाले मागेपछि त्यस्तै भयो भनौँ न। बलिया–बलिया कलाकारको पनि संक्षिप्त रोल देखापर्ने कथाको बुनाइ नै त्यस्तो हुँदा स्थापित कलाकारलाई अझै बलियो कला देखाउन लगाउनु सक्नुपर्थ्यो कि केही चटक जस्तै गरेर भए नि भन्ने पनि असन्तोक छोडिराखेका छन् निर्देशक फुर्बाले।

अन्ततिर आउँदा पात्रहरूको अभिनयको उत्कर्ष पनि शक्तिशाली भेटिन्छ। रुद्रमानलाई खेद्ने हर्षजितको क्रम भने अलिक लामो भयो जस्तो लाग्ने। लामो भएर पनि सिलसिलामा नभएर हो कि अमिल्दो लाग्ने लेकको जंगलबाट अचानक तराईको नदी बगरमा देखिनुले यस्तो नगर्दा फरक सोच्न सकिन्थ्यो कि भन्ने लागिरहेको छ।

बाघ भेटिनु र त्यसलाई खिच्ने भीएफएक्सको बलियो प्रयोगलाई नेपाली फिल्मको एउटा कोसेढुंगा मान्दा हुन्छ। यहाँ ठूलीले बाघमा रोपिएको खुकुरी निकालेर रुद्रमानको प्रतिरक्षामा उभिएको दृश्य र अभिनय भने साँच्चै शक्तिशाली छ। ठूलीलाई यसमा बधाई भन्नै पर्छ। कथाको अन्तमा रहेको हर्षजीतको संवाद यहाँ पनि राखेको भए दर्शकहरूले ताली लगाउने ठाउँ पाउँथे जस्तो लाग्यो। १० कदम अघि पछिबाट काटिने र काट्नेको सकसपूर्ण दृश्य र बाघसितको छोटो तर ढुकढुक पार्ने दृश्यबाट रिलिफ दिनलाई दामी हुन्थ्यो। घरमा आएर कथा पढेँ- हो हर्षजीतले  खुकुरी फ्याँकेर भन्नु पर्थ्यो नि, “यसको लागि तैले आफूलाई बाघको मुखमा समेत होमिदिइस् भने तँ मर्द होस्। यसलाई मैलेभन्दा ज्यादा तैने माया गरेको रहेछस् भने अब तँदेखि मलाई क्रोध छैन।”  के पुगेन पुगेन भनेको त यो पुगेन रहेछ मलाई लाग्यो।

निर्देशक/पटकथा लेखकको अन्तिम दृश्य भने इन्द्रबहादुर राईले कोरेकोभन्दा फरक र सापेक्षित लाग्यो। आफ्नो जार र स्वास्नीले फरक संसार बसाउन हिँडेको दृश्य देखाइदिने सोचको निम्ति निर्देशक फुर्बालाई सलाम छ। अरू कस्ट्युम भाषाबारे पनि केही धेरै खिप्ती गरेको भए राम्रो हुने थियो भन्ने लागेकै हो। तर सबै हुँदाहुँदै पनि सबैले एकपल्ट हेर्नुपर्ने फिल्म बनेको छ। नेपाली फिल्ममा आर्ट फिल्मको निम्ति गरेको प्रतीक्षा पाएको चर्चा र भविष्यमा निर्देशक फुर्बाले गर्नसक्ने सम्भावनाको नयाँ इतिहास भने लेखिने स्पष्ट छ।

हो, जारः हेरेकै एउटा फिल्म।


सम्बन्धित सामग्री