कथाकार इन्द्रबहादुर राईको 'जार भएकै एउटा कथा' थियो। कथाभित्र फिल्म पनि छँदै थियो। तर बनिन र बनाउन बाँकी थियो। बाँकी काम थाँती नराखी पूरा गराए, फुर्बाले 'जार भएकै एउटा कथा'को पटकथा फुराएर।
फुर्बा केके गरिरहन्छन्। ढिलो गरे पनि उनी दरिलो कर्म गर्छन्। यसअघि पनि फुर्बाले गुप्त प्रधानकृत 'मान्छे मान्छेकै बस्तीभित्र' कथाको डकुमेन्ट्री दर्शकको मनभित्र बस्ने खालको बनाएका थिए। फुर्बा कम बोल्छन्, काम धेर गर्छन्। यो कुरा फुर्बाले होइन, फुर्बाको फिल्मले भन्छ। फुर्बा जब फिल्ममा हुन्छन्, तब फिलमा हुन्छन्। यिनै फुर्बा (फुर्बा छिरिङ लामा) ले जार चलचित्रलाई निर्देशन गरेका छन्। जार इन्द्रबहादुर राई (इबरा) को मास्टरपिस कथा थियो/हो, तर अब फिल्म पनि भयो। इन्द्रबहादुर राईले १९६० मा 'बिपना कतिपय' कथासंग्रह प्रकाशित गरे। त्यही संग्रहमा संग्रहित सामाजिक यथार्थवादी कथा हो जार।
गन्ती पुर्याउन मात्र लेखिएको भनिएको यो कथा, संग्रहमा नसमेटिएको भए इबराबाट ठूलो भुलचुक हुने थियो। न त अहिले यो कथा चलचित्रमा नै चुनिने थियो। जे होस् इबराले जार कथा लेखेर संग्रहको गन्ती मात्र पुर्याएनन्। करिब दुई सय वर्ष अघिको समाजको परम्परा, संस्कार-संस्कृति देखाए, बुझाए। हामीलाई चस्काए, झस्काए।
हुन त अहिलेको नयाँ पुस्तालाई 'जार भनेको के हो?' भनेर सोध्यो भनी 'पानी भर्ने भुल्डुङ (जर्किन) हो' भन्न बेर छैन। किनकि जार प्रथाको जरा अहिले जमिनमा छैन। चेतनामा त यदाकदा चेपिएकै होला। जारको अर्थ परस्त्री हरण गर्ने पुरुष हो, जसको कृत्यलाई समाजमा अनैतिक मानिन्छ। जार त्यस समयको समाज-राजनीति हो। संस्कृति र धारणा हो। प्रेम अप्ठ्यारो हुँदैन, तर अप्ठ्यारो बनाइन्छ, बन्न जान्छ। नियम-नियतले। ढाँचा-ढर्राले। परम्परा र पाराले।
त्यही अप्ठ्यारो मायाको प्यारो कथा हो जार। जार फिल्म भन्दा पनि धेर फिलिङ हो। विगतमा ‘जारी खत तिर्ने', 'जारीकल बुझाउने' भन्ने चलन थियो। यो प्रथा सन् १८४६ देखि सन् १९५१ सम्म राणाकालीन चलनमा वैधानिक रूपमै रहेको बताइन्छ। हाल प्रचलनमा छैन। जार परम्परा र प्रथा हो। तर परम्परा र प्रथा समाजमा सधैँ नरहन सक्छन्। यद्यपि प्रेम भने सधैँ रहन्छ। जार प्रथा कुनै समयको प्रेम विद्रोह हो। निर्देशक फुर्बाले सिनेमामा दुई सय वर्ष अघिको केवल सिनमात्र सजाएका छैनन्, एउटा समाजकै स्थापना गरेका छन्। यति मेहेनेतसँग मिहिन काम गरेका छन्, जसमा दर्शक त्यही सिनभित्र होइन, समाजका सदस्य जस्तै भएर फिल्म हेर्छन्। फ्रेन्च फिल्म निर्देशक रोमन पोलान्स्कीले भनेकै छन्, 'सिनेमाले तपाईँलाई यो बिर्साउनु पर्छ कि तपाईँ त्यो थिएटरभित्र बस्नुभएको छ!'
पात्र र कथा
जंगबहादुरको मृत्यु भएको १३ वर्षपछि काली-पश्चिम गुल्मीदेखि एक घर 'साम्री घले गुरुङ' आमचोकमा बसाइँ सरेर आए। उनीहरू आमचोकमा नै आउनुको कारण चाहिँ उनीहरूका चिनजान पर्ने दर्लामी मगर थापा परिवार यतै आएर बसोबास गरेको उनीहरूले थाहा पाउनु थियो।
कथामा घले र जयवीर थापाको परिवारबीच भेटघाटबाट हुन्छ। दुवैको भेटघाटपछि साइनो-सम्बन्ध र सम्झनाको सिलसिला शुरू हुन्छ। जयवीर थापाका बाजेले अमरसिंहको नायकत्वमा कम्पनी सरकारसँग पश्चिममा लडेका थिए। शिवमान घलेले चाहिँ २८ वर्षको उमेरमा 'गुरुङ लो साप्रीमा' जंगबहादुरको अधीनमा भारत आइकन लडाइँमा जित प्राप्त गरी लखनउ लिएका थिए। शिवमानका लप्टन छोरा रुद्रमान (सौगात मल्ल) घर आएका बेला घर छेउकी जयवीरकी छोरी ठूली (गीताञ्जली थापा) सँगको प्रेममा पर्छ। ठूली पनि रुद्रमानलाई मन पराउँछे, तर डराउँछे। प्रेम डर पनि त हो। यता रुद्रमान भने जबर्जस्ती गर्छ। प्रेम कर पनि त हो।
ठूली र रुद्रमानको डर र करबीचको प्रेममा कहर तब आउँछ, जब मितेरी साइनो गाँसिन्छ। सम्बन्ध आज्ञाकारी मात्र होइन, बाध्यकारी पनि हुन्छ। ठूलीकी बहिनी र रुद्रमानकी बहिनी देवी र मैतीको मितेरी सम्बन्धले ठूली र रुद्रमानको प्रेमिल सम्बन्ध दाजु बहिनीमा परिणत हुन्छ। यस्तोमा ठूलीको हबिगत यस्तो हुन्छ, जसलाई देख्दा देवकोटाको कुनै कविता पङ्क्ति याद आउँछ-
''मुटुकी चरी छायाले डरी
भट्भटी भुर्भुरी
उडूँ कि बसूँ सरी छ जीवन
हाँगामा फर्फरी।''
ठूलीको बिहा भर्खरै फुलीतारा भिरेको सिपाही हर्षजित राणासित हुन्छ। पछि यो खबर सुनेपछि रुद्रमान पल्टनबाट गाउँ फर्किन्छ। फिल्म यीनै त्रिकोणात्मक प्रेम पीडाको मियोमा घुम्छ-फनफन्ती, बलजफती। समाजको रीतिथितिका कारण रुद्रमान र ठूलीको प्रेम समाजको विधानमा अमान्य हुन्छ। अमान्य ठहर गर्ने नियममा रुद्रमान हर्षजितको 'जार' ठहरिन्छ। तत्कालीन समयमा समाजको संरचनाले प्रेमको रचना गर्थ्यो। अहिले पनि प्रेमको एउटा निश्चित फ्रेम त यथावत् नै छ। फ्रेममा बस्ने प्रेम–के प्रेम?
उस बेला पूरै ऐन कानून बोकेर सारा समाज माया पिरतीको छलफलमा पलेटी कस्थ्यो, जहाँ हुकुमको हमला हुन्थ्यो। जार प्रथा मायामा हुने आरपारको यही रुढी-रुटिन हो। रुद्रमानलाई प्रेमले लखेट्यो कि हुकुमले? हर्षजीतले आफैले खेदायो कि आदेशले? मान्छे, मान्छे थोरै र समाज धेरै हो। मान्छे निर्णय थोरै र नियम धेरै हो। अझै धेर नियति हो। दार्शनिक रुसोले त भनेकै छन्, 'मानिस् स्वतन्त्र जन्मिएको हो, तर उ हरेक ठाउँमा अनेक जन्जिरहरूमा जकडिएको छ।'
सबल पक्ष
कथा बिम्बात्मक छ। फुर्बाले कथाको विम्बलाई राम्ररी बुझेर सिनेमामा प्रयोग गरेका छन्। जर्ज लुकासले भनेका छन्, 'इतिहास, साहित्य, मनोविज्ञान र विज्ञानको राम्रो ज्ञान हुनु वास्तवमा सक्षम फिल्म बनाउनका लागि धेरै महत्त्वपूर्ण छ।' जसको ज्ञान फुर्बामा पाइन्छ।
फिल्ममा अभिनय गरेका तीन जना कलाकार फिल्म नआईकन बिते। फुर्बा यति ढिला छन्, तर बोझिला छैनन्। उनले चार वर्ष लगाएर जुन जार बनाए, त्यो बारम्बार हेर्नुपर्ने खालको छ। चलचित्रमा पात्रहरूको बोली-बोलाइ भन्दा पनि चित्रणको चलमलाई बडो कलात्मक छ। सिनहरूमा फुर्बाको सिर्जनात्मकता र कलामा उनको कल्पनाशीलता कलकलाउँदो देखिएको छ। फुर्बाको निर्देशकीय फ्रेमिङ टेक पर्फेक्ट छ। हरेक सिक्वेन्स स्मरणीय छ। चित्र सज्जा सजीव छ। सम्पादन,ध्वनि, प्राविधिक पक्ष सशक्त छ। प्रकाश,परिवेश,रङ्ग समायोजनको सौन्दर्य सुस्वादु छ। वाह फुर्बा वाह! भन्ने खालको। फुर्बाले मौलिक फिल्म निर्माणको धार समातेको पाइन्छ। यति बेला यस प्रकारको सिनेमाको माग, मान र सम्मान पनि छ।
जार काट्न कुदेको हर्षजितले जार काट्दैन।बरु गाउँमा निर्दयी बनेर सुँगुरचाहिँ काटेको छ। जार मानिएको रुद्रमानले बाघ काट्छ। (स्मरणीय छ, वर्तमान नेपाली संरक्षण कानूनले बाघ काट्न अनुमति दिँदैन। अन्य धेरै मुलुकमा बाघ मार्न पाइँदैन।) बाघ काटेर उसले बाघलाई होइन, हर्षजितलाई जित्छ। आफ्ना कथामा इन्द्रबहादुर राईमा बाघ मोह देखिन्छ। 'बाघ' कथामा उनी भन्छन्, 'बाघको ब्युटी के मा छ? बाघ डराउँदैन। पछि सर्दैन। सँधै अघि नै बढ्छ। बाघ हुनुको सुन्दरता यही छ। बाघ डररहित हुन्छ।' यस्तो लाग्छ–उनको बाघ कथाको बाघ, जार कथाको जङ्गलपारी खोला किनारतिर भेटिएको छ। जुन बाघ, बाघजस्तै डरलाग्दो छ। फुर्बाले बाघलाई बाघ नै देखाएका छन्। उनले बाघको सिनका लागि लाइभ एनिमल सुटको साटो भीएफएक्समा ८ मिनटको सिनलाई झन्डै दुई करोडभन्दा धेरै खर्च गरिएको बताएका छन्, जुन सम्भवतः समग्र नेपाली फिल्मकै लागि नयाँ प्रयोग र मूल्य हो।
सौगात मल्ल पत्रकार सम्मेलनमा भन्दै थिए, "यो पैसा खाने बाघ हो।" फिल्म हेर्दा लाग्छ यो बाघले पैसा खाइदिएअनुसार दर्शकलाई जिरिङजिरिङ पनि बनाएको छ, बाघजस्तै नै देखिएर। नभए त नेपाली फिल्महरूमा बाघ बिरालोझैँ देखिनु सामान्य प्रविधिको असामान्य प्रवृत्ति मानिन्छ। प्रायः नेपाली फिल्मको प्राविधिक पक्ष अझै पनि कमजोर छ। तर जारमा यस्ता कमजोर पक्षहरूमध्ये एक प्राविधिक पक्षमा अधिक जोड दिइएको देखिन्छ। फिल्मको सिनेम्याटोग्राफी यति खास छ कि दर्शकमा ओहो र आहाको आभास भइरहन्छ। फिल्म एक पटक होइन, पटक पटक हेर्न मन लाग्ने छ। जुन पटक पटकको हेराइमा नयाँ नयाँ अध्यायहरूको पन्ना पर्दामा पल्टिनेछ। साहित्य कहाँ, सिनेमा कहाँ भएको छैन। सिनेमाले कथाको साख राखेको छ। कथाले पनि सिनेमामा चाख राखेको छ।
कमजोरी
धेरै कुरा नभनीकन भन्थे इन्द्रबहादुर राई आफ्ना कथाहरूमा। फिल्ममा पनि कथाका धेरै कुरा भनिएको छैन। यद्यपि भन्नुपर्थ्यो भन्ने खालको भाव दर्शकमा जाग्छ। फिल्ममा संवाद धेरै छुटेको र श्वास टुटेझैं हुन्छ। घरीघरी फिल्म हेर्दा कताकता यस्तै घिटीघिटी हुन्छ। कथा पहिल्यै पढेकाले त सिनमा सङ्केतले बुझ्लान्, तर नपढेकाले भेउ पाउँदैनन्। फिल्म हेर्न जाँदा सबैले कथा पढेर पनि त जाँदैनन्। पढेर जानै पर्छ भन्ने पनि छैन। नपढेर जानेहरूले सिनको साटफेरमा मात्र कथा क्रम बुझ्दैनन्।
राईको कथामा ठूलीले रुद्रमानको देब्रे पाता काटेकी छ। तर फुर्बाको फिल्ममा ठूलीले दाइने पाता काटेकी छ। पहिलो हाफमा फिल्म नहतपताईकन हिँड्छ। दोस्रो हाफमा भने फिल्ममा धेरै हडबडाइ, हतार गराई छ। दोस्रो हाफपछिका सिनहरू स्वाट्ट आएर झ्वाट्ट जान्छन्। अगाडिको जोडनी पछाडिमा छोडनी भएको छ। जसले गर्दा कथाको व्यथा दर्शकले अनुभव गर्नै पाउँदैनन्। केही दृश्यलाई लम्बेतान् देखाइएको छ भने केहीलाई ध्यान नै दिइएको छैन। टिकटिके किरा कुदेको सिन यति धेर बेरसम्म अल्झाइएको छ, दर्शकलाई अर्को दृश्य कहिले आउँछ झैं हुन्छ। कति ठाउँ त फुर्बाको फिचर डिरेक्सन डकुमेन्ट्री डिरेक्सनझैं देखिन्छ।
अभिनय
फिल्ममा रुद्रमान (सौगात मल्ल) र हर्षजित (अनुपविक्रम शाही) र ठूलीको अभिनयमा रहेकी गीताञ्जली थापा स्टेरिङ भूमिकामा छन्। सौगातको अभिनय फिल्ममा एउटा सौगात स्वरूप प्राप्त भएको छ। मल्लको अभिनय त सबैलाई मक्ख पार्ने नै हुन्छ, र छ । यस फिल्ममा पनि उनको भूमिका अब्बल छ। अनुप विक्रम शाहीले आफ्ना अघिल्ला फिल्ममा भन्दा यस फिल्ममा निक्कै बल गरेर अभिनयमा परिपक्वता पस्किएका छन्। राष्ट्रिय-अन्तर्राष्ट्रिय चलचित्रहरूमा आफ्नो अभिनय क्षमतामा यश कमाइसकेकी गीताञ्जली थापाको जारमा गरेको अभिनयले पनि यश र जस दुवै मिल्ने छ। तर कहीँकहीँ उनको डाइलग डेलीभरीको टोन अलिकति अस्पष्ट छ। सहायक पात्र/पात्राहरूको अभिनय चलचित्रमा ठिकठाकै छ।
भाषा
फिल्मको संवादमा इन्द्रबहादुर राईको कथामा प्रयुक्त भाषा नै प्रयोग गरिएको छ। यद्यपि कथाका पात्रहरूको जस्तो फिल्मका पात्रहरूको वचन-बोली छैन। पात्रहरूले पूर्वी नेपालको, त्यस समयको लोकभाषी भाका उस्तो पक्डन सकेका छैनन्। फिल्ममा देखाइएको भूगोलचाहिँ उस बेलाकै जस्तो लाग्छ, तर भाषा ( कोलिकिअल ल्याङ्ग्वेज) ठेटजस्तो सुनिँदैन।
विचार
विद्वान कथाकार इन्द्रबहादुर राईद्वारा रचित कथामा उसै पनि विचारको बगुन्द्रो नै हुन्छ। यो फिल्ममा विचारात्मक र भावनात्मक ओज दुवै कसिलो छ। फिल्मको रङरस कुनै शिद्धहस्त कलाकारको ब्रसले कोरेको सुन्दर पेन्टिङ जस्तो छ। जहाँ एकदेखि अनेक परतहरू शाब्दिक हरफ सरी सर्दै जान्छन्। फिल्ममा डार्क सेड्स शूरुदेखि अन्तसम्मै छ। जसले फिल्ममा दुःख, दर्द र पीडाको परिवेशलाई पर्यायका रूपमा प्रस्तुत गरेको छ।
हत्ते मात्र होइन, मरिहत्ते नै हो प्रेम, जसमा मरिन र मार्न सकिन्छ। यो सम्भवतः वैँशालु र उन्मादजन्य प्रेमको परिभाषा हो। (प्रेमको अर्को परिभाषाले कसैलाई नमार्दै सबैको संरक्षण गर्नु पनि भन्छ।) प्रेम आखिर जहिल्यै दौडमा हुन्छ। रुद्रमान र हर्षजित त्यही दौडमा छन्। मायाले बचाउँछ पनि भन्छन् भन्नेहरूले, तर ठुलीको मायामा परेका मायालुहरू एक अर्कालाई मार्न तत्पर हुन्छन्। माया नै यस्तो पनि हो, जसले मराउन लाइरहे पनि बचाउन पनि चाहिरहन्छ। रुद्रमानलाई खेद्दैखेद्दै गएको हर्षजितले अन्तमा उसलाई नमारेर अभयदान दिन्छ। जार हेरिरहँदा लाग्छ–प्रेम ज्याद्रो हुन्छ। प्रेम कमलो पनि हुन्छ।
फिल्ममा हर्षजितलाई सभाको हुलहुकमले भन्छ, "तैँले भागेरै बाँच्नुपर्छ।" यो संवाद सुनिरहँदा लाग्छ मान्छेले आफूलाई बसेर होइन, भागेरै अहिलेसम्म बचाउँदै आएको छ। त्यहाँबाट यहाँ। यहाँबाट त्यहाँ। भाग्दै भाग्दै एक दिन कहाँ पुग्नेछ मान्छे? मानिसलाई प्राकृतिक भन्दा पनि सामाजिक स्थिति परिस्थितिले लाचार बनाउँछ। जार तत्कालीन समाजको लोकवाद हो। जार प्रथा कायिक, वाचिक र मानसिक हिंसा हो। यो यही-त्यही समाज हो, जसले स्वाभाविक भन्दा धेर अस्वाभाविक स्थितिहरूको मापदण्डमा आफूलाई मानेर आएको छ, मारेर आएको छ र बाँचेर पनि गइरहेको छ। सारमा कथाको विचार सामाग्री हो, 'हामी कसैको पनि आफूले चाहेजस्तो जीवन हातमा हुँदैन रहेछ। कता कताबाट कसले–कसले बिगारिदिँदो रहेछ। अरूले घरीघरी बिगार्दै लगेको र बिगार्दा बिगार्दा अन्तमा जे बन्छ, जीवन त्यही नै रहेछ।'
निष्कर्ष
जार फिल्म हेरिरहँरहदा स्वादमात्रै आउँदैन, सिनेमा निर्माणमा नै नयाँ विश्वास जागेर आउँछ। विश्वको स्तरीय सिनेमामध्ये नेपाली चलचित्र पनि चाक्लो हुँदैछ। यसअघि पनि दर्जनौँ लघु चलचित्रमा काम गरिसकेका फुर्बालाई चलचित्र जगतमा यो फिल्मले परिचित मात्र होइन, स्थापित नै गराउने छ। कुनै कुनै फिल्म खिचिन्छ, मात्र टिपिँदैन। कुनै कुनै फिल्म टिपिन्छ, मात्र खिचिँदैन। तर यो फिल्म खिचिएको पनि छ र टिपिएको पनि छ। साहित्यको दुवै पर्दामा देखिएको छ। अहिलेको लेन्सले खिचेको उहिलेको सिक्वेन्स बडो सूक्ष्मतासित सुसज्जित छ। फिल्ममा लिटरेरी टेक्सटको सिनेम्याटिक टेस्ट भेटिन्छ।
समाज-सम्बन्धका कारण जारमा रुद्रमान र ठूलीले घर मात्र होइन, जङ्घार काटेका छन्। प्रेम यस्तो थोक हो, जहाँ कसैको प्रेम दुखान्त हुँदा कसैको सुखारम्भ हुन्छ।
साँचो प्रेम कस्तो हुन्छ? इन्द्रबहादुर राई भन्थे, 'साँचो प्रेम त अर्काको बुढीलाई भगाइ लाने हुन्छ।' राईको कथा जारमा रुद्रमानले ठुलीलाई भगाउँछ पनि। यता हर्षजितले भने ठुलीलाई गुमाउँछ। इबरा यति बेला हामीमाझ नै हुन्थे भने सोध्न मन थियो, "भगाएको माया,माया! गुमाएको माया चाहिँ?"
बाघको डरलाग्दो हिंस्रकपनसँगै रहरलाग्दो प्रेम छ जारमा। प्रेम रहरलाग्दो पनि हुन्छ र उत्तिकै डरलाग्दो पनि। आफैले पाता काटिदिएर ठूली रुद्रमानलाई सोध्छे, "घाउ कस्तो छ? ठूलीको यो प्रश्नले यस्तो लाग्छ–घाउ माया हो। माया घाउ हो।
जार 'घाउमाया' हो। नेपाली लवजमा भन्दा 'जारमा जुलुम छ।' हिन्दी हवासमा भन्दा, 'जार, जरा हटके छ!'