Sunday, July 13, 2025

-->

पुरातात्त्विक वस्तु फर्काउन अमेरिकाको उदार नीति, किन छ सहज?

चोरिएर विश्वका विभिन्न देशमा पुर्‍याइका मूर्ति र कलावस्तुमध्ये ६३ प्रतिशत अमेरिकाबाट फिर्ता आएका छन्। बाँकी बेलायत, चीन, भारतलगायत देशबाट फर्काइएका छन्। अमेरिकाबाटै किन फर्किन्छन् धेरै कलावस्तु?

पुरातात्त्विक वस्तु फर्काउन अमेरिकाको उदार नीति किन छ सहज

काठमाडौँ- पुरातत्त्व विभागको सभाकक्षमा चैत १७ गते अमेरिकाबाट फिर्ता ल्याइका २१ थान पुरातात्त्विक र कलात्मक वस्तु सार्वजनिक गरियो। यीमध्ये पाटनको गुइत चैत्यबाट हराएको १५–१६औँ शताब्दीको मुछिन्द्र बुद्धको मूर्ति पाटन संग्रहालयलाई र बाँकी राष्ट्रिय संग्रहालय छाउनीलाई हस्तान्तरण भयो। फिर्ता आएकामध्ये तीन वटा थांका चित्रकला ‘आर्ट इन्सिच्युट अफ सिकागो’बाट फिर्ता आएको थियो। हलको भित्तामा ‘गगनसिंह भारो र उनका पत्नीहरू’ थांका चित्रकला झुन्ड्याइएको थियो भने, बाँकी दुई थांका र १९ मूर्ति टेबलमा राखिएका थिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, ललितपुर महानगर प्रमुख, काठमाडौँ महानगर उपप्रमुखसहित पत्रकार र सरोकारवालाको भीड थियो। चोरिएर विदेश पुगेका सम्पदा स्वदेश फिर्ताको यो महत्त्वपूर्ण क्षणका तस्वीर सामाजिक सञ्जालमा फैलिएपछि भने विवाद निम्तियो।

टेबलमा राखिएका थांका चित्रकलामा नजिकै बसेका व्यक्तिहरूले छोएको र कुमले दबाएको दृश्य सार्वजनिक भएपछि सम्पदा संरक्षणविद्हरूले विभागप्रति असन्तुष्टि जनाउँदै अमूल्य सम्पदाको उचित हेरचाह नगरेको गुनासो गरे। विभागले गल्ती स्विकार्दै आगामी दिनमा सचेत रहने प्रतिबद्धता व्यक्त गरेको छ। यी वस्तुहरू लामो कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरी फर्काइएको थियो।

मूर्ति फिर्ताको इतिहास
नेपालमा पहिलोपटक २०४२ पुस २० मा भारतको कलकत्ताबाट १३ थान ढलोटका पुरातात्त्विक तथा कलात्मक वस्तु फिर्ता आएका थिए। त्यसपछि क्रमशः २०५३ सालमा बेलायतको लन्डनबाट १९ थान कलावस्तु र २०५६ सालमा धुलिखेलबाट हराएको उमामहेश्वरको मूर्ति जर्मनीबाट फिर्ता आए।

सोही वर्ष अमेरिकाबाट पहिलोपटक चार थान मूर्ति फिर्ता आए, जसमा फर्पिङ कमलपोखरीबाट हराएको सरस्वतीको शिर, पनौतीबाट चोरी भएको प्रस्तरले बनेको सूर्यको मूर्ति, पाटनस्थित भिन्छे बहालको प्रस्तरकै बुद्धको मूर्ति र जैसीदेवल काठमाडौँबाट हराएको गरुडासन विष्णुको मूर्ति थिए। यीमध्ये पाटन भिन्छे बहालको प्रस्तरको बुद्ध मूर्ति उत्पत्तिस्थलमा फर्किसकेको छ।

त्यसपछि १८ वर्षसम्म अमेरिकाबाट जम्मा आठ वटा मूर्ति आएका थिए। २०७४ असार २ गते अमेरिकन नागरिक लिरोय एलन एरनराइकको व्यक्तिगत संग्रहमा रहेका चार थान ढलौटका मूर्ति फिर्ता भए। अनि अमेरिकाबाट निरन्तर मूर्ति तथा अन्य कलात्मक वस्तु फिर्ता आउने थाले। यस क्रममा २०७६ वैशाख २ गते फिर्ता भएको पट्को टोलबाट हराएको लक्ष्मीनारायणको मूर्ति यस्ता कलात्मक वस्तुको फिर्ता अभियानमा ‘टर्निङ पोइन्ट’ बन्यो।

यसअघि मूर्ति फिर्ता भएर संग्रहालयमा थन्किरहेकोमा पट्को टोलबाट हराएको यो मूर्ति छोटो समयमै उत्पत्तिस्थलमा पुनर्स्थापना भयो। चोरी भएर अमेरिका पुगेका मूर्ति समुदायमा पुनर्स्थापनालाई उत्सवका रूपमा मनाइयो। लक्ष्मीनारायणको मूर्ति पुनर्स्थापना कार्यक्रम फिर्ता भएका अन्य मूर्तिका लागि पनि उदाहरण बन्यो र मूर्ति फिर्ताको अभियानसँगै उत्पत्तिस्थलमा पुनर्स्थापनाको लहर पनि चल्यो। पछिल्लो पुनर्स्थापना नक्सालको श्री शंकर कृति महाविहारस्थित नागराजको मूर्ति थियो। त्यस्तै, इतुमबहाल महाविहारको सालभञ्जिका टुडाल, पाटनस्थित टंगल हिटीको उमामहेश्वर गरी १० थान मूर्ति तथा कलावस्तु उत्पत्तिस्थलमा पुनर्स्थापना भइसकेका छन्।

कलात्मक वस्तुको फिर्तीमा अमेरिका नै अघि रह्यो। २०७९ भदौ ७ गते बेलायतबाट फिर्ता भएका दुई थान, २०८० जेठ १६ मा चीनबाट एक थान, २०८० साउन १ गते अस्ट्रेलियाबाट चार थान कलात्मक वस्तु फिर्ता भएका छन्। २०८१ चैत १७ गते  अमेरिकाबाट मात्रै २१ थान कलात्मक वस्तु फिर्ता आए।

सूचनाको हकमार्फत पुरातत्त्व विभागले उकालोलाई प्रदान गरेको तथ्यांकअनुसार हालसम्म १९८ थान कलावस्तुमा १२५ थान अमेरिकाबाट मात्रै फिर्ता आएका छन्। जुन फिर्ता भएको कलावस्तुको ६३ प्रतिशत हो। बाँकी ७५ थान बेलायत, तिब्बत, भारत, अस्ट्रेलियालगायतका देशबाट आएका छन्।

अमेरिकाको उदार नीति!
अरू देशबाट भन्दा अमेरिकाबाट धेरै मूर्ति फिर्ता आइरहेका छन्, कसरी त?  जस्तो, फ्रान्सको गिम्मे संग्रहालयमा उमामहेश्वरको मूर्ति छ। सो मूर्ति फिर्ता ल्याउन पहल भइरहेको छ। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन आफै त्यहाँ पुगेर पहल गरेको विभिन्न कार्यक्रममा सुनाउने गर्छन्।

महर्जनका अनुसार मूर्ति फिर्ता ल्याउन फ्रान्सको संविधानले पार्ने असहजता प्रमुख कारण हो। जुनै पनि देशको मूर्ति अथवा अन्य पुरातात्त्विक तथा कलावस्तु फ्रान्समा पुगेपछि त्यो फ्रान्सकै हुने प्रावधान छ।

कुनै पनि मूर्ति अथवा कलावस्तु फिर्ताका लागि फ्रान्सको संसद्ले दुईतिहाइ बहुमतबाट प्रस्ताव पारित गरेपछि मात्र प्रक्रिया अघि बढ्ने प्रमुख महर्जनले चैत १७ को कार्यक्रममा पनि दोहोर्‍याएका थिए। विभिन्न देशको कानून र नीतिले यस्ता कलावस्तुको फिर्तीमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ थियो।

कलावस्तु फिर्तीमा अमेरिकी नीति सहज रहेको पुरातत्त्व विभागकी पुरातत्त्व अधिकृत सरिता सुवेदी बताउँछिन्। संग्रहालय तथा संकलनकर्ताको स्वेच्छाबाहेक प्रशासनिक प्रक्रियामा हालसम्म बाधा महसुस नभएको उनी बताउँछिन्।

सन् १९७० मा भएको सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात र स्वामित्व हस्तान्तरण निषेध तथा रोकथामसम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने पक्षराष्ट्रबीच भएको सहमतिलाई अमेरिकाले पालना गरिरहेको कारण त्यहाँबाट धेरै पुरातात्त्विक तथा कलावस्तु स्वदेश फिर्ता भइरहेको उनको भनाइ छ। सो महासन्धिमा कुनै पनि देशमा अन्य कुनै देशका पुरातात्त्विक तथा कलात्मक महत्त्वका वस्तु कुनै पनि तरिकाले पुगेको भए ‘ल्यान्ड अफ ओरिज’ अर्थात् उत्पत्तिस्थलमा तत्काल फिर्ता गराउनुपर्ने व्यवस्था छ।

अमेरिकाका प्रतिष्ठित संग्रहालयमा यस्ता कलावस्तु राख्नका लागि कानूनी प्रावधान नभएकाले विभिन्न तरिकाबाट चोरी भएर पुगेका कलावस्तु स्वतः फिर्ता आइरहेको उनको भनाइ छ। “यसमा ढिलो चाँडो मात्र हो, तर फिर्ता आइ नै रहेका छन्,” उनी भन्छिन्, “जुन गतिमा अहिले अमेरिकाबाट फिर्ता आइरहेको छ, यसले उसले सन्धि पालना गरिरहेको देखाउँछ।”

पाटन संग्रहालयका संग्रहालय अधिकृत सुरेश लाखे पनि कानूनी र प्रशासनिक प्रक्रियामा अमेरिकाले उदार नीति लिएका कारण मूर्ति फिर्ता आएको बताउँछन्। यसमा पट्को टोलमा अमेरिकाबाटै फिर्ता आएको लक्ष्मीनारायणको मूर्तिको भव्य पुनर्स्थापना थप मूर्ति फिर्ताको बलियो उदाहरण बनेको उनको भनाइ छ। “विश्वभर नेपालका मूर्ति कहाँ–कहाँ, कति–कति छन् हामीसँग यकिन तथ्यांक छैन। अमेरिकामै धेरै हुनसक्छन्, सोही कारण त्यहीँ धेरै मूर्ति पहिचान भइरहेका छन्। अनि फिर्ता पनि आइरहेका छन्,” लाखे भन्छन्।

विश्वभर फैलिएका नेपाली र उनीहरूको पहुँचले मूर्ति पहिचान गर्न सजिलो भएको पुरातत्त्व अधिकृत सुवेदी बताउँछिन्। मूर्ति पहिचान र प्रमाणीकरणमा ‘लस्ट आर्ट अफ नेपाल’ नामक फेसबुक पेजको सक्रियताले ढाडस दिएको उनको भनाइ छ।

नेपथ्यमा रहेर काम गर्ने फेसबुक पेज लस्ट आर्टस् अफ नेपाल भने अमेरिकी पुरातात्त्विक कलावस्तुको अभिलेखमा अनलाइनमार्फत हुने सहज पहुँचलाई मुख्य कारण मान्छ। कलावस्तुको विस्तृत विवरणसहितको के, कस्तो अवस्थामा छन् ती सबै जानकारी विश्वको कुनै पनि ठाउँमा बसेर एक क्लिकमा पत्ता लाग्ने पेजका एक सञ्चालक बताउँछन्। तर यो पेजका सञ्चालक आफ्नो परिचय खुलाउन चाहँदैनन्।

“हराएका कलावस्तुको पूर्ण तथ्यांक नभए पनि तिनको खोजीका लागि अमेरिकाको अभिलेखप्रणाली, ती प्रणालीमा सहज पहुँचले कलावस्तु पहिचान गर्न सहज भएको छ,” पेजका ती सञ्चालक भन्छन्, “पहिचानपश्चात् यस्ता कलावस्तुको फिर्तीका लागि प्रक्रिया अघि बढ्ने गर्छ।”

तलेजुको हार कहिले फिर्ता?
अमेरिकाबाट सहज रूपमा नेपाली कलावस्तु फिर्ता भइरहँदा काठमाडौँस्थित तलेजु मन्दिरको तलेजु भवानीको हार (कण्ठी) फिर्ताको प्रक्रिया लामो समय रोकिएको छ। नेपालबाट हुनसक्ने सबै प्रमाण पुगिसक्दा पनि हार फिर्तामा किन समय लागिरहेको छ?

पुरातत्त्व अधिकृत सुवेदी भन्छिन्, “तलेजुको हार नेपालकी भवानीकै हो भन्ने सबै प्रमाण छ। हामीले प्रताप मल्लको समयको (लागत) हस्तलिखित प्रमाण पनि पठाइसकेका छौँ, तर हार चोरी भए/नभएको उजुरी प्रमाण हुन नसक्दा केही समय लागिरहेको छ।”

तलेजुको हारलाई अमेरिकामा रहेकी नेपाली अनुसन्धानकर्ता स्वेताज्ञानु बानियाँले थांका चित्रकला फिर्ता आएकै संग्रहालय, आर्ट इस्चिट्युट अफ सिकागोमा पहिचान गरेकी थिइन्।

तलेजुको हार फिर्ता आउनेमा आफूहरू आशावादी रहेको पुरातत्त्व अधिकृत सुवेदी बताउँछिन्। “अमेरिकाबाट यत्रा कलावस्तु फिर्ता आइ नै रहेका छन्, सबै कलावस्तुको आफ्नै नीति नियम हुन्छन्। आवश्यक प्रक्रिया पुगेपछि पक्कै फिर्ता आउनेछ,” सुवेदी भन्छिन्।


सम्बन्धित सामग्री