Monday, April 21, 2025

-->

भूठान
हाउगुजी ‘ह्यापी–इन्डेक्स’लाई प्रश्नै–प्रश्न! (भिडिओसहित)

निर्देशक विनोद पौडेलले ‘ह्यापी–इन्डेक्स’भित्र ‘घर हराएको मान्छे’का श्वासप्रश्वासलाई यसरी ‘फिल’ गर्न पाएका रहेछन्, जहाँबाट उनको कथानकको निचोड निस्किन्छ, ‘एकपल्ट म घर नफर्की मर्न मिल्दैन।’

हाउगुजी ‘ह्यापी–इन्डेक्स’लाई प्रश्नै–प्रश्न भिडिओसहित

काठमाडौँ– सन् ९० को दशकयता नेपाल आउन थालेका भुटानी शरणार्थीसँग हरेकका आ–आफ्ना कथा छन्, किस्सा छन्। तर सिंगो शरणार्थी समस्याको बाकसमा व्यक्तिगत संवेदना र मानवीय तत्त्व सधैँ सधैँ ओझेलमै रहे।

देश–दुनियाँले मान्दै आएको शरणार्थी समस्या समाधानको पहिलो बुँदा थियो– स्वैच्छिक घरफिर्ती! तर यो बुँदामा शून्य परिणाम आएपछि एकैचोटि तेस्रो देशमा बसोबास (अन्तिम विकल्प)को बुँदामा काम शुरू भइहाल्यो, सन् २००६ पछि। त्यसपछि मात्रै १ लाखभन्दा बढी शरणार्थीको कथा–व्यथा सामूहिकभन्दा बढी व्यक्तिगत बन्यो। 

पुनर्बसोबासका नाममा हौसिएर अमेरिका, बेलायतसहितका पश्चिमा सुदृढ मुलुकमा पुग्नासाथै सबै समस्या र मनका गुम्फनहरू सेलाइजालान् झैँ गर्न लागे। तर, अहँ त्यसो भएन।

कोही कसैका श्रीमती र छोराछोरी अमेरिका उडे, वृद्ध श्रीमान् र अपांगता भएका सन्तान यता शिविरमै छुटे। कोहीकसैका श्रीमती अस्ट्रेलिया र क्यानडा पुगे। तर श्रीमान‍्हरू कुनै दिन आफ्नै घरबारीमा फर्कन पाइएला भन्दै ललाई र सुरे–ब्लकका घरजमिन लालपुर्जा साथैमा राखेर शिविरमै बसिरहे।

लप्सीबोटे, चिराङमा जन्मेका र हात्तीसार, गेलेफुमा जमिन–घरबारी भएका १०६ वर्षीय दलबहादुर कार्की पनि यतै रहे— बेलडाँगीको सेक्टर ए–वन, हट नम्बर ८५ मा। उनका छोराछोरीसहित १० जना सदस्य भने अमेरिकावासी बनेको एक दशक नाघिसकेको छ।

यी वयोवृद्ध कार्की बाजेले हररात सपनीमा बेहोर्ने ऐँठन र दिनभर मनमा उब्जने गुम्फनको कहानी निकै लामो छ, सुनेर र कहेर नसकिने खालको।

यहीबेला पुनर्बसोबासको विकल्प रोजेर पाताल प्रवासमा गएका दक्षिणी भुटानी नागरिक भक्त घिमिरे (बीपी कश्यप)को ‘ऐँठन’ पनि उस्तै छ। पीडा र संवेदनाको नापजोख गर्ने ‘तुलो’ हुन्न र मात्रै! नत्र, भुटान, सर्वाङको तक्लाइ ब्लकमा रहेको जमिनको कित्ता नम्बर (थाम) २८६ को कागजात गोजीमा बोकेरै अमेरिकाको पेन्सिलभेनियामा दैनिकी कटाइरहेका भक्त गोजीमा अलिकति दाम भयो कि त नेपाल आइहाल्छन्।

कम्तिमा अमेरिका–नेपालको हवाई यात्रालाई पुग्ने पैसो जोगाड भयो भने उनी आफन्तको तिर्सना मेट्न झापा, बेलडाँगीको शिविरमै अड्किएको भाइ थीरप्रसादलाई भेट्न पुगिहाल्छन्। कि त भुटान छँदैका आफन्त डासो टेकनाथ रिजाललाई भेट्न उनी काठमाडौँ आउँछन्। बेलडाँगी शिविरमै बस्ने १०६ वर्षीय कार्की र पेन्सिलभेनिया बस्ने ५५ वर्षीय घिमिरेको हालत उही छ, ऐँठन र गुम्फनले घेरिएको!

⁎ ⁎ ⁎

हो, कथा यहीँबाट शुरू हुन्छ। पुस्तौँदेखि आफ्नो जल–जमिन–जंगलमा बस्दै आएका एक लाखभन्दा बढी नेपालीभाषी भुटानी आफ्नै माटोबाट लखेटिएपछि शुरू भएको त्यो ‘ऐँठन’ आज आएर बल्ल सबैले बुझ्ने गरी देखिन थालेको छ।

कोही ओहायोको एक्रोन शहरछेउ भएर बहने नदीमा आत्मदाह गरेका भेटिन्छन्, कोही सिड्नी त कोही क्यानडाको ओन्टारियोमा ‘डिप्रेसन’को औषधोपचारमा भेटिने गरेका छन्। ९७ हजारभन्दा बढी भुटानी शरणार्थीको बसोबास रहेको अमेरिकी शहरमा आत्महत्याको घटना अब ‘सामान्य’झैँ सुनिन थालेका छन्।

एकातिर, सुखीखुशी राष्ट्र भन्दै र ‘ह्यापी–इन्डेक्स’को दुहाइ सुन्दै–सुनाउँदै हिँडिरहेको भुटान (राष्ट्र)छ, अर्कातिर दिनदहाडै आफ्नो त्यही माटो, पाखोबारी र ग्वाँग खोलाको तिर्सना बोकेर हिँड्ने मानिस (जनता) यही पटकथामा छँदै छन्।

एकातिर, ‘आर्थिक समृद्धि र धनी हुनु मात्रै विकास होइन, बरु मानवीय–नैसर्गिक स्वतन्त्रतासहित सांस्कृतिक अधिकार र सर्वाङ्गीण उन्नति हुनु विकास हो’ भन्दै हिँड्ने भुटान छ, अर्कातर्फ त्यही अधिकार खोज्नेमध्ये तीन दर्जनजति आफ्नै नागरिकलाई आजीवन कारावास (राजबन्दी)का रूपमा ३० वर्षदेखि थुनामा राख्दै आएको भुटान पनि यहीँ छ।

सन् ७० को दशकदेखि भनिँदै आएको ह्यापी–इन्डेक्सको कथानक कहाँ पुगेन र? जेनेभादेखि न्युयोर्क र द हेगको मञ्चसम्म! सुखीखुशीको यही कथा दोहोर्‍याउँदै र आर्थिक विकास (ग्रस नेसनल इनकम) मात्रै व्यक्ति र समाजको विकास होइन भन्ने लाइनमा धेरै वर्षसम्म मन्त्र सुनाइरहँदा पनि आखिरमा दुई वर्षअघि (२०२२, अक्टोबर) ग्रस नेसनल ह्यापिनेस कमिसन खारेज गर्ने अवस्थामा पुग्यो भुटान।

किनभने जतिसुकै ह्यापी–इन्डेक्स देखाए पनि झन्डै सात लाख जनसंख्या भएको मुलुकबाट पछिल्लो एक दशकमा दुई लाख जति भुटानी अमेरिका, क्यानडा, अस्ट्रेलिया बसोबासमा पुगिसकेको तथ्यांक बाहिर आएपछि अर्को ‘ऐँठन’ शुरू हुने नै भयो।

त्यसमाथि ३० वर्षदेखि थुनामा राखिएका राजबन्दी (पोलिटिकल प्रिजनर)को खबर ह्युमन राइट वाचको प्राथमिकतामा परेको र योभन्दा मुख्य रूपमा पुनर्बसोबासमा गइसकेका भुटानी नागरिकले फर्केर आफ्नो मुलुकमा पाइलो टेक्नै नपाउने ‘प्रतिबन्धित’ मनोदशाका कारण भुटानको ‘बदख्वाइँ’ भित्रभित्रै भइरहेको थियो। त्यसपछि त ह्यापी–इन्डेक्सको कुरै रहेन, यो इन्डेक्सको अकालमैँ मृत्यु भयो।

अनि शुरू भएको छ अहिले, गेलेफु माइन्डफुलनेस सिटी (एकजीएमसी) जसबारेको ‘रियालिटी’ क्रमशः खुल्दै जाला नै। जसरी अस्ट्रेलियाको रिफ्युजी काउन्सिलले एकपटक ‘ग्रस नेसनल ह्यापिनेस’को होहल्ला चर्किएपछि भनेको थियो, “यो ग्रस नेसनल ह्यापिनेस होइन, ग्रस नेसनल हिपोक्रेसी हो।” 

⁎ ⁎ ⁎

हो, कथा यहीँबाट शुरू हुन्छ। यी सबै इतिवृतान्त त थाहा थिएन। शरणार्थीको उत्पत्ति कथा वा घरफिर्तीदेखि झापा–मोरङका शिविरमा अड्किएका झन्डै सात हजार भुटानी शरणार्थीको दुर्दान्त दैनिकी पनि उति थाहा भएन। तर ह्यापी–इन्डेक्सभित्रको एउटा तन्तु समातेर हिँडिरहेका एक जना निर्देशक– जो पछिल्ला वर्षमा अमेरिकावासी बनेका छन्– ले ‘घर हराएको मान्छे’को श्वासप्रश्वासलाई यसरी ‘फिल’ गर्न पाएका रहेछन्, जहाँबाट उनको कथानकको निचोड निस्किएको रहेछ, “एकपल्ट म घर नफर्की मर्न मिल्दैन!”

मानवीय संवेदनाको यो तन्तु केलाउने निर्देशक हुन् विनोद पौडेल र यो मानवीय संवेदनाको उचो बिन्दुमा पुगेर ‘कालले पनि मलाई ताकेता गर्न मिल्दैन’ भन्ने कलाकार हुन्, हरिवंश आचार्य। “विशेषतः उमेरमा ५०–५५ नाघेका र आफ्नो जन्म–कर्मको उल्लेख्य हिस्सा भुटानमा बिताएका मानिसको मनोदशामा यस्तै ऐँठन लुकेको हुने रहेछ”, उकालोसँग संवादमा पौडेल भन्छन्, “मलाई त कस्तो गाह्रो भयो भने कोही गोजीमा आफ्नो चिराङ करेसाबारीको माटो बोकेर हिँडेका छन्, कसैका सिरानीमा गेलेफुको घरबस्तीको लालपुर्जा छ। मन्डलले दिएको करपुर्जाका कागज र राजारानीका पोस्टकार्ड त कतिकति!”

भिडियो

नेपालमा र नेपालीभाषी दर्शकमाझ ‘हाँस्यप्रधान हरिवंश’ बनेर छाइरहेका हरिवंश आचार्य हरदिन, हरक्षण पीडा र पछुतोको कथा सुनिरहेका हुन्थे। बिहानदेखि बेलुकीसम्म टेलिभिजनमा आउने अनेक खालका नेपाली कार्यक्रम वा डिस्कमा भरिएका नेपाली गीत हेरेरै दिन कटाउने आमाहरू चुपचाप बनेर बसिरहेका हुन्थे। टोलाउँदै सडकमा हिँडिरहने र कतिपय त आफैँसँग कुरा गर्दै बसिरहेका बुबाहरू देखेर त्यो कहिनसक्नुको मनोविज्ञानले हरिवंशलाई अर्कै जगत‍्मा पुर्‍याएको रहेछ— शून्यमा शून्यसरि बिलाएसरि! “हरे कस्तो क्षण होला? एउटा मान्छे जो आफ्नो जन्म–कर्मथलो फर्कन ‘प्रतिबन्धित’ छ! अनि हरेक मान्छेले मान्छेलाई गरेको प्रश्न एउटै छ—म मेरो भूठान घर फर्कन किन नपाउने?,” हरिवंश भन्दै थिए, कारुणिक स्वरमा, “जसको जवाफ मसँग त थिएन नै, कोही कसैसँग पनि नभएको स्थिति छ।”

यसरी मान्छे भएर सोधिएका प्रश्नहरू भूठानमा छन्, भूठानमा मान्छे हुनुको अर्थ र अस्तित्वमा प्रश्न गरिएको छ। निर्देशक पौडेल र कलाकार आचार्यले सुखीखुशी भूठानमाथि सिधा प्रश्न गरेका छन्, ह्यापी–इन्डेक्समाथि ठाडो प्रश्न राखेका छन्। त्यसभन्दा बढी गीतकार नवराज पराजुलीले आफ्ना शब्दमार्फत प्रश्नै–प्रश्न गरेका छन्, क्याबात नवराज!

हामीलाई थाहा छ, न भूठानले यसको जवाफ दिनेछ, न कसैले। तैपनि मानवीय संवेदनाको उच्चाट जोडिएको प्रश्नको चाङ यस्तो छ: 

“यो कागजको खोस्टो
म र मेरो घरबीच पर्न मिल्दैन
एकपल्ट म घर नफर्की मर्न मिल्दैन 

...

सकिनुअघि पुग्नु छ शुरू भएको ठाउँमा
अल्झाइ सास पर्खिरहेछ, कसैले गाउँमा
कालले पनि मलाई ताकेता गर्न मिल्दैन
एकपल्ट म घर नफर्की मर्न मिल्दैन।” 


सम्बन्धित सामग्री