केटाकेटी छँदै मैले वीरगन्जमा बीपी कोइरालाको नाम सुनेको हुँ। २००७ सालमा वीरगन्ज जेल तोडिँदा केही मानिस टोलटोलमा निस्किएका थिए— वीर विश्वेश्वर जिन्दावाद भन्दै। चारतारे झन्डा पनि हुन्थे ती नारावालका साथमा। त्यो हुलमा केही त केटाकेटी पनि थिए, कुरै नबुझी पिछा लाग्नेहरू। बरु केटाकेटीलाई राणाशाही थाहा थियो होला। तर, वीर वा विश्वेश्वर त्यस बेलासम्म थाहापत्तो थिएन।
बीपीलाई मैले २०१६ सालमा पहिलो पटक देखेको हुँ। त्यसबेला संसद् भवनभित्र (सिंहदरबार)को चमेनागृहमा काम गर्थे। हो, त्यही अवसरमा संसद्मा बीपी आएको र गएको देख्थेँ नजिकैबाट पनि। तर कुरा गर्ने साहस कहिल्यै जुटेन।
धेरैपछि २०२८ सालमा मात्रै मैले बीपीलाई भेटेको हुँ, त्यो पनि बनारसको महमूरगन्जमा। एक पारिवारिक भ्रमण थियो त्यो, जहाँ विनोद दीक्षित पनि थिए। दाल–चामल बोरामा लिएर गएका थियौँ, नेपाली धर्मशालामा बसेर पकाई बनाई खान्थ्यौँ। एक दिन दुधबिनायक गल्लीमा हिँडिरहेका बेला अचानक भूवन कोइराला (पछि ढुंगाना) भेटिनुभयो। चिनजान थियो नै, हालचाल सोधपुछ भयो। अनि एकाएक उहाँले सोध्नुभयो, “के बीपीलाई भेट्ने हो?”
हठात् मैले जवाफ दिएको थिएँ, ‘भेट्ने नि !’
“ल, म भोलिलाई समय मिलाउँछु। तपाईं यही टाइममा यही ठाउँमा भोलि बस्नुहोला, म आउनेछु”, यति भनेर भूवन अर्को गल्लीमा छिर्नुभयो।
म अचम्मित भएँ, यो संयोग सम्झेर।
भोलिपल्ट अरू त के कुरा, मैले सँगै आएको साथी विनोदलाई पनि केही भनिनँ। बेला त्यस्तै थियो। ‘म एक छिन घुमेर आउँछु है’ भन्दै हिजोकै ठामठेगानाको गल्ली छेउ पुगिहालेँ। नभन्दै भूवन पर्खिरहनुभएको रहेछ।
बीपी महमूरगन्ज भन्ने ठाउँको एउटा कुनाको पहेँलो रङको घरमा बस्नुभएको रहेछ। दुईतले घरमा मान्छेको घन्चमन्च थियो नै। अरू त के चिन्नु? म भूवनका पछिपछि थिएँ।
एकदमै सादा तौरतरिकामा बीपी एउटा खाटको छेउमा बसिरहनुभएको थियो। नमस्कार भन्दै म कोठामा छिरेँ। भूवनजी भने कहीँकता आफन्तको हुलमा मिसिनुभयो। म र बीपी दुई जना मात्रै कोठामा रह्यौँ, म अलिक संकोचसाथ बात मार्न थालेको थिएँ।
कुरा गर्दागर्दै बीपीले भन्नुभयो, “यहीँ लन्च खाने है...”
मलाई के थियो र? धर्मशालामा जो बसिएकै थियो। यताउति नगरीकन ‘हुन्छ नि’ भनिहालेँ। छिनभरमै भित्र ठूलो टेबलमा गयौँ हामी। लन्चकै पर्खाइमा होला, धेरै जना थिए त्यहाँ। बीपीले आफूले आफ्नो जीवनलाई धेरै ‘डिस्अर्गनाइज’ भन्नुभएको छ। तर खानपिनको सादगी, सुग्गरसफा कोठा सबै हेर्दा धेरै कुरा ‘अर्गनाइज्ड’ लाग्थ्यो। खानामा उही सादा रोटी, दाल, चामल र टमाटर चटनी थियो। शायद चिकेन–करी पनि थियो कि?
⁎⁎⁎
लन्चपछि फेरि दोस्रो तलाको कोठामा चढ्यौँ बीपी र म। अनि शुरू भयो पूरापूर साहित्यिक गफ। अहँ, राजनीतिक कुरा ठ्याम्मै भएन। मलाई धेरै थाहा नभएर पनि होला। म पनि ‘बालुवामाथि’, ‘अन्त्यपछि’सहितका उपन्यास लेखेर र मोफसल (वीरगन्ज)कै भए पनि ‘रूपरेखा’जस्ता पत्रिकाका कारण काठमाडौँमा केही चिनिन थालेको थिएँ।
बीपीसँग केही प्रश्नोत्तर भयो, व्याख्या चल्यो। त्यो दिनमा तीन घण्टा जति बसाइँ भयो, अरू कोही आएनन् पनि। कुराकानी सकिएर बाहिर निस्किएपछि चक्र बास्तोला आइपुग्नुभएको थियो। “ल, चिठी लेख्नुहोला है। कि डराउनुहुन्छ?” बीपीले हामी छुट्टिने बेलामा मतिर हेर्दै भन्नुभयो।
“होइन डराउँदिनँ। किन डराउने र?” यति भन्दै म बाटा लागेँ। तर, भनिहालौँ— कुनै राजनीतिक वा अन्य कारणले होइन, चिठीपत्र भने मैले यसरी कहिल्यै लेखिनँ। त्यस्तो पत्राचारको बानी नै रहेन, थिएन।
त्यो बसाइँमा मैले बीपीलाई सोधेका केही जिज्ञासामध्ये एउटा प्रमुख थियो, “तपाईंलाई आफ्ना प्रकाशितमध्ये कुन कृति सबैभन्दा मन पर्छ?”
“तपाईंलाई कुन मन परेको छ?” उल्टै प्रतिप्रश्न पाएँ मैले।
“मलाई त नरेन्द्रदाई...” मैले भनेथेँ।
“हो, मलाई पनि यही हो,” यति भनेर बीपी मुस्कुराउनुभयो।
शायद मेरो मन राखिदिन वा साँच्चिकै हो, बीपीले मसँगै होमा हो मिलाउनुभयो। शायद २०२६ सालमा हुनुपर्छ, बीपीको ‘नरेन्द्र दाइ’ उपन्यास आएपछि यसले पाएको चर्चा अर्कै दुनियाँको थियो। उपन्यासका नरेन्द्र, गौरी र मुनरिया पात्र मेरो स्मरणमा एकदमै तरोताजा थिए।
त्यसपछि बीपीसँग एकै पटक २०३५ सालमा भेट भएको थियो, चाबहिलमा। शायद तारिणीबाबुको घरमा हो कि? सीआईडी र सुराकी छ्यापछ्याप्ती हुने समय थियो त्यो। डा. रमेश चापागाईं र पुरुषोत्तम बस्नेतसँग म त्यहाँ गएको थिएँ। छिनभरमै गणेशमानजी आउनुभएको थियो। सबै जना सौहार्दताका साथ जुरुक्क उठेका थिए, ससम्मान।
त्यही अवसरमा मैले बीपीसँग छुट्टै समय मागेको थिएँ, कुराकानीका लागि। नभन्दै अर्को एउटा दिनमा समय पनि पाएँ। भिडभाड थियो, त्यही ठाउँमा। तर, सबैलाई त्यहाँबाट हटाएर बीपी र म मात्रै कुराकानीमा बसेका थियौँ।
“तपाईंलाई हिजोआज अलिक निष्क्रिय राजनीतिज्ञ भन्छन् नि?” मैले सोधेको थिएँ।
“हो, यस्तोलाई आर्म–चेयर पोलिटिसियन भन्छन् क्यारे, म यस्तै भएको छु”, उहाँको जवाफ थियो। कुराकानीको यो चरणमा पनि राजनीतिभन्दा बढी साहित्य केन्द्रमा थियो। ‘व्यक्तिको इच्छा, मनोद्वेग र भावनाहरूलाई कुण्ठित पार्नुहुँदैन, स्वतन्त्र छाडिदिनुपर्छ’ भन्ने उहाँको दोहोरिँदै आउने मनोभावले मलाई पनि प्रभावित पारेको थियो।
उपन्यास, कथामा आउने पात्रहरू आफ्नै जीवनसँग सान्दर्भिक वा निकटस्थ हुन्छन् कि हुन्नन्(?) भनेर पनि प्रश्नोत्तर भएको थियो। बीपीले कतिपय पात्र (नरेन्द्र दाइसहित) जीवनसँग जोडिएकै हुन्छन्, त्यही भएर त लेखन स्फूर्त हुन्छ भन्दै केही उदाहरणसमेत दिनुभएको थियो। (नरेन्द्र दाइको कथानक त तत्कालिन एक चर्चित राजनीतिक नेताको हुबहु जीवन भन्ने पनि सुनेको हुँ, हो रहेछ पनि।)
म साहित्यिक पत्रकार उत्तम कुँवरको छिमेकी थिएँ, चाबहिलमा। उत्तमले आयोजना गरेको एक घरेलु पार्टीका अवसरमा बीपी आउनुभएको थियो। त्यहाँ मदनमणि दीक्षितसँग पनि अध्यात्म–प्राचीन शास्त्रहरूबारे बीपीको लामै गफगाफ भएको थियो। बीपीपुत्र श्रीहर्ष कोइराला मेरो पीएचडीका क्रममा (१९७६ तिर) पुनामा एउटै कोठामा साथी हुनुहुन्थ्यो। उहाँसँग बीपीका बारेमा आपसी चिनाजानीको कुराकानीसमेत हुने गरेको थियो।
पछि गएर बीपी एउटा ‘मिथक’झैँ बन्नुभएको थियो, जीवित छँदै। उहाँले सुन्दरीजल जेलमा भएका बेला ‘तीन घुम्ती’ उपन्यास तीन दिनमै लेख्नुभएको थियो रे! जेलसामुको एउटा घुमाउने पिपल चौतारीमा उहाँ बसेर लेखिरहनुहुन्थ्यो रे! आदि जस्ता किस्साहरू, जो कतिपय सत्य पनि रहेछन्।
संयोग नै भनौ न, २०३७ सालमा ‘कट्टेल सरको चोटपटक’ प्रकाशनमा आएपछि मैले फेरि बीपी भेट्न पाएको थिएँ। आफैले एकप्रति पुस्तक पनि दिन पाएँ। पछि यो पुस्तकबारे बीपीले भन्नुभएको टिपोट ‘अभिव्यक्ति’ पत्रिकामा छापिएको थियो, मैले त्यसलाई पछि आफ्नो अनुभवन्यास ‘घुर्मी’मा पनि हालेको थिएँ। जहाँ बीपीले भन्नुभएको छ, “उपन्यास धेरै राम्रो छ। यसको शैली जति राम्रो र नवीन छ, त्यत्तिकै कथ्य पनि छ। ट्रिटमेन्ट निकै मनोवैज्ञानिक छ। यसबारे आफैले लेख्ने विचार गरेको थिएँ, तर बिरामी परेर सकिनँ। एक दिन कति साथीभाइहरूसित यस उपन्यासको चर्चा पनि गरेको थिएँ, पुरुषोत्तम बस्नेतलाई पनि थाहा छ। यसको शैली अनट्रेडिसनल छ, त्यस कारण कसैकसैलाई बुझ्न गाह्रो हुन सक्छ। पढ्दापढ्दै समाप्त भएन र, उपन्यास मैले विदेश जाँदा लिएर गएको थिएँ। उहीँ पढिसिध्याएँ। अहिले त्यो किताब मेरी पत्नी सुशीला कोइरालालाई पढ्न दिएको छु।”
⁎⁎⁎
क्यान्सरबाट ग्रसित बीपीको २०३९ साउन ६ मा निधन भयो, ६७ वर्षकै अल्पायुमा। पञ्चायती शासनको कडिकडाउमाझ काठमाडौँमा बीपीको शोकजुलुस यस्तो थियो, त्यस्तो विशालतम् भीड मैले आजसम्म अरूको देखेको छैन। म पनि त्यो भीडमा सामेल थिएँ। शायद पछि नारायण गोपालको निधनमा त्यत्तिकै भीड लागेको थियो कि? अथवा, राजा महेन्द्र निधनको घटनामा पनि उस्तै भीड थपिएको हुन सक्छ।
यसरी झन्डै ५४ वर्षपछि बीपीलाई स्मरण गर्दा पनि म उहाँको लेखन, स्वच्छन्द शैली र पात्रताबारे शृंखला बनाएर सम्झिरहेको हुन्छु। मैले बीपीका सबै उपन्यास, कथासंग्रह आफूसँगै राखेको हुन्छु। सिर्जनशीलता, शैली र प्रभावको अर्थ त्यो स्रष्टा अझ पाठकसँग पनि निकटस्थ भएपछि झनै विशिष्ट हुँदोरहेछ। बीपीसँग म त्यही ‘विशिष्टता’ अनुभव गरिरहेको हुन्छु।
श्रद्धासुमन प्रिय लेखक!