Monday, April 21, 2025

-->

सेवारो गणेश रसिक!

अहिले पनि सो गीत सोरसार मिलाएर गाउँछु। गणेशकै नक्कल गर्छु अनि बढी भावुक हुन्छु। यी हरफ लेखिरहँदा गाइरहेको छु। आँखाबाट निस्किने आँसुको प्रवाह नपुछी गाइरहन्छु।

सेवारो गणेश रसिक

गणेश रसिकलाई विषय बनाएर केही शब्द लेख्न बस्ता मेरो निम्ति तीन कुरा आउने रहेछन्। पहिलो, उनीसँगका मेरा मित्रताका घटनाक्रम। दोस्रो, तिनको संगीत जन्मिने सहज र सिर्जनात्मक प्रकृति अनि तेस्रो, तिनले संगीत पूरा गरेर गाएको महत्त्वपूर्ण क्षण। यी तीन वटा कुरा आपसमा जोडिएका छन्। मेरो यो छोटो लेख यिनै तीन आयामभित्रबाट जन्मेको छ। यी कुराहरूका शृंखला अनेक छन् जसको सम्झनामा 'हार्मोनी' हुन्छ।  

संगीतलाई वरिपरिबाट तानेर लिन्थे रसिक। संगीतलाई जुर्नुपर्ने विशेष परिस्थितिको खासै चिन्ता थिएन उनलाई। एउटा प्रतीकात्मक र लाक्षणिक रूपले महत्त्वपूर्ण घटना छ। गणेशको ठमेलको एउटा घरमा डेरा थियो। त्यो अहिले सम्झिँदा ज्याठा टोलतिर जाने बाटोको सुरुमै थियो। हामी त्यहाँ भेटिबस्थ्यौँ। म बांगेमुडा बस्थेँ। एक दिन गणेशलाई एउटा गीतमा संगीत भर्न मन थियो। त्यो गीत उनले आफै लेखेका थिए। तर त्यहाँ गिटार पनि थिएन, हार्मोनी पनि थिएन। उनलाई संगीतको व्यग्रताले बलियोसँग समातेको थियो। ऊ यसै गुनगुनाउँदै उठ्थे घरीघरी। पछि त्यस्तो व्यग्रता लिएर शून्यमा चलायमान हुने एक जना पश्चिमी संगीतकारमाथि बनाएको फिल्म हेरें। तिनको नाम मोजार्ट हो।

गणेशको त्यस दिनको व्यग्रता र शून्यमा संगीत रचना गर्ने चाहनालाई अहिले म राम्ररी बुझ्छु। उनले भने “मलाई एउटा आइडिया आयो”। त्यसपछि उनले डेस्कजस्तो एउटा टेबल जोडे। उनले एउटा काठ र हत्केला प्रयोग गरेर वाद्यवादनको हल्ला निकाले, अनि निर्धक्क भएर गुनगुनाउँदै संगीत रचना गरे। केही समय लाग्यो। मैले उनको व्यग्रता हेरिरहेँ। आखिरमा त्यो गीतमा संगीत भरियो। उनले गाए। सुन्दर गीतगायन भयो त्यो। त्यसको त्यही लय कायम भयो। पछि गणेशका बाजागाजा जोडिए। म पछिसम्म त्यो गीतको रचना गर्भका सबै क्षण सम्झिन्थेँ। कोमल र भावुक थियो त्यो।

यसरी नै आफ्नो सिर्जनात्मक क्षणबाट, शून्यबाट, वरिपरिको वातावरणबाट अनि आकाश र भूमिको हार्मोनीबाट तानेर संगीत निकाल्थे गणेश। उनको देह, मुद्रा, तेजिलो अनुहार र कोमल स्वरको सिम्फोनी हो उनको संगीत। शब्दका अर्थ हुन्छन् र गीतमा काव्यात्मक भाव हुन्छन् भन्ने कुरालाई गणेश रसिकले सधैँ आफ्नो साधनाको आधारशिला बनाएर राखे। त्यसै कारण गणेश कवि भए, संगीतकार भए अनि भए एक कुशल गायक। मलाई यो कुराले अम्बर गुरुङ दाजुको शैलीको याद आउँछ। वरिपरिको जगत्, कालिक घटना, आफूभित्र उठेका भावना र रागका तरङ्गहरू अम्बर दाजुको संगीतमा आइबस्छन्। अम्बर दाजु कवि थिए। उनलाई धेरै भेटेर अन्तर्वार्ता गर्ने र लेख्नेहरूले यो कुरा उजागर गरेका छन्। आज गणेश रसिकको संगीत साधनाको शैलीबारे आफ्ना सम्झनाजन्य कुरा लेखिबस्दा मलाई त्यो कुराको झन् महत्त्व हुन्छ। 

अन्तरङग कुराहरू अनेकौँ राख्ने काम गर्थ्यौं हामी। गणेशको जीवनका महत्त्वपूर्ण घटना र क्षणहरूको पनि साक्षी थिएँ म। प्रेम, विरह, केही क्रान्तिकारी जोस अनि ती रागहरूले जन्माएका घटना मलाई सुनाउँथे गणेश। उनको जीवनले उनलाई एकपछि अर्को गर्दै अनेकौं घटनाहरू ल्याएर हल्लाइबस्यो। अहिले सम्झिँदा ती उनको जीवन भए र उनले लड्ने संघर्षका क्षणहरू भए। उनले परिवारमा महान् कठोर वियोगहरू भोगे। यहाँ के लेख्नु र, सबैलाई थाहा भएकै कुरा हो। गणेश भन्छन्, जीवनमा घटनाहरू सधैं ठुलो स्वर वा कोलाहल गरेर मात्र आउँदैनन्। ती सूक्ष्म किसिमले पनि आउँछन्। तिनलाई समाउनु पर्छ। जीवन एउटा विरहको कथा होइन, दुःख आइपर्छन् तर तिनलाई लिएर लेख्नु पर्छ, गाउनु पर्छ। साटासाट गर्नुपर्छ। सुन्नु र सुनाउनु पर्छ। अनि भोग्नुपर्छ। तिनले भने। सधैं गणेशले आफ्नो साधनामा त्यही शाश्वतता कायम राखे।  

एक पटक घर तेह्रथुम जाँदा बाटोमा लेखेको एउटा गीत मैले गणेशलाई दिएँ। त्यो गीत पछि मधुपर्कमा प्रकाशित गरें। मैले त्यो गीतबारे बिर्सिएको रहेछु। निकै वर्षपछि रसिकले त्यो गीत मागे। मैले दिन सकिनँ। पछि उनले मधुपर्कबाट त्यो गीत पाएछन्, अनि संगीतबद्ध गरेछन्। त्यो बेला हामी उता तेह्रथुम, भोजपुर र चैनपुर लाग्नेहरू धरानदेखि हिँडेर जान्थ्यौँ। मैले त्यो गीत यसरी हिँडेर गएको बेला लेउतीबाट माथिको उकालोमा लेखेको थिएँ। चौतारामा बस्दै, बिस्तारै हिँड्दै बाटो काट्नु पर्थ्यो घर जाँदा। त्यो पटक त्यसरी नै जाँदा म भावुक भएको थिएँ।

जीवन नै कुनै राग हो कि जस्तो, वा कुनै मेलोडी जुन अरूलाई उच्चारण गर्न लगाएर आफूले सुन्न पाए हुन्थ्योजस्तो हुन्छ। त्यसको एउटा उपाय हो गीत लेख्ने। मैले त्यस्तै मुडमा लेखेको गीत थियो त्यो। माथि उकालोको चौतारीबाट उता फर्केर हेर्दा कञ्चन तमर नदी खुला आकाशमुनि कुनै शान्त र सुन्दर प्रवाहको रेखाजस्तो देखिन्थ्यो, जुन चलमलाउँथ्यो। मैले लेखें, “उकालीमा एक्लै हिँड्दा मन दुखे दुखे जस्तो...”। गणेशले त्यो गीत उनलाई मन परेका कारण भनेका थिए मलाई। मैले उनलाई लिम्बुवानको अमुक रागात्मक समयको कथा भनेको थिएँ। उनले सङगीत राख्दा “सेवारो” शब्दको प्रयोग गरेको कारण त्यही हो। यो गीत उनको पछिल्लो रेकर्ड भएको गीतमा पर्छ। एकेडेमी हलमा भएको उनको गायन कार्यक्रममा गणेशले यो गीत गाएर स्रोतालाई भावुक बनाएका थिए। म आफैं पनि गीत गाउने बानी भएको मानिस। म अहिले पनि यो गीत सोरसार मिलाएर गाउँछु। गणेशकै नक्कल गर्छु अनि आजकल बढी भावुक हुन्छु। यी हरफ लेखिरहँदा गाइरहेको छु। तमर नदीको प्रवाह मभित्र बोध गर्छु। आँखाबाट निस्किने आँसुको प्रवाह नपुछी गाइरहन्छु। 

गणेश रसिकको गायन सहज र कोमल छ। त्यसमा आधुनिक र लोक गायनको अत्यन्त मौलिक मिलन हुन्छ। गणेशको अर्को सामर्थ्य छ। ती कविता गाउँछन्। एक कुशल कवि भएकोले गर्दा कविता गाउँदा गणेश भावुक पक्षलाई उजागर गर्छन्। सबै कविता गाउन सकिँदैन। सबै कविताको गेयात्मक लय हुँदैन। त्यसैले गणेशले आफैं गीत लेखेका हुन्। स्कुले बालबालिकाको गाउने सामर्थ्य हुन्छ। तिनलाई उपयुक्त संगीत दिनुपर्छ अनि तिनको गाउने समय राखिदिनुपर्छ। त्यसो हुँदा बालबालिकाले घर, स्कुल र बाहिर गीत गाउँछन्। त्यो एउटा सिर्जनशील अभ्यास हुन्छ। त्यसले शिक्षा जनिन संस्कृतिको रचना गर्छ भन्ने विश्वासले गणेशले गीत लेखे। अहिले पनि लेखकको नाम नजानेरै बालबालिकाले गणेशका गीत गाइरहेको सुन्न सकिन्छ।

गणेशको गायन प्रस्तुति गर्ने कला र क्षमता अत्यन्त राम्रो छ। आरोहण गुरुकुलमा ९ सेप्टेम्बर २००१ मा गणेशले गरेको प्रस्तुतिको सम्झना हुन्छ। आभास फुयाँलले संगीत व्यवस्था गरेका थिए त्यसमा। उनले त्यो प्रस्तुतिबारे लेखे–गणेश दाइको संगीत रचना एउटा चित्रकलाको क्यानभासजस्तो हो। अथवा क्यानभासको रित्तोलाई कुचीको प्रहारले रङ भरेको पेन्टिङजस्तै हो गणेश दाइको संगीतको रचना पनि, आभासले लेखे। गणेशले संगीतमा त्यो सूक्ष्म रचनालाई ध्यान दिएका हुन्छन् भन्ने कुरा उनको संगीत समीक्षामा धेरै उल्लेख भएको देखिँदैन। त्यो बेला अम्बर गुरुङ र गोपाल योन्जनको संगीतको बढी छलफल हुन्थ्यो। त्यो आरोहण प्रस्तुतिमा हामी थेटरका मानिस संलग्न थियौं, त्यसलाई हामीले महत्त्व दिएर चर्चा  गर्यौं। त्यसमा गणेश रसिकले १४ वटा गीत गाए। अनि प्रत्येकमा निकै वटा भायोलिन, ड्रम, बाँसुरी, हार्मोनी, गितार र अरू बाजाहरूको 'आँसाँब्लो' थियो, जसको व्यवस्था आभासले गरेका थिए। हामीले चर्चा गर्यौं। मैले 'स्पेस टायम टुडे' भन्ने अंग्रेजी अखबारमा 'रसिक्स म्युजिकल जर्नी' शीर्षकमा १६ सेप्टेम्बर २००१ मा गणेश रसिकको त्यो प्रस्तुतिको समीक्षा लेखेँ। गणेश रसिकको संगीत प्रस्तुतिका आयाम देखाउन यो ऐतिहासिक अवसरको प्रसंग ल्याएको हुँ, यसमा। 

भोजपुर समाजको सक्रियतामा ३० वटा संस्थाबाट १४ असोज २०८१ को दिन गणेश रसिकको सामूहिक अभिनन्दन गरियो काठमाडौँमा। त्यसमा मैले निकै समयपछि गणेशसँग अन्तरङ्ग कुरा गर्ने अवसर पाएँ। उनले आफ्नो स्वास्थ्य र उपचारको कथा सुनाए। भावुकता र पीडा बोधका अनि अरू त्यो किसिमका अनुभव उनले सुनाएनन्। उनलाई धीर र स्थिर देखेर लाग्यो ती एक सिद्ध मानिस हुन्। मानिसहरूले दिएको अभिनन्दनको उत्तर उनले त्यस्तै शालीन र शान्त किसिमले गरे।

कथा, उपन्यास र गीतका आधी दर्जन स्तरीय किताब लेखेका अनि आफ्नो साहित्य साधनामाथि विश्वास भएका, अहिले क्यान्सरको बिमारले धेरै गलेका यी लेखक, गायक र संगीतकारलाई त्यो दिन देखेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको कथा बिउँझेको भएको थियो। तर अहिलेको औषधी उपचारको पद्धतिले गर्दा महाकविको “म यो प्रमेथियसको जस्तो पीडा भोगिरहेछु”जस्तो उद्गार गर्नु पर्ने स्थितिमा नपरी गणेशले यो महाविरामको सामना गरिआएका छन्, यसमा संलग्न सबैप्रति गणेशले कृतज्ञता प्रकट गरे। त्यो दिन सबै मानिस खुसी र भावुक देखिन्थे। अहिले यसरी महाकवि देवकोटाजस्तो क्यान्सर लिएर बसेका अनि सबैले सम्मान र स्नेह गरेका गणेश रसिकसँगका मित्रताका क्षणहरूको सम्झना र मायाले तरल हुन्छु। उनले लयबद्ध गरेर गाएको आफूले लेखेको त्यही गीतका यी हरफहरू खुलेर गाउँछु–'उकालीमा एक्लै हिँड्ने तिम्रो मन कस्तो होला, तिम्रो छेउमा हिँड्ने अर्को जिन्दगीकै नसा होला'। 

जिन्दगीको नसा र अनुरागले हामीलाई भरिदिएका छन् उनले। 

गणेश, तिमीलाई अगाध स्नेह र माया गर्ने अभि।...


सम्बन्धित सामग्री