काठमाडौँ– काठमाडौँबाट करिब ११ किलोमिटर दक्षिणमा अवस्थित छ, खोकना। ललितपुर महानगरपालिका–२८ मा पर्ने पुरानो नेवारबस्तीको बसपार्कमा ओर्लिएर अघि बढ्दा गाँबु लाछी (आँगन) आउँछ। जहाँ बेखमान महर्जनको घर छ। परम्परागत पौभाचित्रले उनको घरको बाहिरी भित्ता सजिएको छ।
खोकनाका यस्ता घरहरू छिचोल्दै बस्तीको पुच्छरमा पुग्दा अर्को ठूलो भित्तेचित्र पाइन्छ। सो भित्तेचित्र दशराम महर्जन र सबिना महर्जनको घरको भित्तामा बनेको छ।

भित्तामा शृंखलाबद्ध रूपमा गरिने चित्रकलालाई ‘म्युरल आर्ट’ अर्थात् ‘भित्तेचित्रकारिता’ भनिन्छ। यी भित्तेचित्र दुई महिना लगाएर बनाइएको हो। चित्रकला क्रमशः सुजित महर्जन र हितेश वैद्यले बनाएका हुन्। सिर्जनालय र खोकनाको लाछीको सहकार्यमा सुजित र हितेशले दुई महिने आवासीय म्युरल आर्ट कार्यक्रममार्फत उक्त भित्तेचित्र बनाएका थिए।
दुई महिनाको अवधिमा खोकनामा रहेको विद्यालय, स्थानीयसँगको कुराकानी र अध्ययन अनुसन्धानको आधारमा आ–आफ्नो कलाकारितालाई भित्तामा उतारेका हुन्। उनीहरूका लागि खोकना एउटा खुल्ला ‘स्टुडियो’ अनि यहाँका कुनाकप्चा ‘क्यानभास’ बन्यो। मल्लकालीन संरचना, टाेलटाेलमा रहेका पोखरी, फल्चा र मन्दिरले सुसज्जित खोकनालाई उनीहरूका कुचीले अझ रंगिन पारिदिए। गत शनिबार औपचारिक कार्यक्रममार्फत दुवै जनाले आफ्नो कलाकारिता खोकनालाई हस्तान्तरण गरेका थिए।

पौभामा नवीनता खोज्दै सुजित
बेखमानको घरमा सुजित महर्जनले परम्परागत पौभाचित्र बनाएका छन्। जसलाई उनले ‘अ स्प्रिचुअल अवेकनिङ’ र्शीषक दिएका छन्। १५ वर्षदेखि कलाकारितामा सक्रिय सुजित खोकनाकै स्थानीय हुन्। यद्यपि, दुई महिनाको आवासीय कार्यक्रममा उनले खोकनाका बारेमा थुप्रै नयाँ कुरा थाहा पाए। कलाकारका हिसाबले उनले यहाँका कथा, किंवदन्ती र मान्यताबारे जान्ने मौका पाए।
यो किवंदन्ती रातो मत्स्येन्द्रनाथसँग जोडिएको छ। सातौँ शताब्दीमा काठमाडौँ उपत्यकामा खडेरी परेको थियो। उक्त खडेरी निवारणका लागि भक्तपुरका राजा नरेन्द्रदेव, पाटनका ज्यापु ललित रत्न र काठमाडौँका तान्त्रिक बन्धुदत्तचार्य मिलेर आसामबाट सहकालका देवता रातो मस्त्येन्द्रनाथलाई नेपाल (काठमाडौँ) ल्याएका थिए। उनको प्राण कलशमा राखेर ल्याइएको थियो। जुन खोकनाको छिमेकी गाउँ बुंगमतीमा बिसाइएको कथन छ।

कलश बिसाएपछि देवताको प्रतिस्थापना पनि सोही स्थानमा हुनुपर्ने मान्यता तत्कालीन समयमा थियो। सोहीअनुसार, बुंगमतीमा पनि बुंग द्यःको स्थापना गरी पाटन ल्याइएको किवंदन्ती छ। सोही किवंदन्तीभित्र उनले खोकनाको किवंदन्ती पनि थापा पाए। बुंगमती आउने क्रममा कलशभित्र ल्याइएको मत्स्येन्द्रनाथको प्राण निस्तेज हुँदा तान्त्रिक बन्धुदत्तले ध्यान गरि हेर्दा खोकनाकी इष्टदेवी रुद्रायणीको प्रभावमा हराएको थाहा पाउँछन्।
तान्त्रिकले इष्टदेवी रुद्रायणीसँग मत्स्येन्द्रनाथको शक्ति बाँड्ने वाचासहित त्यस्तै एउटा कलशमा देवताको ऊर्जा बाँडेछन्। सोही समयदेखि खोकनामा उक्त कलशको पूजा हुँदै आएको मान्यता छ। मत्स्येन्द्रनाथको यो किवंदन्तीलाई लामो समयदेखि गुप्त नै राखिएको समेत उनले बताए।आफ्नो चित्रकलामा पनि उनले रातो मत्स्येन्द्रनाथको सोही कथनीलाई समेटेका छन्, केही नयाँ प्रयोग पनि गरेका छन्। नियममा बाँधिएर कोरिने देवीदेवताको भित्तेचित्रकलामा उनले हवाईजहाज, पासपोर्टलाई पनि समेटेका छन्।

“देशमा संकट हुँदा विदेशमा गएर समस्याको हल खोज्ने चलन पहिल्यैदेखि रहेछ,” उनी भन्छन्, “अहिले नेपाली उच्च शिक्षा तथा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका छन्, विदेशमा सिकेको सीप, कला, क्षमतालाई आफ्नो देशको संकटमा काम गर्न सकियोस् भन्ने सन्देश मैले यस कलामार्फत दिने प्रयास गरेको छु।”
सोही मिथकलाई देशको वर्तमान परिस्थितिसँग जोडेर पौभा चित्रकलामा नवीनता दिने प्रयास गरेको सुजितले बताए।
‘कन्टेम्पोरेरी आर्टिस्ट’ हितेश
हितेश भने आफूलाई ‘कन्टेम्पोरेरी आर्टिस्ट’का रूपमा चिनाउन रुचाउँछन्। मानिसको दैनिक जीवनमा जोडिने स–साना वस्तुमा जीवनरस देख्छन्। आफ्नो कलामा खोकनाको समष्टिगत पाटोलाई छुन खोजेका छन् उनले।

खोकनाको ल्यान्डस्केप, सिकाली मन्दिर, धानका बाला, खेतीकिसानी गरिरहेका स्थानीय, डोजरले कोतरेका फाँट, बस्तीबीचमा रहेका खुल्ला लाछी, हाँस, बाख्रा, बिहानसाँझ दाफा (भाजन)मा मग्न ज्येष्ठ नागरिक हितेशको कलाका विषयवस्तु हुन्। यसलाई उनले ‘ल्यान्ड ह्वेयर येल्लो फ्लावर ब्लुजम’ शीर्षक दिएका छन्।
“मेरो चित्रकलालाई न्यारेटिभ पेन्टिङ भनिन्छ,” उनी भन्छन्, “पौभा चित्रकलाजस्तै देखिने यस कलामा यस्ता स-साना विषयमार्फत कथा भन्ने गरिन्छ।” बढ्दो शहरीकरणमा खोकनामा उनले सामुदायिक अखण्डता देखे।
हितेश भक्तपुरका बासिन्दा हुन्। झट्ट हेर्दा भक्तपुरको जस्तै कला, संस्कृति झल्किने खोकनामा दुई महिना बस्दा उनले खोकनाकाको विशेषता मात्रै बुझेनन् विकासका नाममा आएका राष्ट्रिय गौरवका योजनाबारे पनि जानकारी पाए।

काठमाडौँ–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ, प्रसारण लाइन बिस्तारलगायत ठूलो बजेटका परियोजनालाई नजिकबाट नियाले। यसको समर्थन, विरोध वा व्यंग्यभन्दा पनि यस्ता ठूला परियोजनाले कुनै पनि स्थानको इतिहास, सांस्कृतिक पाटो र सरकारले दिने मुआब्जालाई केन्द्रमा राखिनुपर्ने कुरालाई कलामार्फत देखाउने खोजेको उनले बताए।
अध्ययन तथा अनुसन्धानपश्चात् चित्र बनाउन मानिसको घर–घरमा पुगेर भित्ताको माग गरेको उनी सम्झिन्छन्। “शुरूमा त कतिपयले आनाकानी गर्नुभयो। हुन पनि हाम्रो काम उहाँहरूले बुझिसक्नु भएको थिएन। अहिले उहाँहरू नै हाम्रो काम देखेर मक्ख हुनुहुन्छ। खोकनाबाट मलाई यसभन्दा बढी के चाहियो र?”

विभिन्न अन्तर्राष्ट्रिय कला प्रतियोगितामा प्रदर्शनी गरिसकेका हितेशका लागि खोकनासँगको अभ्यास र अनुभव भने बेग्लै रह्यो। अरू बेला स्टुडियोमा एकाग्र भएर काम गर्ने उनी खोकनामा खुल्ला स्थानमा स्थानीयसँग बातचित गर्दै चित्र कोर्थे। यसले ध्यान भंग हुँदैनथ्यो बरु अझ थप उत्साह र ऊर्जा दिन्थ्यो।
हरेक दिन स्थानीयका कथा सुन्दै, नियाल्दै उनीहरूको हाँसीमजाक र कौतुहलतालाई आफ्नो कलामा उतारेका छन्। यसले आफ्नो कलाकारितालाई अझ जीवन्त बनाएको उनले बताए।