तस्वीरहरू: देवेन्द्र भट्टराई
काठमाडौँ– ‘भाषामा व्याकरण जानिएन भने अनर्थ हुन्छ’ भन्ने एउटै नारा बोकेर हिँडेका चूडामणि गौतम आधा शताब्दीअघि चिनिन थालेका हुन्– गौतमको ग्रामर नाममा!
नेपाली भाषा–व्याकरणका यिनै साधक चूडामणि गौतमको सोमबार अपराह्न ८१ वर्षको उमेरमा निधन भएपछि उनले थालेको भाषा–व्याकरण शुद्धीकरण तथा भाषा प्रयोगको शिष्ट परम्परा स्मरणमा आएको छ। जीवनको संयोग र कर्मको फल पनि कस्तो छ भने गौतम वर्षौंवर्ष अंग्रेजी व्याकरण, हिज्जे र शब्दावली गोडमेल गर्ने पेसा (सोख)मा जोडिएका थिए। तर, विशेषतः पछिल्लो एक दशक भने नेपाली भाषा तथा वर्णविन्यास जोगाउने अभियानमा प्रत्यक्ष–परोक्ष योद्धाझैँ लागिपरे र यसैबाट बढी वाहवाही पाए।
२०३७ सालमा ‘हायर लेभल इङ्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रनाउन्सिएसन’ निकालेर गौतमको ग्रामर–ब्रान्ड शुरू गर्ने उनले झण्डै १०० वटा किताब यही सेरोफेरोमा लेखे, अंग्रेजी वा अंग्रेजी–नेपाली मिसमासमा। अर्का, नेपालीका भाषागुरु कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’झैँ अंग्रेजी सजिलो ब्याकरणका हकमा भिन्न कित्तामा ‘चूडामणि अंग्रेजी ग्रामर’को ख्याती छाएको थियो। यसको पनि कारण छ। २०२८ सालको परिमार्जित शिक्षा प्रणालीमा ग्रामर भनेर परीक्षामा ४० पूर्णांकको प्रश्न आउँथ्यो तर, ग्रामर पाठ्यपुस्तकमा (किताब)भने थिएन। यो व्यवहारिक सिकाइको कुरा हो भनिन्थ्यो। त्यही मौका छोपेर र पुस्तक पसलेबाट यसबारे ‘आइडिया’ पाएर चूडामणि ग्रामर शृंखला शुरू भएथ्यो। त्यही क्रममा अंग्रेजी–नेपाली डिक्सनरी, बगली कोष, पकेट डिक्सनरी अनेक–अनेक आइरहे।

तेह्रथुमको खाम्लालुङ (हाल आठराई)मा जन्मे–हुर्केर विराटनगर हुँदै काठमाडौँ बसाइँ सरेर आएका गौतम पछिल्ला वर्षमा मात्रै नेपाली भाषा संरक्षण र उन्नयनका अभियन्ता बनेका थिए। विराटनगर झरेपछि उनले स्वअध्ययनका भरमा मानविकी र कानूनमा स्नातक गरेका थिए। “जीवनको उर्वर कालभर अंग्रेजी भाषा मेरो पेसा र जीविकाको बाटो बन्यो, तर पछिल्ला वर्षमा भने आफ्नै भाषा विकृत पारिँदै लगेको अवस्था र अराजकताका बारेमा बोल्न–लेख्न लागेको छु,” डिल्लीबजार उकालोस्थित घरमा भेट भएपिच्छे गौतम भन्ने गर्थे, “यही आफ्नो अभियानलाई बल पुगोस् भनेर सही वर्णविन्यास र व्यन्जनवर्णमा आधारित शब्दकोश तयार गर्न थालेको हुँ।”
गौतमले करिब ८७ हजार शब्द, ६१२ उखान र ७२४ टुक्का (तुक्का) समेटिएको ‘बृहत्तर नेपाली शब्दकोश’ (२०५२ पेज) निस्किएपछि तीन वर्षयता भाषिक शुद्धताको बहसमा मात्रै सक्रिय देखिने गौतमले यही शब्दकोश पनि ११ वर्ष लगाएर तयार गरेका थिए। शब्दकोशलाई सिर्जनात्मक र मौलिक रचना नमान्ने गौतम यसले भाषाको (लेख्य–कथ्य) मानकीकरण गर्नमा प्रमुख भूमिका निर्वाह गर्नेमा ढुक्क थिए। गौतमको यो शब्दकोशलाई भाषाविद् शरच्चन्द्र वस्तीले ‘वर्णविन्यास विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामर्थ्यले ओतप्रोत कार्य’ भनी प्रशंसा गरेका छन्। विशेषगरी नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय (नेपाली विभाग) र पाठ्यक्रम विकास केन्द्रको सहमतिमा नेपाली भाषाको सर्वमान्य सिद्धान्तभन्दा फरक काम शुरू भएपछि (२०६७) र बृहत शब्दकोशको नवौँ संस्करण (२०७२) निस्किएपछि गौतम ‘विद्रोही’झैँ बनेका हुन्। प्रज्ञा प्रतिष्ठानको शब्दकोश परिमार्जन प्रक्रियामा असहमति जनाउने गौतम, वस्तीसहित थुप्रै अध्येता थिए।
⁎⁎⁎
प्रज्ञा प्रतिष्ठानले शब्दकोशको नवौँ संस्करणमा नेपाली भाषामा संयुक्त अक्षर हटाउने, यसको साटो व्यन्जनवर्णको खुट्टा काट्नुपर्ने (वा तान्नुपर्ने), आगन्तुक शब्दको मौलिक स्वरूप हटाउने जस्ता कथित नियम लागू गर्ने प्रबन्ध गर्यो। यो बेथितीबारे चर्को आवाज उठेपछि प्रतिष्ठानले शब्दकोशको अर्को संशोधन (दशौँ) त ल्यायो तर, त्यो पनि ‘मेरो गोरुको बाह्रै टक्का’झैँ आयो, उही स्वरूपमा।
अनि, यो खेलबाड र अतिवादको विरोधमा गौतमले खुलेरै लेखे। “स्मरणीय त के छ भने कुनै व्यक्तिले लेखेको, सम्पादन वा प्रकाशन गरेको पुस्तकमा भरमार अशुद्धि रहेछ भने जनताले नै त्यसविरुद्ध कारबाही गर्छन्– अर्थात्, उसको पुस्तक नबिकेर लगानीसमेत डुब्छ। तर, प्रतिष्ठानका पदाधिकारीले जस्तोसुकै गल्ती गरे पनि लाभको सुविधाबाट वञ्चित हुनुपर्दैन र गलत काम भएको देख्दादेख्दै पनि कुनै जिम्मेवारी लिनुपर्दैन। बौद्धिक सामग्री रहेको शब्दकोश नै प्रदूषित बनाउने पदाधिकारीले राष्ट्र वा संस्थालाई घरघरानाबाट भए पनि हर्जाना बुझाउनुपर्ने होइन र? (शिक्षक मासिक, २०७६ कात्तिक)”
“देवकोटाले गरीब, शहीद दीर्घ लेखेका छन्। अहिले यहाँ ह्रस्व र दन्त्य ‘स’ बनाए। कोशिसको ‘श’मा भाँडभैलो भएको छ। कानूनको दीर्घ उल्टाएका छन्, ‘पुरा’ कि ‘पूरा’ गोलमाल गरेका छन्। बिद्युत हलन्तबाट बिद्युतीय बन्ने होइन रहेछ, यहाँ बिद्युतमा खुट्टा काट्नैपर्ने हो,” गौतम भन्थे, “म त्यसै कहाँ विक्षिप्त बनेको हुँ र? यसकारण पहिले ‘चूडामणि ग्रामर’ बेच्न बजारमा आफै ननिस्केको म भाषा बचाउमा भाषाप्रेमीका घरघरमा पुगेको थिएँ, कहिले कोठे गोष्ठी र कहिले अन्तर्वातामा व्यस्त हुने गरेको थिएँ।”

भाषा र वर्णविन्यास जोगाउने यो अभियान कहिले देखिनेगरी र कहिले सुषुप्त रूपमा जारी रहेकै बेला २०८१ असार ९ मा भाषासम्बन्धी रिटमा फैसला गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासले भाषिक सम्प्रभुताबारे फैसला गरिदिएपछि गौतम अझ हौसिएका थिए। ‘भाषाको सम्प्रभुता यसको प्रयोगकर्तामा निहित हुन्छ’ भन्दै आएको फैसलापछि गौतमको बृहत्तर शब्दकोशले थप प्रमाणीकरण पाएको स्थिति बन्यो। त्यो सफलतापछि गत साउन ७ मा नेपाली भाषा प्रयोगकर्ता समूह (नेकसु, नेपाली कसरी शुद्ध लेख्ने अभियान)ले पाटनमा एक विजयोत्सवसमेत आयोजना गरेको थियो।
भाषा र भाषिक सम्प्रभुतामाथिको खेलकुद देखेर आजित बनेका भाषाविद् वस्तीले एक संस्मरणमा लेखेका छन्, “संयुक्त अक्षर हाम्रा विशिष्ट सम्पदा हुन्। पूर्वजहरूबाट प्राप्त हुँदै आएका जीवन्त र अमूल्य सम्पदा। यिनको खुट्टा काट्ने उर्दी नेपाली भाषाको जरा काट्ने उपक्रम हो। शुरूमैँ यसलाई अस्वीकार गरेनौँ भने सिद्धान्तको रूप ग्रहण गरेर यसले हाम्रै आँखासामु नेपाली भाषाको धरहरा ढल्नेछ। डेढ–दुई सय वर्ष पुरानो भौतिक संरचनालाई त राष्ट्रिय सम्पदा मानिन्छ र त्यसलाई भत्काउने अधिकार कसैलाई हुँदैन भने यिनलाई भत्काउने अधिकार कसैलाई कसरी प्राप्त हुन सक्छ?”
⁎⁎⁎
विद्यालय पाठ्यपुस्तकको आवश्यकताअनुसार व्याकरण र हिज्जे लेखेर दाम–नाम कमाउँदै आएका चूडामणि गौतम आफ्नो जीवनको उत्तरार्द्धमा भाषिक शुद्धतामा ‘खुट्टो काट्ने कि नकाट्ने’का अभियन्ताझैँ बने। डिल्लीबजारस्थित उनको घरका दुई तलाभरि १०० भन्दा बढी शीर्षकका पुस्तकका संस्करण र पुर्नसंस्करणको थुप्रो लागेको देखिन्थ्यो। मानौँ, यो सानो गौतम पुस्तक भण्डारसमेत हो।
पछिल्ला वर्षमा ल्यापटप काखमा राखेर टाइप गर्न सक्ने भएका उनको अर्को विशेषता थियो– जनसम्पर्क। “उहाँ मसँग फोनमा सबैभन्दा बढी सम्पर्कमा आउनेमध्ये हुनुहुन्थ्यो,” साहित्यिक पत्रकार रोचक घिमिरे भन्छन्, “आफ्ना नयाँ कृति, प्रकाशन र भाषिक सरोकारमा अपडेट दिइरहनुहुन्थ्यो।” तर, पछिल्ला वर्षमा भने संख्याका आधारमा अलिक बढी पुस्तक निकाल्ने (टाइटल) धुन पनि गौतममा चढेको देखिन्थ्यो। विगतमा एउटै टाइटलभित्र रहेका किताब पनि अहिले हिज्जे, उच्चारण, वर्णविन्यास आदि आधारमा फरक–फरक शीर्षकमा निकालेर ‘मेरो १२०औँ पुस्तक आयो नि’ भन्ने लोभमा बढी तानिएका देखिन्थे।
“लेखन र सिर्जनाको काम भनेपछि साह्रै तातो लाग्ने व्यक्ति हुनुहुन्थ्यो,” वस्ती सम्झिन्छन्, “अस्ति भर्खरै तपाईका कथाको संग्रह पनि निकाल्नुहोस् भनेर सुझाएको थिएँ। दुई महिनाअघि मात्रै कथा संग्रह र बृहत्तर नेपाली शब्दकोशको दोस्रो संस्करण तयार भएर आइसक्यो। अब यसको विमोचन र परिचर्चा के–कसरी पो गर्ने भन्दै सुझाव लिनुभएको थियो। सिर्जनाकर्ममा यस्तो हुटहुटी कमै सर्जकमा मात्रै हुन्छ।”

मनमिल्दा इष्टजनसँग बोलचालमा बेलाबेलै पूर्वेली लवज र शैली मिसाएर बोल्न रुचाउने गौतम आफ्ना हातका औँला र खस्रा हत्केला देखाउँदै भन्थे, “कसैका हातमा ठेला हलो जोतेर आएको हुन सक्छ, मेरोमा भने लेखेर, कलम चेपेरै आएका हुन्। त्यसमा पनि तेह्रथुमको त्रिमोहन हाइस्कुल छँदै हेडसर छविलाल शर्मा सिटौलाले सिकाएको उपायका कारण म यहाँसम्म आएको हुँ। र, उपाय एउटै थियो– आफूले लेखेको र थोरै गलत भएको ठाउँमा पनि रातो मसीले रेजा लगाउँदै फेरि–फेरि लेखिरहने! लेखेको लेख्यै गर्ने!”
पछिल्लोपटक तीन महिनाअघि डिल्लीबजार निवासमा भेटघाट गर्दा पनि गौतम एउटा डायरीमा केही लेखिरहेकै थिए। सामु टेबलमा ल्यापटप लडिरहेको थियो। “कलम चलाएन भने यो हात चिलाउँछ,” गौतम भन्थे, “अझ हेडसर छविलाललाई सम्झिँदै पहिले लेखिसकेको कुरा भए पनि फेरि साफी गरिरहन्छु। मेरो बुढ्यौलीको अर्को रोग पनि यही हो।”
श्रद्धासुमन गौतम ग्रामरको ओजपूर्ण इतिहासलाई!