Monday, April 21, 2025

-->

को हुन् जुनलाई लैजाने ताराहरू?

मानिसका इच्छा, आकांक्षालाई जुन र सफलतालाई तारासँग तुलना गरिएको छ। सफलता पहिल्याउने क्रममा छाडिने परिवार, सम्बन्ध र त्यसले महिलामा पार्ने मनोसामाजिक प्रभावलाई नाटकमा देखाइएको छ।

को हुन् जुनलाई लैजाने ताराहरू
तस्वीर: इंगि होपो सुनुवार

काठमाडौँ– “पहिले भूमि सानी थिइन्, उसको साथी बाबा थिए
भूमि ठूली भई, उसको साथी दादा भो
भूमिको बिहे भो, उसको साथी बुढा (श्रीमान्) भए
अहिले भूमि एक्लै छे, उसको साथी हामी हौँ।”

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘जुन त लग्यो ताराले’ उत्तरार्धको दृश्य हो यो। नाटककी प्रमुख पात्र हुन्, भूमि।

एक हुल आवारा केटाहरू बस पर्खिरहेकी भूमिलाई गिज्याउँछन्। भूमि त्यहाँबाट जसोतसो उम्किन्छिन्। यद्यपि, त्यो गिज्याइभित्र लुकेको यथार्थताले भूमिको मन पोल्छ। साँच्चै नै उनी एक्ली छन्। सदैव बुबा, दाइ र श्रीमान्‌को क्षत्रछायामा हुर्किएकी भूमिसँग यो तीतो सत्यलाई स्विकार्नु बाहेकको विकल्प छैन।

बाल्यकालमा आफ्ना बुबा भनेपछि मरिहत्ते हुन्छिन्, भूमि। बुबा पनि उनलाई माया गर्छन्। औधी माया। तर, घरखर्च टार्नको गाह्रो हुन थालेपछि बुबा विदेश जानु पर्ने हुन्छ। छोरीलाई नभनीकन सुटुक्क विदेश जान्छन्। भूमि बुबाको स्नेहबाट टाढा हुन्छिन्।

बाल्यकाल हुँदै किशोरावस्थामा पुगेकी उनको साथी भन्नु नै दाइ हुन्छ। दाइले पनि ख्याल राख्ने माया गर्ने गर्छन्। समय बित्दै जाँदा दाइ पनि अस्ट्रेलिया लाग्छन्। 

दाइ गएपछि बुबा घर फर्किन्छन्। छोरीले सानोमा जिद्दी गरेर माग्ने गरेको पुतली ल्याइदिन्छन्। तर, बाल्यकाल नै नरहेपछि भूमिलाई पुतलीको महत्त्व नै रहेन।

भूमि केही बन्न चाहन्छिन्। दाइजस्तै काम गर्न, आफ्नै बलबुतामा पैसा कमाउन चाहन्छिन्। तर घरमा बिहेको कुरा चल्छ। बुबाआमाको करअघि उनको केही चल्दैन। राम्रो घरबाट प्रस्ताव आएको भन्दै परिवारले सम्झाउँछन्। सबैले कर गरेपछि उनी पनि राजी हुन्छिन्। लाहुरे परिवारमा भूमिको बिहे हुन्छ।  

अनि घरगृहस्थीमा व्यस्त हुन्छिन्। आफ्नो सपना बिर्सिन्छिन्। श्रीमान् पनि लाहुर जान्छन्। भूमिको साथमा अब उनको बालख छोरा छ। जो उनको लागि एकमात्र आशा हो।

के छोराले पनि भूमिलाई छोडेर जालान्? उनका सपना के थिए? ती किन तुहिए? यी सबै प्रश्नको उत्तर नाटक ‘जुन त लग्यो ताराले’ दिन्छ। नाटकमार्फत आम नेपाली महिलाको जीवनका यथार्थलाई चित्रण गर्न खोजिएको छ। हुनत घरपरिवारको जिम्मेवारीका कारण बिदेसिने, लाहुर, मुग्लान पस्ने पुरुषका पनि आफ्नै बाध्यता होलान्, उनीहरू पनि एक्लिन्छन्। यद्यपि महिलाहरूले पनि घर कुरेर बस्नु पर्ने हुन्छ। उनीहरू आफ्ना सबै सपना मारेर घरव्यवहार सम्हाल्नमा लाग्छन्। 

सरल भाषा र कथनीमा पुरुषप्रधान समाजमा महिला सदैव पुरुषको सुरक्षा कवचमा बस्नु पर्ने विषयलाई पनि उठाइएको छ। महिलाको पुरुषप्रतिका परनिर्भरताको उदाहरण पनि हो, यो नाटक।

नाटकमा जुन र ताराहरूलाई पनि रोचक शैलीमा उतारिएको छ। ताराहरू जुनको पछिपछि लागेका हुन् अथवा जुनलाई ताराहरूले घेरेका हुन् बुझ्न गाह्रो छ। आकाशमा देखिने जुन र ताराहरूको भेउ पाउन सकिँदैन। हुनसक्छ, नाटकमा पनि यही सिद्धान्त प्रस्तुत गरिएको छ।

आकाशमा जुन र तारा नभएको रात अँध्यारो देखिन्छ। भूमि आफूलाई ती आकाशसँग तुलना गर्छिन्। प्रिय मानिसहरू आँखाबाट टाढा भएका छन्। उनीहरूको अभाव भूमिलाई थाहा छ।

मानिसका इच्छा, चाहाना र जिम्मेवारीलाई नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक इंगि होपो सुनुवार जुनसँग तुलना गर्छन्। सोही सपना, चाहानालाई मूर्त रूप दिने क्रममा छुटिने समाजको कटु यथार्थ चित्रण गरेका छन्।

दशकअघिको मुग्लान पस्ने चलन होस् या लाहुर जाने। हाल उच्च शिक्षा तथा वैदेशिक रोजगारीमा भइरहेको विदेश पलायनको सपना र बाध्यताबीचको तीतोसत्य नै किन नहोस्। निर्देशक इंगिले यिनै विषयवस्तुलाई नाटकमा प्रस्तुत गरेका छन्।

“हामी जीवनमा केही बन्न चाहन्छौँ। प्राप्ति हाम्रो चाहाना हो,” प्राप्तिलाई तारासँग तुलना गर्दै उनी भन्छन्, “मेडल र पदक तारा आकारमा हुने कारण यसको बिम्बात्मक प्रयोग गर्न खोजेको हुँ।” सफलता प्राप्तिको क्रममा मोडिने बाटाहरूलाई नै नाटकमा देखाएको छ।

कथन शैली पुरानो, कलाकारिता कसिलो
नाटकको लेखनशैली सरल छ। अझ बाल्यकालको सम्झना दिने बालगीतले केही नोस्टाल्जिक पनि बनाउँछन्। यद्यपि, कथनमा केही त्रुटि भने नभएको होइन। नाटकको शैली पुरातन छ। नयाँ विचार र सोचको बीजारोपण देखिँदैन। हाल पुरुषमात्र नभई महिला पनि विदेश पलायन भइरहेका छन्। ती विषयलाई नजरअन्दाज गरिएको भान हुन्छ। हेरिसकेको पुरानो, फिल्म, सुनेको कथा, नाटक जस्तै अन्त्यको अनुमान लगाउन सकिन्छ। यस कारण दर्शकले रोमाञ्चकता कम महसुस गर्न सक्छन्। यद्यपि, पात्रहरूले दिने जीवन्तताले भने नाटकलाई छुट्टै उचाइ दिएको छ। कथनशैली पुरानो भए पनि नाटक अवधिभर कलाकारले दर्शकलाई बाँधेर राख्छन्।

निर्देशक इंगि मण्डला थिएटरको १६औँ ब्याचका नयाँ कलाकार हुन्। त्यसैले पनि गहन विषयमा काम गर्न नहतारिने उनले बताए। औसत समाजको यथार्थको कथा भनिएकाले नाटकलाई सरल बनाइएको उनको भनाइ छ।

आखिर को हुन् जुनलाई लैजाने तारा? उनको जवाफ छ, “हाम्रा इच्छा, आंकाक्षा, सपना हुन्। यसमा सरकारको असक्षमता अर्को अदृश्य कारण हो।”

जुन र तारा नहुँदा जसरी आकाश एक्लो देखिन्छ। भूमि त्यस्तै पात्र हुन्, जो सम्बन्धको न्यानोपन टाढिएपछि एक्लोपनले चिसिएकी छन्।

नाटक सोमबारबाहेक हरेक दिन ४ बजे मण्डला थिएटरमा मञ्चन भइरहेको छ। शनिबार शुरू भएको मञ्चन फागुन १८ सम्म हुनेछ। 


सम्बन्धित सामग्री