“बेबीलोन वा धेन्जजस्तै पृथ्वीको निरन्तर बस्ती रहेको प्राचीन शहर हो वाराणसी।” पिको ऐल्यार
यही प्राचीन नगरीमा १९९५ माघ कृष्ण पञ्चमीका दिन सुवर्णकुमारी र काशीबहादुर श्रेष्ठको पुत्रका रूपमा जन्मेका दुर्गाप्रसाद श्रेष्ठ नेपाली साहित्यका महत्त्वपूर्ण व्यक्ति हुन्। आफ्ना पिताले विसं. १९९३ माघदेखि २०२४ असोजसम्म अनवरत सम्पादन गरेको उदय द्वैमासिक साहित्यिक पत्रिका तीन दशकसम्म बन्द रहेको अवस्थामा उनले २०५४ वैशाखदेखि पुनः प्रकाशन थालनी गरे।
पत्रिकाको जन्म जति सजिलोसँग हुन्छ, त्यसलाई बचाइराख्न त्यति सहज हुँदैन। आजभन्दा करिब दुई दशकअगाडि ‘रत्नश्री’ द्वैमासिक, वर्ष ३३, अंक १, पूर्णांक १६८ भदौ–असोज २०५२ को अंकमा उक्त पत्रिकाका सम्पादक तथा प्रकाशक शान्तदेव भट्टराईको सम्पादकीयको सम्झना आउँछ: “आर्थिक पक्ष ‘रत्नश्री’को अत्यन्त दयनीय छ। आयको स्रोत कहीँ कतै केही छैन। यसको न अक्षयकोष वा गुठी नै छ, न निजी प्रेस र कार्यालय नै छ। न प्रकाशनार्थ राजीखुशीले दान अनुदान दिने दाता नै छन्। कसरी निस्किरहेको छ या निकाल्न सकिरहेका छस् भनेर स्नेहपूर्वक सोधेर सहयोग गर्ने न दानवीर कुबेरहरू नै छन्।”
यस्तो सम्पादकीय आएपछि दुई–तीन अंक प्रकाशित भएपछि ‘रत्नश्री’ थला पर्यो।
नेपाली, हिन्दी र अंग्रेजी भाषाका ज्ञाता, सरल, निडर, मिलनसार, स्पष्ट वक्ता, स्वावलम्बी दुर्गाप्रसाद श्रेष्ठले आफ्ना पिताले हिँडेको गोरेटो पछ्याउँदै उदय द्वैमासिक पत्रिकालाई निरन्तरता दिएर पितृ ऋणबाट मुक्त हुनेतर्फ अग्रसर भएको पाउँछौँ।
विसं. २०१४ मा नारायणप्रसाद बाँसकोटाद्वारा सम्पादित नेपालको प्रतिष्ठित साहित्यिक पत्रिका ‘प्रगति’मा ‘मुटु’ शीर्षकको कविता प्रकाशन गरेसँगै साहित्यमा प्रवेश गरेका दुर्गाप्रसादका नेपालीमा कथा, कविता र समालोचनासंग्रह, पाँच उपन्यासका साथै हिन्दीमा दुई कथासंग्रह, उपन्यास, यात्रासंग्रह प्रकाशित छन्। १९ वर्षमा कविता प्रकाशित गरेर साहित्यिक यात्राको पाइला अघि बढाएका दुर्गाप्रसादको यो यात्रा ७६ वर्षको उमेरसम्म जारी नै छ।
दुर्गाप्रसादसँगको पहिलो भेट भारतको राजधानी नयाँ दिल्लीमा २०६४ सालको असारतिर भएको थियो। उहाँ विश्वेश्वरप्रसाद कोइराला फाउन्डेसन र भारतको साहित्य अकादेमीको काममा वाराणसीबाट नयाँ दिल्ली आइपुग्नुभएको थियो। सो समयमा उदयको वर्ष ७१ पूर्णांक १२९ असार २०६४ को अंक उहाँकै कारण प्राप्त भएको थियो। उहाँसँग प्रत्यक्ष भेट नभए पनि पश्चिम सिक्किम साहित्य प्रकाशन एवं ‘स्रष्टा’ द्वैमासिक साहित्यिक पत्रिकाका प्रमुख सम्पादक केदार गुरुङले उदयको वर्ष ६०, अंक ३ पूर्णांक ८६ असोज–कात्तिक २०५४ उपहारस्वरूप दिँदै उदयका लागि भनेर पनि एउटा रचनासमेत माग्नु भई मैले दिएको कुरा आजैजस्तो लागिरहेको कुरा पनि सम्झिन्छु।
नयाँ दिल्लीको भेट झाँगिएर पारिवारिकजस्तै बन्न पुगेको छ यी दिनमा। नेपाली राजदूतावास नयाँ दिल्लीको द्वितीय सचिवको पदभार ग्रहण गरी बसुन्जेलसम्म दुर्गा दाइ कुनै पनि कामको सिलसिलामा वाराणसीबाट नयाँ दिल्ली आउनुभएको समय मेरो निवास स्थानमा नआइन्जेलसम्म उहाँको भ्रमण पूरा हुँदैनथ्यो। यजुर्वेदको निम्न सूक्त मननीय छ: “रथे तिष्ठन् नयति वाजिनः पुरो यत्रयत्र कामयते सुपारिथः। अभी शूनां महिमानं पनायत मनः पश्चादनु यच्छन्ति रश्मयः।” (रथमा बसेको सारथिले जहाँजहाँ पुर्याउने कामना गर्छ, रथको घोडाले त्यहीँत्यहीँ पुर्याउँछ। लगामको महिमा पनि बुझ्नुपर्दछ कि जसले घोडाको मनलाई आफ्नो वशमा पार्न सफल हुन्छ।)
दुर्गा दाइसँगै धेरै काममा सहकार्य गर्ने अवसर मिल्यो। नयाँ दिल्लीमा नेपाली– सम्मेलन, डम्बरमणि प्रधान र विष्णुबहादुर गुरुङको आयोजनामा मनाइएको भानुजयन्ती, विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको उपलक्ष्यमा वाराणसीको बीएचयु होस् कि उत्तराखण्डको देहरादूनमा सम्पन्न नेपाल–भारतका कविको सम्मेलन वा साहित्य अकादेमी नयाँ दिल्लीमा मदन स्मारक पुरस्कार वितरणको समयमा हाम्रो सहकार्य जारी रह्यो। एक प्रकार अभिन्न र अविच्छिन्न मित्रताको रूपमा हाम्रो सम्बन्धको सेतु साहित्य नै हो भनेर दाबी गर्दा कत्ति पनि फरक पर्दैन।
यो पनि पढ्नुहोस्: अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख भाषा
निरन्तर भेटको क्रममा उदयमा नियात्रा विशेषांक निकाल्नुपर्छ भन्ने सुझाव दिने काम गरें। पहिलो पटकको मेरो अनुरोधलाई बेवास्ता गरेझैं लाग्यो। कुनै प्रतिक्रिया दिनु भएन। फेरि केही महिनाको अन्तरालमा भेट भयो र सोही प्रस्ताव अघि सारें। यस पटक भने मेरो प्रस्तावउपर आफ्नो सहज प्रतिक्रिया राख्नुभयो “तर कसरी लेख रचना जम्मा गर्ने? पारिश्रमिक नदिई सुखै छैन। खै र लाग्ने खर्च? नदुखेको कपाल किन दुखाउने?”

त्यसको प्रत्युत्तरमा मैले भनेको थिएँ, “दाइले मेरो प्रस्तावमा समर्थन जनाउनुहोस्, बाँकी मलाई जिम्मा दिनुहोला।” एकै छिन शान्त भएर भन्नुभयो, “ल न त हुन्छ। तर रचना जुटाउने जिम्मा तपाईंको!” त्यसपछि तुरुन्तै जवाफ दिएँ, “रचना संकलन गर्ने पूरै जिम्मा लिनेछु। प्रकाशन गर्ने सम्पूर्ण जिम्मा तपाईंको हुनेछ। प्राप्त भएकालाई रचना जसरी पनि स्थान दिनुपर्छ।” “त्यो जिम्मा मेरो हो,” दुर्गा दाइले संक्षिप्तमा जवाफ दिनुभयो।
यस क्रममा औपचारिक रूपमा रचनाको आह्वान गरें। अमेरिका, बेलायत, बांग्लादेशमा कार्यरत नेपाली साहित्यकार, नेपाल तथा भारतको नयाँ दिल्ली, मुम्बई, सिक्किम र असममा बसोबास गर्ने स्रष्टाको नियात्राका मौलिक सिर्जनाको ओइरो नै लाग्यो। आवेदन गरेअनुसार रचना प्राप्त भएपछि दुर्गा दाइलाई सुम्पिएँ। साधरणतया उदयको प्रत्येक अंकको पाना सङ्ख्या ७२ रहने भएकोमा यसको दुई गुणाभन्दा बढी हुने अनुमान भएपछि दुर्गा दाइलाई बडो भार पर्न गएको अनुभूति भयो।
त्यसपछि सबै रचनाले जे जसरी भए पनि उदयमा स्थान पाउनुपर्छ भन्ने मैले आग्रह गरें। त्यसै विषयमा केन्द्रित रहेर उदयमा दुई यात्रा अंक प्रकाशित गर्ने काम भयो। यात्रा अंक १, वर्ष ७२, पूर्णांक १३४ असोज २०६५ तथा यात्रा अंक २, पूर्णांक १३५ माघ २०६५ प्रकाशित भयो। हुन त संयुक्तांक निकाल्न पनि नमिल्ने होइन। तर धेरै पत्रिका युरोप, अमेरिका र नेपालमा पठाउनुपर्ने भएको र हुलाक खर्च पनि धान्नै नसकिनेजस्तो भएकाले पनि यात्रा विशेषांकलाई दुई अंकमा निकाल्न परेको कुरा घामजत्तिक्कै छर्लङ्ङ छ भन्दा फरक पर्दैन।
नयाँ दिल्लीको आफ्नो कार्यकाल समाप्त भएपश्चात् कतारस्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुखको रूपमा सरुवा भई दोहा पुगें। वाराणसी र दोहाको बीचमा पनि सम्पर्क अनवरत रूपमा रहेकाले उदयको कुनै अंक कतार विशेषांक प्रकाशन गर्न सुझाएँ। मेरो प्रस्तावप्रति दुर्गा दाइको सहमति प्राप्त भएपछि कतारमा कार्यरत तेइस स्रष्टाको नियात्रा, हास्यव्यङ्ग्य, कथा, समीक्षा, कविता, गजल आदि इमेलमार्फत उपलब्ध गराउने काम सम्पन्न गरें। फलस्वरूप, उदयको वर्ष ७५, पूर्णांक १४९ कात्तिक २०६९ को अंक कतार विशेषांकको रूपमा प्रकाशित हुन सकेको छ। अतिथि सम्पादकका रूपमा मैले त्यसमा काम गर्न पाएँ।
सरसर्ती विचार गर्दा उदयसँगको मेरो जम्काभेट तीन दशकपछि भएको भए तापनि सहकार्य शुरूदेखि नै भएकोझैं आभास भएको छ। दुर्गा दाइ र उहाँको भाइ विजयकी धर्मपत्नीसँगको सम्बन्ध निकै पुरानो र आत्मीय खालको रहेको छ। पिताको विरासत थाम्ने क्रममा उहाँहरू निरन्तर लाग्नुभएको छ। आगामी पिँढीमा पनि आफ्ना पुर्खाको विरासत थाम्ने सन्तान अग्रसर भएर साहित्यको मैदानमा उत्रिन सकुन् भन्ने कामना गर्छु। दुर्गा दाइलाई सामवेदको
यस सूक्तिले अझ प्रेरणा दियोस्: “प्रेता जयता नर।” (हे मानव! अघि बढ र विजय प्राप्त गर।)
अथर्ववेदको यो सूक्तिअनुसार नै दुर्गा दाइको मनकामना पूरा होस्: “परमेय शरदः शतम् जीवेम शरदः शतम्। बुध्येम शरदः शतम्। रोहेम शरदः शतम्। पूषेम शरदः शतम्। भवेम शरदः शतम्। भूयेम शरदः शतम्। भूयसी शरदः शतम्।“ (मैले सय वर्षसम्म देख्न सकूँ, सय वर्षसम्म बाचूँ, सय वर्षसम्म ज्ञान लिँदै रहूँ, सय वर्षसम्म बढ्दै रहूँ, सय वर्षसम्म स्वस्थ्य रहूँ, सय वर्षसम्म शोभान्वित रहूँ र सय वर्षभन्दा बढी जिउन सकूँ।)
(‘नेपाली–हिन्दी साहित्यका सेतु दुर्गाप्रसाद श्रेष्ठ’ नाममा फागुन पहिलो साता प्रकाशोन्मुख व्यक्ति–कृतिमा लेखक छाङ्छाकृत रचनाको सम्पादित अंश।)