Monday, March 24, 2025

-->

भैरव अर्यालबारे अनुसन्धान आवश्यक

मैले जिन्दगीमा पहिलो व्यंग्य रचना पढेकै भैरव दाइको हो। त्यसपछि म उहाँको ‘फ्यान’ भएको हुँ। नेपाली व्यंग्य साहित्यमा उहाँलाई टक्कर दिने कोही पनि छैन।

भैरव अर्यालबारे अनुसन्धान आवश्यक

‘प्रुफ रिडर’का रूपमा २०१९ सालमा गोरखापत्र प्रवेश गरेँ। भैरव दाइसँग मेरो औपचारिक चिनजान गोरखापत्रमै भयो। त्यति बेला गोरखापत्रमा काम गर्नेको उच्च सम्मान थियो। नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव दाइ कार्यालयभित्र एकै लहरमा बस्नुहुन्थ्यो। तर म भैरव दाइसँग बढी नजिक थिएँ। मेरा केही रचना स्थापित साहित्यिक पत्रिका ‘रूपरेखा’मा प्रकाशित भइसकेकाले भैरव दाइले मलाई ‘नोटिस’ गरिसक्नुभएको रहेछ।

मान्छेको ‘खुबी’ पत्ता लगाउन सक्ने अद्भुत क्षमता भैरव दाइमा थियो। २०१८ सालमा ‘उपवन’ कवितासंग्रहमार्फत भैरव दाइले आफू सशक्त ‘कवि’ भएको प्रमाणित गरिसक्नुभएको थियो। व्यंग्यभन्दा फरक धारमा लेखिएको उपवनमा उहाँका कविता अत्यन्त शक्तिशाली छन्। नाट्य सम्राट् बालकृष्ण समले पनि उहाँका कविताको तारिफ गर्नुभएको थियो। म उहाँलाई कविको रूपमा अत्यन्त आदर गर्थें।

२०२७ सालमा म त्रिचन्द्र कलेजमा पढाउँदै थिएँ। मेरो नाममा लेखिएको चिठी कक्षा कोठामै आइपुग्यो। भैरव दाइको हस्ताक्षर रहेको चिठीमा मलाई ‘मधुपर्क’का लागि लेखरचना उपलब्ध गराउन अनुरोध गरिएको थियो। गोरखापत्र संस्थानको नयाँ साहित्यिक प्रकाशन ‘मधुपर्क’का लागि स्तरीय लेखरचना चाहिने भन्दै दाइले मलाई पत्राचार गर्नुभएको रहेछ। भैरव दाइजस्तो सशक्त स्रष्टाले ‘लेखक’का रूपमा मलाई ‘रिकगनाइज्’ गरेर चिठी पठाउनु ठूलो कुरा थियो। म निकै खुशी भएँ। गोरखापत्र, मधुपर्कमा लेखरचना छापिनुले ठूलो अर्थ राख्थ्यो त्यो समयमा। अन्य पत्रपत्रिकामा लेख्दा पारिश्रमिकको व्यवस्था हुँदैनथ्यो।

मध्यमवर्गीय हामीलाई गोरखापत्र, मधुपर्कमा लेख रचना छापिएर आउने पारिश्रमिकले धेरै काम गर्न सकिन्थ्यो। त्यसपछि भैरव दाइसँग मेरो भेट निकै बाक्लियो। दाइले मधुपर्कको पहिलो अंकमै मेरो कथा छापिदिनुभयो। मैले आफ्नो लेखरचना भैरव दाइबाहेक अरूलाई दिइनँ। मधुपर्कमा कथा छापिएपछि २५ रुपैयाँ पारिश्रमिक पाइन्थ्यो। अलिक फरक धारमा लेखिएका मेरा कथालाई दाइले निकै रुचाउनु हुन्थ्यो र मलाई निरन्तर हौसला दिनुहुन्थ्यो। मधुपर्कलाई स्तरीय बनाउन भैरव दाइलगायतको धेरै मिहिनेत परेको थियो।

भैरव दाइ अत्यन्त मिहिनेती तथा इमानदार हुनुहुन्थ्यो। उहाँको सम्पादन–कला पनि उच्च कोटीको थियो। एक पटक मैले मधुपर्कका लागि दिएको कथाको एक पृष्ठ हराएछ। मसँगको भेटमा कथाको एक पृष्ठ हरायो भन्दै दाइ निकै दुखी हुनुभयो। ‘मैले केही फरक पर्दैन दाइ, फेरि अर्को नयाँ कथा लेखुँला नि’ भनिदिएँ। तर दाइले कार्यकक्षमा व्यापक रूपमा त्यो पृष्ठ खोज्नु भएछ र अन्ततः फेला पनि पार्नुभएछ। अर्को भेटमा उहाँले हराएको पृष्ठ पाइयो भन्दै खुशी व्यक्त गर्नुभयो।

भैरव दाइ जत्तिको वरिष्ठ मान्छेलाई हराएको पृष्ठ खोजिरहनु जरुरी थिएन। यसबाट पनि उहाँको इमानदारिता र मिहिनेत प्रस्ट हुन्छ। समकक्षी मित्रहरू एवं साहित्यकार रमेश विकल र रोचक घिमिरेसँग भैरव दाइ निकै मिल्नुहुन्थ्यो। भैरव दाइका छिमेकी रमेश विकल दाइ पनि निकै रसिकका मान्छे। कहीँकतै पुरस्कृत हुनुभयो भने घरमै खसी नै ढाल्नुपर्ने, रमेश दाइको घरमा भोज खान म र भैरव दाइ सँगै जान्थ्यौँ। त्यति बेला रमेश दाइको निवास आरूबारी, जोरपाटीमा घरै थिएन। जताततै खाली जग्गा। 

साहित्यको सवालमा मैले धेरै अगाडिदेखि ‘मूर्धन्यहरू’सँग राम्रै बहस गर्दै आएको छु। तर भैरव दाइ मात्र एक त्यस्तो पात्र हुनुहुन्थ्यो, जोसँग साहित्यका विषयमा मेरा कुनै बहस पैरवी भएनन्। उहाँ अत्यन्त सरल र शालीन। मैले जिन्दगीमा पहिलो व्यंग्य रचना पढेकै भैरव दाइको हो। त्यसपछि म उहाँको ‘फ्यान’ भएको हुँ। नेपाली व्यंग्य साहित्यमा उहाँलाई टक्कर दिने कोही पनि छैन। केशवराज पिँडालीका केही मात्र व्यंग्य राम्रा छन्। मेरो दाइ धनुषचन्द्र गोतामेका व्यंग्य पनि चोटिला छन्। 

बहुमुखी प्रतिभाका धनी भैरव दाइबारे धेरै अनुसन्धान भएकै छैन। ४० वर्षको कलिलो उमेरमै २०३३ असोज १९ मा देहत्याग गरे पनि उहाँले आफ्नो छोटो जीवन अवधिमा नेपाली साहित्यमा अतुलनीय योगदान दिनुभएको छ। तर त्यसको वस्तुनिष्ठ समीक्षा हुन सकेको छैन। उहाँको परिचय हास्यव्यंग्य निबन्धकारका रूपमा मात्र सीमित गरिएको छ। तर उहाँलाई केवल हास्यव्यंग्य निबन्धकारका रूपमा चित्रित गर्नु उचित होइन। उहाँ नम्बर एक हास्यव्यंग्य निबन्धकार त हुँदै हो, शक्तिशाली कविको रूपमा पनि उहाँको स्थान नेपाली साहित्यमा पहिलो दर्जामा हुनुपर्छ। 

प्रस्तुति: निर्मल अर्याल


सम्बन्धित सामग्री