काठमाडौँ– गत माघ १७ गते राति १ देखि २ बजेबीचमा धर्मस्थली बजारका स्थानीय मस्त निन्द्रामा थिए। धर्मस्थली बजारमै रहेको धमाथु द्यः छेकै सामुन्ने राजेश र उनका भाइ (काकाको छोरा) सुशील महर्जनको घर छ। राति १ः०८ बजे राजेशको मोबाइलमा अचानक घण्टी बज्यो।
राजेशलाई अर्को कोठाबाट भाइ सुशीलले फोन गरेका थिए। सुशीलका बुवालाई सञ्चो नभएको हुनसक्ने राजेशको अनुमान थियो। तर सुशीलले घरबाहिर कोही हिँडिरहेको आवाज आएको बताए।
“हाम्रो एरियामा केही समययता बाइक चोरी बढिरहेको छ,” राजेश भन्छन्, “बाइक चोर्न आएको शंकामा मलाई कल गरेको रहेछ। १४ सेकेन्डको कलपछि हामी दुवै बाहिर निस्कियौँ।”
दुवै दाजुभाइले बाइकको वरपर चक्कर लगाए। तर कोही पनि थिएनन्। राजेशले भाइ सुशीललाई सुत्न जान इशारा गरे। तर सुशीलले आँगनअगाडिको द्यः छेभित्र कोही हिँडिरहेको पत्ता पाए। उनले मन्दिरको मुख्य ढोकाको चुकुल लगाइदिए।
त्यही बेला सुशीलमाथि एक्कासि ढुंगा बर्सियो। संयोगवश उनलाई लागेन। मास्क लगाएका एक व्यक्ति उनीतर्फ हान्निएर आए। भाइमाथि जाइलाग्न खोज्नेमाथि राजेशले बीचमै प्रतिकार गरे। ती आक्रमणकारी भुईंमा पछारिए। अनि दाजुभाइले नै थप प्रतिकार गरे।
“उता मन्दिरभित्रबाट ढोका निकै जोडले तानियो,” राजेश भन्छन्, “लाग्थ्यो कि ढोका फोडेर उनीहरू आउँदैछन्। भाइले चुकुल लगाएको कारण ढोका खोल्न सम्भव भएन।”
यो पनि- मूर्ति चोरहरूको ‘उपहार’ : ५३ वर्षदेखि शरीरमा गोली
यद्यपि, उनीहरु झ्यालबाट बाहिर आए। एक जनाको हातमा खड्ग र अर्कोको हातमा घन थियो। खड्ग भएको मान्छे सुशीलतर्फ बढ्यो। “मैले भाइलाई भाग्नको लागि भनेँ। म पनि घरभित्र गएर काठको लाठो ल्याएँ। धन्न भाइलाई केही भएको रहेनछ,” राजेश भन्छन्।
राजेश र सुशीलसँग घम्साघम्सी गर्ने तीन जना थिए। केही बेरपछि तीनै जना त्यहाँबाट भागे। तर धातुका आठ थान मुकुण्डो (ख्वपाः) चोरी भए।
चोरी भएका मुकुण्डो।
चोरी भएका मुकुण्डोका मूर्ति प्राचीन भएको तारकेश्वर नगरपालिका वडा नंं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ बताउँछन्। काठमाडौँमा घोडेजात्राको समयमा धर्मस्थलीमा ती मूर्तिसहितको जात्रा हुने गरेको थियो।
पाँच दिनसम्म चल्ने जात्रामा मात्र मूर्ति बाहिर ल्याइन्थे। त्यसबाहेक, वर्षभरि मन्दिरभित्रै राखिन्थ्यो। मूर्तिसँगै रहेका गहना भने यथावत् रहेको वडाध्यक्ष श्रेष्ठ बताउँछन्।
यो घटनाले मूर्ति चोरीको क्रम अझै नरोकिएको देखाउँछ। त्यसअघि, २०७९ मंसिर १४ गते पनि चोरीको घटना भएको थियो। ललितपुरको लेलेस्थित जयकुमारी मन्दिरबाट बिहानको समयमा मूर्ति चोरी भएको थियो।
मूर्ति चोरी हुँदै गर्दा सीसीटीभीमा कैद दृश्य।
मन्दिरभित्रको सीसीटीभीमा एक जनाको अनुहार स्पष्ट देखिन्छ। अर्कोले आँखासम्म कपडाले अनुहार छोपेका छन्। तर अनुहार स्पष्ट देखिएका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
लेलेबाट मूर्ति चोरी भएको एक महिनापछि चापागाँउस्थित चिभा लाछी टोलबाट मूर्ति चोरी भयो। २०७९ फागुन १७ गते राति २ बजेतिर चिभा (चैत्य) फोडेर बुद्धको मूर्ति लगिएको थियो।
यो पनि: कसले चोरेर विदेश लैजान्छ नेपालका मूर्ति?
त्यसको ११ दिनपछि सोही चिभाबाट थप वटा दुई मूर्ति हराए। ती मूर्ति पनि रातकै समयमा चोरी भएका थिए। चिभामा भएको शिलालेखअनुसार ती मूर्ति ३५० वर्षअघि स्थापना भएका थिए।
चिभाको नजिकै मोति पुस्तकालय छ, त्यहाँ नेपाल प्रहरीलाई अस्थायी रूपमा राखिएको छ। प्रहरी रहेको ठाउँबाट चिभा करिब ३०० मिटरको दूरीमा छ। नजिकै प्रहरी र चिभामा सीसीटीभी हुँदा पनि १४ दिनको अन्तरालमा दुई पटक चोरी भयो।

हराएका ती मूर्तिबारे अझै कुनै जानकारी फेला परेको छैन। मूर्तिबारे प्रहरीले कुनै जानकारी नदिएको त्यहाँका स्थानीयसमेत रहेका कलाकार राजेन्द्र देशार बताउँछन्।
हराएका तीन थान मूर्ति नभेटिएपछि स्थानीय अब रेप्लिका बनाउने योजनामा छन्। देशार आफै रेप्लिका बनाउन खटिएका छन्। “चापागाउँबाट हराएका मूर्तिहरू भेटिने आशा निकै कम छ,” उनी भन्छन्, “नगरपालिकालाई पनि हामीले जानकारी गराएका छाँै। उताबाट पनि सहमति आएको छ।”
पछिल्लो केही वर्षमा भएका मूर्ति चोरीका यी उदाहरण मात्र हुन्। मूर्ति चोरीका घटना पञ्चायतकालमा पनि हुन्थे। त्यस बेला चोरिएका कतिपय मूर्ति भने फिर्ता आउन पनि थालेका छन्। पाटनमा कृष्ण मन्दिर पछाडीको पट्को टोलबाट २०४१ असार अन्त्यतिर हराएको लक्ष्मीनारायणको मूर्ति ३५ वर्षपछि अमेरिकाको टेक्सास राज्यमा भेटिएको थियो।
उक्त मूर्ति चोर्न सेना–पुलिसझैँ देखिने लुगा लगाएका र मुख छोपिएका ८-१० जना पट्कोको लक्ष्मीनारायण मन्दिर पुगेका थिए। सानो पिकअपजस्तो गाडीमा आएका उनीहरूले करिब आधा घण्टामै गाडीमा मूर्ति राखेर लगेका थिए। अनेक प्रयत्नपछि उक्त मूर्ति २०७८ सालमा नेपाल फिर्ता ल्याइएको थियो। तर यसरी फिर्ता ल्याउन नसकिएका मूर्तिको संख्या ठूलो छ।
यो पनि: किन अधिक चोरिन्छन् उमामहेश्वरका मूर्ति?
पुरातत्त्व विभागकी पूर्वमहानिर्देशक तथा नेपाल हेरिटेज रिकभरी क्यापेन (एनएचआरसी)की निर्देशक रिद्धिबाबा प्रधान मूर्ति चोरी हुनबाट जोगाउन सुरक्षा निकायभन्दा पनि स्थानीय तह चनाखो हुनुपर्ने बताउँछिन्। “दुई जना प्रहरी खटाउँदैमा मूर्ति चोरी रोकिने होइन। प्रहरी गस्ती भएका मठमन्दिरबाट पनि चोरी भएका छन्,” प्रधान भन्छिन्, “यसका लागि स्थानीय तह र समुदाय नै सजग हुनुपर्छ।” स्थानीय तहमार्फत जनचेतना प्रसार अनिवार्य रहेको उनको भनाइ छ।
एनएचआरसीका सदस्य रोशन मिश्र पनि सामुदायिक प्रहरीलाई समाज, संस्कृति र सम्पदा सुरक्षामा भन्दा पनि सडकमा बढी खटाइएको बताउँछन्। काठमाडौँमा सजग समुदाय, अभियन्ताको निरन्तर निरीक्षण रहँदा चोरीका घटना केही मत्थर भएको मिश्रको भनाइ छ। तथापि, मुख्य शहरबाहिर यस्तो चेतनाको कमी महसुस भएको उनी बताउँछन्।
मूर्ति चोरी पूर्णरूपमा ठप्प हुन नसक्ने मिश्रको भनाइ छ। यद्यपि, नियन्त्रणका लागि चोरीको शैली र उनीहरूको सक्रियतालाई अध्ययन गर्नु अत्यावश्यक छ। “यस्तो अध्ययन सीआईबी, प्रहरी, सामुदायिक प्रहरी अथवा पुरातत्त्व विभागले छुट्टै युनिट बनाएर गर्न सक्छन्,” उनी भन्छन्।