Monday, March 24, 2025

-->

तारागाउँमा दक्षिण एशियाली ‘मान्यता’मा पिल्सिएका महिलाको विद्रोह!

दक्षिण एशिया ऐतिहासिक विरासत, धार्मिक विविधता र सांस्कृतिक पहिचानमा जति धनी छ, त्यसमै पिल्सिएका महिलाको जीवन कहालीलाग्दो पनि छ। तारागाउँमा त्यसमै विद्रोहका स्वर फुकिरहेका महिला के गर्दै छन्?

तारागाउँमा दक्षिण एशियाली ‘मान्यता’मा पिल्सिएका महिलाको विद्रोह
तस्वीर : प्रबिता/उकालो

काठमाडौँ– 

हाँस्नु छैन कदापि नारिहरूले
बेश्या हुने हाँस्तछन्।
बेश्या लौ नहउन् तथापि
घरका काम् ती सबै
नास्तछन्।।
हाँस्तैमा दिन
जान्छ एहि रितले सब् काम
बित्छन् तसै छिनि सकि सब
धन्दा सासुको पाउ मिच्ची।।

अघिल्लो शनिबार साँझ ४ बजे, स्थान हो तारागाउँ नेक्स्ट कार्यालयको प्राङ्गण। सुनौलो रङको बाकस अनि त्यो बाकसभित्र थिइन् कलाकार अस्मिना रञ्जित।

उनी बाकसबाट निस्कने कोशिशमा थिइन्। बाकसको एक भागलाई धकेल्दा उल्लिखित पंक्ति कुँदिएको पाइन्छ। यो मनुस्मृतिबाट साभार गरिएको पंक्ति हो। बाकसका अन्य तीन भागमा मनुस्मृतिकै अन्य तीन पंक्ति कुँदिएका छन्। ती पंक्तिहरूले महिला कस्तो हुनुपर्ने, महिला भएर के गर्न हुने के गर्न नहुने भनिरहेको आभास हुन्छ। 

गलामा पोते, निधारमा रातो टीका अनि रंगिन पहिरनमा बाकसबाट बाहिर निस्किन्छिन् कलाकार रञ्जित। बाकस उनको लागि समाज हो। त्यो समाज जसले महिलामाथि बन्देज लगाएको छ। नियन्त्रण गरेको छ। 

कलाकार रञ्जित तिनै सामाजिक ‘मानमर्यादा’लाई कुल्चँदै बाहिर आउँछिन्, एउटा निस्फिक्री स्वतन्त्र यात्रामा निस्किए झैँ। 

गत हप्ता बौद्धस्थित तारागाउँ नेक्स्टमा शुरू भएको ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एन्ड साउथ एशियन वुमनहुड’को उद्घाटन समारोहमा रञ्जितले यो प्रस्तुति दिएकी हुन्। उनको ‘पर्फर्मेन्स आर्ट’को शीर्षक थियो– सीता! द आइडिया वाइफ?

मनुस्मृति जस्ता ग्रन्थले लामो कालखण्डदेखि महिला व्यावहारिक हुनुपर्ने, घरबाहिर जान नहुने, हाँस्न नहुने, सामाजिक मान्यताको पालना गर्नुपर्ने, पीडा र दुःख सहनुपर्ने, मौन रहनुपर्ने मनस्थिति महिलामा निर्माण गरेका छन्। यस्तो भाष्यसहितको पितृसत्तामा महिला कसरी गाँजिएका छन्, उनीहरूको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने कन्यादानको समेत रञ्जितले आफ्नो प्रस्तुतिमा आलोचना गरेकी छन्। 

धार्मिक मान्यताका नाममा महिलामाथि भइरहेको विभेद र अत्याचारविरुद्ध महिलाले नै आफ्नो आवाज बुलन्द गर्नुपर्नेमा उनको जोड थियो। कलाकार रञ्जित आफै पनि भन्छिन्, “म कहिल्यै पनि सीता जस्तो महिला बन्ने छैन।”

यो कार्यक्रममा अर्को सहभागी छन्, भारतकी पुष्पामाला एन। ‘अपहरण: अभेगा–द प्यासन २०१२’ शीर्षकमा उनको फोटो तथा भिडियो सामग्री तारागाउँ नेक्स्ट पुग्ने अवलोकनकर्ताले हेर्न पाउँछन्। यसमा उनले रामायणको सन्दर्भलाई केही अलग दृष्टिकोणले देखाउने प्रयास गरेकी छन्। जस्तो, सीताको हरण र सुपर्णखाको नाक कटाइलाई उनले अभिनयसहितको फोटोग्राफीमार्फत् उतारेकी छन्। महिलावादी कलाकारिताका लागि परिचित पुष्पामालाले रामायणका महिला पात्रको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूलाई नै केन्द्रमा राखेकी छन्। 

कैकेयी, सुपर्णखा अनि सीता उनको लागि रामायणका मुख्य पात्र हुन्। भन्छिन्, “नत्र रामायण युद्धको कथाबाहेक बढी केही छैन। यी तीन महिला पात्रको क्रियाप्रतिक्रियाले कथा–कहानीमा महत्वपूर्ण मोड आउँछन्।”

उनले आदर्श पुरुष मानिने राम र सीताको दुःखान्त जीवनी चित्त नबुझेर सय वर्षयता रामायणका धेरै संस्करण लेखिइसकेको उल्लेख गर्दै  भनिन्, “यदि तपाईंले भारतीय संस्कृतिलाई नजिकबाट नियाल्नु भएको छ भने धेरैले आफ्ना छोरीको नाम सीता राख्दैनन्। सीताले भोग्नुपरेको कष्ट निकै दुःखान्त मानिन्छ। त्यस्तै दुख आफ्नो छोरीले भोग्नु नपरोस् भनेर पनि सीता नाम राखिँदैन। नाम राख्नैपरे सीतालक्ष्मी, महालक्ष्मी जस्ता नाम थपिन्छन्। सीताको विकल्पमा जानकी र अरु मैथिली नाम अझ बढी प्रचलित छन्।” 

रामायणमा सुपर्णखाको नाक कान काटिनुलाई उनको इज्जतसँग जोडिन्छ। पुरूषलाई मृत्युदण्ड दिँदा महिलालाई भने कुरूप पारिने, नाक कान काटिदिने त्यसबेलादेखिको प्रथा अहिले पनि सुन्ने गरिन्छ। अहिले त्यो फेरिएर ‘एसिड आक्रमण’ जस्ता स्वरुपमा देखिन्छ। 

खासमा दक्षिण एशियाली महिला रामायण, महाभारतलगायत जस्ता ग्रन्थमा समेटिएका कैयौँ मिथकसँगै धर्म र संस्कृतिका नाममा कोरिएका अरु साँध–सीमामा पिल्सिँदै आएका छन्। त्यसले गर्दा संकुचनमा परेका छन्। कलाकार पुष्पामाला यस्ता मिथक बलिया र प्रसिद्ध हुनुको कारण यस्ता कथामा भेटिने पुरातन पात्रमा दक्षिण एशियाली समाज युगौँदेखि रमाउँदै आएको बताउँछिन्। 

‘उपनिवेश’बाट उम्कन नसकेका महिला
भारतबाटै आएकी कलाकार हुन् अनिता दुबे। उनले सन् २००० मा पहिलोपटक गरेको कला प्रदर्शनीलाई पुनः दोहोर्‍याएकी छन्। 

‘ईश्वर के नेत्र’ अर्थात् ‘देवताको आँखा’ भारतीय संस्कृतिमा देवीदेवताको पूजा विधिमा प्रयोग हुने सामग्री हो। उनले भने यो ‘देवताको आँखा’लाई स्वयंका लागि प्रयोग गरेकी छन्। “हाम्रो संस्कृतिमा यी आँखा देवीदेवताको मूर्ति अथवा चित्रमा राखेपछि प्राणप्रतिष्ठा भएको मानिन्छ,” दुवे भन्छिन्, “किन देवीदेवताको लागि सबै कुरा हुनुपर्‍यो? हामी मानिसले पनि यसको उपयोग गर्न पाउनुपर्छ भनेर मैले यी आँखा आफ्नो हातमा राखेर फोटोग्राफी गरेँ।”

कलाकारका मानसपटलबाट जन्मने यस्ताखाले सिर्जना र काम यस्तै प्रदर्शनीमा सुरक्षित रूपमा प्रफुष्टित हुन्छन्। उनले २५ वर्षअघि खुलस्त रूपमा गरेको प्रदर्शनी सम्झिइन्। 

“मैले यदि यो प्रदर्शनी अहिले भारतमा पहिलोपटक गरेको भए सायद राइट विङहरूबाट अनेक प्रश्न र अवरोध आउँथे होला,” उनले भनिन्, “किनभने त्यहाँ अहिले सामाजिक, धार्मिक स्थिति थप प्रतिकुल हुँदै गइरहेको छ।”

रीतिरिवाज, संस्कृति र ‘ऐतिहासिक विरासत’ भनिने कतिपय कुराले महिलालाई लामो समयदेखि नियन्त्रण गरिरहेको, यही कारण महिला मुक्तिको सवाल त्यति सहज र सरल नभइरहेको उनको ठम्याइ छ। 

नेपाली फोटोग्राफर उमा विष्टले ‘स्टेज होम सिस्टर्स’, ‘आई’ अनि ‘डिभोसन’ शीर्षकमा तीनवटा प्रदर्शनी गरिरहेकी छन्। 

अछाममा महिनावारी हुँदा महिलाहरू घरबाहिर (गोठमा) बस्नुपर्ने अवस्थादेखि काठमाडौँमा आफैले भोगेको विभेदलाई उनले ‘स्टे होम सिस्टर्स’मा उठाएकी छन्। सुदूरपश्चिममा घरबाहिर गोठ र एक्लो स्थानमा बस्नुपर्दा महिलाले सहनुपरेका चुनौती, रीतिथिति पालना गर्दा जनावरको आक्रमण र बलात्कारमा परेका घटना समाचारमा पढ्नु अब नौलो कुरा रहेनन्। ‘स्टे होम सिस्टर्स’मा यिनै कुरा बुलन्द रूपमा उठाइएका छन्।  

काठमाडौँको ‘कुमारी प्रथा’ पनि उनको प्रदर्शनीमा समेटिएको छ। “कुमारी प्रथाको विषयमा मैले समग्र प्रथा भन्दा पनि एकै घरबाट बनेको दुई कुमारीको दुई अलग जीवनलाई चित्रण गरेको छु,” विष्ट भन्छिन्, “आजीवन कुमारी रहेकी धनकुमारी बज्राचार्य आफ्नो सम्पूर्ण जीवन कुमारी भएर बिताइरहनुभएको छ भने उहाँकै भदैनी चनिरा बज्राचार्य कुमारीबाट अवकाश पाएपछि हाल सामान्य मानिससरह आफ्नो दैनिकी बिताइरहनु भएको छ।” 

चनिरा अहिले कुमारीका विषयमा चलेका कतिपय गलत भाष्यलाई चिर्न पनि जुटेकी छन्। एक पटक कुमारी भइसकेपछि विवाह गर्न नहुने, बाहिर काम गर्न नहुने लगायतका कैयन् भाष्य कुमारी प्रथाको नाममा निर्माण गरिएका छन्। चनिराले तिनलाई चिरफार गरिरहेकी छन्। अहिले उनी एक कर्पोरेट हाउसमा ‘क्रेडिट एनालिस्ट’का रूपमा समेत कार्यरत छन्। 

‘आवाज उठाऔँ, उठाइरहौँ’
‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एन्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीमा आएकी बांग्लादेशी कलाकार तायबा बेगम लिपीले ‘आइ वेड माइसेल्फ’ शीर्षकमा घरेलु हिंसाको विषयलाई उजागर गरेकी छन्। दक्षिण एशियाली महिलाले वैवाहिक जीवनमा दाइजो लगायतका अनेकन् समस्याका कारण भोग्ने हिंसा र यातनाविरुद्ध आवाज उठ्नु जरुरी भएको बताउने लिपी आफ्नो सिर्जनामार्फत विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रण गर्न प्रयास गरेको बताउँछिन्। 

यो प्रदर्शनीका परिकल्पनाकार डा. अर्सिया लोखन्डवाला दक्षिण एशियामा चलिआएका सांस्कृतिक चालचलन अद्वितीय र उल्लेखनीय भए पनि ती महिलामैत्री नभएको बताउँछिन्। महिलाले आफ्नो शरीरमाथि पनि स्वतन्त्रता नपाएको, दक्षिण एशियाका कतिपय देश बेलायती उपनिवेशबाट मुक्ति भए पनि औपनिवेशिक मानसिकता भने अझै व्याप्त रहेको उनको बुझाइ छ। सत्ता–शक्तिमा रहेका पुरुषले महिलामाथि गर्ने विभेद र अन्यायका बाछिटा प्रदर्शनीमा देख्न सकिने उनले बताइन्। 

“दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने यस्ता कार्यक्रम आवश्यक छ,” उनले भनिन्, “पितृसत्तात्मक र परम्परागत सोचविरुद्ध आवाज उठाइरहनुपर्छ, यो प्रदर्शनी त्यही थलो हो।” 

प्रदर्शनीमा फोटोग्राफीसँगै भिडियो, इन्स्टलेसन आर्ट र शिल्पकलामार्फत दक्षिण एशियाली समाजको गहिरो संरचना उजागर गर्ने प्रयास गरिएको छ। 

भारतका कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन, नेपालका अश्मिना रञ्जित, विधाता केसी र उमा विष्ट, श्रीलंकाकी अनोली परेरा, पाकिस्तानकी नाइजा खान तथा बांग्लादेशकी तायबा बेगम लिपिसहित पाँच देशका १० जना महिला कलाकारको यो यो प्रदर्शनी तारागाउँमा आउँदो मार्चसम्म निरन्तर चल्नेछ।


सम्बन्धित सामग्री