शंकर लामिछाने व्यक्तिगत रूपमा एक नेपाली उमर खैयाम हुन्। फरक यत्ति हो— उमर खैयामले रुवाइहरू लेखे, लामिछानेले रुवाइहरू बाँचे। रुवाई शब्दलाई पनि उनको अन्तर र बाह्य जीवनमा सके बेग्लाबेग्लै अर्थमा लिन सकिएला। निकट सम्पर्कहरूको बयान सुन्दा शंकर लामिछानेमा बाल्जाकीय अंश पनि भएको बुझिन्छ। भन्छन्— उनलाई पैसाले कहिल्यै पुग्दैनथ्यो। यसैले एकपछि अर्को गर्दै उनले धेरै कामधन्दा गरे। तर, कामधन्दामा ठूलाठूला कुर्सी र आय पाउँदा पनि र काम नपाई रल्लिँदा पनि एकै प्रकारको मस्त, अध्ययनशील र लेखनशील व्यक्तित्व कायम राख्न सक्नु शंकर दाइको स्थितप्रज्ञता हो, कर्मण्यता हो। उमर खैयामीपन र स्थितप्रज्ञता परस्पर विरोधाभाषी भाव हुन्, तापनि उनमा यिनको समन्वयको आभास पाइन्थ्यो।
धेरैथरि व्यक्ति र व्यवसायहरू सितको संलग्नता, निरन्तरको जिज्ञासुपन र चिन्तनशीलताले साहित्यमा मात्रै होइन, ललितकलाका अरू पक्ष र विज्ञान एवं प्रविधिमा पनि शंकर लामिछानेलाई ताजा राख्थे। त्यसैले, अर्को दृष्टिमा उनी उनकै कथाको एक पात्र फ्रैन्क क्यापरा थिए। फ्रैन्क क्यापरा— प्रौढ मस्तिष्क र जवान शरीरको एउटा संयोग।
त, नेपाली कथा साहित्यमा शंकर लामिछाने अरू कसैसित पनि मिल्दैनन्। आफ्नै कथाहरूमा पनि समरूप नपाइने प्रयोगशील कथाकारहरूमध्ये मैले शंकर लामिछाने र विजय मल्ललाई पाएको छु। तर, विजय कतै ‘प्रवेशनिषिद्ध देश’ जस्ता दुर्बोध्य प्रतिकात्मकता, कतै ‘कालो चस्मा’ जस्ता असामान्य मनोदशाको प्रदर्शनले आफ्नो कथाकारितालाई बहु रूपमा भौंतर्याउँछन् भने शंकर विज्ञान वा प्रविधिको अनुशीलनले कथाको प्रयोगात्मकता, स्वाभाविक सम्भाव्यता र रोचक सरलता दिन कस्सिन्छन्। शंकरको शैली छरितो पाइन्छ। डा.ईश्वर बरालले एउटा समस्या सूत्र बनाइ त्यसलाई सिद्ध गर्न कथा लेख्ने भनी पुष्कर शमशेरलाई भनेजस्तै शंकर लामिछाने पनि विज्ञान र प्रविधिको उन्नतिबाट उपस्थित नयाँनयाँ समस्याले मानवीय जीवन जगतमा प्रभाव पार्ने प्रभाव र परिवर्तनतिर उत्सुकता राख्छन्। उनका कतिपय कथा यस्तै उत्सुकताका उपज छन्।
नेपाली लेखकमा थोरै मात्र पाइने अध्ययनशील र कला, विज्ञान दुवैतिरका समसामयिक अनुसन्धान प्रयोगहरूतिर सजग भई आज र भोलीका मानव–चिन्तन र मानव–चरित्रलाई साहित्याङ्कन गर्ने गुण शकर दाइमा पाइन्छ। मुटुको प्रत्यारोपण, अपोलोको चन्द्रतलावरोहण, कृत्रिम गर्भाशयको प्रयोगजस्ता औषध–विज्ञान एवं अन्तरिक्ष विज्ञान र प्रविधिहरूदेखि लिएर परा–मनोविज्ञान, योग–शास्त्रका साधनहरूको प्रायोगिक परिप्रेक्ष्यमा मान्छेका अनन्त बाह्य उपस्थितिहरूको चित्राङ्कन गर्न खोज्ने लामिछानेले नेपाली साहित्यलाई थोरै परिणाममा भए पनि आजको ताजा साहित्यसित सापेक्ष राख्ने प्रयास गरेका छन्। त्यसैले उनको कथाबारे लेख्नु सजिलो छैन।
‘’साझा कथा’को संकलन/सम्पादन गर्दा मैले उनको ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ शीर्षक रूपरेखामा छापिएको एउटा कथा लिएको थिएँ र, लेखेको थिएँ—“....लामिछानेको कथामा बान्कीमा मात्रै होइन, बिचारमा पनि नयाँनयाँ कोण उघारिएको हुन्छ। त्यसैले उहाँको जीवन–दर्शन वा कथा दर्शन एउटै ठम्याइमा उभिँदैन; एक शब्दमा प्रयोगशीलता शकर लामिछानेको विशेषता हो।”
यो टिप्पणीमा उनले असहमति जनाएनन्, बरु सहमतिको प्रतिक्रिया नै उनको ‘होला’ क्रियाले ध्वनित गर्दछ। तर, यो कथाबारे अर्को कथा हाल्दै उनले एउटा लेख गोरखापत्रलाई छाप्न दिएका थिए। भनिएको थियो—“...सर्वप्रथम रूपरेखाले यसलाई कथाकै श्रेणीमा राख्यो र, त्यसपछि मेरा प्रकाशकले पनि। तर पनि मैले आजसम्मै यसलाई कथाको रूपमा स्वीकार गर्न सकेको छैन। कारण, जन्मको लागि जे जति घटना भए, ती यथार्थ छन्, तिनको व्यक्तित्व अगाडी मैले झुक्नै पर्यो। (यसको पृष्ठभूमिसम्बन्धी लामो विवरण 'अर्धमुद्रित नयनको कथा’ शीर्षकको उनको लेख ‘गौँथलीको गुँड’मा संकलित छ।)
उनैले स्वीकार गरेअनुसार, ‘पूर्वले पश्चिमलाई दिएको देनबारे जुन चर्चित अर्धमुद्रित नयनमा आउँछ, त्यो कार्ल सापिरो हो।...सम्यक् दृष्टिबारेको वर्णन अर्को पुस्तकको असर हो।’ (शायद बज्रयानसम्बन्धी पुस्तकको होला।) चिन्तनप्रधान यो कथाको घटना यथार्थजन्य भएकोले यो कथा भएन भन्ने शंकरको तर्कसँग भने म सहमत छैन। कारण, ‘क्रान्तिको पहिलो चरण’मा पनि घटना यथार्थ छन्। ‘अर्धमुद्रित नयन र डुब्न लागेको घाम’मा चित्रित प्यारालाइज्ड केटो वर्तमान जीवनको धेरै पक्षको एउटा प्रतीक बन्न सक्दछ। कथासम्बन्धी प्रचलित मान्यता र सूत्रहरूको परिचालन यसमा भएको छैन, तापनि नेपाली कथा साहित्यको प्रायोगिक सन्दर्भमा यसलाई कथा होइन भन्न सकिँदैन।
झन्डै २००४ सालदेखि नै शंकर गार्गेय वा शकर लामिछाने आदि विविध नामले नेपाली साहित्याकाशमा चम्कँदै आएका शंकरज्यूका कथाहरू, निबन्ध र लेखहरूको अपेक्षा अत्यन्त कम छन्। २०२५ मा मात्र उनको कथा संग्रह ‘गौँथलीको गुँड’ प्रकाशित भएको छ, जसमा १२ वटा कथा संकलित छन्।
‘माया नं ६५३’, ‘ऊ कस्तो हो’ र ‘आत्माको मीमांसा’ वैज्ञानिक–मनोवैज्ञानिक अनुसन्धान र प्रयोगको परिप्रेक्ष्यमा लेखिएका कथा हुन्। माया नं ६५३ पछि अन्तर्राष्ट्रिय परिवेशमा लेखिएको नेपाली कथा मदनमणि दीक्षितको ‘ग्याँस च्याम्बरको मृत्यु’ हो। तर, यी दुईमा आकाश जमिनको फरक छ, त्यो फरक एउटा कालको हो र, एउटा क्षेत्रको।
दीक्षितले विश्व राजनीतिको परिप्रेक्ष्यमा विगतको सिंहावलोकन गरेका छन् भने लामिछानेले विज्ञान प्रविधिको विकासको परिप्रेक्ष्यमा आगतको सम्भावनालोकन गरेका छन्।
एकै समय दुर्घटनाग्रस्त भई मस्तिष्क र देह ध्वंस भएका विलियम फ्रैन्क र हेनरी क्यापराको दुई व्यक्तित्वलाई एउटैमा गाँसेर ‘ऊ कसको हो’ भन्ने कथामा शंकरजीले जुन रोचक समस्या उपस्थित गरेका छन्, शल्य चिकित्सामा बढ्दै गएको उन्नतिले त्यसलाई असम्भाव्य कल्पना मान्न दिँदैन। शिरच्छेदित गणेशमा हात्तीको र दक्ष प्रजापतिमा बोकाको टाउको प्रत्यारोपण गर्ने पौराणिक कथा र मुटु प्रत्यारोपण गर्ने वर्तमान घटना सम्झँदा दिनघरि फ्रैन्क क्यापराको निर्माण हुन्न भन्न सकिँदैन। तर, विज्ञान र प्रविधिका यी चरम सफलताहरूले मानवीयता प्रतिको प्यास झन् कति तीव्र पार्लान् भन्ने पनि शंकरले आफ्ना कथाहरूमा ध्वनित गरेका छन्।
माया नं ६५३ यान्त्रिक मानवको परिकल्पना गर्दै प्राकृतिकताबाट यान्त्रिकतामा परिवर्तित हुन सफल मानवको मानवीय–प्राकृतिकता परित्याग पश्चात्तापको चित्रण गरिएको छ। यान्त्रिकताको चरमोन्नतीले अत्यन्त सुविधा सम्पन्न हुन पुगेको समाजमा मानवीयता प्रतिको प्यासले छटपटिएको मानवात्मा माया नं ६५३ को नामले परिकल्पित छ।
तर, यी दुईभन्दा अझ बढी सशक्त, रोचक र गहन कथाको प्रयोग शंकरले आध्यात्मिकता र मनोविज्ञानको समन्वयात्मक परिप्रेक्ष्यमा गरेका छन्—आत्माको मीमांसा। ट्रान्सन्डेड मेडिटेसन वा समाधि, राजयोग वा एकाग्र ध्यान जुनसुकै शब्द लिए पनि मान्छेका व्यापक र अनिर्वचनीय आत्म सत्ताको असीमित शक्तिको खोजीमा ज्ञान र विज्ञान दुवै संलग्न छन्। असामान्य र परा मनोविज्ञानका एकपछि अर्को आविष्कारहरू आज चमत्कारका विषय भएका छन् भने पूर्वजन्मका सम्झना, देह–परिवर्तन र कायान्तर आवागमनका कथाहरू हामी पूर्वीयहरूका निम्ति नौला छैनन्। यस परिप्रेक्ष्यमा हेर्दा शंकरको ‘आत्माको मीमांसा’ कथालाई फ्यान्टास्टिक मान्न कुनै हालतमा सकिन्न। शंकरले यो कथा लेखेर आफ्नो मनोवैज्ञानिक अध्ययनको मात्र परिचय नदिई आत्मतत्व प्रतिको आफ्नो दृढ संस्कार वा आस्थाको पनि अभिव्यञ्जना गरेका छन्। मानूँ उनको अन्त्य पनि डाक्टर सिन्डर्सको जस्तै आत्मतत्त्वको रहस्य सागरमा पौडी खेल्न त भएको होइन? किनभने बाँचुन्जेल उनले जीवनकै प्याज छोडाइरहेका हामीले पढेका थियौँ।
जीवनको क्षणभंगुरता, मानवीय प्रयास प्रयत्नका निस्सारता र हार्दिकता प्राप्तिको मृगतृष्णामा तुलबुलाएको हार्दिकता शंकर लामिछानेका कतिपय कथाहरूमा अन्तर्ध्वनित पाइन्छन्। लाग्छ, जीवनलाई अझ भर्न उनले आफैँलाई जसरी विविध रूप र कोणमा प्रयोग गरे, त्यसै अनुरूप उनका कथाहरूमा पनि प्रयोगशीलता प्रशस्त पाइन्छ। मैले यसमा माया नं ६५३, आत्माको मीमांसा र ऊ कस्तो हो—यी तीन कथाको मात्र चर्चा गर्नुको मतलब शंकर लामिछानेको कथाकारितामा अन्तर्राष्ट्रिय परिवेशमा, ज्ञान विज्ञान र मनोविज्ञानका चरमोत्कृष्ट प्रयोगको फराकिलो र सम्भावित कथाभूमीको एक झलक देखाउन खोज्नु हो।
यसो त उनका अरू कथामा पनि ‘म भोली जन्मने छु’, ‘मृत्युको गीत बाल्जको धुनमा’, ‘प्रतीक्षा’ इत्यादि कम रोचक छैनन्, तापनि उक्त तीन कथा नेपाली कथाकारिता हिजो, आज र भोलिका मानवीय चिन्तन–आविष्कार र सम्भावनादेखि अचेत छैनन् भन्ने कुराको नमुना भएका छन् भन्ने मलाई लाग्छ।
फ्रैन्क क्यापरा उनको आफ्नै प्रतिकृति हो, जसलाई कायाले सधैँ जवानी र मस्तिष्कले परिपक्वता दिएको छ। फ्रैन्क क्यापरा भएकाले नै शंकर जीवनले भोगवादी देखिए पनि चिन्तनले आत्मवादी र अझ मानवतावादी पाइन्छन्। त्यसैले उनलाई पढ्नु जति रोचक छ, बुझ्न त्यति सजिलो छैन।
(साहित्यिक द्वैमासिक प्रकाशन ‘विदेह’ले २०३३, भदौमा निकालेको शंकर स्मृतिग्रन्थबाट साभार। शुक्रबार शंकर लामिछानेको ४९औँ स्मृति दिवस मनाइयो।)