Saturday, February 15, 2025

-->

खोकनामा लोप हुँदै मौलिक घर

खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डंगोलको नेवा शैलीको मौलिक घर जीर्ण अवस्थामा छ, जुन नेपालको पहिलो बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ।

खोकनामा लोप हुँदै मौलिक घर

ललितपुर– ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रूपमा चिनिन्छ। शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रूपमा खोकना परिचित छ। ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ।  विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन्।

एक हजार ४० घरधुरी रहेको ललितपुर–२१, खोकनामा परम्परागत मौलिक घर हाल ६ वटा मात्र बाँकी रहेको खोकनाका स्थानीय कृष्णभक्त महर्जन बताउँछन्। मौलिकपन हाम्रो सम्पत्ति भएकाले आउने पुस्ताका लागि बचाउनुपर्ने उनको भनाइ छ। उनका अनुसार खोकनाको नेवा बस्ती आदिमकालदेखिको हो। विशेष गरी खोकनामा नेवार समुदायअन्तर्गत ज्यापू समुदायको बसोबास हुँदै आएको छ।

“हाल पनि खोकनाको रुद्रायणी मन्दिरको मूल पुजारी डंगोल र महर्जनमा हुने चलन छ, खोकनाका सबै स्थानीयले मौलिक संस्कृति बचाउन प्रयास गरिरहेका छौँ,” उनी भन्छन्, “नेवा परम्परा र संस्कृतिको संरक्षण गर्न ललितपुर महानगरपालिका र सरोकारवाला सबैको ध्यान जानुपर्ने जरुरी छ।”

आफूले थाहा पाएअनुसार आफ्नो चार पुस्तादेखि रुद्रायणी मन्दिर र अन्य जात्राहरूमा बजाउने बाजाको संरक्षण गर्दै आएको रुद्रायणीदेवी मन्दिरको बाजा संरक्षण समितिका अध्यक्ष स्थानीय हरिराम डंगोलको भनाइ छ। “मौलिकता र संस्कृति बचाउनका लागि नेवारी संस्कृतिमा प्रयोग हुने बाजाको संरक्षण गर्दै आएका छौँ, बाजा संरक्षणका लागि ललितपुरका वडा र महानगरपालिकाले सहयोग गर्नुपर्ने हो,” उनले भने।

नेवारी संस्कृतिमा प्रयोग हुने बाजा संरक्षण गरिराखेको पुरानो मौलिक घर गत असोज १२ गतेको बाढीको समयमा भत्केको स्थानीय बताउँछन्। उनका अनुसार, ऐतिहासिक मौलिक घर भत्किएपछि वाद्यवादनका सामग्री अर्को घरमा सारिएको छ। मौलिकता संरक्षण गर्नेहरूका लागि सरोकारवालाले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डंगोलको नेवा शैलीको मौलिक घर जीर्ण अवस्थामा छ। मदनकृष्ण डंगोल र स्थानीयका अनुसार यो घरलाई नेपालको पहिलो बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ। नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट प्रसारण लाइन जोडेर खोकनामा पहिलो पटक बत्ती बलेको इतिहास छ।

खोकनाको मौलिकता बचाउनका लागि स्थानीय मदनकृष्णले व्यक्तिगत घरलाई खोकना सङ्ग्रहालयका रूपमा स्थापना गरेका थिए। विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको घर अहिले जीर्णोद्धारको पर्खाइमा रहेको छ। ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मौलिकता बचाउनका लागि घरधनीको मन्जुरीमा खोकना सङ्ग्रहालयका रूपमा रहेको मौलिक घरको जीर्णोद्धार गरी मौलिकता संरक्षण गरिनेछ।

खोकनाको मौलिकता बचाउनका लागि चार वटा ऐतिहासिक मिलको पुनर्निर्माण गरेको वडाध्यक्ष महर्जन बताउँछन्। उनका अनुसार दुई मिलको काम सकेको र अब दुई मिलको काम छिट्टै सम्पन्न हुनेछ। खोकनाको मौलिकता बचाउनका लागि पोखरी, पाटी, ढुंगेधारा, मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनर्निर्माण गर्ने र ओझेलमा परेका सम्पदाको खोजी गर्ने गरेको उनको भनाइ छ। 

“भूकम्पपछि मौलिक घर भत्केपछि धेरैले नयाँ घर निर्माण गर्नुभयो, हामीले मौलिकता बचाउनका लागि नयाँ घर पनि नेवा शैलीमा निर्माण गर्न लगाएका छौँ, नेवा शैलीमा निर्माण भएका घरहरूमा सटर राखिएको छैन, काठ प्रयोग गरिएको छ, मौलिकता बचाउनका लागि स्थानीयसँग बसेर छलफल गरेका छौँ, त्यस्तै खोकनाको मुख्य नेवा बस्तीको घरजग्गा किनबेच हुँदैन, संस्कृति बचाउनका लागि हामीले भाषासहित बालबालिकाहरूलाई नेवार परम्पराअनुसार खेलिने खेल खेलाइरहेका छौँ,” उनले भने।


सम्बन्धित सामग्री