Saturday, February 15, 2025

-->

सडकका खाल्डाखुल्डी र सडककै दुर्दशा देखिने प्रदर्शनीस्थल

प्रदर्शनीस्थल प्रायः सफा र चिटिक्क हुन्छ, तर यहाँ अस्तव्यस्त सडककै रूप दिइएको छ। भुईंमा बिच्छ्याइएको त्रिपाल बागमति बनेर बगेको छ र त्यसको दाहिने काठमाडौँ तथा देब्रे ललितपुरका खाल्डाखुल्डी सडक छन्।

सडकका खाल्डाखुल्डी र सडककै दुर्दशा देखिने प्रदर्शनीस्थल
तस्वीरहरू: प्रबिता/उकालो

काठमाडौँ– दरबारमार्गमा मेरीगोल्ड ज्वलेरी स्टोर रहेको भवनको पहिलो तला नपुग्दै ड्याङड्याङ आवाज सुनिन्छ। लाग्छ त्यहाँ केही बनाउने अथवा भत्काउने काम भइरहेको छ। पहिलो तला छिर्ने प्यासेजको भुईंमा एउटा तस्वीर पनि छ, जसमा लेखिएको छ– ‘बाटो बन्द छ। निर्माण कार्य हुँदैछ।’

भित्र लगातार आवाज आइरहेको छ, तर कोही देखिँदैन। भुईंमा हरियो त्रिपाल ओच्छ्याइएको छ। दुई वटा ड्रम पनि छन्।

एउटा पिल्लरबाट अर्को पिल्लरसम्म ‘खतरा’ लेखिएको पहेँलो टेपजस्तो सामग्री बाँधिएको छ। पिल्लरमा ‘स.वि.’ लेखिएको छ। अर्कोतर्फको पर्खालमा हरियो लामो जालिदार कपडा छ।

यहाँ ‘खाल्डो फोटो प्रदर्शनी’ भइरहेको छ। प्रदर्शनीस्थल प्रायः सफा र चिटिक्क हुन्छ। तर यहाँ खाल्डा भएको अस्तव्यस्त सडककै रूप दिइएको छ।

प्रदर्शनी कोठाको एक कुनामा भेटिए आयोजक रोहन थापा। ‘काउन्टर कल्चर’को अवधारणाअनुसार साविकका प्रदर्शनीभन्दा फरक तरिकाले खाल्डो फोटो प्रदर्शनी गरेको उनको भनाइ छ।

प्रदर्शनीस्थलमा तस्वीरहरू भुईंमै पनि छन्। ती असरल्ल छन्। भित्ताहरूमा पनि त्यसरी नै झुन्ड्याइएका छन्, जसले अस्तव्यस्त सडकको झल्को दिन्छ। यी तस्वीरहरू बिजेश श्रेष्ठले खिचेका हुन्।

प्रदर्शनी कक्षको भुईंमा बिच्छ्याइएको त्रिपाल बागमति बनेर बगेको छ। नदीको दाहिनेतर्फ न्युरोड, असन, रत्नपार्कलगायत स्थानका खाल्डाखुल्डीको तस्वीर छन्। देब्रोतर्फ ललितपर महानगरमा पर्ने जावलाखेल, हात्तीवनलगायत स्थानका खाल्डाखुल्डी देखिन्छन्। तस्वीरमा काठमाडौँ उपत्यकाका दुई महानगरका सडकको दुरवस्था चित्रण छ।

फोटोग्राफर बिजेश श्रेष्ठ वसन्तपुरस्थित मखन टोलका स्थानीय हुन्। उनले ललितपुरको हात्तीवनस्थित काठमाडाँै विश्वविद्यायलमा अध्ययन गरे। त्यस क्रममा मखन टोलदेखि हात्तीवनसम्म दैनिक आवतजावत गर्दा आफूले यात्रा गरेको सडक नियाल्न थाले। त्यहाँका खाल्डाखुल्डीले पारेको असहजताको अनुभव गरे।

मखनबाट भोटाहिटी, रत्नपार्क, कुपन्डोल, जावलाखेल, झम्सिखेल, सातदोबाटो हुँदै हात्तीवन पुग्दा सडकमा खाल्डाखुल्डी त कति थिए कति! यात्राको यो असहजताले सडकको अवस्था क्यामरामा कैद गर्न प्रेरित गर्‍यो। 

घरमा स्वर्गीय बुबाले छाडेको पुरानो क्यामरा थियो। कहिले त्यही क्यामरा र कहिले मोबाइलबाट तस्वीर लिन थाले। यसरी तस्वीर लिँदा फोटोग्राफीको सोख भएका आफ्नो बुबाको पनि सम्मान भएको उनी ठान्छन्।

उनले तस्वीर लिँदै जाँदा सडकमा अनेक प्रकारका अवरोध देखे। “गत साउन २५ गते कमलादीको सडक भास्सिएर भ्वाङ पर्दा चार महिनापछि मात्र पुनर्निर्माण भयो” उनी भन्छन्, “हामीले प्रगतिको तुलना सबैभन्दा अग्ला भवन, ठूलो टावरमा देख्यौँ। हाम्रो नजर भुईंमा पर्न छाडे।”

उनी सडकका खाल्डाखुल्डीलाई काठमाडौँको अधुरो प्रगतिको बिम्ब मान्छन्। खाल्डाखुल्डी सडकको असामान्य अवस्था मात्र नभई दैनिक जीवनमा देखा पर्ने निराशता, अक्षमता र उपेक्षाको प्रतिकसमेत भएको उनी बताउँछन्।

उनले यी तस्वीर दुई वर्ष अघिदेखि खिच्न शुरू गरेका हुन्। तस्वीर लिन थालेपछि क्यामेराको लेन्सबाट सडकको अवस्थालाई अझ मिहिन ढंगले देख्न थालेको उनी बताउँछन्, जुन नांगो आँखाका लागि सामान्य लाग्थे।

बाटोमा अनेक स्वभाव र समूहका मानिस हिँड्छन्। उनीहरूको उमेरअनुसार ती खाल्डोको असहजता फरक हुन्छ। वृद्ध र बालबालिकाका लागि जति गाह्रो हुन्छ, त्यति अन्य उमेर समूहलाई नहुने उनको अनुभव छ। 

सवारीसाधनमा हिँड्ने र गलैँचा बेच्ने दुवै प्रकारका मानिसलाई सडकका खाल्डाले प्रभावित बनाइरहेको उनले देखेका छन्। “असन क्षेत्रमा सडक निर्माण भइरहँदा अन्यको तुलनामा गलैँचा व्यापारीलाई बढी कठिन भयो, कारण उनलाई काँधका गलैँचा पनि सम्हाल्नु थियो। आफ्नो पाइला पनि रोक्दै बढाउनु थियो,” उनी भन्छन्।

देशको केन्द्र राजधानीमा सडकप्रतिको उपेक्षा र बेवास्ताले कुनै दिन विकराल स्थिति पैदा गर्ने उनको आँकलन छ।

अहिले पनि खाल्डाखुल्डीको कारण दुर्घटना हुने गरेका छन्। खाल्डाले गर्दा भएको दुर्घटनाका समाचारलाई पनि उनले प्रदर्शनीमा स्थान दिएका छन्। यसबारे सबैले आआफ्नो स्थानबाट आवाज उठाउनुपर्ने उनको भनाइ छ। यस्तो समस्या समाधानमा अग्रसर हुन उनी सरकारका सम्बन्धित निकायलाई आग्रह पनि गर्छन्।


सम्बन्धित सामग्री