गायिका झुमा लिम्बुलाई लगभग सबैले चिन्छन्। ती लिम्बुवानमा जन्मे–बढेकी हुनाले तिनको गायन, बोली र चालचलनमा लिम्बु शैली प्रस्ट आउँछ। एउटी अत्यन्त प्रभावकारी स्वर भएकी गायिका र लिम्बु लोक भाका सङ्कलक यी झुमाको काम मलाई मन पर्ने कारणले गर्दा यिनले भनेका कार्यक्रममा पटक पटक जाने गरेको छु। यिनको गायन र कामसँग निकै अघिदेखि परिचित छु।
सम्झेँ— यिनले निकालेको लिम्बु मुन्धुम गायन, अम्बर गुरुङका गीत र उनकै सङ्गीतमा यिनले गाएको सीडीको विमोचनका कुराहरूसँग जोडिएका घटना। काठमान्डु पोस्ट २१ सेप्टेम्बर २०१४ को अङ्कमा म्युजिकल मुन्धुम शीर्षकमा झुमाको विषयमा एउटा लेख नै प्रकाशित गरेको थिएँ। एघार वर्ष भइसकेछ त्यो पनि। त्यसमा एउटा यस्तो अनुच्छेद लेखेको रहेछ, “झुमाको कामले नेपाली सङ्गीतकार, नेपाली जातीय साङ्गीतिक विषयका अध्येतालाई परम्परागत सङ्गीतको पुस्तान्तरण कसरी भइआएको छ भन्ने कुराको अध्ययन गर्न अनि त्यसको भाष्य प्रणाली र लचकता बुझ्न प्रेरणा दिन्छ।... झुमाका यस्ता सङ्गीतले आशा जगाउने र परिकल्पनाको वा युटोपियाको चित्र देखाइदिने अनि झन्डै हराउन लागेको तर अझै जीवन्त परम्परालाई पुनर्जीवित गर्ने अर्थपूर्ण कामना उजागर गरिदिन्छ।”
यसपालि भने “लेखक आइबी राईको ‘जार: एउटा भएकै कथा’मा हामीले सिनेमा बनाएका छौं, अनि यसमाथि केही छलफल गर्ने योजना बनाएका छौं, आउनुपर्यो है दाजु” भन्ने झुमा–शैलीको निम्ता मेरा निम्ति अप्रत्याशित थियो। फेरि दोहोरिँदै र अरू स्रोत–संगतीबाट उही निम्तो आएपछि झुमाको कार्यक्रमसँग जोडिनै पर्यो। नियमित अन्तर्संवाद कार्यक्रममा जानुअघि उकालोको अड्डामा झुमा र मबीच भएको संवाद पनि रमाइलो रह्यो, लिम्बुवान संस्कृतिको केन्द्रमा।
उकालो संवादपछि झम्सीखेलमा झुमा र साथीहरूले खोलेको एउटा खानपिन थलोमा कार्यक्रम राखिएको रहेछ। त्यसमा केही दिनपछि आउने इन्द्रबहादुर राईको लामो कथा जारमा आधारित सिनेमा विषयको छलफल राखिएको रहेछ। इन्द्रबहादुर राई एक ठुला साहित्यकार, कथा–उपन्यास लेखक र विचारक समेत भएका हुनाले जार सिनेमाका निर्माताहरूले उनको विषयमा छलफल गर्न केही लेखक–विचारकहरूलाई बोलाएको प्रस्ट भयो। यो पुरै सिक्किममा खिचिएको र फुर्बा छिरिङ लामाको निर्देशनमा बनेको सिनेमा रहेछ। त्यो छलफलमा डा. गोविन्दराज भट्टराई र मलाई बोलाएकोले छलफल साहित्यिक हुने प्रस्टै थियो। त्यो अवसरमा आइबी राईका लेखनमाथि गरिएको विद्धत व्याख्या र लेखकीय सीमा तथा साहित्य सरोकारमाथिका केही धारणासहित निकै अर्थपूर्ण छलफल चलेको थियो।
‘जार’ फिल्मको विषयभन्दा बढी यसमा खेल्ने केही कलाकारको पृष्ठभूमिले म अझ बढी तानिएको थिएँ। जारभित्रका एक जार रहेका नायक सौगात मल्लको रंगमंच यात्राबारे म जानकार थिएँ नै। फेरि झुमाकै संगीत–स्वरमा जारका गीतहरू पृष्ठभूमिमा बजिरहेकै थियो।
कलाकार सौगातले मेरा नाटकहरू खासगरी ‘अग्निको कथा’, ‘जीवनदेखि जीवनसम्म’मा अभिनय गरेको चर्चा थिएटर वृत्तमा परिचित विषय छ। अर्को मेरो छोटो नाटक ‘समय शरीर यात्रा’को यिनले दक्षिण कोरियामा गरेको एकल अभिनयको पोस्टर अहिले पनि मेरो अध्ययन कक्षमा छ। तर यो छलफलमा भने सिनेमा कस्तो छ भन्ने विषय नभएर आइबी राईले लेखेको लामो कथाको सिनेमा बनाइएको विषय प्रमुख थियो। त्यो छलफलमा सम्बोधन गरिएको विषय मेरो विचारमा यथार्थ घटनाको सिनेमा बनाउँदा के हुन्छ र, त्यसको यस विधामा ल्याउँदा कसरी प्रयोग हुन्छ भन्ने नै थियो। अर्को अर्थमा, यो विषयले उठाएका अरू महत्त्वपूर्ण कुराहरूबारे छलफल भए राम्रो हुन्छ भन्ने हो। सिनेमा आएपछि यी छलफलकै मोडमा पनि परिवर्तन आउन सक्छ, अनि त्यसका अनेकौँ पक्षमाथि थप राय–परामर्श आउनेछ भन्ने अर्को यथार्थ हो।
अहिले निस्केका फिल्महरूले अनेकौँ किसिमका संयोजन र सन्धिका रचना गरेका छन्। सबै सिनेमा नहेरेको हुनाले यहाँ धेरै लेख्न सक्तिन। तर, हेरेका र चर्चामा आएका सिनेमाहरूमा साहित्य र संगीत, चित्रकला र नाट्यमञ्च जनिन चरित्रहरूको संयोजन गर्ने चाख र पद्धति निस्केको छ। यसमा रङ्गमञ्चीय अभिनयको प्रभाव बलियो छ। सिनेमामा नाट्य कलाकार निर्माता र अभिनय गर्ने भएर पसेपछिका चरित्र छन्। अनि साहित्यसँग जोड्ने चाख बलियो भएर आएको छ। इन्द्रबहादुर राईको कथा जारको प्रयोग भएको कारण त्यही हो।
आइबी राई भन्ने बित्तिकै तेस्रो आयाम अनि लीला लेखन भन्ने शैली र विचारका कुरा दोहोरिन्छन्। तर उनको साहित्यको अर्को महाकाव्यिक संचेतना भएको अनि न्यारेटिभ् वा वर्णन भएको लेखनको छलफल अलिक कम भएको देखिएको छ। इन्द्र दाजुले त्यो काव्यिक आयामलाई आफ्ना लेखनमा सधैँ एउटा शक्तिको रूपमा प्रयोग गरे। त्यसको निम्ति उनले जीवनसँग सोझै जोड्ने विधिको प्रयोग गरे। त्यो हो—सत्य घटनामा आधारित गरेर कथा लेख्ने। उनका यसरी लेखिएका कथाहरू नेपाली पाठकले धेरै चाख र महत्त्व दिएर पढ्छन्। यी कतिपयको नाटक र फिल्ममा प्रयोग भएको छ। जार त्यस्तै एउटा लामो र सत्य घटनामा आधारित कथा हो। इन्द्र राईले यो कथाको काव्यिक प्रभावको चरित्र उजागर गर्न यसमा सल्ल बग्ने वर्णन शैली अनि बिम्ब विधानको प्रयोग गरेका छन् जसले गर्दा यो रचना जीवन्त भएको छ।
यो कथामा जार खेद्दै जाने हर्षमान अनि जार रूद्रमान अनि ऊसँग जाने ठुली एउटा अवस्थामा पुगेपछि कथाले मोड लिन्छ। यो नेपालीको मुगलान पस्ने मोडमा पस्छ। कथाकारले कथेको कथाको कायापलट अथवा 'रिभर्सल' त नेपालीको जीवन र चलनको एउटा नियति भएको छ। यसमा पात्रपात्राका अप्रत्याशित परिवर्तन भएका अवस्थाको चित्रण छ। यो नेपाली जीवनको लय र मुगलान पस्ने एउटा नियतिको पाटो भएको छ। हर्षमानले जार रूद्रमान र पत्नी ठुलीलाई दुबो मालाले लोग्ने स्वास्नी बनाइदिए पछिको क्षणमा आख्यान र यथार्थको मिलन हुन्छ। "अब तँ मेरो भाइ भइस्, अब म तिमेर्लाई घर फर्काएर लान्छु" भनेपछि रुद्रमानले सबैभन्दा महत्त्वपूर्ण उद्गार व्यक्त गर्छ, “हामीलाई घरको ढोका थुनिएको छ। देशको बाटो बन्द छ। आफ्नो जातविना देशमा बाँच्न सकिन्न। दाजु, यता कता कता हाम्रा लागि एउटा बाटो अघि देखेको जस्तो लाग्दैछ। ऊ हाम्रो बाटो त्यै हो..।”
अनि वर्णनमा कथा भन्छ, “भारीतारी बोकेर दुई पुरुष, दुई स्त्री त्यही रूख टेकेर मुगलानको बाटो लागे।”
एउटा साधारण साँघु तरेपछि सीमा पार हुन्छ।
कथामा सीमाको महत्त्व हुन्छ। अहिलेको युगमा सीमाका अतिरञ्जक र जटिल अनि कठोर स्वरूपहरू जन्मिएका छन्। नेपालबाट मुगलान पस्ने नेपालीका कथाको स्पन्दन हो जार कथा। एउटा लिखुरे पुल अथवा एउटा झुमाले गाएको “धान सुक्छ रापले, फकाउँछ काफ्ले जानु कि नजानु”जस्ता गीतमा चिप्लेर सीमापारि खस्छन् प्रेमीका पाइला! गोविन्दराज भट्टराईको मुगलान र फेरि मुगलानमा अनि लीलबहादुर छेत्रीको बसाई किसिमका उपन्यासले देखाएको परिबन्दको आप्रवासनमा जान्छन् नेपाली नरनारी। यो किसिमको मुगलान जाने अवस्था अब परिवर्तन भए। जारहरू अब अनलाइन जार बनिसके, अनलाइनमै जार निर्माण र निर्णय हुन थालेको छ यतिखेर।
बाटामा बाघसँग जुधेर लाउरेहरूले प्रेमिका भगाउने अवस्था पनि अबको होइन भनेपछि यो कथाले कस्तो समय र अवस्थाको चित्रण गर्छ? अनि यो यत्रो खर्च गरेर बनाएको फिल्म हेर्ने दर्शकले के हेर्छन् त? इतिहास हेर्छन् भनौँ भने यसमा इतिहास छैन। यथार्थ हेर्छन् भनौँ भने यो इतिहासको निश्चित आकार छैन। प्रेमको मोडेल रहेछ, लौ सिकौं भन्छन् हेर्नेले भने यो भयानक मोडेलका दुई सय वर्ष भन्दा बढी समय बिते। मेरो विचारमा यो फिल्मले ताकेको विषय हाम्रा कथा र स्मृतिमा बसेको, हाम्रा लोक मात्र नभएर परिवारहरूका कथामा रहेको विषय हो। सबै समाज र देशमा हुन्छन् यस्ता किसिमका कथा। यो कथा सीमा पार गरेर जाने वैश्विक चेतना र अवस्थाको रूपक हो।
इन्द्रबहादुर राईले लेखेको यो सुन्दर कथाको सिनेमा बनाउनेहरूले राम्रो आँटको काम गरे। इन्द्र दाजु सिनेमा जनिन वर्णन र दृश्यावलीलाई मिल्ने र आयामेली भनेर वैचारिक र स्थान र समयमा कुदेर नेटो नकाट्ने कथा र पात्रपात्राका वर्णन साथसाथै लेख्न सक्थे।
उनका कथाले नाटक गर्नेहरूलाई पनि त्यत्तिकै आकर्षित गरेका छन्। हाम्रा थिएटरकर्मीहरूले गरेका छन् प्रयोग। मैले यस्तै कुरा भने त्यहाँ। अहिले पनि त्यही भन्छौं। तर, यो सबै वर्णन गर्ने यो लेखको लक्ष नभएर कथाले उठाएको एउटा मूल प्रश्नमाथि रहेर केही यहाँ छलफल गर्नु हो। मानिसको जीवनमा सीमा काट्ने निकै ठुलो विषय हो। भूगोल र मान्छेजस्ता ठुला शीर्षकमा अनेकौँ छलफल गरेका छन् जान्नेहरूले। अनि यस्ता विषयमा जानकारी नराख्नेले पनि सीमा पार गरेका छन्। कसैले चेतना भएर नेटो काट्छन्, कसैले यसै हिँड्दै जाँदा घुमफिर गर्दै जाँदा पनि सीमा पार गर्छन्।
त्यसरी जाने भोलि गएर कहाँ पुग्छन्, त्यसको साधारण आकलनसम्म गर्छन् सीमा पार गर्नेहरूले। त्यो मुगलान हो हाम्रो भाषामा। जार कथाले नेपाली जीवनमा रहेको त्यो मूल स्पन्दन ल्याएर राखिदिएको छ। जीवनमा विरोधाभासको एउटा नौलो र चुनौतीपूर्ण अवस्थाको चित्रण गरेको छ यसले। त्यहाँ नेटो काट्नेले आफ्ना समाजका अनि आफ्ना जीवन कथाका अवस्थामा परिवर्तन भएको पाउँछ। भावुकता धेरै हुन्छ। यसमा अस्तित्वजनिन पीडा र उत्साह एकै साथ आउँछन्। कथाले त्यो चित्रण गरेको छ। सिनेमाले आफ्नै विधा र विधि अनुसार गरेको होला।