Saturday, February 15, 2025

-->

अबिच्युरी
बलिउडका ‘अफबिट’ सिनेमा निर्देशक बेनेगल, भन्थे– महिलाका समस्याबारे स्वच्छ बहस हुनुपर्छ

निर्देशक बेनेगल गरिबी, महिलाको ग्ल्यामरलाई प्रधानता नदिई यस्ता विषयमा स्वच्छ बहस हुनुपर्छ भन्ने मान्यता राख्थे। उनका फिल्मका ‘ओपन इन्डिङ्स’ यस्तै बहसका लागि छाडिएका हुन्थे।

बलिउडका ‘अफबिट’ सिनेमा निर्देशक बेनेगल भन्थे– महिलाका समस्याबारे स्वच्छ बहस हुनुपर्छ

काठमाडौँ– भारतीय फिल्म ‘पुष्षा–२’, ‘स्त्री–२’, ‘भुलभुलैया–३’, ‘कल्की २८९८ एडी’ सन् २०२४ को बक्स अफिसमा हिट हुँदा ‘अल वि इमेजिन एज लाइट’, ‘लापता लेडिज्’ लगायतका अलग धारका फिल्मले पनि कान्स तथा ओस्करमा मनोनयनसम्मको यात्रा तय गरे।

समग्रमा बलिउडका लागि सन् २०२४ सुखद रह्यो। तर वर्षको उत्तरार्धमा भारतीय सिनेजगत्का ठूला हस्ती निर्देशक श्याम बेनेगलको मृत्युको खबरले भारतीय मात्र नभई नेपाली सिनेकर्मीलाई समेत स्तब्ध बनायो। मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा डिसेम्बर २३ मा उनको निधन भयो। निर्देशक बेनेगल अब भौतिक रूपमा नरहे पनि उनको नवीनतम प्रयोग र योगदानको सिनेक्षेत्रले लामो समयसम्म स्मरण गर्ने छ। 

समानान्तर फिल्मका प्रणेता
निर्देशक बेनेगललाई समानान्तर फिल्म (प्यारलल सिनेमा)का प्रणेताका रूपमा चिनिन्छन्। बलिउडका सन्दर्भमा प्यारलल सिनेमा अथवा ‘न्यु इन्डियन सिनेमा’ सन् १९५० को दशकमा पश्चिम बंगालबाट शुरू भएको फिल्म निर्माण तथा निर्देशनशैली हो।

जसमा मुख्य धारका व्यावसायिक फिल्ममा देखाइने व्यक्तिप्रधान कथनशैली, नाचगान, मनोरञ्जनलाई अस्वीकार गर्दै समाजमा व्याप्त बेथिति, दमन, उत्पीडन अर्थात् विषयप्रधान फिल्म निर्माणलाई जोड दिइन्छ। यथार्थवाद र प्रकृतिवाद, तत्कालीन सामाजिक, राजनीतिकले पारेको प्रभावमाथि गहिरो नजर राख्दै प्रतीकात्मक तबरले यस्ता सिनेमा बन्छन्।

निर्देशक बेनेगल बलिउडमा यस धारका फिल्म निर्माणका प्रणेताका रूपमा चिनिन्छन्। बेनेगल आफैले भने यस्ता फिल्मलाई ‘प्यारलल सिनेमा नभई एल्टरनेटिभ अर्थात् अफबिट सिनेमा’ भन्न रुचाउँथे।

नेपाली सिनेकर्मी तथा समीक्षक प्रकाश सायमिका अनुसार तत्कालीन समयमा मलालम, तेलगुमा मात्र अफबिटमा फिल्म बन्ने चलन थियो। हिन्दीमा अफबिट सिनेमा बनाउने चलन चेतन आनन्दले शुरू गरे थिए। तर त्यसलाई उनले निरन्तरता दिन सकेनन्। विज्ञापन संस्थामा काम गरिरहेका बेनेगल फिल्म निर्देशनमा प्रवेश भएसँगै यस्ता सिनेमाको मार्ग बनेको सायमि बताउँछन्।

“सन् १९२० मा इटालीमा आएको निओरियालिज (समाजका निम्न र उत्पीडनमा परेका वर्गको कथा भन्ने लहर)को धारमा उहाँले अंकुर, निशान्त लगायतका फिल्म बनाउनुभयो,” सायमि भन्छन्, “यो लहरमा स्टार कलाकार, उनीहरूको ‘फेस–भ्यालु’भन्दा पनि स्थान, विषयप्रधान र नयाँ कलाकारलाई लिएर फिल्म बन्ने गर्थे।”

जावेद अख्तर र सलिम खानको ‘एङ्ग्री योङ्ग म्यान’को ‘थिम’मा सोले, दिवार लगायतका फिल्मले तत्कालीन बलिउडमा कब्जा जमाएका थिए। लेखन र निर्देशनमा अख्तर र खानको जोडी ‘हिट’ भइरहँदा अभिताभ बच्चन, धर्मेन्द्र लगायतका अभिनेता बलिउडमा आफूलाई स्थापित गर्न संघर्ष गर्दै थिए। 

यही समयमा शबाना आज्मी, स्मिता पटेल, नसीरुद्दीन शाह, ओम पुरी, अमोल पालेकर, निना गुप्ता, कुलभूषण खरबन्दा लगायतका कलाकार बेनेगलका फिल्ममार्फत नै सिनेक्षेत्रमा प्रवेश गरे।

बेनेगलको निर्देशनमा बनेको ‘चरणदास चोर’, ‘भूमिका’, ‘मन्डी’, ‘मन्थन’ले ‘एल्टरनेटिभ’ फिल्मलाई उचाइमा पुर्‍यो। उनको ‘निशान्त’ फिल्म भारतबाट कान्स फिल्म फेस्टिभलमा प्रतिस्पर्धाका लागि समेत पुगेको थियो। जसमा उनीसहित शबाना आज्मी र स्मिता पटेल सहभागी भएका थिए।

सामन्तवाद र पुरुषसत्ताको धज्जी
बेनेगलको फिल्म निर्देशन डेब्यू ‘अंकुर’बाट भयो। शबाना आज्मीको पनि यो पहिलो फिल्म थियो। समाजको पिँधमा रहेको कुम्हार जातिभित्रका एक निःसन्तान दम्पती (किश्ताया र लक्ष्मीको भूमिकामा रहेको साधु मेहर र शबाना आज्मी)को जीवनमा आउने समस्या र सोही समस्याबीच जमिन्दार (सूर्यको भूमिकामा रहेको अनन्त नाग)ले उनीहरूमाथि गर्ने अत्याचारको विषय यस फिल्ममा उतारिएको थियो।

श्रीमान् किश्तायालाई चारपाटे मुडेर समाजबाट बहिष्कार गरिएपछि एक्लै परेकी लक्ष्मी सूर्यको अनैतिक सम्बन्धबाट गर्भवती हुन्छिन्। सूर्यले सम्बन्धलाई अस्वीकार गरी गर्भपतन गर्न दबाब दिन्छ। लक्ष्मी भने गर्भमा आफ्नो अधिकार रहेको भन्दै गर्भपतन गर्न मान्दिनन्। उनलाई सूर्यको जात र धनसम्पत्तिसँग मतलब हुँदैन। स्त्रीको यौन, प्रजनन अधिकारदेखि अत्याचारीविरुद्ध विद्रोहको बिउ थियो ‘अंकुर’, जुन निर्देशक बेनेगलको सफल फिल्ममा गनिन्छ।

उनले बनाएको अर्को फिल्म ‘मन्थन’ वास्तविक घटनामा आधारित थियो। यो फिल्म दूध सहकारी (व्यापारी)ले किसानमाथि गरेको अत्याचारको विषयमा बनेको थियो। त्यस्तै, ‘मन्डी’ फिल्ममा वेश्यावृत्तिको विरोध गर्ने पुरुषपात्र नै ‘कोठी’मा धाइरहेको यथार्थ देखाएका छन् उनले। उनले फिल्ममा गलत प्रवृत्तिका पुरुषलाई सामाजिक दलालका रूपमा प्रस्तुत गरेका छन्।

‘अंकुर’मा पनि जात व्यवस्था मान्दिनँ भन्ने सूर्यले लक्ष्मीलाई भान्साभित्र छिर्न, खाना बनाउन अह्राउने गर्छन्। तर उनैले जात व्यवस्थाको नाममा लक्ष्मी र उनको श्रीमान्लाई समाजअघि बेइज्जत पनि गर्छन्। यस्ता फिल्ममार्फत उनले सामन्तवाद र पुरुषसत्ताको धज्जी उडाए। फिल्मकर्मी तथा समीक्षक मनोज पण्डित बेनेगलका फिल्मले दर्शकको मस्तिष्कलाई उक्साउने बताउँछन्। 

“बेनेगलका फिल्म भारतको ग्रामीण, सबाल्टन र विभेदको उग्र स्वरूपको प्रतिनिधित्व गर्ने गर्थे,” पण्डित भन्छन्, “त्यो बेलामा मेनस्ट्रिम सिनेमामा मानिस र समाजको सम्बन्धभन्दा पनि एउटा मान्छेलाई ग्लोरिफाइ गर्ने फिल्म हेरिरहेका दर्शकलाई नयाँ भारतीय सिनेमाको स्वाद चखाएका थिए।”

उनका अनुसार बेनेगलका फिल्म मनोरञ्जन मात्र नभई राजनीतिक र बौद्धिक उत्पादन पनि हो। ‘क्यापिटलिस्टी’ धारमा चलिरहेको सिनेमा उद्योगमा उनले ‘सोसलिस्ट’ फिल्ममार्फत हलचल ल्याए। पण्डित भन्छन्, “बेनेगलले समाजवाद, साम्यवादतर्फको बुझाइ सिनेमामार्फत प्रस्तुत गरेका थिए।”

उनका फिल्मले भारतको ७० र ८० को दशकको कम्युनिस्ट विचारधारालाई फैलाउन थप मद्दत गरेको उनको तर्क छ। उनका फिल्मले तत्कालीन समाजको ठूलो खाडललाई पुर्न सहयोग गरेको फिल्मकर्मी तथा समीक्षक पण्डित निष्कर्ष छ।

“कुनै पनि फिल्म मनोरञ्जनका लागि मात्र भनेर जतिसुकै ट्याग लगाए पनि जानीनजानी पुरातन अथवा नवीन सोचलाई सर्पोट गरिरहेको हुन्छ,” पण्डित भन्छन्, “बेनेगलजस्ता निर्देशक भने पोलिटिकल्ली एकदमै बलियो विचारधारासहित भारतमा भइरहेको विभेदलाई समाजको शोषित वर्गको, मेनस्टिमभन्दा पर रहेका, जसको पहुँच राज्यसम्म छैन त्यस्ता वर्गको कथालाई प्रतिनिधित्व गर्ने तरिकाले काम गर्ने फिल्मकर्मी थिए।”

भारतीय अनलाइन मिडिया स्क्रोलडट्इनमा उल्लेख भएअनुसार उनका प्रायः फिल्म ओपन इन्डिङ्समा हुन्थे जसमा फिल्ममा देखिएका समस्याको सटिक उत्तर हुँदैनथ्यो।

नायकले खलनायकलाई मारेपछि न्यायनिसाफ भयो भन्ने विचारबाट पर समाजमा व्याप्त समस्या कुनै सरल र एकल व्यक्तिले समाधान गर्न नसक्ने धारणा उनको फिल्ममार्फत व्यक्त हुन्थे। सामाजिक समस्याका लागि सामाजिक रूपमा परिवर्तन गर्नुपर्ने तथा हुनुपर्ने पहलतर्फ उनको फिल्मले संकेत गर्थे।

निर्देशक बेनेगलसँग काम गर्दा उनले कलाकारलाई स्वच्छन्द छाडिदिन्थे भन्ने कहानीकिस्सा सुनिन्छ। बेनेगल र उनका समकक्षीसँग काम साक्षात्कार र सहकार्य गरेका सायमि थप प्रस्ट्याउँदै भन्छन्, “प्रायः निर्देशक सुटमा कलाकारलाई अभिनय गर्न गाइड गर्छन्। कतिपयले कलाकारलाई कपीसमेत गर्न लगाउँथे। तर बेनेगल भने कलाकारलाई सिन बताएपछि स्वच्छन्द छाडिदिन्थे।”

कलाकारलाई मनैदेखि कला प्रस्फुटन गर्न छाडिदिने विशेषता बेनेगलको निर्देशकीय शैली थियो। बेनेगलपछि उक्त शैली अपनाउने निर्देशक शेखर कपुर हुन्। 

महिलाका समस्याबारे स्वच्छ बहस
समाजका उत्पीडित वर्गका कुरा गरिरहँदा महिलाका विषयमा निर्देशक बेनेगल आफ्ना शुरूआती फिल्मदेखि सचेत र संवदेनशील देखिन्छन्। ‘अंकुर’, ‘मन्डी’जस्ता महिलाप्रधान फिल्म बनाउँदा उनले कहिल्यै फिल्मलाई ग्ल्यामरकेन्द्रित गरेनन्।

बेनेगेलसँग काठमाडौँमै भएको एक अन्तर्वार्ताको स्मरण गर्दे सायमिले बेनेगलले भनेको वाक्य दोहोर्‍याउँछन्, “म महिलाको ग्लायमर देखाएर, गरिबको गरिबी बेचेर पैसा कमाउने कथा फिल्म गर्दिनँ।”

उनका अनुसार बेनेगलले फिल्मोग्राफीमा कहिल्यै महिलाको अंगको भद्दा (क्लाम्जी) अथवा ग्ल्यामसर सट लिएनन्, दोहोरो अर्थ लाग्ने संवाद तथा प्राविधिक शैलीबाट महिलालाई आकर्षक देखाउने तरिका अपनाएनन्। उनी थप्छन्, “उहाँ महिलावादी या अभियन्ता हुनुहुन्थेन तर महिलाका विषयमा स्वच्छ बहस हुने फिल्म बनाउनुहुन्थ्यो।”

शुरूआती समयमा ‘पावर डाइनामिक्स’मार्फत जात व्यवस्था, महिला उत्पीडनका कथामा फिल्म बनाएका उनले सन् २००० सम्म आइपुग्दा ‘जुवेदा’जस्ता महिलाकेन्द्रित सांस्कृतिक पाटोबाट पनि फिल्म बनाउन थाले। मुसलमान परिवारकी महिला ‘जुवेदा’ले राजपूत घरानामा दोस्रो पत्नीका रूपमा भित्रिइन्छिन्।

‘महिलाको शत्रु महिला’ सूत्रमा फिल्म बन्ने समयमा ‘जुवेदा’ फरक शैलीको फिल्म थियो। जसमा राजाका दुई रानी (रेखा र करिश्मा) बीच कुनै वैरभाव र प्रतिस्पर्धा छैन। रेखा (मन्दिरादेवी) राजघरानको मानमर्यादा मान्ने महिलाका रूपमा चित्रित हुँदा जुवेदाको संघर्ष राजघरानाको मर्यादामा महसुस गर्ने बन्देज र उनको बागी व्यक्तित्वबारे हुन्छ।

‘जुवेदा’ त्यस समयको सफल फिल्म हो। नायिका करिश्मा कपुरले यस फिल्मका लागि अभिनेत्रीतर्फ राष्ट्रिय चलचित्र पुरस्कारसमेत पाएकी थिइन्। 

बेनेगलको महिलाप्रतिको सम्मानबारे ‘सिने रिल’मा मात्र नभई ‘रियल सेट’समेत चर्चा हुन्थे। पारिश्रमिक र रोल विभाजनमा हिरोइनसँग कहिल्यै झगडा गरेनन्। अभिनेता तथा अभिनेत्रीसँग पनि उनको मनमुटाब रहेन। त्यस्तै, उनका फिल्ममा दिइने क्रेडिट लाइन पनि कलाकारको भूमिकाअनुसारले हुन्थ्यो न कि स्टार अभिनेता अथवा अभिनेत्रीको वजनअनुसार। 

स्वच्छ छवि बनाएका बेनेगललाई एउटा आरोपले भने कहिल्यै छोडेन। ‘निशान्त’ फिल्मको सुटिङका क्रममा अभिनेत्री स्मिता पटेललाई अभिनेता अमोल पालेकरले झापड हानेको दृश्य छ। पालेकरले एक अन्तर्वार्तामा यसबारे बताएका छन्। उक्त फिल्ममा स्मितालाई झापड हान्न बेनेगलले लगाउँछन्, जुन रिहसलमा जानकारी दिएको हुँदैन।

पालेकरले स्क्रिप्टमा उक्त सिन नरहेको भन्दै अस्वीकार गर्छन्। तर निर्देशक बेनेगलले ‘इट्स माइ अर्डर’ भनेपछि आफूले झापड हान्नुपरेको उनको भनाइ छ। सिन सकिएपछि स्मितासँग आफूले रुँदै माफी मागेको पालेकर बताउँछन्।

क्यामरामा स्मिताको ‘नेचुरल एक्सप्रेसन’ कैद गर्न उक्त सिनबारे पूर्वजानकारी नगरिएको पछि निर्देशक बेनेगलले प्रस्ट्याएका थिए। यद्यपि त्यस घटनायता महिलाका समस्यामाथि बहस सिर्जना गर्ने निर्देशक बेनेगलले अभिनेत्रीलाई झापड हान्न लगाएको आरोप खेप्दै आएका थिए।


सम्बन्धित सामग्री