Thursday, January 23, 2025

-->

व्यंग्य: ‘मेक नेपाल ग्रेट अगेन’

मलाई कसैले तानाशाह भन्न मिल्नेछैन, जनताले चुनावमार्फत जिताएको नेता हुनेछु। चिन्ता यति छ, कतिखेर २०८४ को त्यो चुनाव आइपुग्छ!

व्यंग्य ‘मेक नेपाल ग्रेट अगेन’

म त्यो हुँ, जो आउँदो २०८४ सालको चुनावमा आफू र आफ्नो दल उतारेर दंग देउवा, उल्का ओली बा, पूर्व-प्रतापी प्रचण्ड र छवि उडेका रविलगायतलाई पछारेर एकल मुक्केबाज बन्नेमा लालसापूर्ण प्रतीक्षामा छु।

म प्रधानमन्त्री भ‌एपछि नेपाललाई एकै कार्यकालमा स्वर्णमयी लंका बनाउने छु। यस मुलुकका सबै घर, झ्यालढोका, छाना र गजुर सुनकै हुनेछन्। आकाशमा अहोरात्र हवाईजहाज र हेलिकप्टर त चल्ने नै छन्, जमिनमा सुपरसोनिक रेल र नदीहरूमा पानीजहाज चल्ने छन्। हिमालबाट तराई यात्रा गर्न राफ्ट र तराईदेखि हिमाल यात्रा गर्न स्टीमबोटको प्रयोग गरिने छ। साना खोलाहरूमा समेत प्रयोगमा ल्याइने 'खोलेजहाज'का कारण यातायातमा ठूलो क्रान्ति गरेको हुनेछ।

म प्रधानमन्त्री भ‌एपछि पहिले काठमाडौँ उपत्यका वरपर सुन्दर र भव्य पर्खाल लगाउने छु। पर्खाल डाँडाको टुप्पोदेखि टुप्पोसम्मै हुनेछ। कलात्मक भक्तपुरे इँटालाई पाटनका कालीगडले होङ्सी सिमेन्ट लगाएर निर्माण गर्ने छन्। त्यही इँटाको प्रयोगगरी शिवपुरीदेखि नगरकोट, नगरकोटदेखि साँगा, साँगादेखि फुलचोकी, फुलचोकीदेखि चम्पादेवी, चम्पादेवीदेखि चन्द्रागिरि र चन्द्रागिरिदेखि शिवपुरीसम्म ६ भागमा विभाजन गरेर पर्खाल निर्माण गरिनेछ।

त्यसले चीनको ग्रेटवालको रेकर्ड तोड्ने सम्भावना रहन्छ। त्यसपछि विदेशीहरू ग्रेटवालका सट्टा 'क्याटमान्डु' उपत्यकाको 'द क्याट वाल' हेर्न ओइरिने छन्। विदेशका हरियो डलर यतै आएपछि नेपालीहरू विदेश जानुपर्ने बाध्यता स्वतः हट्नेछ। बिदेसिएका नेपालीलाई मेरो परियोजनाले रातारात नेपाल फर्काउनेछ। त्यससँगै सो पर्खालले काठमाडौँ बाहिरका चितुवा, बाघ, भालु घोरल आदिसमेत रोक्नेछ।

मेरो कार्यकालमा 'रूखो नेपालवाद'को भयंकर प्रचारप्रसार गरिनेछ। शब्दकोशबाटै सौहार्द, शिष्ट र सभ्यजस्ता शब्द हटाइन लगाइनेछ। सबैलाई घोक्रो फुट्नेगरी रूखो स्वरमा बोल्न प्रेरित गरिनेछ। घरघर, गाउँगाउँ, टोल टोलमा झगडाको बीउ रोपिनेछ। भुत्लाभुत्ली र कुस्ताकुस्ती चलाइनेछ। सबैबीच द्वेष रोपिनेछ।

म जहिल्यै प्रतिद्वन्द्वीहरूलाई अपराधीको संज्ञा दिने छु। विरोधीलाई म कुखुरा चाेरदेखि नरभक्षीसमेतका आरोप लगाउने छु। विरोधीहरू मैले ठट्टा गरिराखेको ठान्नेछन् भने समर्थकहरू मेरा आकाश पातालका कुरा पत्याउँदै बुरुकबुरुक उफ्रिने छन्। मेरो भाषणमा कति वटा झुटा आए भनेर विश्लेषकहरू गनेर बस्लान्, तर यता देशका बालबालिका भने यसरी नै प्रधानमन्त्री भ‌इन्छ भनेर मेरै अनुसरणतिर लाग्ने छन्।

मानिसका भावनाको म सक्दो फाइदा उठाउने छु। सर्वसाधारणको भयको लाभ कसरी लिने म जान्दछु। म भक्तहरूलाई स्पष्ट पार्ने छु, मेरो अभावमा देश ठूलो संकटमा जानेछ र भाँडभैलो मच्चिनेछ। म नहुँदा देशमाथि विदेशीले आक्रमण गर्नेछन् र प्रतिद्वन्द्वीहरूले भने तिनैलाई उल्टो स्वागत गर्ने छन्। यो अनर्थ हुन नदिन जनताले पक्कै मलाई जिताउनेछन्।

मेरो‌ कार्यकालमा भालेवादलाई प्रोत्साहन गरिनेछ। महिला अधिकार, नारीवादजस्ता फिरंगी र डलरेद्वारा प्रवर्द्धित तथाकथित सशक्तीकरणलाई अवैध घोषणा गरिनेछ। महिलाहरूलाई बुर्का या घुम्टोसहित लामो लुगामा मात्र सार्वजनिक रूपमा हिँडडुल गर्न दिइनेछ। महिला शिक्षाको अन्त्य गर्दै महिलालाई पुरुष अधीन राखिने मनुकालिन व्यवस्था गरिनेछ। छाउपडी र बोक्सी प्रथालाई मौलिक परम्पराका रूपमा प्रवर्द्धन गरिनेछ। सती प्रथाको महानता र महत्ता स्थापित गर्न कुनै कसुर छाडिनेछैन।

रियालिटी टिभी कार्यक्रमको रूपमा म देश चलाउने छु। राजकाज चलाउनका लागि लागि सेलिब्रेटीहरूलाई विभिन्न जिम्मेवारीमा नियुक्त गरिनेछ। युट्युब र टिकटकमा जसको बढी भ्युज, मुलुक हाँक्ने जिम्मा उसैलाई! सेक्सपियरले जीवन आफैमा रंगमञ्च हो भनेर त्यसै भनेका होइनन्। त्यसो हुँदा राजनीतिलाई रंगमञ्चमा बदल्ने मेरो ध्येय हो। मानिसलाई चाख लाग्ने 'आलु कुरा' गर्न म कहिल्यै पछि पर्ने छैन। त्यसो भएपछि मेरा पछाडि युट्युबर र टिकटकरका बगाल पक्कै हुनेछन्। मेरो उट्पट्याङबाट उनीहरू भ्युजमार्फत पैसा बटुल्नेछन्, म भने भोट!

देख्दा म कपाल र दारी फुलेको परिपक्व देखिउँला, तर ममा बच्चाको जस्तो घुर्की र आवेश ग‌एको हुनेछैन। म हार्ने र खोजेको कुरा नपाउने भन्ने हुँदैन। देउवा, ओली, प्रचण्ड अथवा रविले मलाई चुनावमा हराए भने त्यो स्वतः धाँधली ठहर्ने छ। बालेनले रिसको झोकमा सिंहदरबार जलाइदिन्छु भनेर साँझ र रातको मध्यान्तरमा ट्विट गरेका थिए, म त राँके जुलुसै बोकेरै सिंहदरबार जानेछु। देशद्रोहको आरोपमा मलाई थुन्ने कोसिस गरिने छ। तर जनता जनार्दन साथमा भ‌एपछि केको पिर!

मेरो कार्यकालको शिखर चरणमा पुरातन सिद्धान्तहरू पुनः प्रतिपादन गर्नेछु। परापूर्वकालमा तन्त्र र बलिको खुब प्रयोग हुन्थ्यो। मैले पनि त्यस्ता अभ्यासहरू नगर्ने भन्ने हुँदैन। मेरो कार्यकालमा भारतवर्षभरका महानतम् साधकहरू बोलाएर तन्त्रसाधना गरिनेछ। चामुण्डा र महाकालहरू जगाइनेछन्। टुनामुनावाला र जादुगरहरूले प्रधानमन्त्री कार्यालय शोभायमान हुनेछ।

नेपालमा कोरोनाजस्तो संक्रमणका महाविपद् आएको अवस्थामा म सामूहिक प्रार्थनाका लागि जनतालाई आह्वान गर्नेछु (कोरोनाकालमा दक्षिण मुलुकमा थाल आदि कर्कश आवाज निकाल्ने थाल र टिनजस्ता जिनिसहरू ठटाइएको यहाँलाई पक्कै याद होला!) मास्क नलगाउन जनतालाई आह्वान गर्नेछु। विज्ञहरू मेरा वैरी ठहरिनेछन्। षड्यन्त्र सिद्धान्तकार मेरा सेवक दरिनेछन्।

ओलीले कोरोना रोक्न बेसार खानुपर्छ भनेका थिए, म त झारफुकतिर जोड दिनेछु। आखिर त्यो पनि हाम्रो परम्परागत विज्ञान नै हो! ढ्याङ्रो ठटाएर धामी जगाएपछि भाइरस स्वतः आत्तिँदै भाग्छन् भन्ने मेरो विश्वास छ। झारफुक टोलीले मेरा मान्यताको फेसबुक र टिकटकमार्फत झनै प्रचार गर्नेछन्। यस्ता रोगहरूको कारक पिसाच र भूतप्रेतबाट भ‌एको हो भन्ने ज्ञान मैले पुर्खाहरूबाट पाएकै छु!

धामीझाँक्री विद्याको प्रवर्द्धनका 'बनझाँक्री' विश्वविद्यालय खोलेर त्यसलाई देशभर फैलाउने मेरो ध्येय छ। यसका लागि टिकटिकतिरका धेरै भ्युज बटुल्न सफल मातापिताको सहयोग लिनेछु। तिनलाई विषय विज्ञका रूपमा नियुक्ति दिनेछु!

नेपाललाई फेरि महान् बनाउन हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध निकै महत्त्वपूर्ण हुनेछ। आइलाग्नेमाथि जाइलाग्ने हाम्रो परम्परागत 'गोर्खे नीति'समेत बदलेर आइ नलागे पनि जाइलाग्ने नीति अख्तियार गरिनेछ। हामी वीर गोर्खालीका सन्तान, वैदेशिक 'कच्याङमच्याङ' भएका अवस्थामा वैरीहरूलाई किल्लाबाट लखेट्न हामीसँग खुकुरी, हँसिया र लाठी छदै छन्। तोपै चाहियो भने पनि हामीसँग गोबरका डल्लाहरू हुनेछन्!

छिमेकीहरूसँग असल सम्बन्ध आफ्नो शक्ति र सौर्यको अपमान हो। अतः हामी ऐतिहासिक मित्र राष्ट्रसँगको सम्बन्ध जटिल बनाउने छौँ। बरु, तानासाहहरूसँग मित्रता बढाउने छौँ। तानासाहहरूसँग खिचेका फोटो भिडियोहरूले देशी विदेशी मिडिया रंगिनेछन्। विश्वको शक्ति संरचनामा हामीले साँच्चै उथलपुथल ल्याइदिने छौँ। नेपाल महान् कहलिनेछ।

मेरो उथलपुथलपूर्ण नेतृत्व देखेर विश्व चित् खानेछ। विश्वेश्वर र पुष्पलालहरूको देशमा कसरी यस्ता नेताको उदय भयो भनेर दुनियाँ चकित पर्नेछ। तर यो युग नै उथलपुथलको हो। दोस्रो पटक अम्रिकामा उदाएका डोनाल्ड ट्रम्पका अनेकन् क्लोनिङहरूको जगजगीको नवयुग हुनेछ यो।

मेरो 'दिव्योदय'ले संसारको नैतिकतामाथि प्रश्न चिन्ह खडा गर्ने छ। किनकि मलाई कसैले तानाशाह भन्न मिल्नेछैन, जनताले चुनावमार्फत जिताएको नेता हुनेछु। चिन्ता यति छ, कतिखेर २०८४ को त्यो चुनाव आइपुग्छ! चुनाव आओस् न मात्र, कसरी यस सरहदमा 'मेक नेपाल ग्रेट अगेन'को नारा गुन्जनेछ!  मलाई चिन्नुभो? म विशुद्ध नेपाली डोनाल्ड ट्रम्प हुँ।

(यो विशुद्ध व्यंग्य हो। २०८४ को चुनावमा कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ।)


सम्बन्धित सामग्री